२०८२ कार्तिक २९ गते शनिबार
२०८२ कार्तिक २९ गते शनिबार

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाउन लागेको बताएका छन् ।

काठमाडौँको टोखामा स्थापना भएको जनकल्याण सामाजिक केन्द्रले आज आयोजना गरेको ‘निःशुल्क स्वास्थ्य तथा आँखा शिविर’ को उद्घाटन गर्दै उनले १० देखि १४ वर्षसम्मका १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाउन सरकार लागिरहेको बताएका हुन् ।

“महिलामा क्यान्सर हुन नदिन सरकारले यही माघ २२ देखि देशभरका १६ लाख किशोरीमा क्यान्सरविरुद्धको खोप प्रदान गर्न लागेको छ”, स्वास्थ्यमन्त्री पौडेलले भने । उनले पाँच वटा अस्पतालमा किशोरीका लागि क्यान्सरको निःशुल्क उपचारको व्यवस्था सरकारले मिलाएको बताए । सरकारले पक्षाघातको औषधि निःशुल्क वितरण गर्ने गरी कार्ययोजना अगाडि बढाएको पनि उनले जानकारी दिए ।

स्वास्थ्यमन्त्री पौडेलले नागरिकको योगदानमा आधारित कोष बढाएर स्वास्थ्य बिमाको रकमसमेत बढाउँदै आम नागरिकको उपचारमा खर्च गर्ने गरी सरकारले योजना बनाएको उल्लेख गरे । “हाल स्वास्थ्य बिमाको रकम रु. एक लाख रहेको छ, हामी त्यसलाई बढाएर रु. पाँच लाख बनाउने गरी योजना बनाइरहेका छौँ”, उनले भने ।

छिरिएर रहेको स्वास्थ्य रकमलाई बिमा कोषमार्फत उपचार गराउने प्रबन्ध गरिने उनको भनाइ थियो । उनले नेपालको स्वास्थ्य क्षेत्र धेरै सुधारिएको भए पनि अझै पर्याप्त नभएको उल्लेख गरे । 

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले समाज रूपान्तरणमा जनकल्याण सामाजिक केन्द्रले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले समाज सेवाको क्षेत्रलाई निरन्तर अगाडि बढाउन उक्त संस्थालाई आग्रह गरे । 

टोखा नगरपालिकाले जनकल्याण सामाजिक केन्द्रलाई अगाडि बढाउन सहयोग गर्ने नगरप्रमुख अधिकारीको भनाइ थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारी, जनकल्याण सामाजिक केन्द्रका सल्लाहकार भरत ढकालले जनकल्याण सामाजिक केन्द्रले टोखाको समाज र स्वास्थ्य क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान दिएको बताएका थिए ।

विसं २०७० मा स्थापना भएको जनकल्याण सामाजिक केन्द्रले हालसम्म देशभर तीन सय ५१ पटक रक्तदान, स्वास्थ्य शिविर, आँखा शिविरलगायतका स्वास्थ्य कार्यक्रम सञ्चालन गरिसकेको केन्द्रका अध्यक्ष विकासकुमार दासले जानकारी दिए । अल नेपाल अस्पताल र दृष्टि आँखा केन्द्रको सहकार्यमा आयोजना गरिएको आजको स्वास्थ्य शिविरमा दुई सयभन्दा बढी व्यक्तिलाई सेवा प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न विधामा योगदान दिएका एक दर्जनभन्दा बढी व्यक्तिलाई सम्मान गरिएको थियो ।

बागलुङ । बागलुङ नगरपालिका-९ को तित्याङ माध्यमिक विद्यालयको कौसीमा यति बेला आलु, बन्दा, काउली र ब्रोकाउली फलेका छन् । उत्पादित तरकारी विद्यालयकै चमेना गृहमा दिवा खाजाका लागि प्रयोग भइरहेको छ ।

