
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीबाट निष्काशित मुकुल ढकाललाई पुरानै जिम्मेवारीमा फर्काउन माग गर्दै पार्टीमा निवेदन परेको छ ।
पार्टीका कोशी प्रदेश सभापति राजेश तिम्सिना र मधेस प्रदेश सभापति तपेश्वर यादवले उक्त पत्र केन्द्रीय कार्यालयमा दर्ता गराएका हुन् ।
तिम्सिना र मधेशका महामन्त्री तपेश्वर यादवले मुकुललाई पार्टीमा फर्काउन माग गर्दै कार्यवाहक सभापति डीपी अर्याललाई पत्र पठाएका हुन् । उनीहरूले पार्टी आजसम्मकै सबैभन्दा ठूलो संकटको घडीमा रहेको महसुस गरेको भन्दै लेखेका छन्, ‘रास्वपाले रास्वपा मात्रको भविष्य निर्धारण गरिरहेको छैन, समग्र वैकल्पिक राजनीति र त्यो भन्दा ठूलो नेपाली जनताको आशाको भविष्य पनि निर्धारण गरिरहेको छ ।’
निवेदनमा उनीहरूले पछिल्लो असार महिनायता पार्टीमा जे जति घटना घटे, त्यो दुःखद भएको भन्दै पार्टीको यो घडीमा सबै मिलेर अघि बढ्नुपर्ने उल्लेख गरेका छन् । ‘त्यसका लागि केहि कोर्स करेक्सन आवश्यक छन्। सबै निर्णयबाट आफ्नो हस्ताक्षर र सहमति फिर्ता लिएको जानकारी गराउँछु’, निवेदनमा भनिएको छ, ‘राइट टू रिकलको प्रावधानलाई नीतिमै अवलम्बन गरेको हाम्रो पार्टीमा यसरी हस्ताक्षर र सहमति फिर्ता गर्नु पार्टी नीतिमै रहेको तथ्य मैले बुझेको छु ।’
निवेदनमा थप लेखिएको छ‚ ‘यसर्थ, एक आपसका सबै तुष सबै पक्षबाट त्यागौँ र सङ्कटको यो घडी फुटेर होइन, जुटेर सामना गरौँ । राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेपाली जनताका लागि एउटा बलियो र भरोसायुक्त पार्टीको रूपमा स्थापना गरौँ।’ रास्वपाले संस्थापक महामन्त्री एवम् प्रवक्ता ढकाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी गत असारमा हटाएको थियो ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेसहितका सातजनाको बयानपछि मंगलबारदेखि कास्की जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ ।
न्यायाधीश नीतिज राईको इजलासमा प्रारम्भिक चरणमा सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ताद्वय शान्तिदेवी शर्मा र सुजाता पौडेलले मुद्दाबारे न्यायाधीशलाई सामान्य जानकारी गराएका थिए । पहिलो दिनको बहसपछि समय अभावले अदालत स्थगित गरिएको थियो । आजदेखि फेरि बहस जारी रहनेछ । थुनछेक बहसपछि न्यायाधीशले अभियुक्तहरूलाई धरौटीमा रिहा गर्ने, साधारण तारेखमा छाड्ने वा पुर्पक्षका लागि जेल चलान गर्ने निर्णय लिनेछन् ।
लामिछानेसहितका सात अभियुक्तमध्ये लामिछाने, छविलाल जोशी, र रामबहादुर खनाललाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोप लगाइएको छ । लीला पछाईमाथि सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण र राष्ट्र बैंक ऐनको उल्लंघनको अभियोग लगाइएको छ । बाँकी तीन अभियुक्तलाई सहकारीको रकम ठगीको मुद्दामा मात्र आरोप लगाइएको छ ।
सूर्यदर्शन सहकारी ठगीमा मुछिएका सहकारी संचालक लगायत व्यक्तिविरूद्ध सुरूमा दर्ता गरिएको मूल अभियोग, थप अभियोग र रवि लामिछानेसहित जोडिएको पूरक अभियोग गरी ८ वटा कम्पनीसहित ६३ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरूसँग १ अर्ब ५१ करोड बढी रकम बिगो माग गरिएको छ । जसमा रवि लामिछानेसँग सहकारी ठगी अभियोगमा ३ करोड ३७ लाख ६५ हजार र सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैया बिगो असुल गर्न माग गरिएको छ ।
थुनछेक बहसका लागि रास्वपा सभापति लामिछानेको पक्षमा बहस गर्न ५० भन्दा धेरै कानुन व्यवसायीले वकालतनामा गरेका छन् । अधिवक्ता नारायण कँडेलका अनुसार लामिछानेको पक्षमा बहस गर्न ५० भन्दा धेरै कानुन व्यवसायीले वकालतनामा गरे पनि सातजनाले बहस गर्नेछन् । वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, हरि सुवेदी र डा.नारायण घिमिरे, अधिवक्ताहरू डा. नारायण कँडेल, रोहितराज बाँस्तोला, सुरज बस्नेत र सुविज्ञ पन्तले बहस गर्नेछन् ।
