
सफ्टवेयर तथा प्रविधि विकासमा काम गर्ने एफवान सफ्ट कम्पनीको बैंक खाताबाट ह्याकरले तीन करोड ४२ लाख रुपैयाँ चोरी गरेका छन् । कम्पनीको अनलाइन बैंकिङ प्रणाली ह्याकिङ गरी खाताबाट पैसा चोरी भएको हो ।
सिटिजन्स बैंक इन्टरनेसनलमा रहेको खातामा भएको यस्तो ह्याकिङमा अन्तर्राष्ट्रिय समूह संलग्न रहेको आशंका गरिएको छ । कम्पनीको उजुरीका आधारमा प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ । एफवान सफ्ट इसेवा, फोनपेजस्ता चर्चित मोबाइल वालेट तथा डिजिटल भुक्तानी सञ्चालन गर्ने कम्पनी हो । कम्पनीले सफ्टवेयर तथा प्रविधि विकास गरी बिक्री– वितरणको भुक्तानी सो खातामा जम्मा गर्दै आएको थियो । दुई महिनाअघि पटक–पटक गरेर सो खाताबाट अनलाइन बैंकिङमार्फत विभिन्न खातामा पैसा ट्रान्सफर भएको हो ।
वैदेशिक रोजगारीमा रहेकालाई हुन्डीको कारोबार मिलाउन नेपालको खातामा पैसा हालिएकाले यसमा अन्तर्राष्ट्रिय गिरोहकै संलग्नता देखिएको प्रहरी अधिकारी बताउँछन् । यस्तो खालको बैंकिङ ह्याकिङ नयाँ खालको भएकाले समग्र बैंकिङ क्षेत्रकै लागि समेत चुनौती बनेको छ ।
गुल्मीको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापामगरले आफ्नो पालिकाका सेवाग्राहीको काममा अलमल र ढिलासुस्ती गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा तोडफोड गरेका छन् ।
राहदानी बनाउने काममा ढिलाइ गरेको आरोप लगाउँदै पालिका अध्यक्ष थापामगरले राहदानीको स्क्यानर मेसिन फुटाएका हुन् ।
आफूले स्क्यानर मेसिन तोडफोड गरेको स्वीकार्दै थापामगरले पालिकाका सेवाग्राहीले तीनरचार दिनसम्म पनि सेवा नपाएपछि आवेगमा त्यसो गरेका प्रतिक्रिया दिए ।
कालीगण्डकी गाउँपालिका सदरमुकामबाट टाढा पर्छ । आफ्नो पालिकाबाट आएका सेवाग्राहीले तीनरचार दिनसम्म पनि सेवा नपाएर सदरमुकाममै बस्नु परेको गुनासो आएपछि पालिका अध्यक्ष थापामगर बिहीबार प्रशासन कार्यालयको राहदानी शाखा पुगेका थिए ।
शाखाका कर्मचारीसँग गुनासो राख्दा चित्त बझ्दो जवाफ नपाएको भन्दै उनले स्क्यानर मेसिन फोडेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
अध्यक्ष थापामगरले भने टाढाबाट आएका नागरिकलाई सेवा दिन आग्रह गर्दा कर्मचारीले अस्वीकार गरेपछि सामग्री फुटाएको बताए ।
स्क्यानर फुटेपछि अहिले राहदानीसम्बन्धी सेवा नै ठप्प भएको छ । तोडफोडपछि अध्यक्ष मगरलाई प्रहरीले केहीबेर नियन्त्रणमा लिएको थियो । तर उनी हिजै साँझ छुटेका छन् ।
लिखित आत्मालोचनासहित क्षतिपूर्ति दिने सहमतिपछि उनलाई छोडिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।
टोकन प्रणालीमा राहदानी वितरण व्यवस्थित भए पनि गाउँपालिका अध्यक्षले आवेगमा तोडफोड गरेको उनको भनाइ छ ।
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतका उद्यमी समक्ष नेपालमा ऊर्जा, पूर्वाधार विकास, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानीका लागि आह्वान गरेकी छन्।
काठमाडौँ विश्वविद्यालय र भारतको ‘फाउन्डेसन फर इकोनोमिक ग्रोथ एन्ड वेल्फर’ (ईग्रो फाउन्डेसन) ले आयोजनामा भारतको राजधानी नयाँ दिल्लीमा आजदेखि सुरु ‘भारत–नेपाल आर्थिक सम्मेलन’ (इन्डो–नेपाल इकोनोमिक कन्फ्रेन्स) मा उनले नेपालले विदेशी लगानी र निजी क्षेत्र प्रवर्द्धनसम्बन्धी नीति उदार बनाएको उल्लेख गर्दै भारतीय उद्यमीलाई लगानीका लागि आह्वान गरेकी हुन्।
मन्त्री राणाले नेपालमा लगानीको वातावरण बनेको र उच्च प्रतिफलको अवस्था पनि बनेको उल्लेख गरिन्। उनले नेपालले विदेशी लगानी आकर्षणका लागि ‘डबल बी माइनस (बीबी माइनस) रेटिङ प्राप्त गरेको र लगानीका लागि प्रोत्साहनमुखी नीतिहरू लागू गरेको जानकारी गराइन्।
