काठमाडौंको बूढानीलकण्ठबाट प्रहरीले २१ किलो सुनसहित तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले बिहीबार ठूलो परिमाणमा सुन बरामद गर्दै उनीहरूलाई पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानअनुसार पक्राउ परेका चिनियाँ नागरिकहरू तस्करी गरेर ल्याइएको सुन बूढानीलकण्ठमा भण्डारण गर्ने कार्यमा संलग्न रहेको खुलेको छ। उनीहरूले एक नेपाली नागरिकसँग मिलेर सुन लुकाएर राखेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

प्रहरीले सुन राखिएको आशंका गरिएको स्थानमा एक साताभन्दा लामो समयदेखि निगरानी गरिरहेको थियो। त्यसक्रममा बिहीबार २१ किलो सुन बरामद गरिएको हो।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्ति र बरामद सुनबारे थप विवरण प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जनाएको छ।










