
काठमाडौं। नेपाली दूतावास, बैंककले म्यानमारको मेवाडीबाट पाँच नेपालीको उद्धार गरेको छ।
उद्धार गरी ‘टाक इमिग्रेसन अफिस’ मेसोट हुँदै थाइल्याण्ड ल्याइएका पाँच नेपाली नागरिकमध्ये चार (पुरुष) थाई सरकारी निकाय ‘आइओएम’ थाइल्याण्ड तथा अन्य गैरसरकारी संस्थासहितको सहयोगमा एक साताअघि नेपाल फर्काइएको थियो। एकजना महिलालाई भने आज नेपाल फर्काइएको दूतावासले जनाएको छ।
नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो धेरै पैसा कमाउने चाहना राखेर कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्डलगायत वैदेशिक रोजगारीमा नआउन पनि दूतावासले अनुरोध गरेको छ।
विराटनगर । मोरङ कर्सियास्थित उमागौरी कृषि सहकारी संस्थाको ठगी प्रकरणमा फरार अञ्जला कोइरालाको स्कुल बिदा थपको निवेदन उनका श्रीमान ऋषिकेश पोखरेलले पठाएका छन् । संघीय संसदको सार्वजनिक लेखा समिति सभापति पोखरेलले श्रीमतीको नामको निवेदन विद्यालयका प्रधानाध्यापक झङ्कनाथ पराजुलीलाई पठाएका हुन् । कोइराला विराटनगरको महेन्द्र रात्रि माविकी शिक्षिका हुन् ।
उनीसहित २६ जनालाई प्रतिवादी बनाएर सहकारी ऐन अन्तरगत मुद्दा दायर भएपछि कोइराला विद्यालयबाट बिदा लिएर बसेकी थिइन् । उनको बिदा शुक्रबार सकिएको थियो । त्यसपछि ऋषिकेश पोखरेल मार्फत बिदा थपका लागि अञ्जला कोइरालाको पत्र आएको विद्यालयका प्रधानाध्यापक पराजुलीले जानकारी दिए । ‘अञ्जला म्यामकै नामबाट निवेदन आएको छ, तर दिनु भएको मात्र ऋषिकेश सरले हो,’ प्रधानाध्यापक पराजुलीले सुनाए ।
‘बिरामी बिदा’ भन्दै प्राप्त निवेदनमा बिदाको अवधि भने खुलाइएको छैन । सांसद पत्नी कोइराला, रंगेली नगरपालिका–२ का अध्यक्ष ४३ वर्षीय संतलाल खवास, सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियारलगायत २६ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत मोरङमा २७ मंसिरमा मुद्दा दर्ता भएको थियो ।
यो मुद्दामा प्रतिवादी बनाइएका रोशन राजवंशी भने थुनामा छन् । धनपालथान गाउँपालिका– ४ का पूर्वअध्यक्ष राजवंशी आफैं पीडित भएको भन्दै प्रहरी कार्यालयमा हाजिर भएका थिए । आमाको नामको जग्गा राखेर २०७३ सालमा सिभिल बैंकबाट ८० लाख रुपैयाँ ऋण निकालेर आफूलाई ३० लाख रुपैयाँ दिएर बाँकी अध्यक्ष रौनियारले प्रयोग गरेको राजवशीको गुनासो छ ।
सहकारीका लागि भन्दै निकालेको ऋण रौनियारले नतिरेपछि आफू समस्यामा परेको भन्दै प्रहरीमा हाजिर भएका उनलाई प्रहरीले पक्राउ नियन्त्रणमा लिएको थियो । अन्य २५ जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । जिल्ला अदालत मोरङले फरार रहेका २५ जनाविरुद्ध समाह्वान (फौजदारी मुद्दामा अदालतमा हाजिर हुनका लागि अभियुक्तलाई अदालतबाट पठाउने पुर्जी) जारी गरेको थियो ।
