
काठमाडौं । जिल्ला अदालत कास्कीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सहित प्रतिवादीतर्फका वकिलहरुको बहस सकिएको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति लामिछानेसहित प्रतिवादीतर्फका वकिलहरुको बहस सकिएको हो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मुलुकको कूल गार्हस्थ्य उत्पादन वृद्धिदर (जिडिपी) तीन दशमलव चार प्रतिशतमा खुम्चिएको छ । गत असोजको बाढी-पहिरो र निर्माण क्षेत्रको नकारात्मक वृद्धिले आर्थिक वृद्धिदर सङ्कुचित भएको हो ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार सरकारले चालु आर्थिक वर्षका लागि छ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएकामा तीन दशमलव चार प्रतिशत मात्र हासिल भएको हो । अर्थतन्त्रमा योगदान गर्ने विभिन्न १८ क्षेत्रमध्ये १७ वटाको वृद्धिदर धनात्मक छभने निर्माण क्षेत्रको वृद्धिदर भने ऋणात्मक छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा विद्युत तथा ग्याससँग सम्बन्धित क्रियाकलापको वृद्धिदर सबैभन्दा धेरै छ । यो क्षेत्र २१ दशमलव चार प्रतिशतले बढेको छ । यातायात तथा गोदाम क्षेत्र छ दशमलव सात प्रतिशत योगदान रहेको छ ।
पहिलो त्रैमासमा आवास तथा भोजन सेवा क्षेत्र छ दशमलव तीन, वित्तीय तथा विमा क्षेत्र पाँच दशमलव सात, प्रशासनिक सहयोगी सेवा क्षेत्रको वृद्धिदर पाँच दशमलव चार र पेशागत वैज्ञानिक तथा प्राविधिक सेवाको वृद्धिदर पाँच दशमलव एक प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ । चालु आवको प्रथम त्रैमासिकमा निर्माणजन्य वस्तुको आयातमा आएको गिरावटका कारण निर्माण क्षेत्र झिनो अङ्कले सङ्कुचनमा रहेको अनुमान छ । निर्माण क्षेत्र शून्य दशमलव तीन प्रतिशतले नकारात्मक रहेको छ ।
अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा ओगटेको कृषि, वन तथा मत्स्य क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर तीन प्रतिशत हुने अनुमान छ । धानलगायतका वर्खे बालीको उत्पादनमा वृद्धि हुनुका साथै तरकारी तथा नगदेबाली र पशुपक्षीजन्य उत्पादनमा भएको वृद्धिले यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा सकारात्मक प्रभाव परेको जनाइएको छ । समयमा मलको उपलब्धता, उन्नत बीउको प्रयोग, तथा यथेष्ट मनसुनी वर्षाका कारण कृषिजन्य उत्पादनमा वृद्धि हुने अपेक्षा गरिए पनि बाढी र पहिरोका कारण कृषि क्षेत्रको कुल मूल्य अभिवृद्धिमा उल्लेख्य वृद्धि हुन नसकेको हो ।
अर्थतन्त्रको दोस्रो ठुलो क्षेत्र थोक तथा खुद्रा व्यापार क्षेत्र पहिलो त्रैमासमा शून्य दशमलव पाँच प्रतिशतले मात्र वृद्धि हुने अनुमान छ । कृषि तथा व्यापारजन्य वस्तुको स्वदेशी उत्पादनमा भएको सामान्य वृद्धि तथा प्रमुख व्यापारजन्य वस्तुको आयातमा भएको सामान्य वृद्धिका कारणले गर्दा व्यापार क्षेत्रको वृद्धि धनात्मक दिशा उन्मुख भएको कार्यालयले जनाएको छ । समीक्षा अवधिमा औद्योगिक वस्तु उत्पादन क्षेत्रको मुल्य अभिवृद्धि वृद्धिदर दुई दशमलव तीन, शिक्षा क्षेत्र शून्य दशमलव चार, स्वास्थ्य क्षेत्र चार दशमलव एक र घरजग्गा कारोबार क्षेत्र तीन दशमलव एक प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।
‘अर्थतन्त्रको धनात्मक वृद्धि हुनुमा कृषि उत्पादनमा भएको वृद्धि, विद्युत् उत्पादन तथा वितरणमा भएको वृद्धि, पर्यटन आगमनमा भएको वृद्धिसँगै होटल क्षेत्रको कूल मूल्य अभिवृद्धिमा भएको वृद्धि प्रमुख कारक रहेका छन् । यसका अतिरिक्त यातायात क्षेत्रमा भएको वृद्धि, स्वास्थ्य सेवामा भएको वृद्धि, सार्वजनिक प्रशासनका क्षेत्रमा भएको वृद्धिले समग्र अर्थतन्त्र सकारात्मक वृद्धितर्फ उन्मुख रहेको हो’, कार्यालयले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा भनिएको छ ।
