सहकारीको रकम अपचलन प्रकरणमा पूर्व डीआईजी छविलाल जोशीको दोस्रो दिनको बयान चलिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित पाँच जना प्रतिवादीको सोमबारदेखि जिल्ला अदालत कास्कीमा बयान सुरू भएको छ । रविसहित पाँच जनालाई अदालत उपस्थित गराइए पनि सोमबार जोशीको बयान लिइएको थियो ।
सोमबार जोशीको बयान नसकिएकाले आज पुनः बयान लिने काम भइरहेको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । बयानका क्रममा जोशीले गोरखा मिडियाबाट आफूले एक पैसा पनि नदिलएको दावी गरेका छन् । बयानका लागि लामिछाने, जोशी, लिला पछाई र रामबहादुर खनाललाई अदालत उपस्थित गराएको छ । अर्का आरोपित कृष्ण गुरूङ भने बिरामी परेकाले अदालतमा उपस्थित हुन सकेका छैनन् ।
पोखराको सूर्यदर्शन सहकारीको तर्फबाट जिल्ला अदालत कास्कीले दायर गरेको अभियोग पत्रअनुसार सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरणको बयान कार्य सोमबार जोशीबाट सुरु भएको थियो । जोशीको सोमबार साढे दुई घण्टा बयान लिइएको थियो । आज उनको सकिएपछि बाँकी प्रतिवादीहरूको बयान लिइने बताइएको छ । सम्भवत मंगलबार लामिछानेको बयान सुरू हुने बताइएको छ ।
सरकारी वकिलको कार्यालयले पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्धा दायर गरेको छ । लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७ सय बिगो दाबीसहति मुद्दा दर्ता गरिएको छ । यस्तै पूर्वडीआईजी छविलाल जोशीविरुद्ध पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग पत्र दायर गरिएको छ । जोशीले ७४ करोड, ३४ लाख ७१ हजार ५५ रुपैयाँ ५२ पैसा गैरकानुनी ढंगले आर्जन गरेको दाबी गर्दै बिगो कायम गरिएको छ ।
यसै गरी लीला पछाईंलाई २४ करोड ६७ लाख ७ हजार ३४ रुपैयाँ बिगो कायम गरिएको छ । अर्का प्रतिवादी रामबहादुर खनाललाई १४ करोड ३० लाख ९१ हजार ९ सय ११ रुपैयाँ बिगो कायम गरिएको छ । पछाई र खनालविद्ध पनि सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भएको हो । रविसहति पाँच प्रतिवादीको मुद्धा कान्छा उमेरका न्यायाधीश नीतिज राईको इजलासमा परेको छ ।