काठमाडौं । राष्ट्रिय किताबखाना (शिक्षक) छाउनीमार्ग तहाचल, काठमाडौंका शाखा अधिकृत तीन लाख घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शाखा अधिकृत धनेश्वर प्रसाईंलाई सेवाग्राहीसंग तीन लाख घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए ।
पक्राउ परेका प्रसाईमाथि थप अनुसन्धान भइरहेको छ । सेवाग्राहीको पेन्सनपट्टा बनाईदिने भन्दै उनले घुस मागेको आरोप छ ।
मुगु- मुलुकको ठूलो र प्राकृतिक सौन्दर्यले भरिएको राराताल पछिल्लो समय झारपातले कुरूप बन्दै गएको छ।
तालको किनारमा बढ्दै गएको झारपातले पर्यावरणीय सन्तुलनमा असर पुर्याउनुका साथै तालको प्राकृतिक सुन्दरतामा पनि ह्रास आएको हो।
तालको पानी र किनार दुवै क्षेत्रमा झारपात तीव्र रूपमा फैलिएको छ। यसले तालको जैविक विविधतामा असर पुर्याउनका साथै तालको आकर्षण घटाएको छायाँनाथ रारा नगरपालिका–९मुर्माका स्थानीय शिक्षक नन्दसिंह रोकायाले बताए। ‘रारातालको मुख्य आकर्षण यसको निलो पानी र सफा वातावरण हो, पछिल्लो समय बढ्दै गएको झारपातले सुन्दरता हराउँदै गएकाले समयमा सफाइ गर्नुपर्छ’, उनले भने।
रोकायाले आफू सानै हुँदा ताल धेरै सफा देखिने गर्दथ्यो भन्दै आजभोलि अत्यधिक उम्रिएकाे झारपात र सरसफाइ नहुँदा ताल बिरूप देखिन थालेको बताए। ‘जताततै खुला सफा देखिने ताल आजभोलि दुर्गन्धित र बिरूप देखिन थालेको छ’, उनले भने।
रारा राष्ट्रिय निकुञ्ज कार्यालयले झारपात नियन्त्रण गर्न केही पहल गरिरहेको भए पनि पर्याप्त साधन र स्रोतको अभावले समस्या भइरहेको जनाएको छ। निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत महेश न्यौपानेले रारातालको पश्चिमतर्फ, निजारलगायत केही स्थानमा भएको झारपात सफा गरी ताललाई सुन्दर रूप दिने योजना बनाइएको भन्दै तत्काल उक्त योजना कार्यान्वयन हुने जानकारी दिए।
राराताललाई दीर्घकालीन रूपमा संरक्षित गर्न योजनाबद्ध रूपमा झारपात नियन्त्रण, सरसफाइ अभियान र जैविक विविधताको संरक्षण गर्नुपर्ने विज्ञहरूको सुझाव छ।
विश्व प्रसिद्ध सञ्चार संस्था सीएनएनले नेपालकी पर्वतारोही पूर्णिमा श्रेष्ठलाई वर्ष २०२४ को सफल खेलाडीको सूचीमा राखेको छ।
सन् २०२४ मा विश्वभरमा उल्लेखनीय सफलता हासिल गरेका खेलाडीहरूलाई समेटिएको सूचीमा पूर्णिमा पनि परेकी हुन्। पूर्णिमाले दुई हप्तामा तीन पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएकी थिइन्। यो उपलब्धि केवल १३ दिनमा हासिल गरेको भन्दै श्रेष्ठलाई सीएनएनले सूचीमा राखेको हो। श्रेष्ठ पेसाले फोटो पत्रकार हुन्।
‘मेरो शरीर थकित भएको थियो। म आफूलाई कहिलेकाहीँ मूर्ख महसुस गर्थें। उद्देश्यबाट पछि हटौं कि जस्तो लाग्थ्यो,’ सीएनएन स्पोर्टसँग उनले भनेकी छन्। धेरै खर्चका कारण यो काम मुस्किल भए पनि आफ्नो सपनामा अडिग भएकोले सफल हुन सकेको उनले बताएकी छन्।
पूर्णिमाले सन् २०२१ मा धौलागिरी हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला बन्ने कीर्तिमान पनि राखेकी छिन्। पूर्णिमाले सीएनएनको सम्मानप्रति गौरवान्वित महसुस गरेको बताएकी छन्। सामाजिक सञ्जालमा सन्देश सेयर गर्दै उनले सन् २०२४ जीवनको एक ऐतिहासिक वर्ष बन्न पुगेको बताएकी छन्।
‘यो वर्ष सन् २०२४ मेरो जीवनको एक ऐतिहासिक वर्ष बन्न पुग्यो। यसै वर्ष म एउटै आरोहण सिजनमा तीन पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने संसारकै पहिलो र एकमात्र महिला बन्न सफल भएँ। यस यात्रामा मलाई साथ र हौसला दिने मेरो परिवार, साथीहरू र सबै तपाईंहरूलाई धन्यवाद। आउँदो वर्ष सन् २०२५ अझ नयाँ उचाइहरू र साहसिक यात्राहरूको वर्ष बनोस् भन्ने शुभकामना व्यक्त गर्दछु,’ उनले भनिन्।
