इन्जिनियरहरुको नेतृत्वका लागि मतदान सुरु ।

0
241

काठमाडौं ,३१ भदौ । इन्जिनियरहरुको साझा संस्थाका रुपमा एशोसियसनमा पकड जमाउन राजनीतिक दलहरुले आ(आफ्ना प्यानल खडा गरेका छन् । बिगतमा प्रायः एकै प्यानलबाट लड्न गरेका वामपन्थी इन्जिनियहरु यसपटक चार समूहमा विभाजित भएका छन् । नेपाल इन्जिनिययर्स एशोसियनको नयाँ नेतृत्वका लागि शुक्रवार बिहानदेखि मतदान शुरु भएको छ । विहान ८ बजे शुरु भएको मतदान साँझ ६ बजेसम्म रहने छ । इन्जिनियर एशोसियनको चुनावमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नयाँ शक्ति र नेपाल मजदूर किसान पार्टी निकट इन्जिनियरका अलग(अलग प्यानल खडा भएका छन् । एशोसियसनमा यसअघि कांग्रेसले जितेको थियो । कांग्रेसको लोकतन्त्रवादी प्यानलको नेतृत्व हरेराम श्रेष्ठले गरेका छन् । उनी कन्सल्ट्यान्ट इन्जिनियर हुन् । लोकतन्त्रवादी इन्जिनियहरुको एउटै टिम रहेकाले आफ्नो प्यानलले जित्ने दाबी उनले गरेका छन् ।त्यस्तै एमाले निकट प्रगतिशील पेशागत समूहको नेतृत्व गरेर सुमित्रा अमात्य मैदानमा उत्रिएकी छन् । फोहोर मैला व्यवस्थापन केन्द्रको प्रमुख हुँदै एमाले सरकारका पालामा राष्ट्रिय योजना आयोगको सदस्य रहेकी अमात्यको व्यक्तित्व अरु उम्मेदवारका लागि भारी बनेको छ । उनले आफू महिला भएको र अब संस्थालाई भजाउने भन्दा पनि संस्थाको गरिमा बढाउने एजेण्डा लिएर चुनावमा गएको बताइन् । ‘म योजना आयोगमा पुगिसकेँ, अब यो संस्थालाई भजाएर माथि जानु छैन, कोठामा सिमित भएको संस्थालाई आम इन्जिनियरको हितमा लगाउने एजेण्डा मात्र छ’ उनले भनिन् । त्यस्तै माओवादी केन्द्रको प्यानलबाट जगत श्रेष्ठले नेतृत्व गरेका छन् । उनी पुल्चोक क्याम्पसमा पढाउँछन् । नयाँ शक्ति प्यानलको नेतृत्व लक्ष्मी देवकोटाले गरेका छन् । उनी बुढीगण्डकी आयोजनाका अध्यक्ष हुन् । नेपाल मजदूर किसान पार्टीको तर्फबाट रविन्द्र कोँजु अध्यक्षको उम्मेदवार बनेका छन् । उनी भक्तपुर नगरपालिकाले चलाएको ख्वप इन्जिनियरिङ कलेजमा प्राध्यापन गर्छन् । यसपालीको निर्वाचनमा १२ हजार १ सय ६४ इन्जिनियर मतदाताका रुपमा रहेको र ती मध्ये करीव ७ हजार ५ सय मत खस्ने अनुमान गरिएको एशोसियसनका पूर्व सदस्य बिनोद भट्टराईले बताए । यसपटक पाँच प्यानल भएकोले मत बिभाजित हुनेछ । माओवादी केन्द्र र नयाँ शक्तिका उम्मेदवारले पाँच पाँच सयको हाराहारीमा मत ल्याउने अनुमान गरिएको छ । त्यस्तै नेमकिपाको मत करीव ३ सय छ । बाँकी मतमध्ये जसले ३ हजार कटाउछ उसैले जित्ने अवस्था रहेको छ । कांग्रेस र एमाले निकट प्यानलबीचमै कडा प्रतिस्पर्धा देखिएको छ । मतदानका लागि देशभरमा उपत्यका सहित १० ओटा निर्वाचन केन्द्र तोकिएको निर्वाचन समितिका अध्यक्ष इश्वरी पौडेलले बताए । उपत्यका बाहिर जनकपुर, बिराटनगर, वीरगञ्ज, हेटौडा, भरतपुर, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढीमा मतदान केन्द्र तोकिएका छन् । काठमाडौंमा प्रज्ञा भवनमा मतदान हुनेछ । इन्जिनियरको निर्वाचनमा विद्युतीय मतदान भने नहुने भएको छ । विद्युतीय प्रणालीबाट मतदान गर्न प्रबिधिको विकास गर्ने जिम्मा लिएका इन्जिनियरले नै कागजको मतपत्रमा मतदान गर्न लागेका हुन् ।सबै तयारी नपुगेकोका कारण विद्युतीय मेसिन प्रयोग हुन नसकेको समितिले जनाएको छ ।