मन्त्री राणाले नेपाल–भारत सम्बन्धलाई केवल आर्थिक रूपमा मात्र नभई सामाजिक र सांस्कृतिक रूपमा पनि थप मजबुत बनाउनुपर्नेमा जोड दिइन्। दक्षिण एशियाको क्षेत्रीय सहकार्यका लागि नेपाल–भारत सम्बन्धलाई एक उदाहरणीय ढाँचाका रूपमा विकास गर्नुपर्ने उनको धारणा थियो।
उनले नेपाल र भारतबीच कागजी सम्झौताभन्दा बढी हृदयले जोडिएको सम्बन्ध भएको बताउँदै दुई देशबीचको सांस्कृतिक, धार्मिक र ऐतिहासिक सम्बन्धलाई प्राथमिकताका साथ थप मजबुद बनाउँदै लगिनुपर्ने बताइन्।
त्यस अवसरमा उनले अन्तरदेशीय (क्रस–बोर्डर) पूर्वाधार विकासमा जोड दिइन्। ‘एकीकृत जाँचपास केन्द्र (इन्टिग्रेटेड चेक पोस्ट–आईसीपी), रेलमार्ग, पेट्रोलियम पाइपलाइन, र विद्युत् प्रशारणलाइनजस्ता परियोजना नेपाल–भारत आर्थिक सहकार्यका महत्तवपूर्ण आधार स्तम्भ हुन्,’ उनले भनिन्।
सम्मेलनमा परराष्ट्रमन्त्री राणाले दुई देशबीच भएको सम्झौता विद्युत् व्यापार सम्झौताले आगामी १० वर्षभित्र १० हजार मेगावाट विद्युत् भारतलाई निर्यात गर्ने योजना अघि सारेको र नेपालले हालै भारतको प्रशारण लाइनमार्फत् बङ्गलादेशलाई ४० मेगावाट विद्युत् बिक्री गर्न सक्षम भएको बताइन्।
भारत नेपालका लागि सबैभन्दा ठूलो व्यापारिक साझेदार, प्रत्यक्ष वैदेशिक लगानीमा ठूलो योगदानकर्ता र अन्तर्राष्ट्रिय व्यापार र कनेक्टिभिटीका लागि पारगमन देश भएको उनको भनाइ थियो।
उनले भनले भनिन्, ‘शिक्षादेखि स्वास्थ्य, पूर्वाधार विकास, संस्थागत निर्माण र नेपालको औद्योगीकरणमा भारतको सहयोगले यो सम्बन्ध अझ बलियो बनाएको छ। धार्मिक यात्राहरू, सांस्कृतिक पर्वहरूले हाम्रो सम्बन्धलाई पुस्तौदेखि नजिक बनाउँदै आएका छन्। पछिल्ला वर्षमा द्विपक्षीय आर्थिक सहकार्यको दायरा बढेका छन् र यस क्षेत्रमा महत्वपूर्ण प्रगति भएको छ।’
मन्त्री डा राणाले दुई देशबीचको व्यापार असमान रहेको प्रति चिन्ता व्यक्त गरिन्। नेपालको भारतसँगको व्यापार घाटा कुल ग्राहस्थ्य उत्पादनको अनुपातमा निकै बढेको उल्लेख गर्दै यस्तो असमानता कम गर्न व्यापारको विविधिकरण र विस्तारका उपाय खोज्न सम्मेलनमार्फत् आह्वान गरिन्।
नेपाल–भारत व्यापारमा रहेका अवरोध हटाउन अति आवश्यक रहेको पनि उनको भनाइ थियो। गैर–भन्सार अवरोध, सीमा व्यापारका संरचनागत समस्याहरूले दुवै देशको आर्थिक सम्बन्धलाई अवरोध पुर्याएको तथ्य उनले राखे।
ईग्रोका प्रमुख कार्यकारी डा चरन सिंहले यस प्रकारको सम्मेलन पहिलोपटक आयोजना गरिएको उल्लेख गर्दै छिमेकी मुलुकहरूसँग सहकार्य, सिक्ने र सिकाउने अभ्यासलाई प्राथमिकता दिनुपर्ने बताए। शैक्षिक अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने महत्त्वपूर्ण भूमिका यो सम्मेलनले खेल्न सक्ने उनले जानकारी दिए।
काठमाडौँ विश्वविद्यालयका रजिस्टार डा अच्युत वाग्लेले नेपाल र भारतबीचको द्विपक्षीय तथा क्षेत्रीय सहकार्यका सम्भावनाहरू पहिचान गर्न यस सम्मेलन आयोजना गरिएको बताए। उनले यो सम्मेलनलाई ‘ट्रयाक टु डिप्लोमेसी’ को उदाहरणका रूपमा उल्लेख गर्दै शैक्षिक क्षेत्रबाट अध्ययन र तथ्याङ्कको प्रयोग गरी नीतिगत सहकार्यमा योगदान पुर्याउन सकिने धारणा व्यक्त गरे।
नेपाल र भारतबीच वैदेशिक व्यापारको असन्तुलनलाई औंल्याउँदै उनले नेपालले भारतबाट आयात गर्ने विप्रेषणभन्दा भारतले नेपालबाट आयात गर्ने विप्रेषण ४० प्रतिशतले बढी रहेको तथ्य प्रस्तुत गरे। रजिष्टार वाग्लेले जलवायु परिवर्तनका साझा समस्याहरूको समाधानमा दुई देशबीच सहकार्यको आवश्यकता औंल्याए।
