सार्वजनिक सवारीमा २२ लाखको सामान !

0
386

काठमाडौँ, ३० कात्तिक । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७३÷०७४ मा सार्वजनिक सवारीमा छोडिएका रु २१ लाख ६४ हजार बराबरको सामान फेला पारेको छ ।

महाशाखाले साउनदेखि कात्तिकसम्म हराएको सामानको उजुरीको आधारमा खोज अनुसन्धान गर्दा उक्त रकम बराबरको सामान फेला पारेको हो ।

महाशाखामा परेको ७६ निवेदनमध्ये ६१ सामग्री उक्त मूल्य बराबरको फेला पारिएको महाशाखाका प्रहरी नायब उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो ।

फेला पारिएका सामग्रीमा विभिन्न कम्पनीका मोबाइल २३ थान, आइप्याड एक थान, विभिन्न कम्पनीका ल्यापटप चार थान, राहदानी छ थान, नागरिकता पाँच थान, लत्ताकपडा भएको झोला पाँच थान र क्यामरा दुईथान फेला पारेको हो ।

यस्तै रु दुई लाख २७ हजार नेपाली र तीन हजार अमेरिकी डलर समेत फेला पारेको छ । सार्वजनिक सवारीसाधन चढ्दा वा ओर्लदा मानिसले सवारी नम्बर नहेर्ने हुँदा सामान हराउने गरेको ट्राफिक महाशाखाले जनाएको छ ।