बाढीपहिरोका कारण रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो संख्यामा सार्वजनिक तथा मालवाहक सवारीसाधन क्षतिग्रस्त तथा सम्पर्कविहीन भएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, बागमती प्रदेशका अध्यक्ष सुवन गिरी (सुमन) का अनुसार हालसम्म प्राप्त प्रारम्भिक विवरणमा १०० को हाराहारी बस, ७० भन्दा बढी माइक्रोबस र करिब ३०० मालवाहक टिपर वा गाडी सम्पर्कविहीन छन् ।
महासंघले विभिन्न कम्पनी, प्रालि, संघ तथा समितिबाट क्षतिको विवरण संकलन गरिरहेको भएपनि विपद्का कारण टेलिफोन तथा इन्टरनेट सम्पर्क प्रभावित भएकाले यकिन तथ्यांक प्राप्त हुन नसकेको जनाएको छ । गिरीका अनुसार आगामी दिनमा थप विवरण प्राप्त हुने क्रम जारी छ ।
उनका अनुसार रसुवागढी नाका आसपासमा रहेका कन्टेनरमा समेत ठूलो क्षति भएको छ । करिब ३०० कन्टेनर सम्पर्कविहीन भएको प्रारम्भिक जानकारी महासंघले पाएको छ ।
तर भन्सार क्षेत्रमा रहेका, बाटोमा गुडिरहेका, पार्किङ गरिएका तथा सामान ओसारपसारका क्रममा रहेका सवारीसाधनसमेतलाई समेट्दा क्षतिको संख्या ५०० हाराहारी पुग्न सक्ने महासंघको अनुमान छ ।
प्रभावित स्थलबाटै कुरा गर्दै उनले भने, ‘हालसम्मको प्रारम्भिक विवरणअनुसार १०० हाराहारी बस, ७० भन्दा बढी माइक्रोबस र करिब ३०० टिपर सम्पर्कविहीन छन् । रसुवागढी नाका आसपासका करिब ३०० कन्टेनरसमेत सम्पर्कविहीन रहेको जानकारी आएको छ । विपद्का कारण सम्पर्क स्थापित हुन नसकेकाले यकिन तथ्यांक आउन बाँकी छ, थप विवरण संकलन भइरहेको छ ।’
विपद्का कारण सवारीसाधनसँगै चालक, परिचालक, मजदुर र व्यवसायीसमेत सम्पर्कविहीन भएको गिरीले बताए । महासंघको प्रारम्भिक तथ्यांकअनुसार करिब ५०० चालक, परिचालक तथा सवारी व्यवसायसँग आबद्ध व्यक्ति सम्पर्कविहीन अवस्थामा रहेको उनको भनाइ छ ।
उनले भने, ‘हाम्रा मजदुर चालकहरू करिब–करिब हामीले हाम्रो तथ्यांकमा चाहिँ हेर्दाखेरि करिब ५०० को हाराहारीमा चालक मजदुरहरू, परिचालक र गाडीमा आबद्ध व्यवसायीहरू सम्पर्कविहीन अवस्थामा छन् ।’