जलवायु परिवर्तनका असरले हिमाल पग्लिनु नेपालको मात्र नभई भारत र समग्र विश्वकै समस्या रहेको बताउँदै उनले हरित र दिगो विकासका अवधारणाकनका लागि सहकार्य अपरिहार्य भएको उल्लेख गरे। त्यसैगरी, युवा पलायनको समस्यालाई गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ छ। साथै, नेपाल र भारतबीच पेमेन्ट गेटवे सञ्चालन गर्ने योजनालाई प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव छ।
सम्मेलनमा ईग्रोका निर्देशक डा अशोक विसनदासले यो सम्मेलन शैक्षिक उपलब्धिमा मात्र सीमित नरही क्षेत्रीय एकता र सहकार्य प्रवर्द्धन गर्न महत्वपूर्ण रहेको बताए। उनका अनुसार दिगो र समावेशी विकासका लागि नीतिगत तहमा सहकार्य गर्ने विषयमा सुझाव प्रदान गर्ने यो सम्मेलनको महत्वपूर्ण भूमिका रहनेछ।
उनले द्विपक्षीय लगानी, पूर्वाधार निर्माण, व्यापार, पर्यटन लगायतका क्षेत्रमा सहकार्यका सम्भावनाबारे महत्वपूर्ण निष्कर्ष निकाल्ने अपेक्षा व्यक्त गरे। साथै, भारतको आर्थिक उदारीकरणबाट नेपालले सिक्न सक्ने सकारात्मक पक्षबारे पनि उनले प्रकाश पारे।
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा पाँच सयले घटेर एक लाख ४८ हजार ५०० रुपैयाँमा खरिद–बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार रुपैयाँमा किनबेच भएको थियो ।
बिहीबार चाँदी प्रतितोला एक हजार ७८० रुपैयाँमा खरिद–बिक्री भएको थियो ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि गरेको कामले आशा भने जगाउनेछ। समयको मागअनुसार चल्ने प्रयास गर्नुहोला। बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। साथीभाइसँग पनि असमझदारी बढ्ने देखिन्छ। काममा अरूको भर नपर्नुहोला। रोकिएका काम दोहोर्याउनुपर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। आफन्तसँग मतभेद हुनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। प्रतिस्पर्धामा उत्रनुपरे पनि मिहिनेतले उपलब्धि हातपार्न सकिनेछ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहाेला। विभिन्न अवसरले सफलताको यश पनि दिलाउन सक्छ। भौतिक साधन जुट्नाले दिगो योजना अघि बढ्नेछ। कामले प्रतिष्ठा दिलाउनेछ। नियमित काम बने पनि आफ्नै सहयोगीहरू काममा बाधक बन्न सक्छन्।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। हातमा आएको रकम तत्काल खर्चनुपर्नेछ। अरूलाई दिएको वचन पुर्याउन नसक्ता आलोचित बन्नुपर्ला। परिस्थिति सबल नदेखिए पनि मिहिनेतले आशा जगाउनेछ। बुद्धिको उपयोगले केही काम बनाउन सकिनेछ। शुभचिन्तकहरूको साथ–सहयाेगले काम बन्नेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अवसरका साथसाथै चुनौती पनि देखा पर्नेछन्। आगन्तुकहरूले अलमल्याउने हुनाले जीवनशैली व्यस्त रहनेछ। खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल बन्न सक्छ। परिस्थिति अनुकूलै देखिए पनि काम बिग्रने डरले सताउनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। लगनशीलताले फाइदा दिलाउनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। अरूको करकापमा परेर इच्छाविपरीत काम गर्नुपर्ला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। उधारोमा व्यापार गर्नुपर्ला। समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ। आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ। प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्नेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। सानो कामले पनि राम्रो आम्दानी दिलाउनेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै कामकाे जग बसाउन सकिनेछ। रोकिएको काम बन्नेछ र जिम्मेवारी समेत बढ्नेछ। उद्योग र व्यापारमा फाइदा उठाउन सकिनेछ। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