बाक्लो हुस्सुका कारण पूर्व–पश्चिम राममार्गअन्तर्गत बुटवल–नारायणगढ सडक अवरुद्ध भएको छ ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानी खोलाको सडक चिप्लो भएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रेशम बोहराले जानकारी दिए । बाटो चिप्लो भएकाले सवारीसाधन चलेका छैनन् ।
मङ्गलबारदेखि नै पश्चिम नवलपरासी र दाउन्ने क्षेत्रमा बाक्लो हुस्सु लागेको छ । बुधबार बिहान २ बजेदेखि बाटो दुईतर्फी अवरुद्ध भएको उनले बताए । बाटो खुलाउन निरन्तर प्रयास भइरहेको सूचना अधिकारी रेशम बोहराले बताए ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नो योजनाहरुमा पुनर्विचार गर्ने समय रहेको छ। आर्थिक रूपमा दिन राम्रो रहनेछ। सावधानीपूर्वक योजनाहरू बनाउनुहोला। कार्यक्षेत्रमा जिम्मेवारी पूरा गर्न सकिनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यावसायिक क्षेत्रमा जोखिमको निर्णय लिनदेखि बच्नुहोस्। समय अनुरूप कार्य गर्ने प्रयास गर्नुहोला। कार्यक्षेत्रमा विविध कुराहरुले कार्य सम्पादन हुन समय लाग्नेछ। आफ्नो आत्मचिन्तनको लागि समय निकाल्ने प्रयास गर्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धैर्य र पराक्रमले थालेको कार्य पूर्ण गर्न सकिनेछ। पारिवारिक सद्भावनामा वृद्धि हुनेछ। घरायसी कामकाजमा भाइबहिनीहरूको सहयोग मिल्नेछ। कुनै सामुदायिक जिम्मेवारी वहन गर्नुपर्ला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक १ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) स्वास्थ्यको दृष्टिले आजको दिन राम्रो रहनेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। घुमफिर वा मनोरञ्जनको समय रहेको छ। आफन्तहरूको स्नेह वा सत्कार मिल्नेछ। धैर्य वा लगनशीलताले मात्र प्रतिफल प्राप्त गर्न सकिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) छोराछोरीको प्रगति देखेर मन उत्साहित रहनेछ। व्यर्थमा धन खर्च हुन सक्ने सम्भावना छ। परिवारलाई समय दिनुपर्ने समय रहेको छ। दिनको उत्तरार्धमा नमिठो खबर सुन्नुपर्ने हुन सक्छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा जोश जाँगर र हिम्मत बढ्नेछ। विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ। नोकरी वा पेशामा प्रतिस्पर्धीहरूले पनि सहयोग माग्नेछन्। स्वास्थ्यमा ध्यान दिनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अक ३ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) उच्च अधिकारीहरूको सहयोग मिल्नेछ। आकस्मिक धनलाभ हुनेछ। धार्मिक कार्यमा मन लाग्नेछ। शिक्षामा प्रगति हुनेछ। मित्रबाट सहयोग मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनमा उत्साहको कमी हुन सक्छ। लेनदेनमा घाटा हुनसक्छ ध्यान दिनुहोस्। व्यापार व्यवसायमा नयाँ अवसरहरू मिल्नेछ। मान्यजनहरूको सल्लाहलाई ध्यान दिनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आयआर्जनका नयाँ मार्गहरू सहज बन्नेछन्। आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। प्रशासनिक क्षेत्रबाट लाभ मिल्नेछ। यात्राको रूपरेखा निर्माण हुनेछ। सरकारी कार्यक्षेत्रमा प्रभाव बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। व्यापार व्यवसायमा मनग्य लाभ हात पर्नेछ। प्रतिस्पर्धा र परीक्षामा सफलता पाइनेछ। महत्वकाङ्क्षी योजनाहरू पूरा गर्ने समय रहेको छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) दिन मनोरञ्जन पूर्ण रहनेछ। प्रेम र मित्रताको सम्बन्ध कसिनेछ। स्वास्थ्य सबल रहनेछ। शत्रुहरू परास्त हुनेछन्। सेवामूलक कार्यबाट प्रतिष्ठा पाइनेछ। जीवन साथीको भावना बुझ्ने चेष्टा गर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) वैदेशिक रोजगारको नयाँ अवसर मिल्नेछ। व्यापार व्यवसायमा सामान्य लाभको स्थिति रहनेछ। कार्य क्षेत्रमा मेहनत अनुरूप फल नमिल्ला। बोलीको विपरीत अर्थ लाग्नाले काम बिग्रिन सक्ला। वैदेशिक भ्रमणको लागि आवेदनहरु दिँदा कागजातको ध्यान दिनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा जारी छ । उक्त मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा भइरहेको हो ।
मङ्गलबार लामिछाने तर्फका कानुन व्यवसायीको बहस सकिएपछि अन्य प्रतिवादीहरूको बहस सुरु भएको अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए । सोमबार र मङ्गलबार लामिछाने पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, रमणकुमार श्रेष्ठ, सुरेन्द्र थापालगायतले बहस गरेका थिए ।
यसअघि प्रतिवादी लीला पछाईँ र छविलाल जोशी पक्षका कानुनी व्यवसायीहरूले बहस गरेका थिए । सरकारी वकिल र जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले उक्त मुद्दामा बहस गरेपछि प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस चलिरहेको हो । प्रतिवादीहरूको बयान सकिएलगत्तै यही पुस १६ गतेदेखि थुनछेक बहस सुरु भएको थियो । प्रतिवादीतर्फका कानुन व्यवसायीहरूको बहस सकिएपछि पुनः सरकारी वकिलका तर्फबाट जवाफी बहस सुरु हुने जनाइएको छ ।
थुनचेक बहसपछि प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ । लामिछानेसहित उक्त सहकारी ठगीको मुद्दामा जोडिएका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस भइरहेको हो । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
सभापति लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ। सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ । सभापति लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा समेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाईविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।
मंगलबार बिहानकै भूकम्पले अधिकांशलाई निद्राबाट ब्युँझायो । चिसो मौसममा पनि मानिसहरुले सडक भरियो । कोही काखमा बच्चा च्याप्दै त कोही वृद्धवृद्धालाई डोहोर्याउँदै सडक र गल्लीमा जम्मा भए ।कलेजको बिहानी कक्षामा अध्ययरत विद्यार्थीमा भागाभाग भयो ।
भूकम्पका कारण त्रिभुवन विश्वविद्यालयको स्नातक तहको प्रथम वर्षको परीक्षा प्रभावित भयो । जसका कारण मङ्गलबारको परीक्षामा १५ मिनेट समय थप गर्नुपर्ने अवस्था आयो । बिहान ६ः५० बजे चीनको सिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रबिन्दु भएर सात म्याग्निच्युडको भूकम्प नेपालका कोसी, मधेस र बागमती प्रदेशका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।
मङ्गलबारको भूकम्पले धेरैलाई नौ वर्षअघिको गोरखा भूकम्प सम्झना दिलायो । गोरखा भूकम्पले तत्कालीन समयमा काठमाडौँ उपत्यकासहित कैयौँ जिल्ला प्रभावित हुँदा आठ हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाएका थिए भने अर्बौं रकम बराबरको भौतिक क्षति भएको थियो ।
भूकम्पको धक्काले अताल्लिएका काठमाडौँ नागार्जुन–१० का रिकेश थापाले घरको छतबाट हामफाले । हालफाल्दा घाइते भएका उनको मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्समा उपचार गरिएको नेपाल प्रहरीले जनाएको छ। भूकम्पपछि बाराको कलैया उपमहानगरपालिका वडा नं १ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएको प्रहरीले जनाएको छ ।
