२०८३ कार्तिक ८ गते शनिबार
२०८३ कार्तिक ८ गते शनिबार

अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । सोमबार आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत उनले राष्ट्रिय टोलीबाट आफ्नो यात्रा टुङ्गिएको जानकारी गराएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘मैले राष्ट्रिय टोलीका लागि आफ्नो सबैथोक दिएँ। अब मसँग दिनका लागि थप केही बाँकी छैन। टोलीमा अहिले धेरै राम्रा युवा खेलाडीहरू आइरहेका छन्, जो यहाँ रहन योग्य छन् ।’

२० वर्ष लामो आफ्नो खेल जीवनको स्मरण गर्दै उनले आफूलाई माया गर्ने समर्थक, परिवार, प्रशिक्षक र साथीहरूलाई धन्यवाद दिएका छन् । उनले अर्जेन्टिनाको जर्सी लगाएर खेल्न पाउनु र देशलाई सफलता दिलाउन पाउनु आफ्नो लागि सधैँ गर्वको विषय रहेको बताएका छन् ।

उनले आफ्नो बुबासँग जोडिएको हालैको घटनाले सन्यास लिने निर्णयमा आफूलाई झन् दृढ बनाएको उल्लेख गरेका छन्। ‘अब म मैदान बाहिरबाट टोलीको समर्थक बनेर बस्नेछु,’ उनले लेखेका छन् ।

प्रधानमन्त्री बालेन शाहले सरकार बाढी प्रभावित क्षेत्रमा खोज र उद्धारको कार्यमा केन्द्रित रहेको जनाएको छ । सामाजिक सञ्जाल फेसबुकमा आज एक स्ट्याटस लेख्दै उनले रसुवाको भोटेकोशी नदीमा गएको बाढी पछिको अवस्थाबारे जानकारी गराएका हुन् ।

छैटौँ दिनसम्म आइपुग्दा सरकार खोज, उद्धार, उपचार, राहत र नागरिकको सुरक्षित व्यवस्थापनमा दृढता र सक्रियताका साथ लागिरहेको जानकारी गराउँदै उनले अग्रपंक्तिमा रहेर आफ्नो ज्यानको समेत वास्ता नगरी प्रभावित क्षेत्रमा परिचालित सम्पूर्ण सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, मिडिया, विभिन्न निकायका पदाधिकारीहरुलगायतको भूमिका कदरयोग्य र प्रशंसनीय रहेको बताए ।

साथै उनले विपद् व्यवस्थापनमा संघीय सरकारलाई प्रदेश र स्थानीय सरकारले दिएको साथ र सहयोग निकै महत्वपूर्ण रहेको बताउँदै मित्रराष्ट्रहरू, स्वदेशी र विदेशी संघसंस्था, सञ्चारमाध्यमलगायतका सबै सरोकारवालाहरूले देखाएको सदाशयता र सहयोग अनुकरणीय रहेको बताए ।

यस्ता छन् सरकारले बाढी प्रभावित क्षेत्रमा आजसम्म गरेका कामहरुः

राहत व्यवस्थापन

सरकार अहिले प्रभावित क्षेत्रमा अझैं पनि खोज र उद्धारमा केन्द्रित छ। सँगसँगै प्रभावित क्षेत्रका नागरिकका लागि राहत संकलन तथा वितरण पनि सरकारको प्राथमिकतामै छ। काठमाडौँ लगायत देशका विभिन्न स्थानमा संघसंस्था र आम नागरिकहरुबाट प्राप्त राहत सामग्री संकलन गरी प्रभावित नागरिक समक्ष पुर्‍याइरहेका छौँ। यस कार्यमा अन्तर्राष्ट्रिय जगतले पनि सघाइरहेका छन्। हालसम्म भारत, चीन, अमेरिका, युएई, कतार, जापान, स्वीट्जरल्याण्ड, अष्ट्रेलिया लगायत मित्र राष्ट्रहरुबाट सहयोग प्राप्त भइसकेको छ।

