२०८१ चैत्र ६ गते बुधबार
२०८१ चैत्र ६ गते बुधबार

वासिङ्टन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो जनवरी २० को शपथअघि टिकटक लाई चिनियाँ मालिक बाइटडान्सले बिक्री नगरे प्रतिबन्ध लगाउने कानून रोक्न सर्वोच्च अदालतलाई आग्रह गर्दै शुक्रबार एक संक्षिप्त निवेदन दर्ता गरेका छन् ।

ट्रम्पको कानूनी टोलीले लेखेको छ, “यस मुद्दाको नवीनता र कठिनलाईलाई ध्यानमा राख्दै, अदालतले यी मुद्दाहरूलाई सम्बोधन गर्न थप समय प्रदान गर्न हालको वैधानिक समय सीमालाई स्थगन गर्न विचार गर्नुपर्छ।”

ट्रम्पले सन् २०१७/०२१ को पहिलो कार्यकालमा टिकटकको चर्को विरोध गरेका थिए र राष्ट्रिय सुरक्षाको कारण देखाउँदै भिडियो एपमाथि प्रतिबन्ध लगाउने असफल प्रयास गरेका थिए । 

चिनियाँ सरकारले अमेरिकी टिकटक प्रयोगकर्ताको तथ्यांक चोर्न सक्ने वा प्लेटफर्ममा जे देखिन्छ त्यसमा हेरफेर गर्न सक्ने भन्दै रिपब्लिकनले चिन्ता व्यक्त गर्दै प्लेटफर्ममाथि प्रतिबन्ध लगाउन माग गरेको थियो ।

अन्य अमेरिकी अधिकारीहरूले पनि युवाहरूमाझ भिडियो शेयरिङ एपको लोकप्रियतामा चिन्ता व्यक्त गरेका थिए र यसको मूल कम्पनी चीनको अधीनमा रहेको र एपको प्रयोग प्रोपोगान्डा फैलाउनका लागि गरिएको आरोप लगाएका थिए ।

ट्रम्पले बिक्री मूल्यमा सरकारको साझेदारीको साथ एक अमेरिकी कम्पनीलाई टिकटक खरिद गर्न प्रस्ताव गरेका छन् । समय क्रमसँगै, ट्रम्पको टिकटकप्रतिको धारणालाई पछ्याउँदै वर्तमान राष्ट्रपति जो बाइडेन एक चरण अगाडि बढेका छन् । लगाएका समान कारणहरू देखाउँदै एपलाई प्रतिबन्ध लगाउने कानूनमा हस्ताक्षर गरेका छन् । तर, अहिले ट्रम्पले आफ्नो बाटो परिवर्तन गरेका छन् ।

ब्लुमबर्गसँगको कुराकानीमा उनले भनेका छन् । “अहिले मेरो टिकटकबारे धारणा फरक बनेको छ । म टिकटकको पक्षमा छु किनकि हामीलाई प्रतिस्पर्धाको आवश्यकता छ।”

उनले भने, “यदि हामीसँग टिकटक छैन भने यसको विकल्पमा जुकरबर्गको फेसबुक र इन्स्टाग्राम हुनेछ । यसको एकाधिकारले सामाजिक सञ्जालमा प्रतिस्पर्धाको वातावरण रहने छैन।”

मार्क जुकरबर्गले स्थापना गरेको फेसबुक र मेटा सामाजिक साम्राज्यको एक हिस्सा हो । फेसबुकले सन् २०२१ जनवरी ६ मा अमेरिकी संसद्मा ट्रम्पका समर्थकहरूले आक्रमण गरेपछि ट्रम्पमाथि प्रतिबन्ध लगाएको थियो । यो प्रतिबन्ध ट्रम्पले थप हिंसालाई बढावा दिनको लागी प्लेटफर्मको उपयोग गर्ने चिन्ता को कारण प्रेरित रहेको दाबी मेटाको थियो ।

