२०८३ आश्विन २३ गते शुक्रबार
२०८३ आश्विन २३ गते शुक्रबार

रुकुमका वडाध्यक्ष विक पक्राउदेखि कुटपिटसम्मको आरोप, भएको के हो ?

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ का वडाध्यक्ष केशरमान विकलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनको अवस्थालाई लिएर विवाद चर्किएको छ। प्रहरीले राष्ट्रसेवक कर्मचारीलाई काममा बाधा पुर्‍याएको आरोपमा विकमाथि अनुसन्धान भइरहेको जनाएको छ भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रुकुम पश्चिमले उनलाई हिरासतमा कुटपिट गरिएको आरोप लगाएको छ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार विकलाई मंगलबार बिहानदेखि नियन्त्रणमा राखिएको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक बेदप्रसाद पौडेलका अनुसार नदुवा–भम्पु सडकखण्डमा निर्माणको काम गरिरहेको सुनकोशी कन्स्ट्रक्सन कम्पनीले वडाध्यक्ष विकका भाइ गोपाल विकले पटक–पटक धम्की दिँदै रकम मागेको भन्दै प्रहरीमा जाहेरी दिएको थियो।

उक्त जाहेरीका आधारमा गोपाललाई नियन्त्रणमा लिन प्रहरी टोली मंगलबार उनी रहेको स्थानमा पुगेको थियो। डीएसपी पौडेलका अनुसार गोपाललाई नियन्त्रणमा लिन खोज्दा वडाध्यक्ष विकले प्रहरीलाई रोक्नुका साथै आफ्ना भाइलाई त्यहाँबाट भगाएका थिए।

त्यस क्रममा प्रहरी र वडाध्यक्ष विकबीच हातपातसमेत भएको प्रहरीको भनाइ छ। सादा पोसाकमा खटिएका प्रहरीको कपडा च्यातिएको डीएसपी पौडेलले बताएका छन्।

प्रहरीले भने वडाध्यक्ष विकलाई हिरासतभित्र कुटपिट नगरिएको दाबी गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार उनीमाथि राष्ट्रसेवक कर्मचारीलाई आफ्नो कर्तव्य निर्वाह गर्न बाधा–विरोध गरेको कसुरमा अनुसन्धान भइरहेको छ।

वडाध्यक्ष विकलाई नियन्त्रणमा लिएपछि नेकपा रुकुम पश्चिमले भने प्रहरीको कारबाहीप्रति आपत्ति जनाएको छ। पार्टीका जिल्ला संयोजक गोविन्द रोका र सहसंयोजक सुरज परियारले मंगलबार असोज २० गते जारी गरेको संयुक्त विज्ञप्तिमा विकलाई छलफलका लागि भन्दै जिल्ला प्रहरी कार्यालय बोलाएर नियन्त्रणमा लिई कुटपिट गरिएको आरोप लगाइएको छ।

विज्ञप्तिअनुसार वडासँग सम्बन्धित विषयमा छलफल गर्न भन्दै मंगलबार बिहान ९ बजे प्रहरी कार्यालय बोलाइएका विक कार्यालय परिसरमा पुग्नेबित्तिकै पक्राउ पुर्जीबिनै हत्कडी लगाएर हिरासतमा राखिएको थियो। त्यसपछि उनलाई कुटपिट गरिएको पार्टीको दाबी छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा विकको शरीरमा चोटपटक देखिएको दाबी गर्दै नेकपाले घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ।

पार्टीले विकलाई तत्काल रिहा गर्न, निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न तथा कुटपिटमा संलग्न प्रहरीमाथि कानुनी कारबाही गर्न माग गरेको छ। विकमाथि झुटा मुद्दा लगाइए सशक्त प्रतिवाद गर्ने चेतावनीसमेत नेकपाले दिएको छ।

घटनाबारे प्रहरीले भने विकलाई हिरासतमा कुटपिट नगरिएको स्पष्ट पारेको छ। पक्राउको कारण, प्रहरीसँग भएको भनिएको हातपात तथा हिरासतमा विकमाथि भएको व्यवहारबारे प्रहरी र नेकपाको दाबी फरक देखिएको छ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।