काठमाडौं मेडिकल कलेज (केएमसी) दुवाकोटले मस्तिष्कमा रगत जम्ने तथा नसा फुट्ने जोखिमयुक्त ब्रेन एभीएम (Arteriovenous Malformation) रोगको बिनाचिरफार अत्याधुनिक प्रविधिबाट सफल उपचार गरेको छ।
दोलखाका ४२ वर्षीय सवारी चालक मनोज घिमिरे लामो समयदेखि असह्य टाउको दुखाइ, बेहोस हुने र छारे (मिर्गी) को समस्याबाट पीडित थिए। विभिन्न अस्पतालमा उपचार गराउँदा पनि स्वास्थ्यमा सुधार नआएपछि उनी जिरीबाट करिब ४० किलोमिटर टाढाको विकट क्षेत्रबाट एम्बुलेन्समार्फत केएमसी दुवाकोट पुगे।
केएमसीमा न्यूरोइन्टरभेन्सन विशेषज्ञ डा. अरुण पौडेलको टोलीले परीक्षण गर्दा घिमिरेको मस्तिष्कको नसा एक पटक फुटिसकेको र त्यसले रगतको जालोजस्तो संरचना बनाएको पत्ता लाग्यो। सोही कारण उनलाई बेलाबेलामा बेहोस हुने, शरीर काम्ने तथा पुनः नसा फुट्ने उच्च जोखिम थियो।
डा. पौडेलको टोलीले अत्याधुनिक ओनिक्स एम्बोलाइजेसन प्रविधि प्रयोग गर्दै खुट्टाको नसाबाट तार र क्याथेटर मस्तिष्कसम्म पुर्याई बिना चिरफार जालो बनेको भाग पूर्ण रूपमा बन्द गरिदियो। उपचार सफल भएपछि बिरामी अहिले पूर्ण रूपमा खतरामुक्त भएको चिकित्सकहरूको भनाइ छ।
उपचारपछि भावुक बनेका घिमिरेले केएमसीका चिकित्सक तथा नर्सहरूको व्यवहार र सेवाको खुलेर प्रशंसा गरे। “डाक्टरले सुरुमा नै ‘तपाईं सही ठाउँमा आउनुभएको छ, केही हुँदैन’ भन्नुभएको थियो। उहाँले भनेजस्तै भयो। अहिले फेरि गाडी चलाएर परिवार पाल्न सक्ने विश्वास आएको छ,” उनले भने।
डा. पौडेलले पनि बिरामीलाई सहज भाषामा “अब त्यो जालो नै छैन, त्यसैले फुट्ने डर पनि छैन” भन्दै आश्वस्त पारेका थिए।
नेपाली कांग्रेसका नेता तथा समाजसेवी सुनील शर्माद्वारा सञ्चालित केएमसी दुवाकोटमा यस्तो रोगको सफलतापूर्वक उपचार सम्पन्न भएको यो पहिलो केस हो । शर्मा प्रतिनिधिसभामा सांसद रहँदा तलब–भत्ता नलिने एक मात्र व्यक्ति हुन् । उनी सामाजिक तथा मानवीय जिम्मेवारी निर्वाहमा निरन्तर सक्रिय छन् । गम्भीर बिरामीलाई निःशुल्क उपचारको व्यवस्था, देशभर निःशुल्क स्वास्थ्य शिविर, घाइतेहरूको उपचारमा सहयोग, एम्बुलेन्स हस्तान्तरणलगायतका कार्य उनका पहिचान बनेका छन् ।










