२०८३ असार ९ गते मंगलवार
२०८३ असार ९ गते मंगलवार

इजरायलसँगको युद्धविराम सम्झौताको पहिलो चरणअन्तर्गत हमास नियन्त्रणबाट मुक्त हुने ३३ बन्धकको सूची सार्वजनिक भएको छ । यो सूचीमा नेपाली नागरिक विपिन जोशीको नाम अटाएको छैन ।

सम्झौताअनुसार नै आइतबार तीन महिला बन्धक रिहा गर्ने हमासको घोषणासँगै युद्धविराम सम्झौता कार्यान्वयन सुरु भएको छ । सो सम्झौताअन्तर्गत पहिलो चरणमा इजरायलले तत्काल रिहा गर्नुपर्ने ३३ जनाको सूची हमासलाई बुझाएको थियो भने हमासले रिहाइको प्रतिबद्धता जनाएको थियो ।

पाँच दिनअघि १५ जनवरी २०२५ मा कतार, अमेरिका र इजिप्टको प्रयासमा इजरायल र प्यालेस्टायनबीच युद्धविराम सम्झौता भएको थियो ।

काठमाडौं । काठमाडौं जिल्ला अदालतले गोरखा मिडिया नेटवर्कका पूर्व सञ्चालक एवं पूर्व डीआईजी छविलाल जोशीलाई हिरासतमा पठाउन आदेश गरेको छ ।

काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका जोशीको थुनछेक बहस नसकिएपछि उनलाई हिरासतमा पठाउन अदालतले आदेश गरेको हो ।

पोखराको सुर्यदर्शन सहकारी ठगी प्रकरणमा ८८ लाख धरौटीमा रिहा भएका उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा पनि मुद्धा दायर भएको थियो । आइतबार उनको थुनछेक बहस नसकिएपछि उनलाई न्यायाधीश ठाकुर प्रसाद खरेलको इजलासले उनलाई हिरासतमा पठाउन आदेश गरिएको हो ।

अब सोमबार बहस सकिएपछि थुनछेक आदेश हुने अदालतले जानकारी दिएको छ।

काठमाडौँ । राष्ट्रिय परिचय पत्रलाई कार्यान्वयन गर्न रोक लगाउनुपर्ने मागसहित दायर रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ । सर्वोच्च अदालतको फैसलासँगै सरकारलाई विभिन्न सेवाका लागि राष्ट्रिय परिचयपत्र लागू गर्ने बाटो खुलेको छ ।

देशभर एकैसाथ राष्ट्रिय परिचयपत्र लागू गर्दा सेवाग्राहीहरू मारमा पर्न सक्ने भन्दै अधिवक्ता रामबहादुर राउतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको इजलासले रिट निवेदन खारेज गरेको थियो । सर्वोच्च अदालतले वेबसाइटमार्फत तीन सदस्यीय पूर्ण इजलासबाट केही निर्देशनात्मक आदेश जारी भएको उल्लेख छ, तर आदेशको विवरण सार्वजनिक भइसकेको छैन ।

अर्को रिट निवेदनमा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा कैयौँ नागरिक भत्ताबाट वञ्चित भएकाले त्यसलाई चरणबद्ध रूपमा कार्यान्वयन गर्न माग गरिएको थियो ।

इजरायल र हमासबीचको गाजामा युद्धविराम र बन्धकहरूलाई रिहा गर्ने सम्झौतापछि हमासले आइतबार तीन महिला बन्धकको नाम सार्वजनिक गरेको छ ।

टेलिग्राममा एक पोस्ट गर्दै हमासले तीन महिला बन्धकहरूको नाम जारी गरेको हो ।

रिहा हुनेमा २४ वर्षीय रोमी गोनेन, २८ वर्षीया एमिली डमारी र ३१ वर्षीय डोरोन स्टेनब्रेचर छन् । तिनीहरूमध्ये एक, एमिली, इजरायल र बेलायतको दोहोरो नागरिकता छ ।

यसअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले बन्धकहरूलाई रिहा गर्ने नाम नदिएसम्म गाजामा युद्धविराम लम्बिने बताएका थिए ।

युद्धविराम सम्झौता अनुसार आदानप्रदान हुनुभन्दा कम्तिमा २४ घन्टा अगावै रिलिज हुनेहरुको नाम खुलाउनुपर्ने हुन्छ ।

काठमाडौं । कानुन व्यवसायीहरूले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको भौतिक आक्रमणको विरोधमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । सर्वोच्च बार एशोसिएसनको अगुवाइमा कानुन व्यावसायीहरूले नेपाल बार एशोसिएशनको प्राङ्गणमा विरोध प्रदर्शन गरेका हुन् ।

कानुन व्यवसायीहरूले घटनामा संलग्नहरूलाई कानुनी कारबाहीको दायरामा ल्याई कडा कारबाही गर्न माग गरेका छन्। विधिको शासनमा अदालतमा पक्ष र विपक्षका बीचमा बहस गर्न पाउने जोसुकैलाई पनि अधिकार रहेको भन्दै कानुन व्यवसायीहरूले सरकारसँग सुरक्षाको समेत माग गरेका छन् ।

