२०८१ माघ २६ गते शनिबार
२०८१ माघ २६ गते शनिबार

सर्लाहीको हरिवनमा ६ दिनदेखि बेपत्ता एक पुरुषको हत्या गरेर गाडेको अवस्थामा शव फेला परेको छ।

हरिवन नगरपालिका–१० निवासी ३९ वर्षीय हरिप्रसाद प्रसाईंको हत्या गरी उखुबारीमा गाडेको अवस्थामा आज शव फेला परेको प्रहरीले जनाएको छ।

उखुबारीमा गाडेको अवस्थामा फेला परेको शवको टाउकोमा चोट देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।

प्रसाईं गत पुस १५ गतेदेखि बेपत्ता भएका थिए। पुस १५ गते बिहान बरहथवा पैसा लिन जान्छु भनेर हिँडेका प्रसाईं साँझ अबेरसम्म पनि नफर्किएपछि परिवारले खोजी गरेका थिए। कतै फेला नपरेपछि पुस १६ गते बिहान इलाका प्रहरी कार्यालय हरिवनमा निवेदन दर्ता गरेका प्रहरी उपरीक्षक श्रेष्ठले बताए।

‘परिवारले १६ गते बेपत्ता भनेर निवेदन दर्ता गरेपछि प्रहरीले उहाँको निरन्तर खोजी गरिरहेको थियो,’ प्रहरी उपरीक्षक श्रेष्ठले भने, ‘खोजतलासको क्रममा उहाँले लगाएको जुत्ता फेला परेपछि प्रदेश प्रहरी कार्यलयबाट कुकुर ल्याएर खोजी गरेका थियौँ। पुस १८ गते सोही वडाको नहर छेउमा मोटरसाइकल र च्यातिएको फोटोसमेत फेला परेको थियो। त्यसपछि १९ गते घटनास्थलको केही किलोमिटरको दूरीमा पर्स फेला परेपछि खोजी तीव्र पारिएको थियो। आज उखुबारीमा शव गाडेको अवस्थामा फेला परेको हो।’

उनका अनुसार प्रादेशिक अस्पतालका चिकित्सक र जिल्लाका सुरक्षा अधिकारी, सरकारी वकिलसमेतको उपस्थितिमा खाल्डो खनेर शव निकालेको हो। प्रारम्भिक मुचुल्का पछि शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याइएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ। अनुसन्धान कार्यमा बाधा पुग्ने भन्दै निजहरूको पहिचान भने गोप्य राखिएको प्रहरीले जनाएको छ। प्रसाईंको हत्यापछि गाउँ त्रासमा परेको छ। मृतक प्रसाईंले इँटा भट्टा सञ्चालन गर्दै आएका थिए।

विश्वकै सबैभन्दा वृद्ध जापानी महिला टोमिको इटोकाको ११६ वर्षको उमेरमा निधन भएको आशिया सहरले शनिवार घोषणा गरेको छ।

चार छोराछोरी तथा पाँच नातिनातिना भएको इटोकाको नर्सिङ होममा मृत्यु भएको दक्षिणी सहरका मेयरले एक विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

उनको जन्म आशिया नजिकैको ओसाकाको वाणिज्य केन्द्रमा सन् १९०८ मे २३ मा भएको थियो।

स्पेनकी मारिया ब्रान्यास मोरेराको ११७ वर्षको उमेरमा अगस्ट, २०२४ मा मृत्यु भएपछि इटोकालाई विश्वको सबैभन्दा वृद्ध व्यक्तिको रूपमा मान्यता दिइएको थियो।

 

 

काठमाडौं– नेकपा एमालेको कारबाहीमा परेका पूर्वउपाध्यक्ष डा. भीमबहादुर रावल मातृभूमि जागरण अभियानको सुरुवात गरेका छन् । 

एमालेले कारबाही गरेको १० औँ दिनमा उनले सुनसरीको बराह क्षेत्रबाट मातृभूमि जागरण कार्यक्रमको सुरुवात गरेका हुन् । 