पूर्जी जारी भएपछि गत सोमबार सांसद पत्नी कोइरालाले ५ दिनको बिदा लिएकी थिइन् । सो बिदा शुक्रबार सकिएपछि सांसद पोखरेलले नै स्कुलमा श्रीमतीको नामको निवेदन पठाइदिएका थिए । तर सार्वजनिक लेखा समिति सभापति पोखरेलले भने विद्यालयमा श्रीमतीको नामको निवेदन पठाएको विषयमा प्रतिक्रिया दिन चाहेनन् । तपाईले बिदाका लागि पत्र पठाउनु भएको रहेछ नि भन्ने प्रश्नमा सभापति पोखरेलले भने, ‘मलाई थाहा छैन त्यो विषय ।’
सोमबारको लेखा समिति बैठकमा सदस्यहरुले पोखरेलको आलोचना गरेका थिए । उनले श्रीमती सम्पर्कमा नरहेको जिकिर गरेका थिए । सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका २६ जनाबाट २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो असुल गर्न माग गरिएको छ ।
कैलालीमा सामुदायिक विद्यालयमा पुगेर विद्यार्थीहरूलाई धर्म परिवर्तन गराएको आरोपमा चर्चका पास्टरलाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका-१ मा रहेको लम्की सामुदायिक चर्चका पास्टर जन्मजय भट्टराई रहेको प्रहरीले जनाएको छ ।
धर्म परिवर्तन शीर्षकमै किटानी जाहेरी लिएर इलाका प्रहरी कार्यालय लम्कीले अदालतबाट म्याद थपेर भट्टराईमाथि अनुसन्धान गरिरहेको छ ।
भट्टराईले क्रिसमस डेको पूर्वसन्ध्यामा लम्की क्षेत्रका विद्यालयमा पुगेर शैक्षिक सामग्री वितरण गर्ने बहानामा विद्यार्थीहरूलाई ईसाई धर्ममा लाग्न प्रेरित गरेको आरोप छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीका नेता कार्यकर्तालाई सामाजिक सञ्जालमा जथाभाबी लेख्न नदिन कार्यविधि ल्याएको छ ।
उक्त कार्यविधिमा राप्रपाका नेता कार्यकर्ताले सामाजिक सञ्जाल चलाउँदा प्रतिस्पर्धी पार्टी, व्यक्ति वा समूहले पार्टीलाई हित नहुने विषयको सामग्री शेयर गर्ने, लाइक गर्ने, रिट्विट गर्न नहुने उल्लेख छ ।
कार्यविधिको परिच्छेद १० को (ग) मा भनिएको छ, ‘सदस्यले प्रतिस्पर्धी पार्टी, व्यक्ति वा समूहले पार्टीलाई हित नहुने विषयको सामग्री शेयर गर्ने, लाइक गर्ने, रिट्विट गर्न हुँदैन।’
उक्त कार्यविधिमार्फत पार्टीको निर्णय, विचार, मूल्य मान्यता, आदर्श र नीतिहरूलाई जनतामाझ पुर्याउने विषय पनि समेटेर सामाजिक सञ्जाल कार्यविधि ल्याइएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार व्यवस्थित र मर्यादित सामाजिक सञ्जाल सञ्चालन र प्रसारित सामाग्रीमा एकरूपता कायम गर्न, भ्रामक सामग्रीलाई निरुत्साहित गर्न, पार्टीको सामाजिक सञ्जाल रणनीतिको माध्यमबाट पार्टीलाई संगठित र व्यवस्थित गर्न केन्द्रीय प्रचार विभागले प्रस्तुत गरेको ‘सामाजिक सञ्जाल सञ्चालन तथा व्यवस्थापन कार्यविधि–०८१’ लाई केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अनुमोदन गरेको हो ।