ललितपुरस्थित पाटन मानसिक अस्पतालका वरिष्ठ मनोरोग विशेषज्ञ डा. वासुदेव कार्की विगतको शक्तिशाली भूकम्पको असर मनमा अझै रहेकाले मानिसको आत्मविश्वासमा कमी आएको र सामान्य भूकम्प महसुस गर्दा पनि बढी आत्तिने र संयमता अपनाउन नसक्ने बताउँछन् ।
‘धेरै मानिसमा अझै पनि २०७२ सालमा गोरखा भूकम्पको अनुभव बाँकी छ, एक वर्षअघि जाजरकोटको भूकम्पको डर पनि छ । यी दुई ठूला भूकम्पले मानिसको मनोबल कमजोर बनाएको छ’, उनले भने, ‘विसं २०७२ को भूकम्पका कारण धेरैलाई मानसिक समस्या देखापर्यो । यस्ता विपद्बाट मानसिक रोगहरु देखापर्छ । विपद्ले निम्त्याएका तनावलाई कसरी व्यवस्थापन गर्ने ? भन्ने कुरामा ख्याल गर्नुपर्छ ।’
कार्की भूकम्पलगायत घटनाले धनजनका क्षति मात्रै गर्दैन, यसले मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पार्न सक्छ ।विशेषगरी, भूकम्पको अनुभव गरेको व्यक्तिमा मनोवैज्ञानिक त्रास बढी हुने उनको भनाइ छ । डा. कार्कीले भने, ‘भूकम्पले क्षति गरेमा अत्यधिक डर र चिन्तासमेत बढाउन सक्छ, यसले उनीहरूलाई आगामी दिनमा भूकम्प जान्छ कि भन्नेबारेमा डरमा राख्न सक्छ ।’
उनले फरक–फरक व्यक्तिमा फरक प्रतिक्रिया आउने र व्यक्तिको जैविक वातावरणअनुसार असर पनि फरक पर्ने बताए । ‘यस्ता विपद्बाट सबैलाई एकै किसिमको असर गर्छ भन्ने हुँदैन, कसैलाई मानसिक स्वास्थ्यमा धेरै असर गर्न सक्छ, कसैलाई असर गर्दैन’, उनले भने, ‘सकारात्मक सोच र भूकम्पको जोखिमको व्यवस्थापनका उपायबारेमा सरकारले व्यापक जनचेता अभिवृद्धि गराउन आवश्यक छ ।’
अनावश्यक त्रास नफैलाउन आग्रह
खानी तथा भू–गर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले भूकम्पसम्बन्धी अनावश्यक त्रास फैलाउने किसिमको भ्रमपूर्ण सन्देश प्रवाह नगर्न आग्रह गरेका छन् । ‘भूकम्पपछि मानिस आत्तिएर भाग्ने र हामफल्दा अप्रिय घटना हुनसक्छ । भूकम्प संयमता अपनाउनु पर्छ’, उनले भने, ‘सामाजिक सञ्जालमा ठूलोे भूकम्प आउँदै भन्नेजस्ता भ्रमपूर्ण समाचारले पनि मानिसमा थप त्रास उत्पन्न गराउँछ, यस्ता सन्देश जो कोहीले प्रवाह गर्न हुँदैन । भूकम्पको भविष्यवाणी सम्भव छैन ।’ उनले आधिकारिक सूचनामात्रै ग्रहण गर्न उनको आग्रह छ ।
पूर्व तयारी र सचेतनाको जरुरी
केन्द्रका वरिष्ठ भूकम्पविद् डा. अधिकारीले भूकम्प गएमा के गर्ने ? कसरी संयमता अपनाउने ? सुरक्षित हुने तरिकाहरु के हुन् ? लगायत विषयमा सचेतना बढाउनुपर्ने र भूकम्पका कारण हुनसक्ने धनजनको क्षति न्यूनीकरणका लागि पूर्व तयारी के–के हुने भन्ने विषयमा तयारी गर्नुपर्ने बताएका छन् । । उनले पूर्व सूचना प्रणाली विकासलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले हालसम्म भूकम्पसम्बन्धी पूर्व सूचनाहरु विकास नभएको भन्दै यस विषयमा थप अनुसन्धान गर्नुपर्नेमा जोड दिए ।
उनले चीनमा गएको भूकम्पपछि हिमताल फुट्ने जोखिम बढेको समेत उल्लेख गरे । ‘भूकम्पका कारण हिमताल फ्ट्ने जस्ता जोखिम देखिएमा धनजनको सुरक्षाका लागि हामी पूर्वसूचना प्रवाह गर्छौं । आधिकारिक सूचनाको मात्रै विश्वास गर्न आग्रह गर्छु’, जोशीले भने । राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले उक्त भूकम्पका परकम्पहरु निरन्तर आइरहेको र थप परकम्प आउनसक्ने भएकाले सम्भाव्य जोखिमलाई मध्यनजर गरी तयारी अवस्थामा रहन समेत आग्रह गरेका छन् । संयमतापूर्वक विपद् व्यवस्थापन गर्नुपर्नेमा उनको जोड रहेको छ।
किन जान्छ भूकम्प ?