पार्टीको कारबाहीमा परेको एक सातापछि पुस १७ गते काठमाडौंमा पत्रकार सम्मेलन गरेर रावलले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेका थिए । अभियानका क्रममा सुनसरीको बराहक्षेत्र नगरपालिका–५ मा शनिबार आयोजित समारोहमा रावलले अभियानमा आफ्नो कुनै व्यक्तिगत स्वार्थ नभएको बताए । 

‘मैले जुन मातृभूमि जागरण अभियान भनेको छु । यसमा मेरो कुनै व्यक्तिगत स्वार्थ छैन,’ उनले भने, ‘म आफैं पनि धेरै वर्ष अगाडि ०४९ सालमा नै मैले स्नातकोत्तर गरेको हुँ । ०४० सालको म अधिवक्ता हुँ । एउटा नागरिकले जहाँ पुग्नु पर्ने हो, म त्यहाँ पुगेको छु ।’ 

रावलले देशको एउटा सचेत नागरिक देश डुब्न लाग्दा टुलुटुलु हेरेर बस्न नसक्ने भएकाले आफूले पाइला चालेको बताए । 

‘म आज किन तपाईंहरूको बीचमा आएको छु भने, एउटा सचेत नागरिक देश डुब्न लाग्दा पनि राष्ट्रको अर्थतन्त्र, कृषि, उद्योग, राजनीतिक सुरक्षा सम्पूर्ण ध्वस्त हुँदा टुलुटुलु हेरेर बस्न सक्दैन,’ रावलले भने, ‘उसले पाइला चाल्नु पर्छ ।’

विश्व हिन्दू महासंघले सांसद एवं पूर्वमन्त्री प्रेमबहादुर आलेलाई हिन्दू रत्न अवार्ड प्रदान गरेको छ ।

महासंघले भारतको नयाँ दिल्लीस्थित खाटु श्याम दिल्ली धाममा आयोजना गरेको एक विशेष समारोहमा सांसद आलेलाई हिन्दू धर्म संरक्षण एवं सम्वद्र्धनका अगुवा कालीबाबा शङ्कराचार्यसहित महासंघका पदाधिकारीहरूले उक्त अवार्ड प्रदान गरेका हुन् ।

महासंघले प्रत्येक पाँच वर्षमा विभिन्न देशका समाजसेवी, राजनीतिज्ञ, धर्मगुरु तथा सनातन हिन्दू धर्मको संरक्षण र सम्वद्र्धनमा विशिष्ट योगदान पुर्‍याउनेलाई यो अवार्ड प्रदान गर्दै आएको छ । हिन्दू धर्मको संरक्षण र सम्वद्र्धनका साथै सनातन हिन्दू धर्मावलम्बीहरूको सेवा तथा संरक्षणमा विशिष्ट योगदान पुर्‍याएको उल्लेख गर्दै आलेसहित विश्वका विभिन्न देशका विभिन्न व्यक्तित्वलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

त्यस अवसरमा महासंघका अन्तर्राष्ट्रिय पदाधिकारीहरू, भारतका वरिष्ठ समाजसेवीहरू, नेपालका पूर्व उपराष्ट्रपति परमानन्द झासहित विभिन्न देशका वरिष्ठ प्रतिनिधिको उपस्थिति रहेको आलेका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।

विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले दक्षिण सुडानका लाखौं मानिसहरूलाई तत्काल मानवीय आवश्यकतालाई सहयोग गर्न आगामी छ महिनामा ४०४ करोड अमेरिकी डलर आवश्यक पर्ने बताएको छ ।

बिहीबार साँझ जारी गरिएको आफ्नो पछिल्लो प्रतिवेदनमा डब्लुएफपीले दीर्घकालीन खाद्य तथा पोषण असुरक्षाका कारण देश लामो समयदेखि मानवीय सङ्कटको सामना गरिरहेको जनाएको छ । प्रतिवेदनले सुडानमा जारी द्वन्द्वले अवस्था झन् बिग्रिएको र सन् २०२४ नोभेम्बर ३० सम्ममा आठ लाख ९२ हजार मानिस दक्षिण सुडानबाट भाग्न बाध्य भएको जनाएको छ ।

