महाधिवेशन स्थलको सुरक्षा व्यवस्थाका लागि करिब दुई सयभन्दा बढी स्वयंसेवक तथा सुरक्षाकर्मी परिचालन गरिएको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार महाधिवेशनको स्वयंसेवक परिचालनको जिम्मेवारी केन्द्रीय सदस्य गणेश लामालाई दिइएको छ । लामासहित सैनिक विभागका अध्यक्षसहित तीन जनाले सम्हालेका छन् ।
सुरक्षाका लागि लोकतान्त्रिक पूर्वप्रहरी संघका ५०, पूर्वसैनिक ५० जना तथा तरुण दललगायतका स्वयंसेवक परिचालन गरिएको छ ।

यसैगरी, महाधिवेशन स्थलको सुरक्षाका लागि करिब ५० जना निजी सुरक्षा गार्डसमेत हायर गरिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार महाधिवेशनका विभिन्न गतिविधिलाई लक्षित गरी सुरक्षा व्यवस्थालाई घेरागत रूपमा व्यवस्थापन गरिएको छ ।
महाधिवेशन स्थलको बाहिरी गेट, भित्री क्षेत्र तथा भीआईपी क्षेत्रका लागि छुट्टाछुट्टै सुरक्षा व्यवस्था गरिएको छ । बन्दसत्र हुने हल, भोजनस्थल तथा महाधिवेशनका अन्य कार्यक्रम सञ्चालन हुने स्थानमा समेत आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको आयोजकको भनाइ छ ।
सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समेत समन्वय भइरहेको आयोजकले जनाएको छ । हालसम्म महाधिवेशन स्थलको शान्ति–सुरक्षा अवस्था सहज रहेको आयोजकको दाबी छ ।