हाम्रा सुरक्षाकर्मीले हवाई र सडकमार्गमार्फत प्रभावित क्षेत्र (रसुवा, नुवाकोट र धादिङ) का ४ वटा संकलन केन्द्र हुँदै रसुवा र नुवाकोट जिल्लाका २७ वटा वितरण केन्द्रमार्फत ३६९६ जना प्रभावित नागरिकसम्म पुर्‍याइएको छ। साथै प्रदेश र स्थानीय सरकार पनि संघीय सरकारसँगको समन्वयमा ती केन्द्रहरुमा आश्रय तथा राहत व्यवस्थापनमा सक्रियताका साथ जुटिरहेका छन्। सरकारले राहत संकलन र वितरणबारे राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकारणले निरन्तर जानकारी समेत गराइरहेका छ। राहत संकलन तथा वितरण कति प्रभावकारी भइरहेको छ भनेर हामीले हाम्रा सचिवालयका सदस्यहरु र कर्मचारीहरुलाई समेत प्रभावित क्षेत्रमै परिचालन गरिरहेका छौं।

आर्थिक सहयोग

नेपाल सरकारले प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत पीडितहरूका लागि आर्थिक सहयोग जुटाइरहेको छ र यसमा सहयोग आउने क्रम बढ्दैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालन गरी यी कोषमा हालसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण पारदर्शी रूपमा सार्वजनिक गरेको छ। प्रधानमन्त्री राहत कोषमा आज मध्यान्हसम्म ९ वटा वाणिज्य बैंकका खाताहरूमा ५ अर्ब ८७ करोड ९२ लाख २३ हजार ८४२ रुपैयाँ जम्मा भएको छ। यस्तै, हिमालयन र लक्ष्मी बैंकमा ३१ लाख ९३ हजार २३८ अमेरिकी डलर जम्मा भएको छ। आर्थिक सहयोगका लागि कतिपय देश तथा संघसंस्थाहरुले प्रतिवद्धता समेत जनाएका छन्।

सडक सञ्जाल

बाढीका कारण प्रभावित बनेको नुवाकोटको त्रिशूलीपारिको भू–भाग पुनः सडक सञ्जालमा जोडिएको छ। गल्छी–त्रिशूली राजमार्गअन्तर्गत त्रिशूली नदीको दायाँ किनार हुँदै कल्लेरीटार, कोशीखोला, पिपलटार, दर्शनटार, छत्रेखोला र गौरीबेँसी भएर त्रिशूली बजारसम्म पुग्ने सडक सञ्चालनमा ल्याइएको छ। नुवाकोटका ठूलो संख्याका रहनुभएका नागरिकको सदरमुकामसँग पुनः सीधा सडक पहुँच स्थापित भएको छ। यसबाट प्रभावित क्षेत्रहरूमा उद्धार, राहत सामग्री वितरण तथा अत्यावश्यक वस्तुको आपूर्तिमा थप सहज हुने भएको छ। रसुवा, नुवाकोटदेखि धादिङका अधिकांश स्थानका पुल भत्किएका छन्। यसले आवातजावतमा असर परेको छ। सरकारले ती क्षेत्रमा अस्थायी पुल निर्माणलाई पनि प्राथमिकता दिएको छ। हामीसँग ४८ मिटर लम्बाइका ६ र ७० मिटरको १ थान बेलिब्रिज छन्। अहिले ३ ठाउँ (देवीघाटको तादी नदी, त्रिशूली बजार र बेत्रावती बजार) मा बेलिब्रिज राख्ने विषयमा अध्ययन भइसकेको छ। साथै, भारत सरकारबाट २३० फिट सिंगल लेन मोडुलर स्टिल ब्रिज प्राप्त भएको छ। साथै, भारतले थप ७ वटा बेलीब्रिज पठाउने प्रतिबद्धता जनाएको छ। त्यति मात्रै होइन, चीन सरकारबाट पनि ३० वटा बेलिब्रिज चाँडै प्राप्त हुँदैछ।