जिल्ला अदालतमा सामान्यतया सरकारी वकिलको कार्यालयकै वकिलहरूले मुद्दा-मामिलामा बहस गर्ने चलन छ । तर, रवि लामिछानेसहितको मुद्दामा सरकारले विशेष चासो देखाउँदै काठमाडौंस्थित महान्यायाधिवक्ताको कार्यालयका दुई वकिललाई समेत पोखरा पठाएको छ ।
कास्की जिल्ला अदालतमा सुरु भएको थुनछेक बहसमा स्थानीय सरकारी वकिलका पाँच सदस्यीय टोली भए पनि काठमाडौंबाट नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी र सहमहान्यायाधिवक्ता प्रकाश गौतमलाई पठाइएको छ । लामिछानेमाथि प्रहरी अनुसन्धानदेखि मुद्दा दायरसम्मका प्रक्रियामा ‘राजनीतिक प्रतिशोध’ लिएको आरोप पनि लागिरहेको छ ।
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा १४ सय रुपैयाँले बढेर एक लाख ५१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । ।
मंगलबार सुनको मूल्य तोलामा १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला मंगलबारकै मूल्य एक हजार ७ ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रभावशाली मानिसहरूलाई हजुरले आकर्षित गर्न सक्नुहुनेछ। धार्मिक काममा रुचि बढ्नेछ। शत्रुहरू पराजित हुनेछन्। पुरानो रोगबाट मुक्ति मिल्नेछ। शिक्षाको क्षेत्रमा गरिएको प्रयास सफल रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) दिन मध्यम रहनेछ। कार्यक्षेत्रमा बनाइएका योजनाहरूमा बाधा आउन सक्छ। सन्तुलित आहार सेवन गर्ने प्रयास गर्नुहोस् स्वास्थ्यमा राम्रो प्रभाव पर्नेछ। व्यापार व्यवसायमा पारिवारिक सहयोग नमिल्नाले मन अप्रसन्न रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक वा राजनीतिक क्षेत्रमा सम्मान बढ्नेछ। छोटो समयमा राम्रो उपलब्धि हात पार्न सफल भइनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। साझेदारी व्यापारबाट लाभ उठाउन सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सामाजिक व्यवहारमा प्रतिक्रियात्मक कुरा गर्दा विचार पुर्याउनुपर्ने हुन्छ। नोकरी वा पेशामा मिथ्या प्रशंसा गर्नेहरूसँग टाढा रहने प्रयास गर्नुहोस्। स्वास्थ्यमा ध्यान दिनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) व्यक्तित्वमा निखार आउनेछ। कार्यक्षेत्रमा सम्मान बढ्नेछ। उद्योग व्यापारबाट विशेष फाइदा मिल्नेछ। सामाजिक सञ्जालमा नयाँ पद मिल्ने सम्भावना रहेको छ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक २ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफूले आफैलाई समय दिने प्रयास गर्नुहोस्। आध्यात्मिक वा मानसिक शक्तिको विकासको लागि ध्यान केन्द्रित गर्नुहोस्। विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा नयाँ अवसरहरू मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफूले गरेको संघर्षबाट लाभ मिल्नेछ। आफ्नो व्यवहारमा शिष्टताको भावना कायम राख्नुहोस्। नोकरी वा पेशामा अधिकार बढ्नेछ। संगीत र कलाको क्षेत्रमा रुचि बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफन्तहरूको साथ सहयोगले अप्ठ्यारो काम समयमा सम्पादन हुनेछ। आयका नयाँ स्रोतहरू खुल्नेछन्। सञ्चित धनमा वृद्धि हुनेछ। अरुको वादविवादमा आफू अगाडि नपर्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आर्थिक पक्ष सबल रहनेछ। सरकारी वा वित्तीय क्षेत्रबाट लाभ मिल्नेछ। राज्य पक्षबाट पनि सहयोग मिल्नेछ। विशिष्ट व्यक्तिको सल्लाहले रोकिएको काम प्रारम्भ हुनेछ। बौद्धिक