काठमाडौँ, ५ असोज । बर्षाको अन्त्य हुनुपर्ने समयमा देशको मध्य र पूर्वी भेगमा न्यूनचापीय क्षेत्रको प्रभावका कारण मौसममा खराबी आएको छ । उक्त प्रणालीको असरस्वरुप मौसम बद्ली भई मध्य र पूर्वका अधिकांश भेगमा वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वमा न्यूनचापीय क्षेत्र र मध्यमा न्यूनचापीय रेखाको प्रभावले बद्लीसँगै वर्षात् भएको मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार पश्चिम भेगका केही स्थानमा वर्षात् भएको छ, भने सुदूरपश्चिममा कुनै प्रभाव छैन । मङ्गलबार रातिदेखि सुरु भएको यो प्रणाली बिहीबार साँझसम्म जारी रहने र शुक्रबारदेखि मौसममा सुधार आउने मौसमविद् पोखरेलले उल्लेख गर्नुभयो । महाशाखाको पछिल्लो विवरणअनुसार आज सबैभन्दा बढी ओखलढुङ्गामा ८२ मिलिमिटर वर्षात् भएको छ । विराटनगरमा २३, धनकुटामा २९, ताप्लेजुङमा ३७ काठमाडौँमा २४, भैरहवामा ३९ र नेपालगन्जमा ३४ मिलिमिटर वर्षा भएको छ । आज काठमाडौँ उपत्यकाको अधिकतम २९.५ र न्यूनतम १८.५ डिग्रीसेल्सियस रहेको महाशाखाले जनाएको छ ।
Home ताजा समाचार न्यूनचापीय क्षेत्रको प्रभावका कारण मौसममा खराबी ,शुक्रबारदेखि सुधार हुने बिद्को अनुमान ।