उद्धार तथा उपचार

बाढी प्रभावित क्षेत्रबाट हामीले उद्धार कार्यलाई तीव्र पारेका थियौं। केहीबेर अघि ११,३७९ जना मानिसहरुको उद्धार भइसकेको छ र ३९२५ जना सम्पर्कविहिन हुनुहुन्छ। सम्पर्कबिहिनीको संख्या घटबढ भइरहेको छ। प्रभावित क्षेत्रबाट हामीले उद्धार गरेर विभिन्न अस्पतालमा भर्ना गरेका २७९ जना घाइते नागरिकहरुमध्ये केहीबेरअघिसम्म १६८ जना डिस्चार्ज भइसक्नुभएको छ।

निरन्तर ब्रिफिङ

बाढी प्रभावित क्षेत्रमा भइरहेको काम र वर्तमान अवस्थाबारे सुरक्षा निकायकासँग नियमतिरुपमा जानकारी लिइरहेका छौँ। आज पनि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालका प्रमुखहरुसँग खोज, उद्धार, उपचार, राहत तथा पुनःस्थापनाबारे विस्तृत ब्रिफिङ लिएका छौं। उहाँहरुले हालसम्म भएका खोज, उद्धार, राहत तथा व्यवस्थापनका सम्बन्धमा जानकारी गराउनुभएको छ। हामीले प्रभावित क्षेत्रमा खटिरहनु भएका मन्त्रिपरिषद्का सदस्यहरु, संघीय सांसदहरु लगायत अन्य साथीहरुबाट पनि निरन्तर जानकारी लिइरहेको छौं। र, यो क्रम निरन्तर जारी रहने छ।

विद्युत् र सञ्चार सेवा

प्रभावित क्षेत्रमा अवरुद्ध भएको विद्युत् पुनःस्थापनाको क्रम जारी छ । रसुवा जिल्लाको कालिकास्थान, नौकुण्डको केही भाग, गोसाइँकुण्ड गाउँपालिकाको वडा ५ र ६ का केही भाग र सदरमुकाम धुन्चेसहित करिब ३० प्रतिशत घरधुरीमा विद्युत् पुगिसकेको छ । साथै, आमाछोदिङ गाउँपालिकाका केही भागमा सान्जेन जलविद्युत् आयोजनाबाट छुट्टै प्रणालीमार्फत विद्युत् सञ्चालनको तयारी भइरहेको छ । जिल्लाका बाँकी भागमा घरायसी सोलारमार्फत विद्युत् सेवाका लागि ५०० थान पोर्टेबल सोलार पठाइएको छ।

बाढीका कारण नुवाकोट जिल्लाभर विद्युत् सेवा प्रभावित भएकोमा हाल ८५ प्रतिशत क्षेत्रमा विद्युत् पुनःस्थापना भइसकेको छ । बाँकी १५ प्रतिशत क्षेत्रमा आगामी ५ दिनभित्र विद्युत् सेवा उपलब्ध गराउने गरी काम भइरहेको छ। विदुर नगरपालिकाको १, ३, ५, ६, १० र ११ का केही भाग स्थानहरु, तारकेश्वर गाउँपालिकाको १, २, ३, ४, ५ र ६ का केही भागहरु बेलकोटगढी नगरपालिकाको ७ र ८ र किस्पाङ गाउँपालिका भर विद्युत् पुर्‍याउने काम भइरहेको छ।
साथै, धादिङका पृथ्वीराजमार्गको दायाँबायाँको क्षेत्र (गजुरी, आदमघाट, मलेखु, जहरे, मौवाखोलासम्म) प्रभावित भएकोमा आदमघाटको केही क्षेत्रबाहेक धादिङको सम्पूर्ण क्षेत्रमा (९८ प्रतिशत) विद्युत् सेवा पुनःस्थापना भइसकेको छ । अबको दुई दिनमा सम्पूर्ण क्षेत्रमा विद्युत् सेवा पुनःस्थापना हुने गरी काम भइरहेको छ । त्यसैगरी सञ्चार सेवा पनि अधिकांश स्थानमा पुनःस्थापना भइसकेको छ । नेपाल टेलिकमका १२० बिटिएसमध्ये ११० वटा र एनसेलका ७८ मध्ये ७५ वटा टावरले सेवा प्रवाह सुरु गरिसकेका छन् ।