परिस्थितिवश केही समस्यामा अल्झनुपर्ने देखिन्छ। काम अड्किनाले उद्देश्य प्राप्त गर्न समय लाग्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। कमजाेर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। तत्काल फाइदा नहुने काममा अलमल हुनेछ। तापनि पछिका लागि पूर्वाधार तयार गर्न सकिनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिस्थितिवश केही समस्यामा अल्झनुपर्ने देखिन्छ। काम अड्किनाले उद्देश्य प्राप्त गर्न समय लाग्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। कमजाेर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। तत्काल फाइदा नहुने काममा अलमल हुनेछ। तापनि पछिका लागि पूर्वाधार तयार गर्न सकिनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। समस्या दर्साउँदा सहयोगी फेला पर्नेछन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। नसोचेको अवसरले जिम्मेवारी दिलाउन सक्छ। टाढिएका साथीभाइ नजिकिनेछन् भने मित्रता नै दिगो लाभको संवाहक बन्न सक्छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
व्यवसायका लागि सम्भावना खोजी गर्ने समय छ। तर, मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा पुग्न बाधा पर्नेछ। आजको यात्रा र आतिथ्य खर्चिलो बन्नेछ। समय लागे पनि मिहिनेतले काम बन्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। प्रियजनसँगको सान्निध्यले दिन रमाइलो रहनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
वादविवादमा अलमलिनुपर्दा काममा बाधा पुग्नेछ। ईर्ष्यालु प्रवृत्ति भएकाहरूले सताउन सक्छन्। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। विवादबाट जोगिँदै समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला। बाहिरी स्रोत जुट्नाले दिन उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ। द्वेष गर्नेहरूले हार खानेछन्। मिहिनेतले उपलब्धि दिलाउनेछ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जोडिएको सूर्यदर्शन सहकारीको रकम अपचलनको मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले आज (शुक्रबार) अदालतमा अभियोजन गर्ने तयारी गरेको छ ।
सरकारी वकिल कार्यालय कास्कीकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले आज अदालतमा अभियोग पत्र दर्ता गर्ने तयारी रहेको बताइन् । उनले भनिन्, ‘हामीले सुक्ष्मरूपमा अनुसन्धानको मिसिल अध्ययन गरिरहेका छौं, शुक्रबार अदालतमा अभियोग दर्ता गर्छौं ।’
झण्डै ६ सय पृष्ठ लामो प्रहरी मिसिलमा गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि, उनका पार्टनर एवं गोरखा मिडियाका सञ्चालक पूर्वडीआईजी छविलाल जोशी बञ्जाडे, लीला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङसहित ५१ जनालाई प्रतिवादी बनाइएको छ । सहकारीको ऋण तिर्न रविले काटेका चेक प्रहरीले बरामद गरेको छ । यसलाई पनि प्रहरीले सहकारी ठगीको प्रमाणको रूपमा लिएको छ ।
गोरखा मिडिया र सुप्रिम सहकारीमाथि अनुसन्धानका क्रममा लामिछानेले काटेको चेक फेला परेपछि उनलाई चेकको प्रतिलिपि देखाएरै सोधपुछ गरिएको थियो । प्रहरीले ५१ जना प्रतिवादीविरुद्ध १ अर्ब ५१ करोड रुपैयाँ माग दाबी लिएर मुद्दा दर्ता गर्न सरकारी वकिल कार्यालयमा राय पेश गरेको थियो । सूर्यदर्शनबाट ब्याज पुँजीकृत गरिएको ३९ करोड २२ लाख बराबरको कर्जा विवरणमा कर्जा खाता नम्बर ००१–००१–११६–०००४४५६ मा मिति २०७९ असार मसान्तमा १४ लाख ७५ हजार एक रुपैयाँ र २०८० असार १३ मा १६ लाख १३ हजार ७ सय १३ रुपैयाँ रवि लामिछानेको नाममा देखाइएको छ ।
