२०८३ आश्विन १७ गते शनिबार
२०८३ आश्विन १७ गते शनिबार

‘जनताका प्रश्नको जवाफ पाएनौँ, रित्तै फर्किँदैछौँ’ : ध्रुवराज राई

 श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले चालु अधिवेशनमा प्रतिपक्षी दलका सांसदहरूले उठाएका जनताका प्रश्न र मागको सरकारले पर्याप्त जवाफ दिन नसकेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले अधिवेशन अन्त्य हुन लागेको अवस्थामा आफू जनतासामु उत्साहका साथ फर्किन नसकेको बताए । उनले भने, ‘आज म अधिवेशन सकिँदै गर्दा यो सम्मानित सदनबाट जनताहरूलाई म रित्तै फर्किँदैछु भनेर भन्नुपर्ने बाध्यता छ ।’

भोजपुरका जनतासहित विपक्षी दलका सांसदहरूले उठाएका प्रश्नको सरकार प्रमुखबाट अपेक्षित जवाफ नआएको उनको भनाइ थियो । अन्य मन्त्रालयका मन्त्रीहरूले भने आफूहरूले उठाएका विषयमा जवाफ दिएको भन्दै उनले उनीहरूप्रति आभार व्यक्त गरे ।

राईले प्रतिपक्षले सरकारलाई सजग गराउँदै जनताका आवाज संसदमा उठाउने भूमिका निर्वाह गर्ने बताए । बहुदलीय अभ्यासमा सत्तापक्ष र प्रतिपक्ष दुवैले आ–आफ्ना विषय राख्दै अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

उनले वर्तमान सत्तापक्षलाई विगतका राजनीतिक घटनाक्रमबाट पाठ सिकेर अघि बढ्न सुझावसमेत दिए । नेपालको राजनीतिक इतिहासमा २०१५ सालमा नेपाली कांग्रेस र २०६४ सालमा माओवादीले बहुमत प्राप्त गरेको उल्लेख गर्दै उनले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी पनि शक्तिशाली अवस्थामा रहेको बताए ।

राईले सत्तापक्षलाई पाँच वर्षसम्म सरकार टिकाउन सके जनताले अपेक्षा गरेअनुसार काम गर्ने अवसर प्राप्त हुने शुभकामना दिए । 

उनले भने, ‘तपाईंहरू आफैँले आफ्नो सरकार नढाल्नुहोला । हेलचेक्र्याइँ गर्नुहुन्न, सदनको अभ्यास भनेको प्रतिपक्ष र सत्तापक्षले यहाँ आफ्नो कुरा राख्ने र सत्तापक्षलाई सजग गराउँदै अगाडि बढाउने हो ।’

पछिल्लो राजनीतिक आन्दोलनका क्रममा पुराना दलका नेताहरूको गतिविधि र भ्रष्टाचारका आरोपसँग जोडिएका घटनामा घरहरू जलाइएको उल्लेख गर्दै राईले वर्तमान सत्तापक्षले पनि जनताको असन्तुष्टिलाई बेवास्ता गर्न नहुने बताए ।

उनले आगामी अधिवेशनमा प्रतिपक्षले आफ्ना माग राख्नुपर्ने अवस्था नै नआउने गरी सरकार र सत्तापक्षले काम गर्नुपर्ने बताए । साथै, प्रतिपक्षका मागलाई अपमान गर्ने अवस्था आगामी संसद्मा दोहोरिन नहुने अपेक्षा उनले व्यक्त गरे ।

ट्रेन्डिङ

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।