प्रभावित विद्युत आयोजनाबाट उद्धार

बाढीका कारण विभिन्न विद्युत् आयोजना प्रभावित भएका छन्। केही आयोजनामा कार्यरत जनशक्ति सम्पर्कबिहीन भएको आशंका छ। नेपाली सेनाले विभिन्न जलविद्युत् परियोजनाबाट हालसम्म २७९ जनाको उद्धार गरिसकेको छ। साथै आयोजनाको सुरुङमा पनि खोज तथा उद्धार जारी राखेको छ। नेपाली सेनाको टोलीले रसुवागढी जलविद्युत् आयोजनाबाट २ जनाको उद्धार गरेको छ। उक्त आयोजनामा चिनियाँ र नेपाली सेनाको संयुक्त टोलीबाट सुरुङको भित्री भागसम्म खोजी भएको थियो। उक्त सुरुङमा मानिस नभेटाएपछि उद्धार टोली फर्किएको छ।

रसुवाको लाङटाङ खोला र चिलिमे जलविद्युत् आयोजनाका लागि नेपाली सेनासँगै भारतीय उद्धार टोली र केही नेपाली सहयोगीहरुले आज बिहानदेखि सुरुङको मुख खोल्ने काम गरिरहेका छन्। नेपाली सेनाले मैलुङ खोला जलविद्युत् आयोजनाबाट ९ जनाको उद्धार भइसकेको छ। माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट २५४ जनाको उद्धार भइसकेको छ। उक्त आयोजनाको सुरुङमा खोज तथा उद्धारको प्रयास भइरहेको छ। उक्त आयोजनामा नेपाली सेनासँगै कोरियन, र चिनियाँ टोलीले काम गरिरहेको छ।

नुवाकोट माथिल्लो त्रिशूली–थ्री ए को सुरुङमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको गरी ९० जनाको टोलीले खोज तथा उद्धारको प्रयास गरिरहेको छ। उक्त स्थानमा नेपाल विद्युत् प्राधिकरणको टोलीले पनि सहयोग गरिहरेको छ। माथिल्लो त्रिशूली–३ बी जलविद्युत् आयोजना क्षेत्रबाट नेपाली सेनाले २ जनाको उद्धार गरिसकेको छ। हाल उक्त आयोजनामा नेपाली सेनाका थप ९ जना परिचालन गरी कूल ३१ जनाले खोज तथा उद्धारको काम गरिरहेका छन्। यहाँ चिनियाँ उद्धार टोलीले रेकी गरेपछि नेपाली सेनाले खोज तथा उद्धारको प्रयास सुरु गरेको हो। नुवाकोटको त्रिशूली जलविद्युत् आयोजनाबाट ३ जनाको उद्धार भइसकेको छ। सौर्य आयोजनाबाट ४ जनाको र देवीघाट जलविद्युत् आयोजनाबाट ४ जनाको उद्धार भइसकेको छ।

शव व्यवस्थापन

बाढीका कारण ज्यान गुमाएका र पहिचान हुन नसकेकाहरुको शव कानून बमोजिम वैज्ञानिक प्रक्रिया पूरा गरी व्यवस्थापन भइरहेको छ। ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम व्यवस्थापन गरिँदैछ। पहिचान गर्न नसकिने अवस्थामा भेटिएका शवहरूलाई मात्रै डिएनए लगायत अन्य पहिचानलाई सहयोग गर्ने आधारहरू सुरक्षित राखी सरकारले आफैं व्यवस्थापन गरिरहेको छ। हालसम्म ९३९ जनाको शव फेला परेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको सहयोगमा यी शव व्यवस्थापन भइरहेको छ। पहिचान भएका शवहरू आफन्तको जिम्मा लगाउने काम भइरहेको छ।

हिमालय क्षेत्रको ठूलो विपद्

रसुवाको भोटेकोशी नदीमा आएको बाढी सामान्य बाढी थिएन। हिमालय क्षेत्रमा हिउँ चट्टानको हिमपहिरोबाट सृजित यस क्षेत्रकै ठूलो विपत्ति हो । यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको संकेत गरेको छ। त्यसैले यो क्षेत्र सर्तक त हुनैपर्छ, सँगसँगै हामीले अन्तर्राष्ट्रिय समुदायसमक्ष जलवायु परिवर्तनका कारण भोग्नु परेको विपद्को विषयबारे बलियो गरी उठान गर्नुपर्ने पनि समय आएको छ।