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, अध्यादेश आइतबार जारी गरेका हुन् ।
गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश पारित गरेको थियो । अध्यादेशले सहकारी संस्थाहरूको नियमनका लागि ‘सहकारी नियमन आयोग’ गठन गर्ने प्रस्ताव गरेको छ ।
पाँच सदस्यीय आयोगमा एकजना अध्यक्षका अतिरिक्त, एकजना विज्ञ, एक चार्टर्ड एकाउन्टेन्ट, सहकारी मन्त्रालयको सहसचिव सदस्य रहने उल्लेख गरिएको छ ।
त्यस्तै, सहकारी विभागका उपरजिष्ट्रार सदस्य सचिव हुने प्रस्ताव पनि गरिएको छ ।
ओशोको देशना गाउँ गाउँमा पुग्ने भएको छ । ओशोका ध्यान विधिहरू अभ्यास गर्नसाथै ध्यान, मानसिक स्वास्थ्य, र आध्यात्मिक उन्नतिको विषयमा जानकारी दिन ओशोको देशना गाउँ गाउँमा पुग्ने भएको हो ।
यही पुष १५ गते बागलुङको ताराखोलामा एकदिवसीय ध्यान कार्यक्रम हुने भएको छ । तारा खोला गाउँपालिका र ओशो अमृतम ध्यान केन्द्र बागलुङको आयोजनामा ध्यान कार्यक्रम हुन लागेको हो ।
कार्यक्रममा ओशोका ध्यान विधिहरू अभ्यास गर्नसाथै ध्यान, मानसिक स्वास्थ्य, र आध्यात्मिक उन्नतिको विषयमा जानकारी दिइने बताइएको छ ।
कार्यक्रममा ध्यानका विविध विधिहरूको अभ्याससँगै मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्ने तरिका, आत्मशान्ति र आध्यात्मिक चेतनाको गहिरो अनुभवसहितओशो अमृतम् ध्यान केन्द्रकी संचालिका आत्मो ज्योत्स्नाले कार्यक्रम संचालन गर्ने जनाइएको छ ।
उक्त कार्यक्रममा सहभागि हुन आयोजकले सम्पूर्णमा अनुरोध गरेको छ ।
काठमाडौँ । लुक्लाबाट काठमाडौँ आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्किँदा साँगामा आकस्मिक अवतरण गर्नु परेको छ ।
हेलि एभरेष्टको ९ एन-एकेजी हेलिकप्टरमा चरा ठोक्किएको र पाइलटले थप जोखिम नलिई सुरक्षित स्थानमा अवतरण गराएको बताइएको छ ।
एयरक्राफ्टमा कुनै ड्यामेज भएको देखिएन, हेलिकप्टर पुनः उड्ने तयारी गरिरहेको जनाइएको छ । विमानस्थल स्रोतका अनुसार हेलिकप्टरमा चालकसहित ६ यात्रु सवार छन् ।
दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा १७९ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
विमानमा सवार १८१ जनामध्ये महिलाको जीवितै उद्धार गरिएको थियो । उनीहरू एक जना चालक दलका सदस्य र एक जना यात्रु हुन् ।
दुर्घटनालगत्तै अग्नि नियन्त्रकसहितका उद्धारकर्ताले उनीहरूको उद्धार गरेका थिए । उनीहरूको उपचार मोकपो अस्पतालमा भइरहेको छ ।
उनीहरूबाहेक अरु कोही पनि जीवित फेला नपरेको अधिकारीहरूलाई उद्धृत गर्दै योनहाप समाचार एजेन्सीले जनाएको छ ।
थाइल्याण्डको बैंककबाट आएको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको थियो । विमानमा चालक दलका ६ सदस्यसहित १८१ जना थिए । उनीहरूमध्ये दुई जना थाइल्याण्डका र अरु सबै दक्षिण कोरियाका थिए ।
विमान दुर्घटनाको कारण खुलिसकेको छैन । तर विमान धावनमार्गमा चिप्लिएर बारमा ठोक्किएको थियो । त्यसपछि विमानमा आगो लागेको थियो ।
नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
प्रतितोला ५ सय रुपैयाँले घटेर आज प्रतितोला १ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ । शुक्रबार भने प्रतितोला १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार चाँदीको मूल्य तोलामा १ हजार ८ सय १५ रुपैयाँ कायम भएको थियो ।