विद्यार्थीले अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यालयको कौसीमा विभिन्न प्रकारका तरकारी फलाएका हुन् । यी तरकारी उनीहरूले आफैँ पनि पकाउँछन् भने केही र बिक्री पनि गर्छन् ।

तीन वर्ष पहिले प्रत्येक विद्यार्थीले रु. ५० संकलन गरेर ५० वटा गमला किनेका थिए । गमलामा मौसमअनुसारको तरकारी रोप्थे । फलेपछि शिक्षक विद्यार्थीले बाँडेर खान्थे । विद्यालयले विद्यार्थीलाई उत्पादनसँग जोड्न र स्थानीय पाठ्यक्रमअनुसार अध्यापनका लागि ‘स्थानीय उत्पादन’ शीर्षकमा ५० पूर्णांकको प्रयोगात्मक सिकाइका लागि तरकारी खेतीमा प्रोत्साहन गरेको थियो ।

त्यत्तिका विद्यार्थीले गमलामा तरकारी खेती गरेको जानकारी पाएपछि सामाजिक क्षेत्रमा सक्रिय रहेको संस्थाले सिवाइसीले शिक्षक विद्यार्थीसँग छलफल गरेपछि कक्षा ६ देखि १० सम्मका १६ जना विद्यार्थीलाई समेटेर ‘थ्री जिरो क्लब’ गठन गरेको थियो ।

सिवाइसीले जिल्लाका ३५ भन्दा बढी विद्यालयमा ‘शून्य गरिबी, शून्य बेरोजगारी र शून्य कार्बन उत्सर्जन’ (थ्रि जेरो) नामक क्लब गठन गरी विद्यार्थीलाई व्यावसायिकतामा जोड्दै आएको छ ।

तीन वर्ष पहिलेदेखि प्रयोगात्मक कक्षाका लागि गमलामा तरकारी खेती गर्दै आएका विद्यार्थीलाई गत साउनमा सिवाइसीले बीउ विजनसहित कृषि सामग्री उपलब्ध गराएको थियो । मल, तरकारीको बीउ र नर्सरी व्यवस्थापनका लागि विभिन्न उपकरण समेत सिवाइसीले उपलब्ध गराएको थियो । त्यसयता पक्की भवनको छतमै नर्सरी स्थापना गरेर तरकारी फलाइरहेका छन् । आफैँले उत्पादन गरेको तरकारी दिवा खाजामा समेत उनीहरूले प्रयोग गर्दै आएका छन् । विद्यार्थीले विद्यालयमा मात्र होइन घर–घरमा तरकारी खेती गर्न सुरु गरेका छन् ।

कक्षा शिक्षक बिदामा बसेको समय, दिउँसो खाजा खाने समय र आवश्यकता परेको बेला छुट्टीको दिन विद्यार्थीहरू उत्साहित भएर विद्यालय आउँछन् । उनी दिनभरि नर्सरी र तरकारी खेतीमा रमाउँछन् । विद्यालयको थ्रि जिरो क्लबका संरक्षक तथा शिक्षक भूपेन्द्रबहादुर खड्काले भने, “क्लबले यस पटक काउली, ब्रोकाउली र विभिन्न प्रकारका सागका बिरुवा उत्पादन गरेर विद्यार्थीलाई वितरण गरेको छ ।”

कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने एक सय जना विद्यार्थीलाई विभिन्न हिउँदे तरकारीका बिरुवा वितरण गरिएको उनको भनाइ छ । विद्यार्थीले विद्यालयमा मात्रै नभई घरमा समेत आफै तरकारी खेती गरिरहेको क्लबका अध्यक्ष सनिसा क्षत्रीले बताइन् । 

“विदेशमा पढ्दै काम गर्दै गर्ने गरेको सुनिन्छ, यहाँ पनि व्यवहारिक शिक्षाको कुरा हुन्छ”, शिक्षक खड्काले भने “देश सुहाउँदो, हाम्रो भूगोल सुहाउँदो व्यावसायिक कृषि प्रणालीलाई थप व्यवस्थित गर्दै विद्यार्थीलाई उत्पादनसँग जोडेर सानो उमेर मै उद्यमी बन्ने प्रेरणा प्रदान गर्नु स्थानीय उत्पादन कार्यक्रम र क्लबको उद्देश्य हो ।”