पुनःस्थापनामा

प्रभावित क्षेत्रमा खोज र उद्धारसँगै सरकारले प्रभावित नागरिकलाई पुनःस्थापना कसरी गर्ने भन्नेबारे छलफल समेत अघि बढाएको छ। त्यसका लागि स्थानीय सरकारसँगको समन्वयमा प्रभावित नागरिकको संख्या तथा भौतिक क्षतिको विवरण समेत संकलन सुरु भइसकेको छ। हजारौँ नागरिकले घर, परिवार, प्रियजन र जायजेथा गुमाएका छन् । उनीहरुले भोगेका यो पीडा सरकारले बुझेको छ। उनीहरुको पीडामा मलहम लगाउँदै पुनःस्थापनामार्फत सामान्य जनजीवनमा पुर्‍याउनु अबको बाटो हो।

रसुवा बाढीका कारण मृतकको संख्या ९३९ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिले साँझ ६ बजेसम्म ९३९ शव फेला परेका छन् ।

प्राधिकरणका अुनसार हालसम्म सबैभन्दा बढी चितवनमा २७९ शव फेला परेका छन् ।

यस्तै, पूर्वी नवलपरासीमा २१६, पश्चिम नवलपरासीमा १६९, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २३ जनाको शव फेला परेको छ ।

यस्तै, साँझसम्मको तथ्यांकअनुसार तीन हजार ९२५ जना सम्पर्कविहीन रहेका छन् ।

यस्तै, प्राधिकरणले हालसम्म २७९ जना घाइते रहेको जनाएको छ । जसमध्ये १६८ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

नेपाली सेनाले दुई हजार ७०० जनाको उपचार गरेको पनि प्राधिकरणले जनाएको छ ।

रसुवाको टिमुरेमा रियल–टाइम बाढी अवलोकन तथा निगरानीका लागि सीसी क्यामेरा जडान गरिएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठले हिजो जल तथा मौसम विज्ञान विभाग (डीएचएम) का अधिकारी तथा सम्बन्धित विज्ञसँग रसुवा–नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा मौसम तथा सम्भावित जोखिमबारे छलफल गरेका थिए। छलफलमा नदीको अवस्था निरन्तर निगरानी, पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने र जोखिम न्यूनीकरणका लागि तयारी तीव्र पार्ने विषयमा जोड दिइएको थियो।

सोही छलफलपछि जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको अगुवाइमा आज टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान कार्य सम्पन्न गरिएको हो।

हाल प्रणाली सञ्चालनमा ल्याउन भीस्याट (VSAT) जडान तथा सञ्चार व्यवस्थापनको काम भइरहेको छ। सम्भवतः आज रातिदेखि नै प्रणाली सञ्चालनमा आउने जनाइएको छ।

क्यामेरामार्फत टिमुरे–रसुवागढी क्षेत्रमा नदी तथा बाढीको अवस्था चौबिसै घण्टा रियल–टाइममा दृश्यरूपमा निगरानी गर्न सकिनेछ। प्राप्त दृश्य तथा सूचनालाई २४ घण्टे बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवाको नियमित प्रणालीमा एकीकृत गरिनेछ।

विशेषगरी सीमावर्ती क्षेत्रमा नदीको अवस्था र बाढीको सम्भावित जोखिमबारे प्रारम्भिक जानकारी लिन तथा समयमै पूर्वसूचना प्रवाह गर्न यो प्रणाली महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

भेटका क्रममा सभापति लामिछानेले भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षति तथा प्रभावित क्षेत्रमा भइरहेका उद्धार र राहतका गतिविधिबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका हुन् ।

सभापति लामिछानेले आजै प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी सरकारले बाढी प्रभावित क्षेत्रमा गरिरहेको कामबारे जानकारी लिएका थिए । प्रधानमन्त्रीसँगको भेटबाट प्राप्त जानकारीपछि उनले राष्ट्रपति पौडेललाई समग्र अवस्थाबारे ब्रिफिङ गरेका हुन् ।