उनले भने, ‘कार्यविधिमार्फत सामाजिक सञ्जालको प्रयोगबाट पार्टी र आम जनसमुदायबिच सन्तुलित, स्वस्थ र मजबुत सम्बन्ध विस्तार गर्दै पार्टीलाई सक्षम, सबल र विश्वसनीय बनाउन पार्टी सदस्यहरूका लागि मार्गदर्शन गर्नेछ। पार्टीभित्र पछिल्लो समय जथाभाबी लेख्ने प्रवृत्ति बढेकोमा यो कार्यविधिले मनपरी लेख्ने प्रवृत्तिको अन्य हुने पार्टीको विश्वास छ।’
भक्तपुरको बालकोटमा भएको बाबु र छोराको हत्या प्रकरणमा जेठो छोरा प्रहरीमा आत्मसमर्पण गर्दै अपराध स्वीकार गरेका छन् । खोटाङ रूपाकोट मजुवागढी नगरपालिका–१ का ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीण आचार्यको हत्या प्रकरणमा जेठो छोराले आत्मसमर्पण गरेका हुन् ।
उनीहरुको हत्या कृलप्रसादकै जेठा छोरा मिलनबाट भएको खुलेको छ । गत शनिबार राति घटना भएदेखि नै जेठो छोरा सम्पर्कविहीन थिए । उनका बाबु र भाइको शव भने डेरामै सोमबार बिहान बेग्लाबेग्लै कोठामा फेला परेको थियो ।
डेराबाट सम्पर्कविहीन भएका जेठा छोरा मिलन मंगलबार प्रहरीको सम्पर्कमा पुगेका हुन् ।
मिलन फरार भएपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो । सो क्रममा आइतबार राति ३ बजेतिर मिलन उक्त कोठाबाट बाहिरिएको देखिएको थियो । उनी स्कुटर लिएर कोठाबाट बाहिरिएका थिए । सीसीटीभी फुटेजमा उक्त स्कुटर सातदोबाटोसम्म पुगेको प्रहरीले पहिचान गरेको थियो । त्यसपछि स्कुटर कता गयो भन्ने प्रहरीले पत्ता लगाउन सकेको थिएन । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– १ स्थायी घर भएका उनीहरू बालकोटस्थित फिकाधारा डेरामा बस्दै आएका थिए । मिलन र उनका भाइ प्रवीण डेरामा बस्ने भए पनि हालै उनका बाबु कुलप्रसाद आचार्य पनि सोही डेरामा आएका थिए । कुलप्रसाद जिल्ला हुलाक कार्यालय खोटाङ दिक्तेलका निमित्त प्रमुख समेत थिए । उनी काम र छोराहरू भेट्न भक्तपुर आएका थिए ।
गत शनिबार उनीहरू डेरामा खाना खाएर सुतेका थिए । तर सोमबार बिहानसम्म पनि डेराको ढोकामा बाहिरबाट लगाएको ताला नखुलेपछि भुइँ तलामै डेरामा बस्नेहरूले प्रहरीलाई खबर गरेका थिए । प्रहरीको प्रारम्भिक बयानमा मिलनले आफूले धेरै पटक लोकसेवा आयोगको परीक्षा दिए पनि सफल हुन नसकेको बताएका छन् ।
‘मैले धेरै पटक लोकसेवा आयोगमा परीक्षा दिएँ तर ५–६ पटकसम्म फेल भएँ,’ मिलनले भनेका प्रारम्भिक बयानबारे जानकारी दिँदै प्रहरी स्रोतले भन्यो, ‘बुवा पनि बिरामी हुनुहुन्थ्यो, भाइ पनि केही काम गर्दैनथ्यो, पढ्दै थियो ।’ बाबु र भाइको हत्या गरेको स्वीकारेको बताउँदै प्रहरीसँग मिलनले आफूले पनि मर्ने प्रयास गरेको बताएका छन् । घटनाबारे प्रहरीले थप जानकारी लिने काम गरिरहेको छ । उनका बाबु र भाइको शव डेराबाट त्रिवि शिक्षण अस्पताल लगेर राखिएको छ ।
