विराटनगर । मोरङ कर्सियास्थित उमागौरी कृषि सहकारी संस्थाको ठगी प्रकरणमा फरार अञ्जला कोइरालाको स्कुल बिदा थपको निवेदन उनका श्रीमान ऋषिकेश पोखरेलले पठाएका छन् । संघीय संसदको सार्वजनिक लेखा समिति सभापति पोखरेलले श्रीमतीको नामको निवेदन विद्यालयका प्रधानाध्यापक झङ्कनाथ पराजुलीलाई पठाएका हुन् । कोइराला विराटनगरको महेन्द्र रात्रि माविकी शिक्षिका हुन् ।
उनीसहित २६ जनालाई प्रतिवादी बनाएर सहकारी ऐन अन्तरगत मुद्दा दायर भएपछि कोइराला विद्यालयबाट बिदा लिएर बसेकी थिइन् । उनको बिदा शुक्रबार सकिएको थियो । त्यसपछि ऋषिकेश पोखरेल मार्फत बिदा थपका लागि अञ्जला कोइरालाको पत्र आएको विद्यालयका प्रधानाध्यापक पराजुलीले जानकारी दिए । ‘अञ्जला म्यामकै नामबाट निवेदन आएको छ, तर दिनु भएको मात्र ऋषिकेश सरले हो,’ प्रधानाध्यापक पराजुलीले सुनाए ।
‘बिरामी बिदा’ भन्दै प्राप्त निवेदनमा बिदाको अवधि भने खुलाइएको छैन । सांसद पत्नी कोइराला, रंगेली नगरपालिका–२ का अध्यक्ष ४३ वर्षीय संतलाल खवास, सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियारलगायत २६ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत मोरङमा २७ मंसिरमा मुद्दा दर्ता भएको थियो ।
यो मुद्दामा प्रतिवादी बनाइएका रोशन राजवंशी भने थुनामा छन् । धनपालथान गाउँपालिका– ४ का पूर्वअध्यक्ष राजवंशी आफैं पीडित भएको भन्दै प्रहरी कार्यालयमा हाजिर भएका थिए । आमाको नामको जग्गा राखेर २०७३ सालमा सिभिल बैंकबाट ८० लाख रुपैयाँ ऋण निकालेर आफूलाई ३० लाख रुपैयाँ दिएर बाँकी अध्यक्ष रौनियारले प्रयोग गरेको राजवशीको गुनासो छ ।
सहकारीका लागि भन्दै निकालेको ऋण रौनियारले नतिरेपछि आफू समस्यामा परेको भन्दै प्रहरीमा हाजिर भएका उनलाई प्रहरीले पक्राउ नियन्त्रणमा लिएको थियो । अन्य २५ जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । जिल्ला अदालत मोरङले फरार रहेका २५ जनाविरुद्ध समाह्वान (फौजदारी मुद्दामा अदालतमा हाजिर हुनका लागि अभियुक्तलाई अदालतबाट पठाउने पुर्जी) जारी गरेको थियो ।
पूर्जी जारी भएपछि गत सोमबार सांसद पत्नी कोइरालाले ५ दिनको बिदा लिएकी थिइन् । सो बिदा शुक्रबार सकिएपछि सांसद पोखरेलले नै स्कुलमा श्रीमतीको नामको निवेदन पठाइदिएका थिए । तर सार्वजनिक लेखा समिति सभापति पोखरेलले भने विद्यालयमा श्रीमतीको नामको निवेदन पठाएको विषयमा प्रतिक्रिया दिन चाहेनन् । तपाईले बिदाका लागि पत्र पठाउनु भएको रहेछ नि भन्ने प्रश्नमा सभापति पोखरेलले भने, ‘मलाई थाहा छैन त्यो विषय ।’
सोमबारको लेखा समिति बैठकमा सदस्यहरुले पोखरेलको आलोचना गरेका थिए । उनले श्रीमती सम्पर्कमा नरहेको जिकिर गरेका थिए । सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका २६ जनाबाट २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो असुल गर्न माग गरिएको छ ।