
नेपालमा पहिलो पटक वंशाणुगत परीक्षण ‘जिन सिक्वेन्सिङ’ सम्भव भएको छ । हालसम्म यो परीक्षण नेपालमा गर्न सकिएको थिएन ।
अबदेखि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै यो परीक्षण गर्न सकिने भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि यस्तो परीक्षणका लागि नमुना देशबाहिर पठाउनुपर्ने बाध्यता थियो । प्रयोगशालाले सफलतापूर्वक परीक्षण गरेलगत्तै वंशाणुगत परीक्षण सम्भव भएको हो ।
अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशका कुनै पनि भागबाट प्राप्त हुने स्तन क्यान्सरको वंशाणुगत परीक्षणका लागि प्राप्त नमुना परीक्षण गर्न सक्ने प्रयोगशालाले जनाएको छ ।
यस्तो परीक्षणले वंशाणुगत कारणले हुने स्तन क्यान्सर हुने सम्भावना कुनै व्यक्ति तथा उनको परिवारमा भए नभएको पत्ता लगाउनेछ । सोही आधारमा प्रारम्भिक चरणमै उपचार गर्न सकिएमा स्तन क्यान्सरबाट व्यक्तिका परिवारलाई जोगाउन सकिने चिकित्सकहरूको भनाइ छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३३ दशमलव ०८ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव २६ प्रतिशतले घटेर दुई हजार पाँच सय ७६ दशमलव ५० बिन्दुमा कायम भएको हो ।
तीन सय आठ कम्पनीको एक करोड ३१ लाख ७४ हजार तीन सय ७९ कित्ता शेयर ६९ हजार नौ सय २३ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ६७ करोड ४६ लाख ८६ हजार बराबरको कारोबार भएको छ ।
वित्त कम्पनीको शेयर मूल्यमा आज उच्च अङ्कको गिरावट आएको छ । वित्त समूह पाँच दशमलव १९ प्रतिशतले घटेको हो । त्यस्तै विकास बैंक समूह दुई दशमलव ७७ प्रतिशत र व्यापार समूह दशमलव ९७ प्रतिशतले घटेको छ ।
बैंकिङ शून्य दशमलव ९२, होटल तथा पर्यटन एक दशमलव ३८, हाइड्रोपावर एक दशमलव ७३, लगानी शून्य दशमलव ०८, जीवन बीमा शून्य दशमलव ६५, उत्पादन तथा प्रशोधन एक दशमलव ५१, लघुवित्त एक दशमलव ४१, म्युचुअल फन्ड शून्य दशमलव ३८ र निर्जीवन बिमा शून्य दशमलव ९५ प्रतिशतले घटेको छ । अन्य समूहको उपसूचक भने आज शून्य दशमलव ०६ प्रतिशतले बढेको छ ।
सपोर्ट माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेडको शेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै बढ्नेमा भने नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य चार दशमलव ०१ प्रतिशतले बढेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै प्रभु बैंक लिमिटेडको रू ३५ करोड ९४ लाख ९२ हजार ३४ बराबरको १५ लाख आठ हजार पाँच सय ५७ कित्ता शेयर किनबेच भएको छ ।
काठमाडौं। पोखराको सूर्यदर्शन सहकारी ठगीमा पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ७ अभियुक्तको बयान सकिएको छ।
जिल्ला अदालत कास्कीमा एक साताअघि सुरु भएको बयान मंगबार दिउँसो सकिएको हो।
सहकारी ठगीका साथै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा अदालतले रविका साथै नेपाल प्रहरीका पूर्वडीआइजी छविलाल जोशी, लिला पछाइँ लगायत सात जनाको बयान लिएको छ। बयान सकिएसँगै अब थुनछेक बहस सुरु हुनेछ।
थुनछेक बहस न्यायाधीश नीतिज राईको इजलासमा हुनेछ। सुरुमा जोशी पक्षका अधिवक्ताले बहस हुने भएको छ। जोशी पक्षका कानुन व्यवसायी सोमबार नै कास्की पुगेका छन्।
सरकारी वकिल कार्यालयले ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेकामा ७ जना मात्र अदालतमा उपस्थित छन्। थुनछेक बहस सकिएपछि अदालतले आरोपीलाई साधारण तारिख वा धरौटीमा रिहा वा पूर्पक्षका लागि थुनामा पठाउने आदेश गर्नेछ।
नेपाल कम्युनिष्ट पार्टीले आगामी निर्वाचनमा भाग लिने भएको छ ।
कपिलवस्तुको शिवगढीमा सम्पन्न भएको पार्टी बैठकले २०८४ को निर्वाचनमा भाग लिने निर्णय गरेको हो ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चुनावमा भाग लिनका लागि निर्वाचन आयोगमा दल दर्ता गराउने निर्णय गरेको छ ।