ट्रम्पमाथि सामाजिक सञ्जाल प्लेटफर्ममा लगाइएको प्रतिबन्ध पछि हटाइएको थियो ।

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका १४ हजार तीन सय आठ जना विद्यार्थी दीक्षित भएका छन् ।

प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित ५०औँ दीक्षान्त समारोहमा विद्यावारिधि गर्ने र सर्वोत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरे ।

त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार स्नातक तहका नौ हजार ६८, स्नातकोत्तर तहका पाँच हजार ५५, एमफिलका ६३ र विद्यावारिधि (पिएचडी) का एक सय २२ जना विद्यार्थी दीक्षित भएका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट लिइएका विभिन्न तह एवं विषयका परीक्षामा सर्वप्रथम भएका विद्यार्थीलाई विभिन्न पदकबाट पुरस्कृतसमेत गरिएको छ । यस वर्षको त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ सहिद उपप्राध्यापक हरिराज अधिकारी स्वर्णपदक व्यवस्थापन शंकायका हीरा श्रेष्ठलाई र श्री इन्द्रभक्त श्रेष्ठ स्वर्णपदक स्कुल अफ म्यानेजमेन्टका सुधा काफ्लेलाई प्रदान गरिएको छ ।

यसैगरी, अमृत पदक रसायनशास्त्र केन्द्रीय विभागका सुशील पोखरेललाई, मदन विद्या वातावरण विज्ञान पुरस्कार वातावरण विज्ञान केन्द्रीय विभागका रिकिता भण्डारीलाई, नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिं स्वर्णपदक र रामकृष्ण न्हुच्छे प्रधान पुरस्कार काठमाडौँ मोडल कलेजका रेविका भण्डारीलाई प्रदान गरिएको छ ।

नरेन्द्रमणि आचार्य दीक्षित पदक र डा. मोहनप्रसाद लाखे स्वर्णपदक रत्नराज्यलक्ष्मी क्याम्पसका सुदीक्षा घिमिरेले पाएका छन् । शान्ति-नारायण मिश्र पदकबाट पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभागका सञ्जीवकुमार सिंह, डा. दुबसु क्षेत्री स्वर्ण पदकबाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागका प्रतीकराज जोशी, इमिरेट्स प्रा. डा. रामप्रसाद चौधरी स्वर्ण पदकबाट वनस्पति शास्त्र केन्द्रीय विभागका श्रीणा क्षेत्री र नारायण शान्ति मिश्र पदकबाट पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका चेतना कुँवर बाछ पुरस्कृत भएका छन् ।

तारपद चौधरी पदक, खगेन्द्रमान सिं प्रधान पदक र चन्द्रराज ढुंगेल स्मृति पुरस्कार श्रीज्या काफ्लेले पाएका छन् । काफ्ले अर्थशास्त्र केन्द्रीय विभागको छात्रा छन् । शील्पा विष्ट प्राज्ञिक उत्कृष्टता पुरस्कार शिक्षाशास्त्र केन्द्रीय विभागका सीताकुमारी श्रेष्ठले प्राप्त गरेकी छन् । 

महोत्तरी । नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करण विजेता जनकपुर बोल्ट्सका खेलाडीहरू महोत्तरीमा आज आयोजित ‘ट्रफी परेड’मा सहभागी भएका छन् । मधेस प्रदेशका सबै जिल्लामा विजयोत्सव मनाउने क्रममा आज यहाँ आइपुगेको उक्त टोलीलाई मटिहानीका नगरबासीले भव्य स्वागत गरे । 

मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, जनप्रतिनिधि र नगरबासीले विजेता टोलीको स्वागत गरेका थिए । विजेता टिमका खेलाडीलाई फूलका माला तथा दोसल्ला ओढाएर नगरप्रमुख मण्डलले स्वागत गरे । खेलाडीलाई ट्रफीसहित मटिहानी नगर परिक्रमा गराइएको थियो ।