रसुवाको भोटेकोशीमा आएको बाढीपछि बेपत्ता भएका व्यक्तिका आफन्तलाई फेला परेका शव तथा शरीरका अंगको पहिचानका लागि डीएनए परीक्षणमा सहभागी हुन नेपाल प्रहरीले आग्रह गरेको छ।

बाढीपछि पहिचान खुल्न नसकेका शव तथा शरीरका अंग आफ्ना आफन्तका हुन सक्ने आशंका भएमा नजिकको जिल्ला प्रहरी कार्यालय वा महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालको प्रयोगशालामा सम्पर्क गरी डीएनए परीक्षणका लागि नमुना उपलब्ध गराउन सकिने प्रहरीले जनाएको छ।

डीएनए परीक्षणका लागि बेपत्ता व्यक्तिसँग रगतको प्रत्यक्ष नाता पर्ने आफन्तको ताजा रगतको नमुना आवश्यक पर्नेछ। नमुना उपलब्ध गराउने व्यक्तिले दुई प्रति पासपोर्ट साइजको फोटोसमेत लिएर सम्बन्धित स्थानमा सम्पर्क गर्नुपर्ने प्रहरीले जनाएको छ।

बेपत्ता व्यक्तिका नजिकका आफन्त विदेशमा रहेको अवस्थामा पनि त्यहीँबाट डीएनए प्रोफाइल तयार गरी नेपाल पठाउन सकिने व्यवस्था गरिएको छ। यसका लागि बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाको डीएनए प्रोफाइलिङ विदेशमै गराएर त्यसको सफ्टकपी नेपाल प्रहरीको इमेल ठेगाना dnacodis@nepalpolice.gov.np मा पठाउन प्रहरीले अनुरोध गरेको छ।

प्रहरीले आफन्तबाट प्राप्त डीएनए नमुनालाई बाढीपछि फेला परेका पहिचान नखुलेका शव तथा शरीरका अंगबाट तयार गरिएको डीएनए प्रोफाइलसँग तुलना गरी पहिचान गर्ने प्रक्रिया अघि बढाउने जनाएको छ।

बाढीबाट भएको मानवीय क्षतिको विवरण अझै गम्भीर रहेको छ। हालसम्म ९०० भन्दा बढी मृतकको शव फेला परिसकेको तथा ४ हजारभन्दा बढी व्यक्ति हराइरहेको विवरण सार्वजनिक भएको छ। यस्तो अवस्थामा पहिचान हुन नसकेका शवलाई सम्बन्धित परिवारसम्म पुर्‍याउन डीएनए परीक्षणलाई महत्वपूर्ण माध्यमका रूपमा अघि बढाइएको हो।

भोटेकोशीमा गएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएको रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ ।

जिल्लाको कालिका र नौकुण्ड गाउँपालिकाका अधिकांश क्षेत्रमा विद्युत् आपूर्ति पुनः सुचारु भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

यसैगरी गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत धुन्चे, भार्खु तथा गोसाइँकुण्ड क्षेत्रमा समेत विद्युत् सेवा सञ्चालनमा आएको छ । बाढीबाट विद्युत् संरचनामा क्षति पुगेपछि प्रतिकूल मौसम र चुनौतीपूर्ण भौगोलिक अवस्थाबीच प्राधिकरणका प्राविधिक टोलीले मर्मत तथा पुनःस्थापनाको कामलाई तीव्रता दिएका थिए ।

प्राविधिक टोलीको निरन्तर प्रयासपछि प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापित भएसँगै स्थानीय बासिन्दाको दैनिक जनजीवनसमेत क्रमशः सामान्य बन्दै गएको छ ।

प्राधिकरणले बाँकी प्रभावित क्षेत्रमा विद्युत् सेवा यथाशीघ्र नियमित गर्न आवश्यक जनशक्ति, उपकरण र स्रोतसाधन परिचालन गरी काम जारी राखेको जनाएको छ ।

