खोलाको ‘पाता फर्काउँछु’ भन्ने प्रधानमन्त्री भए, तर १० वर्ष बित्दा पनि खोला नियन्त्रण भएन

0
236

मंसिर १५,झापा, (रासस )। जब वर्षायाम लाग्छ, झापाको रतुवा खोला वरिपरिका बासिन्दाको निन्द्रा हराउँछ । यो विगत एक दुई वर्षअघि देखिएको समस्या भने होइन । लामो समयदेखि नै यस खोलाले उपद्रो मच्चाउँदै आएको छ ।

वर्षौंपिच्छे हजारौँलाई विस्थापित गर्ने यस खोलामा यहाँका बासिन्दा तटबन्ध बाँधिएको हेर्न चाहन्छन्, तर यो विषय केवल राजनीतिक नारा र नेताका भाषणमा सीमित हुुँदा उनीहरु निराश छन् ।

सामान्य नेताको कुरै छाडौँ । प्रतिष्ठित नेताले पनि जनताको दुःखमा साथ नदिँदा उनीहरुलाई ठूलै चोट परेको कुरा चुनावअघिको आक्रोशले स्पष्ट दर्शाउँछ ।

“दश वर्षअघि रतुवा खोलाको ‘पाता फर्काउँछु’ (नेताकै शब्दमा)भन्ने एमाले नेता केपी शर्मा ओली प्रधानमन्त्रीसमेत भए तर आजसम्म यस खोलामा तटबन्ध बाँधिएको छैन । यो कस्तो बिडम्बना हो गरिब जनतामाथि,” कमल गाउँपालिका सडक छेउमा पसल गर्ने ४६ वर्षीय अनिल रसाइली आक्रोश पोख्छन् ।

उनका अनुसार एमाले मात्र होइन सबै राजनीतिक दल र नेताको व्यवहारबाट जनता आकुल छन् । उनी थप्छन्, “चरम बेरोजगारीका कारण कतिपय युवा लागूपदार्थको दुव्यर्सनमा समेत फसेका छन् । नेताहरु जिल्लामा उद्योगधन्दा निर्माण गर्ने, रोजगारी सिर्जना गर्ने कुरामा ध्यानै दिँदैनन्, केवल फोस्रा आश्वासन मात्र दिन्छन् ।”

उनको कुरामा हो मा हो मिलाउँदै सरस्वती गिरी भन्छिन्, “नेताहरुले साना कुरै गर्दै । देश विकासका गुड्डी हाँक्छन् तर चुनावपछि आफ्नो गाउँको विकास बिर्सन्छन् ।”

गिरी राजनीतिक दलमात्र होइन पत्रकारले पनि गाउँका समस्या उजागर नगरिदिएकोमा गुनासो गर्छिन् । झापा जिल्लामा पूर्व पश्चिम राजमार्गको उत्तरतिरका गाउँमा थुप्रै समस्या छन् । खै कसले हेरिदिन्छ, सुनिदिन्छ र साना मान्छेका कुरा रु उनको पीरलो यस्तो छ ।