काठमाडौं । सार्वजनिक ऋणको दायित्व बर्सेनी वृद्धि भएसँगै उक्त ऋणको साँवा ब्याज भुक्तानी खर्च पनि बढ्दै गएको छ । विकास बजेटभन्दा बढी रकम सार्वजनिक ऋणको साँवा ब्याज तिर्नमा खर्च हुन थालेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को गत मङ्सिर मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुसार सरकारी ऋण करिब रू २५ खर्ब हाराहारी छ ।
‘चालु आर्थिक वर्षको सुरुमा कूल सार्वजनिक ऋण रू २४ खर्ब ३४ अर्ब नौ करोड रहेकामा मङ्सिर मसान्तसम्ममा रू ५८ अर्ब ३१ करोड थप भई कूल सार्वजनिक ऋण रू २४ खर्ब ९२ अर्ब ९१ करोड पुगेको छ । जुन कूल गार्हस्थ उत्पादनको ४३ दशमलव ६९ प्रतिशत हुन आउँछ’, प्रतिवेदनमा भनिएको छ, ‘मंसिर महिनामा रू ५८ अर्ब २४ करोड ऋण दायित्व भुक्तानी तथा २१ अर्ब २३ करोडमात्र ऋण प्राप्ति भएको र विनिमय दरमा भएको घटबढको प्रभावले कात्तिक मसान्तसम्मको तुलनामा मङ्सिर मसान्तसम्ममा रू २५ अर्ब ६४ करोड ऋण दायित्व घट्न गएको छ ।’
कार्यालयका अनुसार सरकारले हालसम्म तिर्न बाँकी आन्तरिक ऋणको दायित्व रू १२ खर्ब १७ अर्ब ६६ करोड १८ लाख अर्थात् कूल सार्वजनिक ऋणको २१ दशमलव ३४ प्रतिशत छ । त्यसैगरी बाह्य ऋण दायित्व रू १२ खर्ब ७४ अर्ब ७५ करोड अर्थात् २२ दशमलव ३५ प्रतिशत छ ।
सरकारले चालु आर्थिक वर्षका लागि रू पाँच खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकामा मंसिर मसान्तसम्ममा रू एक खर्ब ९२ अर्ब २९ करोड ऋण उठाइसकेको छ । वार्षिक लक्ष्यको तुलनामा पाँच महिनाको कूल सार्वजनिक ऋण प्राप्ति ३५ दशमलव १५ प्रतिशत बराबर हो । चालु आर्थिक वर्षका लागि आन्तरिक ऋणतर्फ रू तीन खर्ब ३० अर्ब उठाउने लक्ष्य रहेकोमा हालसम्म वार्षिक लक्ष्यको ४९ दशमलव ७० प्रतिशत अर्थात् रू एक खर्ब ६४ अर्ब बराबर ऋण उठाइसकेको छ ।
यसैगरी रू दुई खर्ब १७ अर्ब बाह्य ऋण उठाउने लक्ष्य रहेकामा हालसम्म वार्षिक लक्ष्यको १३ दशमलव ०४ प्रतिशत अर्थात् रू २८ अर्ब २९ करोड १८ लाख प्राप्त भएको छ । सार्वजनिक ऋणको साँवा ब्याज तिर्न सरकारले चालु आर्थिक वर्षका लागि रू चार खर्ब दुई अर्ब बजेट छुट्याइएको छ । मङ्सिर मसान्तसम्ममा रू एक खर्ब ७० अर्ब ४९ करोड साँवा ब्याज भुक्तानी भएको कार्यालयले जनाएको छ ।
कूल गार्हस्थ उत्पादनको आधारमा मंसिर मसान्तसम्मको कूल ऋण सेवा खर्च दुई दशमलव ९९ प्रतिशत रहेको छ । सरकारले विकास निर्माणमा विनियोजन गर्ने वार्षिक बजेट अर्थात् पुँजीगत शीर्षकको तुलनामा सरकारी ऋणको साँवा ब्याज तिर्न छुट्याइने बजेट बढी छ । चालु आर्थिक वर्षका लागि सरकारले पुँजीगत शीर्षकमा रू तीन खर्ब ५२ अर्ब ३५ करोड बजेट विनियोजन गरेको थियो ।
