२०८३ भाद्र २२ गते सोमबार
२०८३ भाद्र २२ गते सोमबार

कृष्णभीरको पहिरो समाधानका लागि सुरुङ वा वैकल्पिक सडक बनाउने तयारी

सडक विभागले धादिङको कृष्णभीरमा पुनः बल्झिएको पहिरोको समस्या समाधानका लागि दीर्घकालीन योजना अघि बढाएको छ ।

विभागका महानिर्देशक डा. विजय जैसीले आइतबार स्थलगत अनुगमनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै कृष्णभीरको भौगर्भिक अवस्था र दीर्घकालीन समाधानका लागि दुईवटा विकल्पमा अध्ययन भइरहेको जानकारी दिएका हुन् ।

उनका अनुसार हालैको वर्षा र बाढीले कृष्णभीरको तल्लो भाग कटान गरेपछि पहिरोको समस्या पुनः देखिएको हो । सडकमा यातायात सञ्चालनमा ल्याउन विभागले चौबिसै घण्टा काम गरिरहेको उनले बताए ।

‘रसुवाको बाढीपछि सिर्जित समस्याले यहाँको सुरक्षा पर्खाल भत्काएपछि पहिरो फेरि सक्रिय भएको हो । अहिले ट्रयाक खोल्ने क्रममा भित्री भागमा सोचेभन्दा बढी दरारहरू देखिएका छन् । ती दरारलाई तत्काल सिल गर्ने र विज्ञहरूको परामर्शमा थप विश्लेषण गर्ने काम भइरहेको छ,’ जैसीले भने ।

उनका अनुसार विश्व बैंकको ठेक्काअन्तर्गतका निर्माण व्यवसायी तथा आवश्यक उपकरण परिचालन गरेर काम भइरहेको छ । रातिको समयमा फ्लड लाइट जडान गरी जोखिम न्यूनीकरण गर्दै कामलाई निरन्तरता दिइएको उनले बताए ।

‘प्राविधिक जटिलताका कारण ठ्याक्कै मिति तोक्न कठिन भए पनि उच्च प्राथमिकताका साथ सडक सञ्चालन गर्ने हाम्रो प्रयास जारी छ,’ उनले भने । कृष्णभीरको स्थायी समाधानका लागि विभागले दुईवटा मुख्य विकल्पमा अध्ययन गरिरहेको महानिर्देशक जैसीले जानकारी दिए ।

पहिलो विकल्पका रूपमा कृष्णभीर क्षेत्रमा सुरुङमार्ग निर्माण गर्ने र दोस्रो विकल्पका रूपमा त्रिशूली नदीको अर्को किनारबाट वैकल्पिक सडक विस्तार गरी दुईवटा पुल निर्माण गर्ने विषयमा गृहकार्य भइरहेको उनले बताए ।

‘यी दुईमध्ये जुन प्राविधिक रूपमा उपयुक्त र लागतका हिसाबले किफायती हुन्छ, त्यसलाई नै हामीले अगाडि बढाउनेछौँ,’ जैसीले भने ।

त्रिशूली करिडोरलगायत विभिन्न क्षेत्रमा क्षति भएका करिब २९ वटा पुलको मर्मत, सम्भार तथा पुनर्निर्माणलाई समेत सडक विभागले प्राथमिकतामा राखेको उनले बताए ।

धादिङको फुर्केखोला पुलको पुनर्निर्माणका लागि समेत काम अघि बढिरहेको जैसीले जानकारी दिए ।

उनका अनुसार फुर्केखोलामा रहेको ९४ मिटर लामो स्पानमा पिलरबिनाको बेलीब्रिज राख्ने विषयमा चिनियाँ विशेषज्ञहरूसँग परामर्श भइरहेको छ ।

‘चीनबाट आएको १०० मिटरको पुल त्यहाँ जडान गर्न सकिएमा २ देखि ३ हप्ताभित्र यातायात सुचारु गर्न सकिनेछ,’ उनले भने ।

सडक विभागसँग पुल निर्माण तथा पुनर्निर्माणका लागि आवश्यक प्राविधिक दक्षता रहेको उल्लेख गर्दै जैसीले क्षतिग्रस्त संरचनालाई यथाशक्य छिटो पुरानै अवस्थामा फर्काउने प्रतिबद्धता जनाए ।

देशभर करिब १४ हजार किलोमिटर सडक सञ्जाललाई व्यवस्थित राख्नु चुनौतीपूर्ण भए पनि स्रोतसाधनले भ्याएसम्म विभाग चौबिसै घण्टा परिचालन भइरहेको उनले बताए ।

राष्ट्रिय योजना आयोगका सदस्य तथा भौतिक पूर्वाधार मन्त्रालयका सचिवसहितको टोलीले समेत कृष्णभीरको स्थलगत अवस्था अवलोकन गरी समस्या छिटो समाधान गर्न निर्देशन दिएको विभागले जनाएको छ ।

सडक विभागले सुरक्षित रूपमा यातायात सञ्चालनका लागि आवश्यक सबै उपाय अपनाइरहेको जनाउँदै सर्वसाधारणलाई धैर्य गर्न आग्रह गरेको छ ।

ट्रेन्डिङ

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।