यस अभियानलाई बागलुङ नगरपालिका वडा नम्बर ९ ले पनि सहयोग गर्दै आएको अध्यक्ष क्षेत्रीले बताइन् ।  विद्यालयका प्रधानाध्यापक कुमार उपाध्यायका अनुसार तरकारी उत्पादन र बिक्रीका लागि दुई वटा थ्रि जिरो क्लब छन् । एउटा क्लबले उत्पादनको काम गर्छ भने अर्काले बिक्री वितरणको काम गर्छ ।

विद्यालयको हरेक शुक्रबार हुने अतिरिक्त क्रियाकलाप र विभिन्न विशेष कार्यक्रममा विद्यार्थीले आफूले उत्पादन गरेका तरकारीका परिकार बनाउँछन् र विद्यालयमै शिक्षक र विद्यार्थीलाई बिक्री गर्छन् । बिक्रीबाट भएको आम्दानी तरकारीको बीउ, मल खरिदमा खर्चने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर थापाले बताउँछन् ।

आईसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिता आफ्नो पहिलो खेलमा नेपाल नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको छ ।

मलेसियाको बाङ्गीमा रहेको युकेएम ओभल क्रिकेट मैदानमा आज सम्पन्न खेलमा नेपालले दिएको ५३ रनको विजयी लक्ष्य बंगलादेश १३ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्‍यो ।

बङ्गलादेशका लागि सादिया इस्लामले २४ बलमा एक चौकाको सहयोगमा १६ रन बनाइन् । सुमैया अत्तरले १२ र अफिया अशिमा इराले नौ रन जोडिन । बलिङतर्फ नेपालकी रचना चौधरी, रिया शर्मा, सिमना केसी र पूजा महतोले समान एक-एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १८ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर ५२ रन बनाएको थियो । नेपालका लागि ओपनर साना प्रविनले ३२ बलमा १९ रन बनाइन् । त्यस्तै सिमाना केसीले १० रनको योगदान दिइन् । अन्य नेपाली ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । कप्तान पूजा महतो दुई रनमा आउट भइन भने अलिशा यादवले चार रन बनाइन । यसैगरी तिर्सना विक र रचना चौधरीले समान तीन÷तीन रन बनाउँदा रिया शर्मा पाँच रनमा नटआउट रहिन् ।

बङ्गलादेशका लागि जनाथन माओलाले दुई विकेट लिइन भने अनिसा सोवा, फोयोमोदी चोया र निशीता अख्तरले समान एक-एक विकेट लिए । नेपालले आफ्नो दोस्रो खेल यही माघ ७ गते स्कटल्यान्डसँग खेल्नेछ । प्रतियोगिताको समूह ‘डी’मा रहेको नेपाललाई सुपर–६ मा पुग्न कम्ती एउटा खेल जित्नु पर्छ । समूहमा नेपालसँगै बङ्गलादेश, स्कटल्याण्ड र अस्ट्रेलिया छन् । आजै भएको सोही समूहको पहिलो खेलमा अस्ट्रेलियाले स्कटल्याण्डलाई ९ विकेटले पराजित गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सा औजार उपकरण राख्ने स्थान र जनशक्तिको सुनिश्चितता नभई उपकरण खरिदका लागि बजेटको विनियोजन गर्न नपाइने व्यवस्था गरेको छ ।
 
हालैको मन्त्रीस्तरीय निर्णय परिपत्रमार्फत जारी गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र मातहतका स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, स्वास्थ्य विज्ञान प्रतिष्ठान, सङ्घीय अस्पताललाई सो कार्यन्वयन गर्न आग्रह गरेको हो ।
 