जबकी सरकारी ऋणको साँवा ब्याज तिर्न चालु आर्थिक वर्षका लागि रू चार खर्ब दुई अर्ब बजेट छुट्याइएको छ । यी दुई शीर्षकमा मंसिर मसान्तसम्म भएको खर्चको अवस्था हेर्ने हो भने पुँजीगत बजेट खर्च भन्दा ऋणको साँवा ब्याज तिर्न भएको खर्च करिब साँढे चार गुणाले बढी छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार मंसिर मसान्तसम्म सरकारको पुँजीगत खर्च रू ४० अर्ब ८० करोड मात्रै छ ।
काठमाडौँ। नेपाल वायुसेवा निगमको आन्तरिक उडान पूर्ण रूपमा बन्द भएको छ । अहिले आन्तरिक उडान गरिरहेको एउटा मात्रै ट्विनअटर जहाज पनि ग्राउन्डेड भएपछि आन्तरिक उडान पूर्ण रूपमा ठप्प भएको हो ।
दुईवटा ट्विनअटर जहाजबाट उडान गरिरहेकोमा एउटा जहाज गत जेठदेखि नै ग्राउन्डेड थियो । अर्को जहाज पनि आइतबारबाट ग्राउन्डेड भएपछि आन्तरिक उडान पूर्ण रूपमा बन्द हुन पुगेको नेपाल वायुसेवा निगमले जनाएको छ ।
इन्जिनको उडान आवर सकिन्छ भन्ने विषयमा पहिल्यै जानकारी भएर अर्डर गरे पनि नयाँ इन्जिन नआइपुगेको दाबी गरिएको छ ।
आफूसँग भएको इन्जिनबाट काम चलाउन सकिन्छ कि भनेर प्रयास गरे पनि त्यो सफल हुन नसकेको निगमको भनाई छ ।
नेपाल एअरलायन्सले दुईवटा ट्वीनअटरबाट विभिन्न २० वटा दुर्गम गन्तव्यमा उडाउन गर्दै आएको थियो । आन्तरिक उठान नै बन्द भएपछि दुर्गम क्षेत्रमा यात्रा गर्ने यात्रुले सास्ती पाउने छन् ।
काठमाडौं । पार्टी सभापति रवि लामिछानेलाई सांसदबाट गरिएको निलम्बनविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अदालत जाने भएको छ ।
राजनीतिक पूर्वाग्रह प्रेरित भएर कानुन विपरीत निलम्बन गरिएको भन्दै रास्वपाले अदालत जाने तयारी गरेको हो ।
सभापति लामिछानेविरुद्ध अदालतमा मुद्दा दायर भएसँगै कास्की प्रहरीले संसद सचिवालयलाई पत्र पठाएको थियो । सोही पत्रमा टेकेर सभामुखले सोमबार मुद्दाको फैसला नआउँदासम्म रविलाई निलम्बन गरेका थिए ।
सभामुखले उल्लेख गरेको ‘सम्पत्ति शुद्धीकरण ऐन, २०६४’ को दफा २७ मा सांसदको निलम्बनबारेमा स्पष्ट व्यवस्था नभएको रास्वपाको जिकिर छ ।
यस्तो अवस्थामा, ‘प्रतिनिधि सभा सञ्चालन नियमावली, २०७९’ को दफा २४८ (३०) अनुसार कारबाही प्रक्रिया अगाडि बढाइनुपर्ने उनीहरूको दाबी छ ।
सो नियमावलीअनुसार, सांसद पद निलम्बन हुनका लागि व्यक्तिलाई पुर्पक्षका लागि थुनामा राखिनु अनिवार्य हुन्छ । तर, रवि अहिले न्यायिक हिरासतमा मात्र छन्, पुर्पक्षको लागि जेल गाइसकेका छैनन् ।
यसैले निलम्बन कानुनसंवत् नभएको भन्दै अदालत जाने तयारीमा रहेको नेताहरूले बताएका छन् ।