बाढीपहिरोका कारण रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो संख्यामा सार्वजनिक तथा मालवाहक सवारीसाधन क्षतिग्रस्त तथा सम्पर्कविहीन भएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, बागमती प्रदेशका अध्यक्ष सुवन गिरी (सुमन) का अनुसार हालसम्म प्राप्त प्रारम्भिक विवरणमा १०० को हाराहारी बस, ७० भन्दा बढी माइक्रोबस र करिब ३०० मालवाहक टिपर वा गाडी सम्पर्कविहीन छन् ।

महासंघले विभिन्न कम्पनी, प्रालि, संघ तथा समितिबाट क्षतिको विवरण संकलन गरिरहेको भएपनि विपद्का कारण टेलिफोन तथा इन्टरनेट सम्पर्क प्रभावित भएकाले यकिन तथ्यांक प्राप्त हुन नसकेको जनाएको छ । गिरीका अनुसार आगामी दिनमा थप विवरण प्राप्त हुने क्रम जारी छ ।

उनका अनुसार रसुवागढी नाका आसपासमा रहेका कन्टेनरमा समेत ठूलो क्षति भएको छ । करिब ३०० कन्टेनर सम्पर्कविहीन भएको प्रारम्भिक जानकारी महासंघले पाएको छ ।

तर भन्सार क्षेत्रमा रहेका, बाटोमा गुडिरहेका, पार्किङ गरिएका तथा सामान ओसारपसारका क्रममा रहेका सवारीसाधनसमेतलाई समेट्दा क्षतिको संख्या ५०० हाराहारी पुग्न सक्ने महासंघको अनुमान छ ।

प्रभावित स्थलबाटै  कुरा गर्दै उनले भने, ‘हालसम्मको प्रारम्भिक विवरणअनुसार १०० हाराहारी बस, ७० भन्दा बढी माइक्रोबस र करिब ३०० टिपर सम्पर्कविहीन छन् । रसुवागढी नाका आसपासका करिब ३०० कन्टेनरसमेत सम्पर्कविहीन रहेको जानकारी आएको छ । विपद्का कारण सम्पर्क स्थापित हुन नसकेकाले यकिन तथ्यांक आउन बाँकी छ, थप विवरण संकलन भइरहेको छ ।’

विपद्का कारण सवारीसाधनसँगै चालक, परिचालक, मजदुर र व्यवसायीसमेत सम्पर्कविहीन भएको गिरीले बताए । महासंघको प्रारम्भिक तथ्यांकअनुसार करिब ५०० चालक, परिचालक तथा सवारी व्यवसायसँग आबद्ध व्यक्ति सम्पर्कविहीन अवस्थामा रहेको उनको भनाइ छ ।

उनले भने, ‘हाम्रा मजदुर चालकहरू करिब–करिब हामीले हाम्रो तथ्यांकमा चाहिँ हेर्दाखेरि करिब ५०० को हाराहारीमा चालक मजदुरहरू, परिचालक र गाडीमा आबद्ध व्यवसायीहरू सम्पर्कविहीन अवस्थामा छन् ।’

नेकपा एमालेले भोटेकोशी बाढी पीडितका लागि २० लाख रुपैयाँ सहयोग रकम संकलन गरेको छ ।

सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा पार्टीका बागमती प्रदेश र राजधानी प्रदेश कमिटीले १०/१० लाख रुपैयाँ पार्टीलाई हस्तान्तरण गरेका हुन् । 

रकम बुझ्दै अध्यक्ष ओलीले विपद्का बेला उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरकार र सम्बन्धित सबै पक्षबीच समन्वय आवश्यक रहेको बताए । 

उनले राहतका लागि सरकारी कोषमा रकम जम्मा भए पनि पीडितसमक्ष राहत पुग्न नसकेको भन्दै छिटोछरितो रूपमा पीडितसम्म राहत पुर्याउनुपर्नेमा जोड दिए । 

ओलीले भने, ‘केन्द्र सरकारको कोषमा पैसा जम्मा भएको छ, राहत जम्मा भएको छ । तर जनता भोकै छ, राहत पुग्न पाएको छैन । यस्तो स्थिति छ । यो स्थितिलाई न्यून गरौं, अन्त्य गरौं भनेर पहल एवम प्रयास गरिरहेका छौं ।’