खेलाडीको स्वागतमा मुलुककै जेठो विद्यालय राजकीय संस्कृत माध्यमिक विद्यालय (गुरुकूल) मटिहानीका वटुकले न्यानो स्वागत गरेका थिए । नगर परिक्रमाका क्रममा गुरुकूल परिसर पुगेका जनकपुर बोल्टसका खेलाडीलाई वटुकले वैदिक मन्त्रले स्वस्तीवाचन गरेका थिए । 

मटिहानीको स्वागत ग्रहणपछि टोली आज जलेश्वर नगरपालिकातर्फ अघि बढेको थियो । जलेश्वरका नगरप्रमुख सुरेश साह सोनारले खेलाडीहरूको स्वागत गरेका थिए। नगरबासीले जनकपुर बोल्ट्सका खेलाडीलाई काँधमा बोकेर खुशी व्यक्त गरेका थिए ।

त्यस अवसरमा नगरप्रमुख सोनारले खेलमार्फत मुलुकको प्रतिष्ठा अभिवृद्धि गर्ने खेलाडीलाई नगरमा स्वागत गर्न पाउँदा निकै खुसी लागेको बताए। विजयी टोली जलेश्वरबाट  एकडारा गाउँपालिका, मनराशिशवा नगरपालिका, सम्सी र सोनमा गाउँपालिकाका विभिन्न बस्तीहरूमा विजयोत्सव मनाउँदै सर्लाहीतर्फ प्रस्थान गर्नेछन् ।

जनकपुर बोल्टस्का प्रबन्ध निर्देशक निरज खतिवडाले आम नागरिकको चासो र आफूहरूले जितमा देखिएको खुसी एवं आत्मीयताबाट आफूहरूलाई ऊर्जा मिलेको बताए । 

जनकपुर बोल्टस्ले एनपिएल जितेको खुशियालीमा मधेस प्रदेशका आठ वटै जिल्लामा विजयोत्सव मनाउँदै छ । शुक्रबार धनुषाको जनकपुरधामबाट सुरु भएको ‘ट्रफी परेड’ आज महोत्तरी, सर्लाही र रौतहटमा आयोजना गरिएको हो । टोलीले आइतबार बारा र पर्सा, सोमबार सिरहा र सप्तरी पुग्ने तालिका छ ।

जनकपुर । नेपालका लागि बेलायती राजदूत रब फेन र उनकी धर्मपत्नी जुलिया फेनले आफ्नो २२ औं वैवाहिक वर्षगाँठ जनकपुरको जानकी मन्दिरमा मनाएका छन् ।

आज (शनिबार) बिहान जानकी मन्दिर परिसरमा मनाइएको राजदूत दम्पतीको वैवाहिक वर्षगाँठमा स्वस्तिक वाचन समेत गरिएको थियो ।

राजदूत फेन दम्पतीले नेपाली पोसाक लगाएका थिए । वैवाहिक वर्षगाँठमा जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास, मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहलगायतको सहभागिता थियो ।

राजदूत फेन दम्पतीले जानकी मन्दिर माया, आस्था र विश्वासको प्रतिक रहेकाले आफूहरुले वैवाहिक वर्षगाँठ यही मनाएको बताए ।

गुलरिया(बर्दिया) । कृष्णसारको आहारा सङ्कट टार्न बर्दियाको खैरापुरमा मौसमीखेती थालिएको छ । वन्यजन्तु संरक्षण ऐन, २०२९ ले संरक्षित वन्यजन्तुको सूचीमा कृष्णसारलाई सूचीकृत गरेको छ । 

हिउँदमा कृष्णसारको आहारा मासिएपछि कृष्णसार संरक्षण क्षेत्रमा मौसमीखेती गर्नुपरेको कृष्णसार संरक्षण क्षेत्रका संरक्षण अधिकृत भोजराज पन्थले बताए । संरक्षण क्षेत्रभित्रै कृष्णसारको बासस्थान परिसरको आठ हेक्टर क्षेत्रफलमा खेती गरिएको छ । उनले भने, “पहिलो चरण गरिएको खेतीमा गहुँ, मकै, केराउ, मसुरोलगायत अनाज छरेका छौँ । यसले केही दिनलाई कृष्णसारको आहाराको जोहो हुन्छ । ”

