२०८१ चैत्र ६ गते बुधबार
२०८१ चैत्र ६ गते बुधबार

नेपाल आयल निगम लिमिटेडले बुधबार रातीबाट लागू हुने गरी पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा समान ३ रुपैयाँ प्रतिलिटरका दरले मूल्यवृद्धि गरेको छ ।

मूल्य बढेपछि काठमाडौं उपत्यका मा पेट्रोल एक सय ६५ र डिजेल तथा मट्टितेल १ सय ५६ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

इण्डियन आयल कर्पोरेसनबाट बुधबार दिउँसो पेट्रोलको खरिद मुल्य २.२४ रुपैयाँ र डिजेलको खरिद मुल्य ३.५५ रुपैयाँ प्रतिलिटर बढेर आएकाले नेपाली बजारमा मूल्य बढाइएको निगमले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा धरौटी बुझाएर रिहा भएका छन् ।

पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले जिल्ला अदालत काठमाडौँमा धरौटी बापत बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन् ।

काठमाडौँ जिल्ला अदालतका अनुसार लामिछानेले धरौटी बापत बैंक ग्यारेन्टी पेस गरेका छन् । जिल्ला अदालतले सहकारी ठगीमा पक्राउ परेका लामिछानेलाई धरौटीमा छोड्न आदेश दिएको थियो । लामिछानेलाई ६० लाख धरौटीमा छोड्न काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले आदेश दिएको हो ।

काठमाडौँ । सर्वोच्च अदालतले कैलाली-२ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण कुमार चौधरीको योग्यता विवादसम्बन्धी मुद्दा खारेज गरेको छ।

प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना मल्ल प्रधान, कुमार रेग्मी,हरिप्रसाद फुयाँल र डा. मनोजकुमार शर्मा सम्मिलित संवैधानिक इजलासले बुधबार पर्यटन राज्यमन्त्रीसमेत रहेका चौधरीविरुद्धको मुद्दा खारेज गरेको हो।

अधिवक्ता वसन्त जोशीले चौधरीले फौजदारी मुद्दामा कैद बाँकी नै रहेको अवस्थामा ढाँटेर उम्मेदवारी दर्ता गराएकाले सांसद पद खारेजीको माग गर्दै २०७९ चैत्र १६ गते सर्वोच्चमा रिट दायर गरेका थिए। निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय संसद सचिवालय,राष्ट्रपति कार्यालय र अरुण कुमार चौधरीलाई रिट निवेदनमा प्रतिवादी बनाइएको थियो। 

सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दामा दोषी ठहर भएका चौधरीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएपछि रिहा भएका थिए। रिहा भएपछि उनको सांसद पद जोगिएको थियो। सरकारले दिएको आममाफी बदर गर्दै सांसद पद खारेज गरी कैलाली(२ मा उपनिर्वाचन हुनुपर्ने माग रिटमा गरिएको थियो।

पशुपति विकास कोषका पदाधिकारी तथा कर्मचारीमाथि गालीगलौज र अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेकी आशिका तामाङलाई पाँच दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको छ ।

कोषका सफाइका कर्मचारीको करार थप नगरेको विषयलाई लिएर तामाङसहितको समूहले गत २८ पुसमा अभद्र व्यवहार गरेको भनेर जाहेरी परेको थियो । विरोध प्रदर्शनमा खटिएका प्रहरीलाई समेत उनले गालीगलौज गरेको भिडियो सार्वजनिक भएको थियो ।

जाहेरीपछि तामाङलाई प्रहरीले बुधबार स्वयम्भूबाट पक्राउ गरेको हो । जिल्ला प्रशासन कार्यालयमा पेस भएकोमा अनुसन्धानका लागि पाँच दिनको म्याद दिइएको प्रहरीले जनाएको छ । अभिनेत्रीसमेत रहेकी तामाङ पछिल्लो समय अभियन्ताका रूपमा सक्रिय छिन् । उनका कार्यशैली विवादमा पर्दै आएका छन्।

स्वर्णलक्ष्मी सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएकाे अदालत स्राेतले जनाएकाे छ ।

सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए ।

यसअघि गत बिहीबार कास्की अदालतले रविलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालतभित्रै कुटपिट भएको छ ।

स्वर्णलक्ष्मी सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी पक्षमा तर्फबाट बहस गरेर फर्किने क्रममा अधिवक्ता त्रिपाठीमाथि अदालत परिसरमै हातपात भएको हो ।

‘धक्काधक्की भएको र कसले गरेको भन्ने पहिचान गरिरहेको जिल्ला प्रहरी प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

रविविरुद्धको मुद्दामा थुनछेक बहस सकिएको छ । न्यायाधीशले आजै आदेशको तयारी गरेका छन् । रविको मुद्दाबारे आदेश आउने भएपछि रास्वपा र रविका समर्थक अदालत आसपास बाक्लो संख्यामा उपस्थित भएका छन्।