रविले यसलाई इन्कार गरे पनि तेस्रो व्यक्ति खडा गरेर सहकारी ठगीबाट बच्न रविले प्रपञ्च रचेको दाबीसहित प्रहरीले केही तथ्य मिसिलमा राखेको छ । सूर्यदर्शनबाट गोरखा मिडियामा साढे ५ करोड गएको देखिन्छ ।
नेपाल विद्युत् प्राधिकरणले राजधानी काठमाडौँका विभिन्न स्थानमा आज बिहान १०ः३० देखि मध्याह्न १२ः०० बजेसम्म बिजुली कटौती गर्ने भएको छ ।
प्राधिकरणले एक सूचनामार्फत बलम्बु सबस्टेशनअन्तर्गत थानकोट फिडरअन्तर्गत पर्ने नैकाप, बलम्बु, चुनदेवी, खहरे, दशचोकलगायत क्षेत्रमा प्राविधिक जडान कार्यका लागि बिजुली कटौती हुने भएको छ ।
प्राधिकरणले सो फिडरअन्तर्गत उक्त स्थानलगायत सम्पूर्ण क्षेत्रका ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ । तोकिएको कार्य निर्धारित समयअगावै सम्पन्न भएमा तोकिएको अवधिभन्दा पहिल्यै बिजुली प्रवाह हुने सूचनामा उल्लेख छ ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले आज कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।
गण्डकी प्रदेशमा भने राति हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली रहने र तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहने छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
निर्धारित दरअनुसार अमेरिकी डलर, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, हङकङ डलर, कुवेती दिनारको मूल्य बढेको छ । यस्तै, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, थाई भाट, मलेसियन रिङ्गेट, साउथ कोरियन, स्वीडिस क्रोनरको मूल्य घटेको छ ।
अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ४२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ०१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ४१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ५९ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ २६ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ८८ पैसा र बिक्रीदर ८५ रुपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ४० पैसा र बिक्रीदर ९४ रुपैयाँ ८२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ०१ पैसा र बिक्रीदर एक सय रुपैयाँ ४५ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर आठ रुपैयाँ ६५ पैसा र बिक्रीदर आठ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ १५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४३ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९४ पैसा र बिक्रीदर तीन रुपैयाँ ९५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३७ रुपैयाँ १४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ १५ पैसा र बिक्रीदर ३० रुपैयाँ २८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३८ पैसा र बिक्रीदर नौ रुपैयाँ ४२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १२ रुपैयाँ ३८ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९ रुपैयाँ ०३ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १७ रुपैयाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ ९७ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ ९२ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६० रुपैयाँ ०७ पैसा र बिक्रीदर तीन सय ६१ रुपैयाँ ६६ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५३ रुपैयाँ ७८ पैसा र बिक्रीदर तीन सय ५४ रुपैयाँ ३४ पैसा तोकिएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।
यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।