पहिलो पटक छरेको अनाज कृष्णसारले खाएर सकेपछि पुनः दोस्रो चरणमा छर्ने तयारी कार्यालयको छ । वन्यजन्तु संरक्षण ऐनले सूचीकृत गरेको वन्यजन्तु कृष्णसार प्राकृतिक वासस्थानमा लोप हुने खतरा बढेपछि सरकारले संरक्षण क्षेत्र घोषणा गरी यसको संरक्षण थालनी गरेको हो । कृष्णसारको प्राकृतिक बासस्थान खैरापुरमा सिरुलगायत दुबो पनि लगाइएको हो । कृष्णसारले  यस्तो दुबोको टुसा खान मन पराउने बताइएको छ ।  कृष्णसारलाई हिउँदमा आहारा सङ्कट पर्ने गर्छ ।

गुलरिया नगरपालिकाको खैरी पटाहा क्षेत्रको प्राकृतिक वासस्थानमा भाले, पोथी बच्चा गरी दुई सय १७ वटा कृष्णसार रहेको कृष्णसार संक्षणक्षेत्र कार्यालयको तथ्यांक छ । 

कृष्णसारको बासस्थान अतिक्रमण, चरी चरण क्षेत्रमा पार्थेनियमलगायत मिचाहा प्रजाति, छाडा पशुको खुला चरी चरण कृष्णसार संरक्षणको प्रमुख चुनौती रहेको संरक्षण अधिकृत पन्थ बताउछन् । यथेष्ट आर्थिक अभावकाबीच पनि संरक्षणमा चुनौती रहेको छ । हिउँदमा कृष्णसारको चरी चरण क्षेत्रका आहारा घाँस सुक्ने भएकाले पनि समस्या पर्ने गरेको कार्यालयले जनाएको छ । 

बर्दियाको गुलरियास्थित खैरापुरको पटाहा क्षेत्रको प्राकृतिक वासस्थानमा रहेका एन्टीलोप प्रजातिका कृष्णसारहरू । हिउँदे सुक्खायाममा घाँस नहुँदा कृष्णसारलाई चरी चरणको समस्या पर्छ ।

भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पाइपलाइनबाटै पेट्रोलियम पदार्थको आयात गर्न परीक्षण सुरुआत भएको छ । यसका लागि पेट्रोलियम पाइपलाइन विस्तारको पूरा भएसँगै परीक्षण थालिएको हो ।

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तारको सम्पूर्ण काम सकिएको र परीक्षणका लागि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल आयात गर्न थालिएको नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रलयंकर आचार्यले जानकारी दिए।

“पाइपलाइन परीक्षण गर्न तत्कालका लागि विस्तार गरिएको पाइपलाइनबाटै पेट्रोल पाँच हजार पाँच सय केएल र एक हजार केएल मट्टितेल ल्याएका छौँ”, प्रमुख आचार्यले भने, “पाइपलाइनबाट ल्याइएको पेट्रोलियम पदार्थको परीक्षण भइरहेको छ ।” यससँगै पाइपलाइनबाटै पेट्रोलियम पदार्थको नियमित आयात गर्नका लागि आवश्यक तयारीसमेत भइरहेको उनले जानकारी दिए ।

उनले भने, “जनवरी २०२५ देखि पाइपलाइनबाटै पेट्रोलियम पदार्थको नियमित आयात गर्ने भनिए पनि आवश्यक तयारी पूरा नभएकाले केही दिन ढिला हुने छ ।”

पाइलाइन विस्तार परियोजनाअन्तर्गत भारतीय आयल निगमले अमलेखगञ्जस्थित डिपोमा चार हजार एक सय किलो लिटर क्षमताका दुई पेट्रोल ट्याङ्क, दुई सय ५ं० किलोलिटर क्षमताका दुई ट्रान्समिक्स ट्र्याङ्क, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित लोडिङ वे–रिफिलर०, पम्प हाउस र प्रयोगशाला निर्माण गरेको प्रमुख आचार्यले बताए ।

