काठमाडौं,३० भदौ । बुधबार राति भएको खेलमा रियल मड्रिडले पोर्चुगलको क्लब स्पोर्टिङ लिस्बोनलाई २-१ गोल अन्तरले हराएको छ । अन्तिम दुई मिनेटमा गरेको दुई गोलको मदतमा साविकको विजेता रियल मड्रिडले स्पोर्टिङ लिस्बोनलाई हराएको छ र च्याम्पियन्स लिगमा सुखद सुरुवात गरेको छ । रियलको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफको सुरुमा नै स्पोर्टिङ लिस्बोनले अग्रता लियो । उसका लागि सिजर जानाकीले गोल गरे । तर, निर्धारित समयको खेल सकिन एक मिनेट बाँकी छँदा क्रिष्टियानो रोनाल्डोले फ्रि किकमार्फत बराबरी गोल गरे भने अन्तिम मिनेटमा मोराटाले गोल गर्दै घरेलु टोलीलाई जित दिलाएका छन् । हालैमात्र पोर्चुगललाई युरोकपको उपाधि दिलाएका रोनाल्डो ठूला प्रतियोगितामा ४३ फ्रि किकमा गोल गर्न असफल रहेको रेकर्ड छ । तर, बुधबार उनले २५ यार्ड टाढाबाट गोल गरे । यो उनको करियरमा १२ औं च्याम्पियन्स लिग फ्रि किक हो । र, यो गोलसँगै प्रतियोगितामा उनको गोल ९४ पुगेको छ । जसमध्ये रियलका लागि ७६ खेलमा ७९ गोल भएको छ । साथै रोनाल्डोले च्याम्पियन्स लिगमा आफ्नो पूर्व क्लबविरुद्ध खेलेको पाँच अवसरमै गोल गरेका छन् । उनले २००७ मा युनाइटेडबाट खेल्दा स्पोर्टिङविरुद्ध होम एण्ड अवे दुबैमा गोल गरेका थिए भने २०१३ मा युनाइटेडविरुद्धको क्वार्टरफाइनलमा ।