नेकपाले आगामी चुनावलाई राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्ग, जाति, समुदाय, महिला, युवा, विद्यार्थी र नेपाली विशेषताको समाजवादका पक्षमा प्रयोग गर्ने निर्णय गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मुलुकको पर्यटन क्षेत्रको समग्र विकासका निम्ति नयाँ पर्यटन नीति जारी गर्ने तयारीमा सरकार रहेको बताएका छन्।
नेपाल पर्यटन बोर्डको २६ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले समग्र पर्यटन उद्योगलाई दिशानिर्देश गर्नेगरी सरकारले नीतिगत व्यवस्था गर्न लागेको बताए।
मन्त्री पाण्डेले पर्यटन बोर्डलाई सार्वजनिक निजी साझेदारी (पिपिपी) को अवधारणाअनुरुप सञ्चालन गर्नुपर्नेमा जोड दिए। धेरैभन्दा धेरै पर्यटक आकर्षित गर्न भोलिदेखि आगामी एक दशकसम्म पर्यटन दशक मनाइने उनले घोषणा गरे।
‘हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त छ। यही विविधता बीचको एकता, सहिष्णुता र सद्भावलाई संरक्षण गरी पर्यटन क्षेत्रको विकास गर्नु आजको आवश्यकता हो,’ उनले भने।
काठमाडौँ । परीक्षा बिग्रिएपछि तीन जना किशोरीले एकै साथ विष सेवन गरेका छन् ।
महोत्तरीको खैरमारास्थित निर्मल लामा बहु प्राविधिक शिक्षालयमा अध्ययनरत तीन किशोरीले परीक्षा बिग्रिएपछि एकै साथ विष सेवन गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरीका अनुसार विष सेवन गर्ने मध्ये २ जना जंगल क्षेत्रमा अचेत अवस्थामा फेला परेका छन् । एक जना फेला परेकी छैनन् ।
परीक्षा बिग्रिएपछि तीनै जना साथीहरू एकै साथ विष सेवन गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको पोखरेलले बताए । उनले भने, ‘फेला परेका दुई जनाको अवस्था सामान्य छ, दुवै जनालाई बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा राखिएको छ । तीन जना मध्ये बढी मात्रामा विष सेवन गर्ने छात्राको खोजी भइरहेको छ ।’
सन् २०२४ मा ११ लाख ४० हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । आज बिहानसम्मको तथ्याङ्कअनुसार ११ लाख ४७ हजार २४ जना नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ ।
बोर्डका निर्देशक मरिणराज लामिछानेले दैनिक सरदर तीन हजार पर्यटक भ्रमणमा आएका बताउँदै सन् २०२३ को तुलनामा १४ प्रतिशतभन्दा बढीले पर्यटक आगमन बढेको जानकारी दिए । सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक नेपाल आएका थिए । कोरोना महामारीपछि अधिक पर्यटकले नेपाल भ्रमण गरेको यो पहिलो वर्ष हो । सन् २०२० देखि २०२२ सम्म पर्यटक आगमन प्रायः ठप्प थियो ।
राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठन (युएनडब्लुटिओ) को पछिल्लो छ महिनाको तथ्याङ्कअनुसार कोभिड–१९पछि नेपालको पर्यटन ९६ प्रतिशतले पुनरुत्थान भएको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल), विश्व बौद्ध सम्मेलन, अन्तर्राष्ट्रिय ‘बेलुन’ महोत्सव, ‘ड्रागन बोट’ महोत्सवका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा आयोजना भएका मेला र प्रदर्शनीले पनि पर्यटन आगमनमा बढोत्तरी भएको हो ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको ‘वैदेशिक रोजगार बचतपत्र–२०८६ क’ को बिक्री निकै न्यून देखिएको छ ।
गत मंसिर १२ गते जारी भएको रु. ५० करोडबराबरको बचतपत्र आइतबार बिक्री बन्द भएको हो । यो बचतपत्र करिब ११ प्रतिशत मात्रै बिक्री भएको कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी मुकुन्द पोखरेलका अनुसार वैदेशिक रोजगार बचतपत्र रु. पाँच करोड ४२ लाखबराबरको बिक्री भएको छ ।
कार्यालयले जारी गरेको रु. दुई अर्बबराबरको ‘नागरिक बचतपत्र–२०८६ (क) भने शतप्रतिशत बिक्री भएको छ । नागरिक बचतपत्रमा साढे सात र वैदेशिक रोजगार बचतपत्रमा साढे आठ प्रतिशत ब्याज तोकिएको छ । बचतपत्रको ब्याज प्रत्येक ६ महिनामा सम्बन्धित खरिदकर्ताको बैंक खातामा सोझै भुक्तानी हुन्छ ।