दक्षिण कोरियामा विमानस्थलमै भएको जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या ६२ पुगेको छ ।
आइतबार बिहान एक सय ७५ जना यात्री र चालक दलका ६ जना सदस्य रहेको जेजु एयरको बोइङ-७३७ विमान अवतरणका क्रममा दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६२ पुगेको उद्धारमा खटिएका अधिकारीहरूलाई उद्धृत गर्दै दक्षिण कोरियाको समाचार संस्था योनहाप न्युजले जनाएको छ । दुई जनालाई भने जीवितै उद्धार गरिएको छ । मुआनमा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर जहाज पर्खालमा ठोक्किएको थियो ।
पर्खालमा ठोक्किएपछि जहाजमा आगो लागेको थियो । केहीबेरमै विमानस्थल धुवाँको मुस्लोले ढाकेको योनहाप न्युजले जनाएको छ ।
हिमाली जिल्ला मनाङमा अत्यधिक चिसो बढ्दै गर्दा यहाँको फोहरमैला व्यवस्थापन गर्न कठिन भएको छ।
सदरमुकामस्थित चामे गाउँपालिकाले अध्यधिक चिसोका कारण दैनिक रूपमा उठाउँदै आएको फोहरमैला उठाउन नसक्ने जनाएको छ। अध्यधिक चिसो र हिमपात हुँदा जाडो छल्न जिल्लामा स्थानीय नबस्ने हुँदा फोहर सङ्कलन नगर्ने सूचना जारी गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नमनारायण मल्लले बताए। उनका अनुसार चिसोका कारण यहाँका स्थानीय जाडो छल्न बेँसी झर्ने क्रम बढेसँगै फोहोरमैला कम निस्कने भएकाले सङ्कलन रोकिएको हो ।
‘अर्को सूचना जारी नहुँदासम्म फोहोरमैला उठाउने कार्य स्थगन गरिएको छ’, उनले भने, ‘साथै सो अवधिमा घरबाट निस्किएका फोहरमैला खोला, सडक र सार्वजनिक स्थानमा जथाभावी नफाली व्यवस्थापन गर्न अनुरोध गरिएको छ ।’
अत्यधिक चिसो भएपछि माथिल्लो भेगका प्रहरी चौकी र बैंकले सदरमुकाम केन्द्रित भइ सेवा प्रवाह गर्दैआएका प्रमुख जिल्ला अधिकारी मात्रिका आचार्यले बताउनुभयो । उहाँका अनुसार नार्पाभूमिको दुईवटा प्रहरी चौकी र बैंक सेवा प्रवाहका लागि सदरमुकाम सारिएको छ भने माथिल्लो मनाङ गाउँको प्रहरी चौकी मनाङ ङिस्याङ गाउँपालिका- ४ हुम्डेमा सारेर सेवा प्रवाह भइरहेको छ।
चिसोका कारण माथिल्लो भेगका अधिकांश स्थानीय जिल्ला बाहिर गइसकेका छन् भने तल्लो भेगका चामेलगायतका स्थानीय बाहिर जाने क्रममा रहेका प्रजिअ आचार्यले बताए। यसरी स्थानीय बाहिरिएको अवस्थामा फोहरमैला कम निस्कने भएकाले सङ्कलन र व्यवस्थापनका काम रोकिएको उनले बताए।
स्थानीय बेँसी झरे पनि सुरक्षा निकाय, स्वास्थ्य तथा विषयगत कार्यालयका कर्मचारीले सेवा प्रवाह गर्दैआएका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिए। ‘स्थानीयको यहाँ बसोबास नभएको बेलामा सुरक्षा दिने हाम्रो जिम्मेवारी हो । त्यसैले यस अवधिमा अपनाउनुपर्ने सुरक्षाका लागि नै खटिएका छौँ’, उनले भने।
अद्यावधिक चिसोका कारण खोला, नदी तथा धारामा पानी जमेको छ। चिसोले पिउने पानीकै समस्या छ। प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार अधिकांश स्थानीय बेँसी झरिसकेका पनि यहाँ रहेका स्थानीयलाई सुरक्षित रहन अनुरोध गरिएको छ।
जिल्ला अस्पतालका प्रमुख डा दिवाकर कोइरालाका अनुसार जाडोयाममा स्थानीयलाई सेवा प्रवाहमा सहज बनाउने प्रयासमा जुटिरहेको बताए। स्थानीयवासी मङ्सिरदेखि फागुनसम्म अन्यत्र बसाइँ सर्ने गरेका छन् । यस अवधिमा चिसोका कारण यहाँ विकास निर्माणको काम ठप्प रहन्छ।
अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।