डब्ल्यूएफपीले चेतावनी दियो, ‘परिस्थिति झन् खराब हुन सक्छ । सन् २०२५ मा करिब ७७ लाख मानिस गम्भीर खाद्य असुरक्षाको सामना गर्न सक्छन् ।’ प्रतिवेदनका अनुसार करिब ७७ लाख मानिसमध्ये २५ लाखले खाद्यान्न असुरक्षाको आपतकालीन स्तरको सामना गर्न सक्ने जनाएको छ ।

डब्लुएफपीले २१ लाख बालबालिका तथा ११ लाख गर्भवती महिला तीव्र कुपोषणबाट पीडित हुने सम्भावना रहेको पनि उल्लेख गरेको छ । डिसेम्बर २०२४ मा, डब्लुएफपीले दाताहरूलाई खाद्य आपूर्तिहरू पूर्व–स्थापना गर्न प्रारम्भिक रकम उपलब्ध गराउन आह्वान गर्‍यो । जनवरी सन् २०२४ देखि, डब्लुएफपीले ४२ लाख मानिसलाई सहयोग गरेको छ । सन् २०२४ डिसेम्बर ११ मा, डब्लुएफपीले खाद्य असुरक्षा, द्वन्द्वबाट प्रभावित सीमान्तकृत समुदायहरूलाई सहयोग गर्न दक्षिण सुडान लचिलोपन रणनीति सुरु गर्‍यो ।

‘ढोग दिया’ शब्दको दुरूपयोग भएकोप्रति देउडा संस्कृति संरक्षण प्रतिष्ठानले आपत्ति प्रकट गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष ध्रुवबहादुर सिंहले सुदूरपश्चिमको मौलिक संस्कार, भाषा–संस्कृतिलाई होच्याउने खालका गीत सङ्गीतप्रति आपत्ति प्रकट गरेका हुन् ।

प्रेस विज्ञप्ति जारी गर्दै उनले भूगोल विशेष क्षेत्र, सम्प्रदाय, जातजाति तथा समुदायसँग जोडिएको मौलिक कला संस्कृति, परम्परालाई अपमानित गर्ने खालका गीत सङ्गीत प्रसारणमा रोक लगाउनका लागि सम्बन्धित निकायसँग माग गरेका छन् । काली–कर्णालीको मौलिक संस्कार र सभ्यतासँग जोडिएका ओजपूर्ण शब्दहरूलाई शिष्टताको खिल्ली उडाउने र अपहेलित गराउने कार्य तत्काल बन्द हुनुपर्ने उनको भनाइ रहेको छ।

संस्कृति र परम्परालाई अपमानित गर्ने खालका सामाजिक सञ्जालमा प्रकाशन, प्रसारण हुँदै आएका अपाच्य गीत सङ्गीत तथा विषयवस्तु प्रकाशन प्रसारण गर्ने र तयार गर्नेहरूमाथि उनले कारबाहीको माग गरेका छन् । सुदूरपश्चिम प्रदेशमा मान्यजनको आदर गर्दै खुट्टामा दण्डवत् प्रणाम गरी आर्शिवाद लिने कार्यलाई ढोग दिने भनिन्छ ।

चिसो बढेपछि ढोरपाटन उपत्यका सुनसान बन्न थालेको छ । मंसिर अन्तिम सातासम्म पर्यटकको चहलपहल रहेको ढोरपाटनमा पुस पहिलो सातादेखि नै सुनसान बन्दै गएको हो । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको ढोरपाटनमा बर्सेनि पर्यटक बढ्दै गएका छन् ।

सञ्चारमाध्यम र सामाजिक सञ्जालमा यहाँको मनमोहक दृश्यको प्रचार हुँदै गएपछि पर्यटकको आकर्षण बढेको हो । जाडोका कारण स्थानीय बासिन्दासमेत बोबाङ, अधिकारीचौर र निसीखोला झर्ने हुँदा ढोरपाटन सुनसान हुने गर्छ । पर्यटकको आगामन कम भएपछि यहाँ सञ्चालित होटल व्यवसायी पनि फुर्सदिला बनेका छन् ।