मन्त्रालयअन्तर्गत नीति, योजना तथा अनुगमन महाशाखाले खरिद मार्गदर्शन, २०८१ लागू गर्ने सम्बन्धमा गरिएको परिपत्रमा मालसामानको आपूर्ति समयमै गराई सेवा प्रवाहमा बाधा नपर्ने गरी खरिद कार्य सम्पन्न गर्नुपर्ने र बजेट नभई वा वजेटको सुनिश्चितता नभई खरिदको कार्य गर्न नपाइने बताएको हो ।
 
मन्त्रालय र यसका मातहत निकायबाट हुने औषधि, औजार, उपकरणको खरिद तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन खरिद मार्गदर्शन, २०८१ मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत भइसकेको छ ।
 
मार्गनिर्देशनमा उल्लेख भएअनुसार सम्बन्धित निकायहरुले आवश्यक औषधि, स्वास्थ्य औजार उपकरण खरिद गर्नुपर्ने अस्पताल तथा प्रतिष्ठानले आवश्यकताका आधारमा मालसामानको वार्षिक आवश्यक परिमाण र लागतसमेत खुल्ने गरी पाँचवर्षे दीर्घकालीन योजना मन्त्रालयबाट स्वीकृत गराई राख्नुपर्नेछ ।
 
साथै स्वास्थ्य संस्थाले तालिम तथा अनुभव प्राप्त जनशक्तिलाई मात्र औजार उपकरण सञ्चालन गर्ने जिम्मेवारी प्रदान गर्नुपर्नेछ । आफ्नो कार्यालय मातहत रहेका औजार उपकरणलाई लामो समयसम्म प्रयोगविहीन बनाउने र पुनःनयाँ खरिद गर्न उद्दत हुने परिपाटीलाई निरुत्साहित पार्न सम्बन्धित शाखा तथा विभागलाई जिम्मेवार बनाउन मार्गनिर्देशनमा  जोड दिइएको छ ।
 
त्यसैगरी, अस्पतालमा रहेका एक्स–रे, अल्ट्रासाउण्ड मेसिन, सिटीस्क्यान मेसिन, एमआरआई, प्रयोगशाला र शल्यक्रियामा प्रयोगमा हुने विशिष्टकृत औजार र उपकरण सञ्चालन गर्दा उठेको शुल्क रकमको १० प्रतिशत उपकरण मर्मतसम्भारमा छुट्याउनुपर्ने छ ।

सर्लाही । तराई क्षेत्रमा केही दिनयताको बाक्लो हुस्सु र कुहिरोले जनजीवन कष्टकर भएको छ । चिसो हावासँगै शीत पनि झरिरहेकाले जनजीवन कष्टकर भएको हो ।

खासगरी तराई क्षेत्रमा हरेक वर्ष हिउँदमा बाक्लो कुहिरो लाग्ने गरेको छ । जलवायु परिर्वतनका कारण यस वर्ष केही फरक देखिएको छ । कुनै दिन चर्को घाम लाग्ने र कुनै दिन बाक्लो कुहिरो लाग्ने गरेको छ । बाक्लो कुहिरोका कारण बिहान सवारीसाधन चलाउन कठिन भएको चालकहरुले बताएका छन् । सवारीसाधनले दिउँसै बत्ती बालेर चलाउनुपर्ने अवस्था आएको छ भने दुर्घटनाको जोखिम पनि बढेको जिल्ला ट्राफिक कार्यालय नवलपुरले जनाएको छ ।

कुहिरोका कारण किसान खेतीपातीका काममा जान नसक्दा कृषि गतिविधिसमेत प्रभावित भएका छन् । कुहिरोका कारण हिउँदे बालीनालीमा क्षति भएको कृषि ज्ञान केन्द्रका प्रमुख देवानन्दराय यादवले जानकारी दिए । कुहिरो र चिसो हावाका कारण दैनिक कामकाजमा प्रभावित हुनुका साथै स्वास्थ्यसम्बन्धी समस्या पनि देखापरेको छ । यहाँका बालबालिका, वृद्धवृद्धा र ज्यालादारी गर्ने मजदुर सबैभन्दा बढी प्रभावित भएका छन् ।