उनले एमालेले सरकारको भर नपरी आफ्नै खर्चमा समेत राहत वितरण गरिरहेको बताए । एमालेले राहत, उद्धार तथा पुनर्स्थापनाका लागि कम्तीमा १ करोड २० लाख रुपैयाँ संकलन गर्ने र आवश्यकताअनुसार खर्च गर्ने निर्णय गरेको पनि ओलीले जानकारी दिए ।

उनले भने, ‘साँचै पीडितकहाँ पुर्याउने कि सरकारको कोषमा देखाउने, कोषलाई पैसा चाहिएको होइन, पीडितलाई राहत पुर्याउन खोजेको हो । कुन माध्यमबाट छिटोछरितो ढङ्गले यथार्थ पीडितकहाँ यथार्थ राहत पुग्छ, त्यही बाटो अवलम्बन गर्छौं ।’

ओलीले विपद्का बेला सबैले दिल खोलेर सहयोग गर्नुपर्ने बताए । उनले उद्धारका लागि निजी हेलिकप्टर तथा तालिमप्राप्त जनशक्तिको समेत प्रभावकारी उपयोग गर्नुपर्ने धारणा राखे ।

‘उद्धार गर्न उत्सुकहरू छन्, उद्धारका निम्ति तालिम लिएका मान्छेहरू छन्। त्यस्ता मान्छेहरूलाई हेलिकप्टर प्रयोग गर्न दिने हो भने, तिनीहरूले काम गर्न पाउने हो भने धेरै काम गर्थे,’ उनले भने । 

अध्यक्ष ओलीले पछिल्लो विपद्लाई जलवायु परिवर्तनको गम्भीर असरका रूपमा व्याख्या गर्दै नेपालजस्ता जलवायु परिवर्तनको असरबाट बढी प्रभावित मुलुकलाई विकसित देशहरूले क्षतिपूर्ति दिनुपर्ने बताए । 

‘वातावरण विनाशका लागि योगदान नगरेका हामी र हामीजस्ता साना तथा भल्नरेबल देशहरूले त्यसको क्षति बेहोर्नुपर्ने अवस्था छ। विकसित देशहरूले क्षतिपूर्ति दिनुपर्छ,’ ओलीले भने । 

उनले वातावरण विनाशसँग सम्बन्धित क्षतिपूर्तिका विषयमा संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय संस्थाहरूले स्पष्ट नियम र मापदण्ड तत्काल बनाउनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच सोमबार भेटवार्ता भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढीबाट प्रभावित क्षेत्रमा सरकारले सञ्चालन गरिरहेको खोज तथा उद्धार, राहत वितरण र नागरिक व्यवस्थापनका प्रयासबारे छलफल भएको छ।

भेटका क्रममा बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतसँगै क्षतिग्रस्त संरचनाको पुनःस्थापनाका विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री शाहले विपद् प्रभावित क्षेत्रमा नागरिकको जीउधनको सुरक्षा, राहत सामग्रीको सहज पहुँच तथा पुनःस्थापनाका लागि सरकारी संयन्त्रहरू पूर्ण क्षमताका साथ परिचालन गरिएको जानकारी गराएको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीले बाढीपछि कुनै सरोकारवाला निकायसँग छलफल गरेका छैनन् । बाढीको पाँच दिनसम्म पनि बालेनले अन्य राजनीतिक दल र सरोकारवालालाई भेटका लागि बेवास्ता गर्दै आएका छन्।

बाढीपीडितको राहत र उद्धारमा पनि उनले प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेका छैनन्। यो अवस्थामा रविले आइताबार नुवाकोट, रसुवा र धादिङका आधा दर्जन स्थानीय तहका प्रमुखसँग संवाद गरे । उनले आइतबार नै बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरसँग संवाद गरे।

रविले समानान्तर रुपमा गतिविधि बढाएपछि बालेन दबाबमा परेका थिए । यो अवस्थामा रवि र बालेनबीच सोमबार करिब २ घण्टा कुरा भएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।