कर्मचारीलाई शौचालयमै थुन्ने यादव बने सांसद ।

0
352

२६ मंसिर , धनुषा । प्रतिनिधिसभातर्फ धनुषा क्षेत्र नम्बर १ मा मातृकाप्रसाद यादव विजयी भएका छन् । वाम गठबन्धनमातर्फबाट उम्मेदवार बनेका यादवले २६ हजार ४ सय १८ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका दीपक कार्कीले १७ हजार २ सय ९६ मत प्राप्त गरेका छन् । धनुषा १ मा नेपाली कांग्रेस तेश्रो भयो । आनन्दप्रसाद ढुंगानाले १५ हजार ६ सय ७९ मत प्राप्त गरे । २०२८ सालमा कांग्रेसबाट राजनीतिक यात्रा सुरु गरेका यादव २०३४ सालको चौथो महाधिवेशनमा मसालमा सामेल भएका थिए । माओवादी जनयुद्धका बेला उनले मधेश व्युरोको नेतृत्व गरेका थिए ।

२०६३ सालको अन्तरिम व्यवस्थापिका सांसदमा प्रतिनिधित्व गरेका यादव २०६४ सालको संविधानसभा चुनावमा समानुपातिकबाट सांसद बनेका थिए । २०६३ सालमा वनमन्त्री र २०६५ सालमा भूमिसुधार मन्त्री भएका उनि वनमन्त्री भएका बेला कर्मचारीलाई शौचालयमा थुनेर चर्चामा आएका थिए ।
उनले ललितपुरका तत्कालीन स्थानीय विकास अधिकारीलाई शौचालयमै थुनेका थिए । ललितपुरमा सञ्चालित ढुङ्गाखानीले वातावरणमा असर गरेको भन्दै खानी बन्द गर्न यादवले निर्देशन दिँदा पनि स्थानीय विकास अधिकारीले नमानेपछि आक्रोशित भएका यादवले कर्मचारीलाई शौचालयमै थुनेका हुन् ।