हिजै रास्वपाका तीन सांसदहरूले सभामुख देवराज घिमिरेलाई भेटेर तत्काल निलम्बन नगर्न आग्रह गरेका थिए ।
नियमावलीको प्रावधान देखाउँदै पुर्पक्षको सुनवाइभन्दा अगाडि नै निलम्बन गर्न नमिल्ने तर्क गरेका थिए । सभामुखले भने आफूले कानूनसम्मत निर्णय लिने आश्वासन दिए । तर, बेलुका निलम्बनको सूचना जारी गरेका थिए ।
रास्वपाले तत्काल संसदीय दलको नेता समेत चयन नगर्ने भएको छ । रास्वपाका एक नेताले भने, ‘हामीले रविको निलम्बन स्वीकारेका छैनौँ । कानुनी निरूपण नभएसम्म अर्को संसदीय दलको नेता खोज्दैनौँ,’ उनले भने ।
सहकारीको रकम अपचलन प्रकरणमा पूर्व डीआईजी छविलाल जोशीको दोस्रो दिनको बयान चलिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित पाँच जना प्रतिवादीको सोमबारदेखि जिल्ला अदालत कास्कीमा बयान सुरू भएको छ । रविसहित पाँच जनालाई अदालत उपस्थित गराइए पनि सोमबार जोशीको बयान लिइएको थियो ।
सोमबार जोशीको बयान नसकिएकाले आज पुनः बयान लिने काम भइरहेको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । बयानका क्रममा जोशीले गोरखा मिडियाबाट आफूले एक पैसा पनि नदिलएको दावी गरेका छन् । बयानका लागि लामिछाने, जोशी, लिला पछाई र रामबहादुर खनाललाई अदालत उपस्थित गराएको छ । अर्का आरोपित कृष्ण गुरूङ भने बिरामी परेकाले अदालतमा उपस्थित हुन सकेका छैनन् ।
पोखराको सूर्यदर्शन सहकारीको तर्फबाट जिल्ला अदालत कास्कीले दायर गरेको अभियोग पत्रअनुसार सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरणको बयान कार्य सोमबार जोशीबाट सुरु भएको थियो । जोशीको सोमबार साढे दुई घण्टा बयान लिइएको थियो । आज उनको सकिएपछि बाँकी प्रतिवादीहरूको बयान लिइने बताइएको छ । सम्भवत मंगलबार लामिछानेको बयान सुरू हुने बताइएको छ ।
सरकारी वकिलको कार्यालयले पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्धा दायर गरेको छ । लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७ सय बिगो दाबीसहति मुद्दा दर्ता गरिएको छ । यस्तै पूर्वडीआईजी छविलाल जोशीविरुद्ध पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग पत्र दायर गरिएको छ । जोशीले ७४ करोड, ३४ लाख ७१ हजार ५५ रुपैयाँ ५२ पैसा गैरकानुनी ढंगले आर्जन गरेको दाबी गर्दै बिगो कायम गरिएको छ ।
यसै गरी लीला पछाईंलाई २४ करोड ६७ लाख ७ हजार ३४ रुपैयाँ बिगो कायम गरिएको छ । अर्का प्रतिवादी रामबहादुर खनाललाई १४ करोड ३० लाख ९१ हजार ९ सय ११ रुपैयाँ बिगो कायम गरिएको छ । पछाई र खनालविद्ध पनि सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भएको हो । रविसहति पाँच प्रतिवादीको मुद्धा कान्छा उमेरका न्यायाधीश नीतिज राईको इजलासमा परेको छ ।