ढोरपाटनमा हिउँ परे घुम्न आउने पर्यटक बढ्ने भए पनि अहिले सुनसान भएको ढोरपाटन होटल व्यवसायी संघका अध्यक्ष जीवन अदैले बताए । ढोरपाटनमा घुम्ती बसाई हुने हुँदा यति बेला धेरै स्थानीय बेँसी झरेको उनको भनाइ छ । अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष पर्यटकको संख्या बढेको भन्दै हरेक वर्ष पुसदेखि फागुनसम्म पर्यटक आगमन निकै कम हुने अध्यक्ष अदैले बताए ।

अध्यक्ष भण्डारीले भने, ‘यो याम नै ढोरपाटनमा कम चहलपहल हुने गर्छ, चिसो बढेको छ, चिसोका कारण कम मात्रमा पर्यटक आउने गरेका छन्, मंसिरसम्म दैनिक एक सय ५० जना पर्यटक घुमफिरका लागि आउने गर्थे भने अहिले घटेर ३०-४० जना मात्रै आउने गरेका छन्, प्रचारप्रसार निकै भएर होला पहिलेका वर्षहरूमा भन्दा अहिले पर्यटकको संख्या बढ्दै गएका छन् ।’

पाँच वर्ष अगाडिसम्म ढोरपाटनमा होटल व्यवसाय गर्ने स्थानीय कम थिए । तर अहिले ढोरपाटन उपत्यकामा मात्रै करिब ४० हाराहारी होटल सञ्चालनमा छन् । चिसोका कारण पाहुन आउन कम भऐपछि केही दिनका लागि आफू पनि बेसी झरेको होटल व्यवसायी श्यामलाल घिमिरेले बताए । पछिल्लो समय ढोरपाटनमा बास बस्ने र खाना खाने सुविधा बढ्दै गएपछि पर्यटकको आकर्षण बढ्दै गए पनि यो सिजनमा कम भएको उनको भनाइ छ ।