चिसोका कारण श्वासप्रश्वास, निमोनिया र ज्वरोको समस्या बढ्न थालेको प्रादेशिक अस्पताल डा अविनाश सिंहले जानकारी दिनुभयो । चिसोबाट प्रभावित बिरामीको चाप स्थानीय स्वास्थ्य संस्थामा बढेको स्तुति सौम्य हेल्थ केयर चिकित्सक डा. गुणेश्वर झाले बताए । जिल्ला प्रशासन कार्यालयले कुहिरो र चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जिल्लावासीलाई आह्वान गरेको छ ।

न्यानो कपडा लगाउन, बिहानबेलुका घरभित्रै बस्न र चिसोबाट जोगाउन बालबालिका तथा वृद्धवृद्धालाई विशेष ध्यान दिन प्रशासनले अनुरोध छ । विभिन्न ठाउँमा न्यानो कपडा वितरण र काठ, दाउरा बाल्ने व्यवस्था समाजसेवी संस्थाले गरेका छन् । यसैबीच, जिल्ला प्रशासन कार्यालय सर्लाहीले पर्सा गाउँपालिका–३ र ४ मा चिसोबाट प्रभावित अनिविपन्न गरीब तथा दलित ६८ जनालाई र विष्णु गाउँपालिका–१ बाराका ६१ परिवारलाई फाइबर सिरक वितरण गरेको छ ।

काठमाडौं । घर जग्गाको कारोबार क्रमशः लयमा फर्किन थालेको पाइएको छ । देशभरको घर जग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागकाअनुसार गत मंसिर महिनाको तुलनामा गत पुस महिनामा राजश्व संकलनमा वृद्धि भएको छ ।

गत मंसिर महिनामा रु तीन अर्ब ८७ करोड ४८ लाख २६ हजार नौ सय ७६ बराबर संकलन भएकामा पुस मसान्तसम्म रु चार अर्ब २५ करोड २२ लाख २१ हजार सात सय ७९ राजश्व प्राप्त भएको छ । विभागका अनुसार सो महिनामा सेवा करबाट रु ३० करोड ४३ लाख ४४ हजार छ सय ६५ सङ्कलन भएको छ । यस्तै, रजिष्ट्रेसन दस्तुरबाट रु दुई अर्ब ६८ करोड ७८ लाख २६ हजार एक सय ४५, पूँजीगत लाभकरबाट रु एक अर्ब ६० करोड ८३ लाख २८ हजार एक सय ७२ प्राप्त भएको छ ।

काठमाडौँ उपत्यका भित्रका विभिन्न नौ वटा मालपोत कार्यालयमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले राजश्व संकलन गरेको छ । सो कार्यालयले रु ४० करोड ९४ लाख ४२ हजार सात सय ३२ राजश्व सङ्कलन गरेको छ । यसबाट ललितपुरमा घरजग्गाको कारोबारमा उल्लेख्य वृद्धि भएको सहजै अनुमान गर्न सकिन्छ ।

यस्तै, मालपोत कार्यालय गोटीखेल ललितपुरले रु दुई लाख ८९ हजार ८४, मालपोत कार्याल भक्तपुरले रु २९ करोड ७६ लाख १३ हजार दुई सय ७१, मालपोत कार्यालय डिल्लीबजारले रु २१ करोड ९० लाख ९९ हजार छ सय ८५ राजश्व संकलन गरेको छ ।

त्यस्तै, विभागका अनुसार, मालपोत कार्यालय चाबहिलले रु २२ करोड ९३ लाख ८० हजार तीन सय ६७, कलङ्की मालपोतले रु २१ करोड ९३ लाख ७१ हजार सात सय ९२, मालपोत कार्याल साँखुले रु १० करोड ३२ लाख ५९ हजार छ सय २२, मनमैजुले रु छ करोड ६८ लाख २९ हजार पाँच सय ६१, मालपोत कार्यालय टोखाले रु छ करोड ७७ लाख ३४ हजार छ सय ९७ बराबरको राजश्व संकलन गरेको छ ।