बहसहरु सकिएपश्चात न्यायाधीशले सबैलाई बाहिर पठाएर अहिले आदेश लेख्दैछन् ।

अदालत परिसरमा सञ्चारकर्मीलाई भित्र जान निषेध गरिएको छ । अदालत बाहिरबाट समेत भिडियो खिच्न प्रहरीले रोकेको छ ।

रौतहटको बौद्धिमाई नगरपालिकाका मेयर प्रदिप यादवका बिरुद्ध स्थानीयले नारा जुलुश गरेका छन् । बौद्धिमाई नगरपालिकाको बंकुल बजार स्थित कार्यालय अगाडी स्थानीयले मेयरको बिरुद्धमा नारा लगाउँदै घेराउ समेत गरेका छन् ।

भ्रष्टाचारी मेयर मुर्दाबाद, भ्रष्टाचारीलाई कारवाही गर, दोषीलाई कारवाही गर लगायतका नारा लगाउँदै उनीहरुले मेयरको कार्यशैलीको बिरोध गरेका छन् । मापदण्ड नबनाई मनोमानी रुपमा मेयर यादवले बिपक्षीको घर भत्काउने र सडक बिस्तारको नाममा दुख दिएपछि स्थानीय आक्रोशित भएका छन् ।

मेयर यादवले सरमुजवा गाउँमा मनोमानी रुपमा उपद्रो मचाएको आरोप आन्दोलनकारी स्थानीयले जनाएका छन् । स्थानीय अगुवा एवं पूर्व वडा अध्यक्ष श्रीभगवान पटेलले मापदण्ड बनाएर सडक बिस्तार गर्नुको साटो मेयरले मनोमानी रुपमा बिपक्षीको घर भत्काउने र दुख दिने गरेको आरोप लगाए ।

‘मेयर आफैले लठी लिएर स्थानीयलाई कुटपिट गरेको, घरमा तोडफोड गरेकाले मेयरलाई कारवाही हुनुपर्छ,’ पटेलले भने, ‘मेयरले प्रहरी, प्रशासन, न्यायाधीश मेरो मुठीमा रहेकोले तिमीहरुले केही पनि गर्न नसक्ने र मलाई जे मन लाग्छ त्यो गर्छु तिमीहरुको आन्दोलनले केही पनि नहुने बताउँछन् ।’

मेयर यादवको मनोमानी कार्यको बिरोध गरेकै कारण स्थानीय गंगाराम बैठकलाई रौतहट अदालतले पूर्वपक्षका लागि थुनामा पठाउँने निर्णय गरेपछि मेयरले मेरो मुठीमा न्यायाधीश, प्रहरी, प्रशासन रहेको भन्दै मान्छेलाई धमक्याउने गरेको स्थानीय पटेलले बताए ।

यस्तै स्थानीय आन्दोलनकारीले मेयर यादवले बिभिन्न आयोजनामा गरेको भ्रष्टाचारको छानबिन हुनुपर्ने, दोषीलाई कारवाही हुनुपर्ने लगायतका माग समेत गरेका छन् ।

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ८३ अङ्कले बढेर दुई हजार पाँच सय ९५ दशमलव ९६ को बिन्दुमा कायम भएको हो ।

आज दुई सय ९९ कम्पनीको एक करोड सात लाख ४५ हजार चार सय २७ कित्ता शेयर ६३ हजार तीन सय ७७ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ८२ करोड ४९ लाख चार हजार एक सय ३४ को कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ समूह शून्य दशमलव ८१, वित्त तीन दशमलव ४८, लगानी शून्य दशमलव शून्य सात, लघुवित्त शून्य दशमलव ५२, म्युचुअल फण्ड शून्य दशमलव १७ र निर्जीवन बिमा शून्य दशमलव ४१ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

विकास बैंक एक दशमलव शून्य आठ, होटल तथा पर्यटन एक दशमलव ६३, जलविद्युत् एक दशमलव ७६, जीवन बिमा शून्य दशमलव शून्य आठ, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४८, व्यापार शून्य दशमलव शून्य एक र अन्य समूह शून्य दशमलव शून्य चार प्रतिशतले बढेको छ ।

डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको रू ३२ करोड ४९ लाख ४४ हजार सात सय १८ कित्ता शेयर किनबेच भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको तीन लाख पाँच हजार चार सय २१ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

सुर्खेत । चौध महिनादेखि भूकम्पपीडितको घर निर्माण प्रक्रिया सुरु नभएर समस्यामा रहेका पीडितलाई घर बनाउन प्रक्रियागत काम सुरु भएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६औँ बैठकले जाजरकोटमा भूकम्प गएको १४ महिनापछि पुनर्निर्माण प्रक्रिया अगाडि बढाउने निर्णय गरेपछि काम सुरु भएको हो ।

बैठकले पश्चिम नेपाल भूकम्प तथा २०८१ सालको मनसुनजन्य विपद्पश्चात् पुनर्निर्माण तथा पुनः स्थापना योजना स्वीकृत गरेको हो । प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले क्षतिको विस्तृत विवरण मूल्याङ्कन गरी गत २१ पुस गते विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकको सिफारिसबमोजिम योजना स्वीकृत गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता एवं सूचना अधिकारी डा. डिजन भट्टराईले जानकारी दिए ।