क्षेत्रमा तपाईंको स्थान उच्च रहनेछ आजको शुभ रंग केसरी हो भने शुभ अंक १ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अनावश्यक खर्च बढ्नेछ। वैदेशिक स्वरोजगारमा बाधा आउन सक्छ। कार्यक्षेत्रलाई लिएर गरिएको यात्राबाट लाभ पाइनेछ। खानपान विशेष ध्यान दिनुपर्ने हुन्छ सादा भोजन गर्ने प्रयास गर्नुहोला। राजनीतिक क्षेत्रमा गरिएको लगानीबाट लाभ मिल्नेछ । आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) व्यापार व्यवसायमा मनज्ञ लाभ मिल्नेछ। आफूभन्दा ठूला दाजुभाइहरूको सहयोग मिल्नेछ। कार्यक्षेत्रमा लगनशीलताको उचित इनाम मिल्नेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सामाजिक सद्भाव बढ्नेछ। कार्यक्षेत्रमा दोहोर्याएर काम गर्दा झन् उपयुक्त परिणाम मिल्नेछ। अधिकारी वर्गको साथ सहयोग मिल्नेछ। पिताको स्वास्थ्यमा सुधार आउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
सर्लाहीमा बसको ठक्करबाट सशस्त्र प्रहरी इन्स्पेक्टको मृत्यु भएको छ।
मंगलबार बेलुका सवा ९ बजे सर्लाहीको बलरा नगरपालिका-९ स्थित बिओपी छतौनाको कार्यालय अगाडि बा.प्र ०१-००६ ख २००४ नम्बरको बसले ठक्कर दिँदा सोही बिओपीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक ४२ वर्षीय विजयकुमार तुलाधरको मृत्यु भएको हो।
ठक्कर दिएपछि बस सडकमै पल्टेको थियो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी दिपक श्रेष्ठका अनुसार ठक्करबाट गम्भीर घाइते भएका तुलाधरलाई प्रादेशिक अस्पताल मलंगवा पुर्याइएकोमा राति १०:०५ बजे चिकित्सकले मृत घोषणा गरको थियो।
मृतकको शव प्रादेशिक अस्पताल मलंगवामै रहेको डिएसपी श्रेष्ठले जानकारी दिए।
बसको चालक र सहचालक दुवैलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ।
नेकपा एमालेबाट निष्कासित डा. भीम रावलले भावी योजनाबारे जानकारी दिन बुधबार पत्रकार सम्मेलन गर्दैछन्।
बुधबार दिउँसो १ बजे काठमाडौंको कार्की बैन्क्वेटमा पत्रकार सम्मेलन गरी उनले आफ्ना योजनाबारे जानकारी दिन लागेका हुन्।
यही पुस १० मा एमालेले उनलाई पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो। त्यसपछि रावलले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन्। गत सोमबार उनले नेपाली कांग्रेस (बीपी)का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा. तारा जोशीसँग छलफल गरेका थिए। उनी नयाँ पार्टी गठनको तयारीमा जुटेको चर्चा छ।
२०७८ सालमा दशौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका रावल त्यसपछि पार्टीमा निष्क्रिय रहेका थिए।
जागरुक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
‘नेपाली टोपी: हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाले दिवस मनाउन लागेका हुन् । नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाउन थालिएको हो ।
दिवसका अवसरमा धेरैले राष्ट्रिय पोशाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । सडक एवं सार्वजनिक यातायातमा राष्ट्रिय पोशाक लगाएर हिँड्नेको सङ्ख्या पनि धेरै देखिने गरेको छ । बाह्र वर्षअघिदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोशाक दिवस मनाउन थालिएको थियो । दिवस मनाउन थालेपछि जनवरी १ तारिखका साथै विवाह, व्रतबन्धजस्ता सांस्कृतिक उत्सवमा पनि राष्ट्रिय पोशाक लगाउने युवाको सङ्ख्या बढ्न थालेको छ ।
नेपाली युवाले बिर्सँदै गएको राष्ट्रिय पोशाकको पुनः जागरण हुन थालेको छ । औपचारिक रूपमा राष्ट्रिय पोशाक हटाइएपछि युवाहरू जागरुक भएर यो अभियान सुरु गरेका हुन् । यस अवसरमा आज पाटन दरबार क्षेत्रमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेलगायत सहभागी हुने जनाइएको छ ।