सामान्यतया पृथ्वीको सतहभित्र कम्पन हुँदा भूकम्पको धक्का महसुस हुन्छ । पृथ्वीको सतहमा हलचल उत्पन्न गर्दा पृथ्वीको भित्री भागमा रहेको तनाव धेरै बढ़्छ र त्यो असन्तुलनका कारण ऊर्जा मुक्त हुँदा जमिन हल्लिन्छ । यस कम्पनले पृथ्वीको सतहमा झट्का उत्पन्न गर्दछ र यसलाई भूकम्प भनिन्छ । पृथ्वीको बाह्य सतह (लिथोस्फीयर) विभिन्न ठूला टुक्रामा विभाजित छ जसलाई भूकम्पीय प्लेट भनिन्छ । यी प्लेटहरू एकअर्कामा चढ्छन्, जसले भूकम्पको ल्याउँछ ।
खानी तथा भू–गर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प एक भौगर्भिक प्रक्रिया हो जसलाई रोक्न तथा हालसम्मको अध्ययन अनुसन्धानबाट यसको भविष्यवाणी गर्न सकिएको छैन । टेक्टोनिक प्लेटहरुबीचको अन्तरसङ्घर्षको कारणले भूकम्पहरु जाने गर्दछन् । स–साना भूकम्प हरेक दिन जाने गरेका छन् भने ठूला भूकम्प केही वर्षको अन्तरालमा जाने गर्दछन् । हरेक दिन जाने साना भूकम्पहरुले सञ्चित ऊर्जा निसृत गर्न सक्दैनन् त्यसैले बेलाबेलामा ठूला र विनाशकारी भूकम्पहरु जाने गर्दछन् ।
‘विगतमा हिमालय क्षेत्रमा ठूलाठूला भूकम्प गइसकेका छन् । सन् १८९७ मा भारतको आसाम, सन् १९०५ मा भारतको काङ्गरा, सन् १९३४ मा नेपाल–भारतको सिमाना र सन् १९५० मा भारतको आसाममा गएका पछिल्ला अन्तर महादेशीय महाभूकम्पहरु हुन्’, केन्द्रले भनेको छ ।
पश्चिममा अफगानिस्तानदेखि पूर्वमा म्यान्मा (बर्मा) सम्मको करिब दुई हजार पाँच सय किलोमिटर लामो सक्रिय हिमशृङ्खलाको मध्य भागको करिब आठ सय किलोमिटर (एक तिहाइ) भाग नेपाल हिमालयले ओगटेको छ । टेक्टोनिक प्लेटबीचको टकराव र ऊर्जा सञ्चिति र समय–समयमा बिनाशकारी भूकम्पको माध्यमबाट हुने विसर्जनका कारण नेपाल हिमालय भूकम्पीय जोखिमका दृष्टिले अत्यन्त संवेदनशील क्षेत्रमा परेको केन्द्रको भनाइ छ ।
पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली छ।
बाँकी भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिम तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ ।
महाशाखाका अनुसार कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।
कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
हुस्सु-कुहिरो तथा हिमपातका कारण जनजीवनमा पर्नसक्ने असरप्रति सतर्क रहन महाशाखाले आग्रह गरेको छ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ८५ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ४५ पैसा कायम भएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८६ रुपैयाँ २९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ०३ पैसा, सिंगापुर डलर एकको खरिददर १०० रुपैयाँ ५३ पैसा र बिक्रीदर १०० रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर आठ रुपैयाँ ६७ पैसा र बिक्रीदर आठ रुपैयाँ ७१ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १८ रुपैयाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७० पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४२ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३० रुपैयाँ ५० पैसा र बिक्रीदर ३० रुपैयाँ ६३ पैसा निर्धारण भएको छ ।
साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ४३ पैसा र बिक्रीदर नौ रुपैयाँ ४७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४२ पैसा र बिक्रीदर १२ रुपैयाँ ४७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १८ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हंकङ डलर एकको खरिददर १७ रुपैयाँ ६० पैसा र बिक्रीदर १७ रुपैयाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ ९३ पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ८८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६३ रुपैयाँ ०३ पैसा र बिक्रीदर तीन सय ६४ रुपैयाँ ६२ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५५ रुपैयाँ ४६ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ०२ पैसा तोकिएको छ । त्यसैगरी, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।