सोही परियोजनाअन्तर्गत फायर फाइटिङ सिस्टमको स्तरोन्नति, पानी र तेल छुट्याउने ओडब्ल्युएस सिस्टम तथा पिएमसिसी कक्षसमेत निर्माण गरिएको छ । सन् २०२३ भित्र सम्पूर्ण पूर्वाधार निर्माण सम्पन्न गर्नेगरी लिखिता इन्फास्ट्रक्चर प्रालिलाई ठेक्का दिइएको थियो । तर विभिन्न कारणले केही दिनअघिमात्र पाइपलाइन विस्तारको काम सकिएको प्रमुख आचार्यले बताए ।

यस्तै पेट्रोल र डिजेल दुवै हुनसक्ने मिश्रित इन्धन राख्नका लागि दुई ट्रान्समिक्स ट्र्याङ्क र डिपोभित्रको सुरक्षाका लागि तीन हजार किलोलिटर क्षमताको फायरवाटर ट्र्याङ्क भारतीय आयल निगमनले निर्माण गरिदिएको छ ।

परियोजनाअन्तर्गत पहिलो चरणको काम सम्पन्न भई गत २०७६ साल भदौ २५ गतेदेखि पाइपलाइनबाट डिजेलको आयात भइरहेको छ । परियोजनाको दोस्रो चरणको सकिएपछि पाइपलाइनबाटै पेट्रोल र मट्टितेलकोसमेत आयात हुने जनाएको छ ।

“एउटै पाइपलाइनबाट पेट्रोल र मट्टितेल आयात गर्न सम्भव भए पनि भण्डारण गर्ने क्षमता नहुँदा ट्र्याङ्करबाटै पेट्रोलियम पदार्थ ल्याउनुपर्ने बाध्यता थियो”, प्रमुख आचार्यले भने “आयोजनाको काम सम्पन्न भएपछि पेट्रोल, डिजेल र मट्टितेल गरी तीनवटै पदार्थको नियमित आयात पाइपलाइनबाटै हुन्छ ।”

मेतिहारी–अमलेखगञ्ज पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात हुदाँ प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी भाडासमेत बचत हुने तथा वातावरणीय प्रदूषण कम गर्न सहयोग पुग्ने कार्यालय प्रमुख आचार्यको भनाइ छ ।