ग्रेगोरियन पात्रो अनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको छ ।
जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात भएको मान्यता छ । पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवत्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।
जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक एवं ज्योतिषाचार्य डा. खिलानाथ बस्ताकोटी बताउँछन् ।
विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ । यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी संवत् मनाउने गरिएको छ । विदेशी पर्यटकको भिडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ । मंगलबार बेलुकीदेखि नै राजधानीको ठमेल, बौद्ध, स्वयम्भू, नयाँ सडकलगायत क्षेत्रमा विशेष चहलपहल देखिएको छ ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ । साथै गण्डकी प्रदेशका पहाडी भागमा पनि कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो देशको पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहने छ भने राति सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मुख्यतया मौसम सफा रहने छ ।
बिहीबार बिहान तराई तथा काठमाडौँ उपत्यका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट दैनिक जनजीवन,स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ६९ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ३९ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ३५ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ९७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ४३ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ १४ पैसा, स्वीस फ्र्यांक एकको खरिददर एक सय ५१ रुपैयाँ १३ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ७९ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ९० पैसा र बिक्रीदर ८५ रुपैयाँ २८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ०७ पैसा र बिक्रीदर ९५ रुपैयाँ ४९ पैसा, सिंगापुर डलर एकको खरिददर एक सय रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर आठ रुपैयाँ ७२ पैसा र बिक्रीदर आठ रुपैयाँ ७६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८ रुपैयाँ ८१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५० पैसा र बिक्रीदर ३७ रुपैयाँ ६६ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर चार रुपैयाँ, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३८ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३० रुपैयाँ ७० पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा निर्धारण भएको छ ।
साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ २८ पैसा र बिक्रीदर नौ रुपैयाँ ३२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४३ पैसा र बिक्रीदर १२ रुपैयाँ ४८ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९ रुपैयाँ १७ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हंकङ डलर एकको खरिददर १७ रुपैयाँ ६० पैसा र बिक्रीदर १७ रुपैयाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ६० पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६२ रुपैयाँ ३८ पैसा र बिक्रीदर तीन सय ६३ रुपैयाँ ९७ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५५ रुपैयाँ ०२ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ ५८ पैसा तोकिएको छ । त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।