अहिले शुक्रबार र शनिबार फाट्टफुट्ट पाहुन ढोरपाटन पुग्ने घिमिरे बताउँछन् । पश्चिम बागलुङको ठूलो व्यापारी केन्द्र बुर्तिबाङ बजारदेखि करिब ३२ किलोमिटरको दूरीमा रहेको ढोरपाटनसम्म कच्ची सडक पुगेको छ । राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकले ढोरपाटन जोडिएपछि थप चर्चा पाएको छ । तर उक्त सडक स्तरोन्नति नहुँदा पर्यटकले सास्ती खेप्नु परेको छ । 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अरुको उपकार गर्न सकिनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। भौतिक संसाधन जुटाउने योग छ। छोटो समयमा राम्रो उपलब्धि हात पार्न सकिएला। आफूभन्दा ठूलाको सहयोग मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रोकिएका काम शुरु हुँदा जिम्मेवारी बढ्नेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। समाजसेवामा रुचि बढ्नेछ। महत्त्वपूर्ण लक्ष्य प्राप्तिको लागि क्रियाशील रहनुहोला सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) भाग्यको साथ मिल्नेछ। नसोचेको काम बन्नाले मन प्रसन्न रहनेछ। सूचना बाहिरिन सक्ला गोपनीयताको विशेष ध्यान राख्नुहोस्। कार्यक्षेत्रमा हजुरको कमजोरीको कुरा काट्नेहरूको कमी हुँदैन। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पारिवारिक सम्बन्धले नयाँ समस्याहरू निम्त्याउन सक्ला। अप्ठ्यारो कार्यमा मेहनत गर्दा सफलता मिल्नेछ। व्यापार व्यवसायमा कामको चापबाट फुर्सत मिल्न गाह्रो रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) परिवारजनको साथले नयाँ आशा जगाउनेछ। बोलीले अरुको विश्वास जित्न सक्नुहुनेछ। टाढिएका साथीभाइहरूसँग भेट हुनाले मन आनन्दित रहनेछ। जीवनसाथीको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यापार व्यवसायमा धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ। सहयोगीहरूले सहयोग दिँदा नयाँ कार्यतर्फ अग्रसर हुनुहोला। राजनीतिक समारोहमा सम्मिलित हुन सक्नुहुनेछ। विद्यार्थीहरूलाई नयाँ कुरा सिक्न अवसर मिल्ला। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ६ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सन्तानको गल्तीलाई वेवास्ता नगर्नुहोला। स्वास्थ्यप्रति सावधान रहनुहोस्। घर परिवारलाई समय दिने प्रयास गर्नुहोला। व्यापारको दृष्टिकोणले आजको दिन सामान्य रहनेछ। सहयोगीहरूको साथ मिल्नाले चिताएका कार्य पूरा हुनेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा अधिकारीहरूबाट आश्वासन पाइनेछ। व्यापारमा गोपनियता राख्नुहोला । विद्यार्थीहरूलाई अध्ययनमा मन नलाग्ला। नोकरी वा पेशामा योगताको मूल्यांकन हुनेछ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अनियमित दिनचर्याले थकान महसुस हुनेछ। व्यापार व्यवसायलाई लिएर यात्रा लाभदायक रहनेछ। शैक्षिक वा रचनात्मक कार्यमा सफलता मिल्नेछ। विवादास्पद कामको जिम्मेवारी आउन सक्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सञ्चित धनमा वृद्धि हुनेछ। आफन्तहरूको साथ मिल्नेछ। पारिवारिक जमघटको साथमा स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। बन्धु बान्धवको बीच आत्मीयता बढ्नेछ। बच्चाको शिक्षालाई लिएर चिन्तित रहनुहुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) राजनीतिक क्षेत्रमा नयाँ जिम्मेवारी मिल्नुको साथै जनबल बढ्नेछ। बुद्धिको उपयोगले प्रभावशाली व्यक्तित्व बनाउन सकिनेछ। आलस्य गर्नबाट बच्नुहोस्। इन्जिनियरिङ्ग छात्रहरूलाई पढाइमा विशेष लाभ मिल्नेछ। आजको शुभ रंग कालो हो भने शुभ अंक ७ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रतियोगी परीक्षामा सफलता मिल्न अप्ठ्यारो हुनेछ। वैदेशिक रोजगारबाट लाभ मिल्ला। व्यापार विस्तारको लागि उपयुक्त समय पर्खिनुहोला। आफ्नो कार्यमा स्वतन्त्रता प्राप्त नहोला। शत्रुहरू सक्रिय रहनेछन्। अवसरवादीहरूबाट सावधान रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

 

सरकारले तय गरेको २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादनका लागि ६५ खर्ब बराबरको लगानी आवश्यक रहेको छ ।

उक्त परिमाणको लगानी हुँदा ४० खर्ब बराबरको लगानी स्वदेशमै रहने छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल –इपपान) का अध्यक्ष गणेश कार्कीले ठूलो मात्रामा लगानी हुँदा त्यसले सकारात्मक पार्ने उल्लेख गरे ।

लालुपाते हाइड्रोपावर कम्पनीद्वारा प्रवद्र्वित ४९ दशमलव ९५ मेगावाट क्षमताको दानाखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनमा हस्ताक्षर समारोहमा बोल्दै अध्यक्ष कार्कीले उक्त कुरा बताएका हुन् । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको उपस्थितीमा वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । अध्यक्ष कार्कीले १० वर्षभित्र स्वदेशी उत्पादन सिमेन्ट डन्डी लगायतका हाइड्रोपावर बनाउँदा चाहिने कच्चापदार्थ र रोजगारीमा रु ४० खर्ब खर्च भइ नेपालकै अर्थतन्त्र माथि उठ्ने बताए ।