यस्ता बचतपत्रको ब्याजदर बैंकको मुद्दती निक्षेपभन्दा आकर्षक भए पनि यसको महत्त्व र फाइदाबारे धेरै नागरिकलाई जानकारी छैन । लगानीका लागि धेरैले घरजग्गा, सुनचाँदी, पुँजीबजार, र मुद्दती निक्षेपजस्ता क्षेत्रलाई प्राथमिकता दिने गरेका छन् । जब कि लगानीका यी विकल्पभन्दा सहज, सुरक्षित र आकर्षक प्रतिफल मानिने सरकारी उपकरण ‘बचतपत्र’ को चर्चा न्यून हुने गरेको छ ।
बचतपत्र लगानीका लागि उत्कृष्ट विकल्प हो । तर, यसको प्रचार–प्रसारको अभाव, प्रक्रियागत जटिलता र दोस्रो बजारको सीमित जानकारीका कारण यो उपकरणप्रति लगानीकर्ता आकर्षित हुन सकेको देखिँदैन ।
दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । सियोल पश्चिमी जिल्ला अदालतले निलम्बित राष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको भ्रष्टाचार अनुसन्धान कार्यालयले पुष्टि गरेको हो ।
दक्षिण कोरियाली सञ्चारमाध्यम योनहापका अनुसार दक्षिण कोरियामा पहिलो पटक कुनै पनि राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । उच्च पदस्थ अधिकारिको छानबिनका लागि रहेको भ्रष्टाचार अनुसन्धान कार्यालयको अनुरोधमा अदालतले निलम्बित राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो ।
गत डिसेम्बर ३ मा अप्रत्याशित रुपमा देशको नाममा सम्बोधन गर्दै राष्ट्रपति योलले गर्दै छोटो अवधिको सैन्य कानुन अर्थात् ‘मार्शल ल’ घोषणा गरेका थिए । त्यसको ६ घण्टाको अन्तरालमा उनले आफ्नो घोषणा फिर्ता लिए । तर, विपक्षीले दोस्रो पटक संसदमा राष्ट्रपतिको कदमविरुद्ध ल्याएको महाभियोगको प्रस्तावमा सत्ता पक्षको समर्थनमा पारित भएपछि राष्ट्रपति योल निलम्बित भएका थिए ।
उनको मुद्दा संवैधानिक अदालतमा विचाराधीन छ । उनले चालेको कदमका विषयमा छानबिन गर्न र सोधपुछका लागि अदालतमा उपस्थित हुन भने पनि तीन पटकसम्म राष्ट्रपति नगएपछि अनुसन्धानमा बाधा पुगेको भन्दै छानबिनको दायरामा ल्याइ अनुसन्धान गर्न भ्रष्टाचार अनुसन्धान कार्यालयले अदालतलाई पक्राउ पुर्जी जारी गर्न आग्रह गरेका थिए ।
राष्ट्रपतिले आफ्नो कार्यालयमा प्रहरीलाई छापा मार्न समेत नदिएपछि भ्रष्टाचार कार्यालयले यस्तो कदम उठाएको बताइएको छ । मार्शल ल लगाउने निर्णयका कारण संसद्ले महाभियोग लगाएपछि युनलाई राष्ट्रपतिको शक्तिबाट निलम्बन गरिएको थियो । युनलाई पुनस्र्थापित गर्ने वा उनलाई पदबाट स्थायी रूपमा हटाउने भन्ने बारेमा संवैधानिक अदालतको हातमा रहेको छ भने राष्ट्रपतिविरुद्धको सुनुवाइ र निर्णय गर्न अदालतसामू १८० दिन छ ।
सरकारले सहकारीको बचत रकम अपचलन, दुरुपयोग र ठगी प्रकरणमा अनुसन्धान, छानबिन गरिरहँदा सहकारीपीडित नागरिकको बचत फिर्ताको काम पनि धमाधम भइरहेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सङ्घीय सरकार मातहतका समस्याग्रस्त सहकारीबाट बचत रकम फिर्ता गराउने कार्य द्रुततर गतिमा अघि बढाएको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीका अनुसार सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहमा दर्ता भई आर्थिक अपचलन र हिनामिनामा संलग्न सहकारी सञ्चालकबाट बचत रकम फिर्ता गराउन सरकारले आवश्यक कारबाही अघि बढाएको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्यसचिव केशवप्रसाद पौडेलका अनुसार कुबेर बचत तथा ऋण सहकारी संस्थाका १० बचतकर्ताले ५७ लाख ६३ हजार ४६७ रुपियाँ फिर्ता पाएका छन् ।
उनले स्ट्यान्डर्ड मल्टिपर्पोज कोअपरेटिभका १६ बचतकर्ताले ७५ लाख २८ हजार ८२४ रुपियाँ र चार्टड सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका १४ बचतकर्ताले ८४ लाख ११ हजार ४९४ रुपियाँ फिर्ता पाएका छन् । उनले भने, “तीन वटै सहकारीका सबै बचतकर्ताको रकम फिर्ता भएको छ ।”
सदस्यसचिव पौडेलले नौ वटा सहकारीको बचत रकम फिर्ता गर्ने तयारी भइरहेको जानकारी दिए । उनका अनुसार असार मसान्तभित्रै एक हजार २९३ जना बचतकर्ताको रकम फिर्ता गराउने गरी समितिले लगत सङ्कलन, मागदाबी निवेदन लिएर सम्बन्धित सहकारीको पुँजी अद्यावधिक गरिरहेको छ । अशोक अधिकारीले गोरखपत्र दैनिकमा समाचार लेखेका छन् ।