योजना स्वीकृत भएसँगै आजदेखि लाभग्राहीसँग सम्झौता प्रक्रिया प्रारम्भ गरी पुनर्निर्माण प्रक्रिया सुरु गरिने सूचना अधिकारी भट्टराईले उल्लेख गरे । क्षतिको विस्तृत आकलन (डिडिए) नभएका क्षेत्रमा सोही दिनदेखि डिडिएको प्रक्रिया प्रारम्भ गर्ने निर्णय बैठकले गरेको छ । सूचना अधिकारी भट्टराईले योजना स्वीकृत भएसँगै जाजरकोट र डोटीमा भूकम्पले क्षति पुगेका संरचनाको पुनर्निर्माणको बाटो खुलेको बताए। यथाशीघ्र डोटीमा पुनर्निर्माणको प्रक्रिया सुरु हुनेछ भने जाजरकोटमा क्षतिको विस्तृत मूल्याङ्कनको काम अघि बढ्ने उनले जानकारी दिए ।

अर्थ मन्त्रालयले बजेटको व्यवस्थापन गरेलगत्तै जाजरकोट भूकम्पपछिको क्षतिको आङ्कलन र पुनर्निर्माण प्रक्रिया अघि बढ्ने उनले जनाए। भट्टराईका अनुसार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय प्राधिकरणले पुनर्निर्माण र पुनःस्थापनाका लागि सडक तथा यातायात, सरकारी भवन तथा सहरी पूर्वाधार, विद्युत् वैकल्पिक ऊर्जा र सिँचाइ, निजी आवास, शैक्षिक संरचना, स्वास्थ्य संरचना, खानेपानी सरसफाइ तथा स्वच्छता र पुरातात्त्विक संरचनालाई प्राथमिकतामा राखेको छ ।

आन्तरिक तथा बाह्य स्रोत परिचालनका लागि अर्थ मन्त्रालयले अग्रसरता लिनेछ भने पुनर्निर्माण र पुनःस्थापनका लागि प्राधिकरणको समन्वयमा साझेदार संस्थाको सहकार्यमा कार्यक्रम सञ्चालन गर्नेगरी योजना तयार गरिएको प्रवक्ता भट्टराईले बताए । उनका अनुसार भूकम्प प्रभावितका निजी आवास निर्माणका लागि तराईमा चार लाख, पहाडमा पाँच लाख र हिमाली जिल्लामा छ लाख अनुदान दिने गरी योजना बनेको छ । प्राधिकरणका लागि आवश्यक जनशक्तिको प्रबन्ध गर्ने प्रक्रियासमेत सुरु भएको उनले जानकारी दिए ।

प्राथमिकता र स्रोत उपलब्धताका आधारमा ढिलाइ नगरी क्षतिको विस्तृत यथार्थ मूल्याङ्कन गरेर दोहोरोपन नहुने गरी पुनर्निर्माण सुरु गरिने प्रवक्ता भट्टराईले बताए । पश्चिम नेपालमा भूकम्पले क्षति पुर्‍याएका निजी आवासको सङ्ख्या ९५ हजार सात सय ८७ रहेको जनाउँदै उनले भूकम्प, बाढी पहिरोजस्ता प्राकृतिक विपद्बाट क्षति पुगेका विभिन्न संरचनाको पुनर्निर्माण गर्न एक खर्ब एक अर्ब १२ करोड लागत अनुमान गरिएको उल्लेख गरे ।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोटमा ४८ हजार पाँच सय १६, रुकुम पश्चिममा ३४ हजार नौ सय ९७ र सल्यानमा चार हजार चार सय सात घरमा क्षति पुगेको थियो । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार झण्डै चार सय विद्यालय, ५० स्वास्थ्य चौकी, २० प्रहरी चौकी र विभिन्न २३ सरकारी कार्यालयका भवनमा पनि क्षति पुगेको थियो । भूकम्पले जाजरकोट र रुकुम पश्चिममा एक सय ५४ जनाको ज्यान गएको थियो ।

पछिल्लो समय आफूलाई सामाजिक अभियन्ताका रुपमा चिनाएर भाइरल भइरहेकी आशिका तामाङ पक्राउ परेकी छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी नवराज अधिकारीले अभद्र व्यवहार मुद्दामा आशिकालाई पक्राउ गरिएको पुष्टि गरेका छन् ।

केही दिनअघि पशुपतिनाथ मन्दिर परिसरमा तैनाथ प्रहरी अधिकारीहरूमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । अहिले उनलाई महानगरीय प्रहरी बृत्त गौशालामा लगिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहार मुद्दाको शिलशिलामा जारी गरिएको पक्राउ पुर्जीका आधारमा प्रहरीले आशिकालाई पक्राउ गरेर हिरासतमा लिएको हो ।

 

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।