यो आयोजना निर्माण सम्पन्न भएसँगै अमलेखगञ्ज डिपोमा डिजेलको भण्डारण क्षमता २४ हजार आठ सय ४० किलोलिटर र पेट्रोलको भण्डारण क्षमता १६ हजार छ सय ३० किलोलिटर पुग्नेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आध्यात्मिक चिन्तनमा समय बित्नेछ। सामाजिक काममा चासो लिन सकिनेछ। आफूले गरेको मेहनत अर्काले लिन सक्छ। मौसमी बिमारीदेखि सावधान रहनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साझेदारी व्यापारबाट लाभ मिल्नेछ। दिखावा र आडम्बरको चक्करमा गल्ती नहोस् यस विषयलाई लिएर ध्यान दिनुहोस्। चलचित्र र कलाको क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा तपाईंको प्रयास सफल हुनेछ र धन प्राप्तिका नयाँ मार्ग प्रशस्त हुनेछन्। कर्तव्य निष्ठ भएर अघि बढ्ने समय रहेको छ। ऋणको लेनदेनदेखि बच्नुहोस्। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ६ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। पठनपाठनमा मन लाग्नेछ। प्रेम सम्बन्ध कसिनेछ। मानसिक वा शारीरिक रुपमा सबल हुनुहुनेछ। आत्मीय जनहरूको मेलमिलापले मनमा उमंग रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामाजिक क्षेत्रमा महत्त्वपूर्ण दायित्व मिल्न सक्छ।आफन्तहरुको साथ नमिल्नाले आत्मविश्वासमा कमि आउने छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। मित्रहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग वैजनी हो भने शुभ अंक ४ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) परिश्रम अनुसार राम्रै प्रतिफल पाइनेछ। भाग्योदयको समय रहेको छ। रोकिएको धन फिर्ता हुने सम्भावना रहेको छ। निजी कार्यलाई लिएर दौडधुप बढ्नेछ। पत्नी र पुत्रबाट सहयोग पाइएला। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ३ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) व्यापार व्यवसायमा बौद्धिकताको परीक्षण हुनेछ। बोली र व्यक्तित्वले सबैको प्यारो बन्न सकिन्छ। जोश र जागर बढ्नाले कार्य समयमा सम्पादन हुनेछ। संगीत र कलामा रुचि बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा मानसम्मान बढ्नेछ। आलस्य गर्दा बनिरहेको काम बिग्रिन सक्छ। छरछिमेकीसँगको विवाद समाधान हुनेछ। मूल्यवान वस्तुको संग्रह गर्न सक्नुहुनेछ। धेरै समयपछि आत्मीय जनहरूसँग भेट होला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) वैदेशिक रोजगारको योग बनिरहेको छ। सरकारी कार्यमा बाधा आउनेछ। अध्ययन नगरी काम थाल्दा समस्या पर्नेछ। स्वास्थ्यलाई लिएर सजग रहनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) चिताएको काम सजिलै सम्पादन गर्न सकिनेछ। स्वरोजगारको नयाँ अवसरहरू मिल्ला। वैदेशिक यात्रा गर्ने साइत जुर्नेछ। कार्यक्षेत्रमा सहयोगीहरूको सहयोग लिन गाह्रो हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। कृषिमा राम्रो उत्पादन हुनाले उचित मूल्यांकन प्राप्त हुनेछ। नयाँ उद्योगधन्दा प्रारम्भ गर्न सकिनेछ। शैक्षिक क्षेत्रमा प्रगति होला । आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धार्मिक संघ संस्थामा सहभागी हुन पाइएला। जग्गा जमिनको कारोबारमा भाग्यले साथ दिनेछ। ठूलो योजना पूरा गर्नमा केही समय लाग्नेछ। नमागी कसैलाई सल्लाह नदिनुहोला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ।

 

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आज ५०औँ दीक्षान्त समारोह आयोजना गर्दैछ । आज त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा ५०औँ दीक्षान्त समारोह आयोजना गरिएको छ । 

समारोहमा यस पटक १४ हजार ३ सय आठ विद्यार्थी दीक्षित सहभागी हुँदै छन् । सोही संख्यामा अभिभावकको समेत सहभागिता हुनेछ । गत वर्षभन्दा यस पटक दुई हजार भन्दा बढी विद्यार्थी दीक्षित हुने छन् । 

स्नातकतर्फ नौ हजार ६८, स्नातकोत्तर पाँच हजार ५५, एमफिलतर्फ ६३ र विद्यावारिधि(पिएचडी) तर्फ एक सय २२ जना विद्यार्थी दीक्षित हुँदै छन्  समारोहमा २०८० असारदेखि २०८१ असार मसान्तसम्म पास भएका ७४ हजार एक सय ४९ विद्यार्थीसहित ६२औँ ग्रेस लिष्टमा भएका विद्यार्थीसमेत दीक्षित हुँदै छन् । समारोहमा विभिन्न १७ वटा विधिका पुरस्कार वितरण गरिने छ । 

दीक्षान्त समारोहको प्रमुख अतिथिका रूपमा वरिष्ठ कृषि वैज्ञानिक डा.रामप्रसाद यादव रहने छन् । समारोहमा त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली, त्रिविका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलगायत विद्यार्थी र अभिभावकको सहभागी रहनेछ ।

 नुवाकोटस्थित शेरा दरबारको १६८ रोपनी जग्गा दुरुपयोग भएको प्रहरी अनुसन्धानले निष्कर्ष निकालेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धानमा त्यहाँको जग्गा दुरुपयोग भएको पाइएपछि सरकारको नाममा ल्याउन पत्राचार गरेको हो ।

सीआइबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले उक्त जग्गा नेपाल सरकारको नाममा ल्याउन तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउनका लागि भूमि व्यवस्थापन तथा अभिलेख विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गरिएको जानकारी दिए ।

अख्तियारले जग्गाका विषयमा विगतदेखि नै चासो राखिरहेकाले त्यहाँ पनि प्रतिवेदन पठाइएको सीआईबी स्रोत बताउँछ ।सीआईबीले उक्त जग्गाको ४ महिना लगाएर अनुसन्धान गरेको हो । दरबारको १६८ रोपनी जग्गा हदबन्दीको प्रयोजनविपरीत भोगचलन गरेको भेटिएको थापाले बताए ।

पृथ्वीनारायण शाहले नुवाकोटमा १८४ रोपनीमा शीतकालीन दरबार निर्माण गरेका थिए । शाह परिवारबाट नामसारी हुँदै सो जग्गा हेलेन शाह र जयन्ती शाहको नाममा पुगेको थियो । २०३६ सालमा हदबन्दी लागू भएपछि हेलेन र जयन्तीको नाममा रहेको बाहेकको झण्डै १६८ रोपनी जग्गा मालपोत कार्यालयबाट गौरीशंकर फार्मिङको नाममा राखिएको पाइएको छ ।

नुवाकोट घर भएका विकेश श्रेष्ठले २०४४ मा गौरीशंकर फार्मिङको नाम परिवर्तन गरेर अन्नपूर्ण फार्मिङको नाममा भोगचलन गरेका थिए । मालपोत कार्यालयको श्रेस्तामा केरमेट गरेर गौरीशंकर फार्मिङलाई ‘अन्नपूर्ण फार्मिङ’ बनाएको पाइएको प्रहरीको अनुसन्धानबाट भेटिएको छ । २०६६ सम्ममा विकेश श्रेष्ठसहित ६ जना सेयर सदस्य भएर सो जग्गा भोगचलन गरेको भेटिएको प्रहरी स्रोतको भनाइ छ ।

अहिले भने अन्नपूर्ण फार्मिङ विकेश श्रेष्ठ र उनको परिवारका नाममा मात्रै रहेको प्रहरीको अनुसन्धानमा भेटिएको छ । विकेश श्रेष्ठ कुनै बेला माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वकीय सचिव थिए । माओवादी शान्ति प्रक्रियामा आउनुअघिदेखि नै प्रचण्डको हेडक्वार्टरमा रहेका उनी माओवादी सत्तामा आएपछि पनि प्रचण्डकै टिममा रहे । उनी माओवादीका पूर्व केन्द्रीय सदस्य समेत हुन् ।

काठमाडौँ । यस महिना लागेपछि मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । 

सोही क्रममा शुक्रबार राति ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर तीन दशमलव सात म्याग्निच्यूडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस २ गते बझाङको धामेना आसपास केन्द्रबिन्दु बनाएर चार दशमलव तीन, पुस ३ गते बझाङको धामेना मै चार दशमलव एक म्याग्निच्यूडको भूकम्प गएको थियो । यस्तै, पुस ४ गते मनाङको नेस्याङ केन्द्रबिन्दु भएर चार दशमलव सात म्याग्निच्यूडको भूकम्प गयो ।

पुस छ गते बाजुरामा पाँच दशमलव दुई म्याग्निच्यूडको भूकम्प जाँदा पुस नौ गते ९ बजेर २५ मिनेट जाँदा दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु बनाएर चार म्याग्नेचुड र पुस ११ गते जाजरकोट नायकवाडा केन्द्रबिन्दु बनाएर चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गएको विभागले जनाएको छ । विभागका अनुसार, शुक्रबार ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर तीन दशमलव सात म्याग्निच्यूडको भूकम्प गएको हो ।

विभागका अनुसार, २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर छ दशमलव चार म्याग्निच्यूडको भूकम्प गएको थियो । सो भूकम्पपछि मात्रै पश्चिम नेपालमा पाँच परकम्प गएको सम्बद्ध जानकारको भनाइ छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।