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा चार सय मेगावाट भारत निर्यात सम्झौताबाट सुरु भएको नेपालको अन्तरदेशीय विद्युत व्यापारको श्रृङखला पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यकालमा १० हजार मेगावाट निर्यात सम्बन्धी दीर्घकालीन सम्झौता भएको उनले स्मरण गरे । । यस्तै, बंगलादेशमा ४० मेगावाट निर्यात सुरु भएको उल्लेख गर्दै उनले केही दिन पहिले मात्रै १५ हजार मेगावाट निर्यात उद्देश्यसहित २८ हजार पाँच सय मेगावाटको मार्गचित्र अघि बढाउँदा नेपालको ऊर्जा क्षेत्रको भविष्य सुन्दर देखाएको कार्कीले बताए ।

ऊर्जा क्षेत्रको विकासका लागि सबै पक्ष सकारात्मक भएको बेला पनि यस क्षेत्रमा रहेको कठिनाइ हल गर्न कदम नचालिए कहिल्यै पनि यो क्षेत्रको विकास नहुने उनको प्रष्टोक्ति थियो । लामो समयदेखि ४१ जलविद्युत आयोजनाको सार्वजनिक निष्कासनको निवेदन धितोपत्र बोर्डमा रोकिएको भन्दै उनले ‘बैकले पनि पैसा नदिने, इक्विटी ल्याउने सार्वजनिक निष्कासन पनि रोक्ने हो भने आयोजना बन्न नसक्ने’ उल्लेख गरे ।

नेपालमा भएका ४-५ वटा राम्रा जलविद्युत आयोजनामध्ये दानाखोला पनि एक रहेको र यसलाई समयमै सम्पन्न गर्न पनि उनले कम्पनीलाई शुभकामना दिए । प्रवद्र्वक कम्पनी लालुपाते हाइड्रोपावरका अध्यक्ष मोहनकुमार डाँगीले पानीलाई बत्तीमा रुपान्तरण नगरेसम्म हाइड्रोपावरमा गरेको लगानी शून्य नै हुने भएकोले आयोजना बनाउन असफल हुने छुट नभएको बताए । सो आयोजनाका लागि नौं अर्ब ९६ करोड रुपैयाँलगानी सुनिश्चित भएको छ । रु ७४ करोड स्थानीयमा शेयर जारी गरेर, रु एक अर्ब ७४ करोडसञ्चालकबाट र बाँकी बैंकबाट ऋण लगानी हुने छ । सो आयोजना मनाङको नासो गाउँपालिकामा विकास गरिनेछ ।

 नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार लगातार उकालो लागेको अमेरिकी डलरको मूल्यमा आज पनि वृद्धि भएको छ ।  यस्तै, क्यानेडियन डलर, अष्ट्रेलियन डलर, युएई दिराम, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको पनि भाउ बढेको छ ।

युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्विस फ्र्याङ्क, सिङ्गापुर डलर, चिनियाँ युआन, थाई भाट, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्विडिस क्रोनर,डेनिस क्रोनरको भने भाउ घटेको छ । केही विदेशी मुद्राको भाउ भने स्थिर रहेको छ ।

केन्द्रीय बैंकले तोकेको विनिमय दर अनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ५४  पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ०२  पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ६४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ  बिक्रीदर एक सय ७० रुपैयाँ ७४ पैसा , स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५० रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ३३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ २१  पैसा र बिक्रीदर ८५ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ११ पैसा र बिक्रीदर ९५ रुपैयाँ ५२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ९९ रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ७१ पैसा र बिक्रीदर आठ रुपैयाँ ७५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७९ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७३ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर चार रुपैयाँ, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४५ पैसा,  मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ४३ पैसा र बिक्रीदर ३० रुपैयाँ ५६ पैसा निर्धारण भएको छ ।

साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १२ रुपैयाँ ३७ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९९ पैसा तोकिएको छ ।

 राष्ट्र बैङ्कले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ६० पैसा र बिक्रीदर १७ रुपैयाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ ८० पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ७५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६३ रुपैयाँ २५ पैसा र बिक्रीदर तीन सय ६४ रुपैयाँ ८४ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५५ रुपैयाँ ६८ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ २४ पैसा तोकिएको छ । त्यसैगरी, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।