मंसिर १४,दाङ। दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले विस्फोटमा परी मृत्यु भएका म्यादी प्रहरी विनोद चौधरीका परिवारलाई रु २५ लाख राज्यले राहतस्वरुप उपलब्ध गराउने बताएका छन् ।
तुलसीपुर उपमहनगरपालिका–१२ क्वाङ्गीस्थित चौधरीको निवासमा श्रद्धाञ्जलि दिन पुग्नुभएका प्रजिअ श्रेष्ठले त्यस्तो जानकारी दिएका हुन् ।
बीमावापतको रु १५ लाख र राज्यले राहतस्वरुप उपलब्ध गराउने रु १० लाखसमेत गरी रु २५ लाख रकम पीडित परिवारलाई उपलब्ध गराइने उनको भनाइ थियो । निर्वाचन प्रयोजनका लागि देशभर ९६ हजार म्यादी प्रहरी भर्ना भएको भए पनि चौधरी पहिलो सहिद भएको उनले बताए । उनले विनोदकी पत्नी १९ वर्षीया अञ्जना चौधरीलाई रोजगारको व्यवस्था तथा उनकी डेढ वर्षीया छोरी प्रमिसाको अध्ययनको व्यवस्थापन गरिनेछ भने ।