यस्तै, मालपोत कार्यालय विराटनगरले रु १६ करोड ११ लाख तीन हजार चार सय ८१, मालपोत कार्यालय इनरुवा सुनसरीले रु १० करोड ९३ लाख ७४ हजार दुई सय ५७ राजश्व संकलन गरेको छ । गत कात्तिकमा देशभर घर जग्गाको कारोबारबाट रु दुई अर्ब ७० करोड ४० लाख ४६ हजार छ सय ४५ बराबरको राजश्व संकलन भएको थियो ।

 आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट आज (शनिबार) देखि मलेसियामा शुरू हुँदैछ । 

आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट आज (शनिबार) देखि मलेसियामा शुरू हुँदैछ । उद्घाटन खेलमा अहिले बिहान सवा ८ बजे अस्ट्रेलिया र स्कटल्याण्डले खेल्दै छन् ।

नेपालले दिउँसो सवा १२ बजे बङ्गलादेशसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्दैछ । नेपालले समूह चरणको दोस्रो खेलमा पर्सि सोमवार स्कटल्यान्डसँग र तेस्रो तथा अन्तिम खेलमा माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ । प्रतियोगितामा १६ वटा टोलीलाई चार वटा समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, मलेसिया, श्रीलङ्का र वेस्ट इण्डिज छन् । समूह ‘बी’ मा इङ्गल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन् ।

समूह ‘सी’ मा न्युजिल्याण्ड, नाइजेरिया, सामोआ र दक्षिण अफ्रिका छन् । समूह ‘डी’ मा नेपाल, अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्याण्ड छन् । १९ वर्षमुनिको महिला टी–२० विश्वकपको फाइनल खेल माघ २० गते हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सकारात्मक सोचले अगाडि बढ्नुहोस् कार्यमा सफलता मिल्नेछ। आफ्नो प्रतिभाको प्रदर्शन गर्ने अवसर पाउनुहुनेछ। कसैसँग व्यर्थको वादविवाद हुन सक्ला सावधान रहनुहोला। आजको शुभ रंग केसरी हो भने शुभ अंक १ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यक्षेत्रमा कार्यभार बढ्नेछ। स्वास्थ्यलाई लिएर चिन्तित रहनुहुन्छ,औषधि आदिमा धन खर्च हुनेछ। प्रेम सम्बन्ध वा जीवनसाथीसँग कुनै कुरालाई लिएर मनमुटाव रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आत्मविश्वासमा वृद्धि हुनेछ। आर्थिक पक्ष सामान्य रहनेछ। आकस्मिक धनलाभका योग छन्। विशिष्ट व्यक्तिहरूबाट पुरस्कृत भइएला। आयस्रोतका विभिन्न अवसरहरू बन्नेछन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) साहित्य र कलामा रुचि बढ्नेछ। व्यापार व्यवसायमा बनाइएका योजनाहरूमा सफलता मिल्नेछ। युवा वर्गहरू आफ्नो करियरलाई लिएर चिन्तित रहनुहुनेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ४ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आध्यात्मिक चिन्तनतिर झुकाव रहनेछ। अविवाहितहरूलाई विवाहको प्रस्ताव मिल्नेछ। साथीभाइहरूबाट सहयोग मिल्ने तथा प्रेम सम्बन्ध सुमधुर रहनेछ। राजनीतिक क्षेत्रमा जनसमर्थन बढ्नेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ६ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) वैदेशिक रोजगारबाट लाभ प्राप्त हुनेछ। पौष्टिक भोजनको सेवन गर्नुहोस् रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुनेछ। मेहनतले गर्दा जीवनशैलीमा परिवर्तन गर्न सकिनेछ। आलस्य गर्नदेखि बच्नुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आत्मीयजनको साथ र सहयोग मिल्नेछ। सामाजिक कार्यक्रममा सम्मिलित हुने मौका मिल्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। कार्यक्षेत्रमा कार्यलाई टार्नुभन्दा कार्यलाइ पूरा गर्ने प्रयास गर्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) समय सन्दर्भ विचार गरेर कार्य गर्ने प्रयास गर्नुहोला सफलता मिल्नेछ। इच्छा अनुसार समय व्यतीत गर्न सकिनेछ। कार्यक्षेत्रमा सबैको साथ र सहयोग मिल्नेछ। पिताको स्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ४ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा आयस्रोत बढ्नेछ। मेहनतको उचित मूल्यांकन मिल्नेछ। उद्योग जगतमा आफूलाई प्रतिष्ठित गर्नमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा लगानी लगाउँदा सोचेर सम्झेर गर्नुहोला। आजको शुभ रंग वैजनी हो भने शुभ अंक ६ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ। पेट वा कब्जियतको समस्याले सताउन सक्छ। घर गृहस्थी वा प्रेम सम्बन्धलाई समय दिने प्रयास गर्नुहोला। अरुलाई सल्लाह दिनदेखि बच्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज हजुरको दिन रचनात्मक क्रियाकलापमा बित्नेछ। आर्थिक स्थिति राम्रो हुनेछ तर खर्चमा नियन्त्रण राख्नु आवश्यक रहेको छ। व्यापार व्यवसायमा लाभ रहनेछ। संवैधानिक पदको मर्यादा राख्नुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रमा सकारात्मक ऊर्जाले दिनको सुरुवात गर्नुहोस्। नोकरी वा पेशामा चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ। मन नभएतापनि कार्यको अतिरिक्त दबाब रहनेछ। घरेलु काममा हात हतियारको प्रयोग गर्दा सावधानी राख्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ९ रहेको छ।

