राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीबाट निष्काशित मुकुल ढकाललाई पुरानै जिम्मेवारीमा फर्काउन माग गर्दै पार्टीमा निवेदन परेको छ ।
पार्टीका कोशी प्रदेश सभापति राजेश तिम्सिना र मधेस प्रदेश सभापति तपेश्वर यादवले उक्त पत्र केन्द्रीय कार्यालयमा दर्ता गराएका हुन् ।
तिम्सिना र मधेशका महामन्त्री तपेश्वर यादवले मुकुललाई पार्टीमा फर्काउन माग गर्दै कार्यवाहक सभापति डीपी अर्याललाई पत्र पठाएका हुन् । उनीहरूले पार्टी आजसम्मकै सबैभन्दा ठूलो संकटको घडीमा रहेको महसुस गरेको भन्दै लेखेका छन्, ‘रास्वपाले रास्वपा मात्रको भविष्य निर्धारण गरिरहेको छैन, समग्र वैकल्पिक राजनीति र त्यो भन्दा ठूलो नेपाली जनताको आशाको भविष्य पनि निर्धारण गरिरहेको छ ।’
निवेदनमा उनीहरूले पछिल्लो असार महिनायता पार्टीमा जे जति घटना घटे, त्यो दुःखद भएको भन्दै पार्टीको यो घडीमा सबै मिलेर अघि बढ्नुपर्ने उल्लेख गरेका छन् । ‘त्यसका लागि केहि कोर्स करेक्सन आवश्यक छन्। सबै निर्णयबाट आफ्नो हस्ताक्षर र सहमति फिर्ता लिएको जानकारी गराउँछु’, निवेदनमा भनिएको छ, ‘राइट टू रिकलको प्रावधानलाई नीतिमै अवलम्बन गरेको हाम्रो पार्टीमा यसरी हस्ताक्षर र सहमति फिर्ता गर्नु पार्टी नीतिमै रहेको तथ्य मैले बुझेको छु ।’
निवेदनमा थप लेखिएको छ‚ ‘यसर्थ, एक आपसका सबै तुष सबै पक्षबाट त्यागौँ र सङ्कटको यो घडी फुटेर होइन, जुटेर सामना गरौँ । राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेपाली जनताका लागि एउटा बलियो र भरोसायुक्त पार्टीको रूपमा स्थापना गरौँ।’ रास्वपाले संस्थापक महामन्त्री एवम् प्रवक्ता ढकाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी गत असारमा हटाएको थियो ।