२०८२ बैशाख १३ गते शनिबार
२०८२ बैशाख १३ गते शनिबार

निर्यातबाट प्राप्त आम्दानी भन्दा भ्रमणबाट बाहिरिने रकम धेरै

नेपालले वस्तु निर्यात गरेर प्राप्त गर्ने आम्दानीभन्दा भ्रमणका लागि नेपालबाट बाहिरिने रकम धेरै भएको पाइएको छ । नेपाल राष्ट्र बैङ्कको पछिल्लो तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को चार महिना (साउन–कात्तिक) मा नेपालले वस्तु निर्यात गरेर ५२ अर्ब ६७ करोड रुपियाँ आम्दानी गरेको छ ।

यही अवधिमा भ्रमण प्रयोजनका लागि नेपालबाट ६८ अर्ब ३१ करोड रुपियाँ बाहिरिएको छ । मुलुकमा उत्पादित वस्तु विदेशमा बेचेर गरेर प्राप्त हुने रकमभन्दा विभिन्न किसिमका भ्रमण प्रयोजनका लागि नेपालबाट बाहिरिने मुद्रा १५ अर्ब ६४ करोड रुपियाँले बढी भएको तथ्याङ्कले देखाउँछ । अर्थात् भ्रमण शीर्षकका लागि हुने खर्चलाई नेपालबाट हुने निर्यातको कुल आम्दानी पनि पर्याप्त देखिँदैन ।

चार महिनामा व्यक्तिगत भ्रमणका लागि नेपालबाट बाहिरिने रकम करिब ६७ अर्ब रुपियाँ पुगेको छ । जबकि यसबिचमा नेपाल भित्रिनेबाट नेपालले २६ अर्ब ८४ करोड रुपियाँ आम्दानी गरेको छ । यस हिसाबले नेपाल भ्रमणमा आउनेभन्दा नेपालबाट व्यक्तिगत भ्रमणका लागि बाहिरिनेले ४१ अर्ब ४६ करोड रुपियाँ बढी खर्च भएको देखिन्छ ।

व्यक्तिगत भ्रमण अन्तर्गत सबैभन्दा धेरै उच्च शिक्षा अध्ययनका लागि नेपालबाट बाहिरिने गरेको खर्च सबैभन्दा धेरै छ । चार महिनाको छोटो अवधिमै उच्च शिक्षाका लागि जानेले ३७ अर्ब ७२ करोड रुपियाँ खर्च गरेका छन् । जबकि सोही अवधिमा शिक्षासँग सम्बन्धित भ्रमणका लागि नेपाल आउनेले एक अर्ब ७९ करोड रुपियाँ खर्च गरेका छन् ।

उच्च शिक्षाका लागि नेपालबाट बाहिरिने रकम गत आवको चार महिनाको तुलनामा केही बढेको पनि छ । राष्ट्र बैङ्कका अनुसार गत आवको तुलनामा एक अर्ब रुपियाँभन्दा बढी रकम यस शीर्षकमा थप खर्च भएको छ ।

स्वास्थ्य उपचारका लागि समीक्षा अवधिमा २२ करोड २५ लाख रुपियाँ खर्च भएको छ । सोही उद्देश्यका लागि नेपाल आउनेबाट पाँच करोड ५० लाख रुपियाँ आम्दानी भएको देखिन्छ । अन्य किसिमका भ्रमणबाट नेपालबाट २९ अर्ब रुपियाँ बाहिरिएको छ ।

त्यस्तै यस अवधिमा सोही शीर्षकमा २४ अर्ब ८७ करोड रुपियाँ भित्रिएको छ । यस शीर्षकमा खास गरी घुमघामको उद्देश्यसहित पर्यटकले गर्ने खर्चलाई समावेश गरिएको छ ।

व्यावसायिक भ्रमणमा हुने खर्च बढ्यो

व्यावसायिक प्रयोजनको भ्रमणका लागि नेपालबाट बाहिरिने रकम अत्यधिक बढेको छ । चार महिनाको अवधिमा एक अर्ब ३३ करोड रुपियाँ व्यावसायिक भ्रमणका लागि नेपालबाट बाहिरिएको छ । जबकि गत आवको सोही अवधिमा ९४ करोड ३० लाख रुपियाँ यस्तो प्रयोजनको भ्रमणमा खर्च भएको देखिन्छ ।

तथ्याङ्क अनुसार एक वर्षको अन्तरमै व्यावसायिक प्रयोजनका लागि ३९ करोड रुपियाँभन्दा बढी रकम थप खर्च भएको छ । व्यापार व्यवसायको उद्देश्यसहित नेपालबाट बाहिरिनेले गर्ने खर्च यस भ्रमण शीर्षक अन्तर्गत राखिन्छ ।

यसबिचमा सोही उद्देश्यका लागि नेपाल आउनेले भने केवल १२ करोड ३९ लाख रुपियाँ खर्च गरेको तथ्याङ्क छ । यस हिसाबले व्यावसायिक भ्रमण शीर्षकमा नेपाललाई चार महिनामा एक अर्ब २१ करोड रुपियाँ घाटा भएको देखिन्छ । गत आवको चार महिनामा व्यावसायिक भ्रमणका लागि नेपाल आउनेले ४८ करोड ६६ लाख रुपियाँ खर्च भएको केन्द्रीय बैङ्कको तथ्याङ्कले देखाउँछ । उक्त वर्ष यस्तो भ्रमणमा हुने खर्च घाटा भने यस पटकभन्दा कम छ । गत आवमा व्यावसायिक भ्रमणबापत हुने खर्च घाटा ४५ करोड ६५ लाख रुपियाँ रहेको तथ्याङ्कले देखाएको छ ।यो समाचार गोरखापत्र दैनिकमा छ

 

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।