 

मर्मत सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ ।

प्राधिकरणले सूचनामार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत पर्ने शङ्खमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दुई बजेसम्म बिजुली कटौती हुनेछ ।

प्राधिकरणले निर्धारित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न भए बिजुली प्रवाह शिघ्रसमेत हुने जनाएको छ । बिजुली कटौतीका कारण उपभोक्तामा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दर अनुसार अमेरिकी डलरको मूल्यमा आज पनि वृद्धि भएको छ । लगातार वृद्धि भएर अमेरिकी डलरले मूल्यमा नयाँ कीर्तिमान कायम गरेको छ । 

युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्विस फ्र्याङ्क, सिङ्गापुर डलर, जापानी येन, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, थाई भाट, युएई दिराम, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्विडिस क्रोनर, डेनिस क्रोनर ,हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको भाउमा वृद्धि भएको छ । यस्तै, अष्ट्रेलियन डलरको मूल्य भने ओरालो लाग्दा अन्य केही विदेशी मुद्राको भाउ भने स्थिर  छ । 

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८८  पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ५३ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ १५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ६८ रुपैयाँ ९२ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ६६  पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ६९ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ३५ पैसा कायम गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ७५ पैसा र बिक्रीदर ८६ रुपैयाँ १२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ १९ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ६३ पैसा निर्धारण गरिएको छ । 

जापानी येन १० को खरिददर आठ रुपैयाँ ८८ पैसा र बिक्रीदर आठ रुपैयाँ ९२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८ रुपैयाँ ९५ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०९ पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसारे थाई भाट एकको खरिददर चार रुपैयाँ ०१ पैसा र बिक्रीदर चार रुपैयाँ ०३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६५  पैसा र बिक्रीदर ३७ रुपैयाँ ८१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६९ पैसा र बिक्रीदर ३० रुपैयाँ ८२ पैसा,साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ४९ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४० पैसा र बिक्रीदर १२ रुपैयाँ ४५ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्री दर १९ रुपैयाँ १९ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७ रुपैयाँ ८३ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपैयाँ १९ पैसा र बिक्रीदर चार सय ५० रुपैयाँ १३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ८४ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ४४ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५९ रुपैयाँ १९ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ७५ पैसा तोकिएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा निर्धारण भएको छ । 

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।