विरोध प्रदर्शनमा वरिष्ठ अधिवक्ताहरू रमश श्रेष्ठ, शम्भु थापालगायतका बारका पदाधिकारी र सदस्य पुगेका थिए । गत बुधबार रवि लामिछाने जोडिएको सहकारीका पीडितको पक्षबाट बहस गरेर फर्किदै गर्दा अदालत परिसरमै त्रिपाठीलाई एउटा समूहले लछारपछार गरेको थियो ।

गायिका समिक्षा अधिकारी श्री एयरलाइन्ससँग आक्रोशित बनेकी छन्।

विमानस्थल खुलेर अन्य एयरले उडान गर्दा पनि विहान ८ बजेको श्री एयरले २ बजेसम्म पनि नउडाएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत गायिका अधिकारी आक्रोशित भएकी हुन्। 

यहि विमानका कारण आफूले केही दिनअघि नेपालगञ्जको कार्यक्रम समेत गुमाएको उनले स्मरण गरेकी छन्।

गायिका अधिकारी लेख्छिन्,‘मौसम खराबीले उडान प्रभावित हुनु त स्वाभाविकै हो तर एयरपोर्ट खुलिसक्दा पनि बिहान ८ बजेको प्लेन अब दिउँसो २ बजे मात्रै उड्छ भन्दै श्री एयरलायन्सले यात्रुलाई एयरपोर्टमै अलपत्र पारेको छ।’ 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको उनले जानकारी दिएकी छन्। 

‘अन्य एयरलायन्सले धमाधम प्लेन उडाईरहेका छन्।  केही दिनअघि पनि मैले यहि एयरलायन्सबाट धोका पाएपछि नेपालगञ्जको कार्यक्रम नै छुटाउनु परेको थियो। आज पनि म बिहानैदेखी काठमाडौं एयरपोर्टमै छु’ अधिकारी लेख्छिन्,‘श्री एयरलायन्सबाट धोका पाउने म पहिलो पात्र पक्कै होईन। यस्तो घटना कि त अन्य एयरलाइन्ससँग कमिसन खाने कर्मचारीले घटाउछन्, कि त यो एयरलायन्स काम छैन।’
  

रुपन्देही । जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत रुपन्देहीमा आज पूर्व गृहमन्त्री समेत रहेका लामिछाने, पूर्व डीआईजी छविलाल जोशी लगायत ४२ जनाविरुद्ध मुद्दा दायर गरेको हो । उनीहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको छ ।

प्रहरीले थप १४ गरी ४२ जना विरुद्ध मुद्दा चलाउने राय दिएपछि आज लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर भएको हो । सुप्रिम सहकारी ठगी प्रकरणमा पूरक अनुसन्धान गरेर प्रहरीले लामिछाने, पूर्वडीआइजी छविलाल जोशीसहित १४ जनाको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बुझाएको थियो ।

रविविरुद्ध मात्रै व्यक्तिगत २ करोड र सामूहिक २ करोड गरेर चार करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ । सुप्रिम सहकारीको रकम अपचलनबारे प्रहरीले बुझाएको यो दोस्रो पूरक अनुसन्धान हो। यसअघि रवि गृहमन्त्री रहेकै बेला सुप्रिमको मुद्दा ३ वैशाखमा अदालतमा दर्ता भएको थियो ।

मुलुकको सार्वजनिक ऋण २५ खर्ब ३६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिना (साउनदेखि पुससम्म) मा एक खर्ब दुई अर्ब ३ करोड सरकारी ऋण बढेको छ । यससँगै गत पुस मसान्तसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २५ खर्ब ३६ अर्ब १३ करोड रुपैयाँ कायम भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

गत असार मसान्तमा तिर्न बाँकी सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ थियो । गत पुससम्मको तिर्न बाँकी ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४.४६ प्रतिशत हुन आउँछ । कुल तिर्न बाँकी सार्वजनिक ऋणमध्ये आन्तरिक १२ खर्ब ३४ अर्ब ७१ करोड (जीडीपीको २१.६४ प्रतिशत) र बाह्य १३ खर्ब १ अर्ब ४१ करोड रुपैयाँ (जीडीपीको २२.८१ प्रतिशत) रहेको कार्यालयले बताएको छ ।

पछिल्ला महिनामा विनिमय दरमा आएको उतारचढावका कारण सार्वजनिक ऋणको दायित्व घटेको छ । ‘यस आर्थिक वर्षको पुस मसान्तसम्म विनियम दरमा भएको परिवर्तनले ११ अर्ब ६१ करोड सार्वजनिक ऋण दायित्वको वृद्धिमा प्रभाव परेको छ । गत पुससम्मको कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५१.३१ र आन्तरिक ऋणको हिस्सा ४८.६८ प्रतिशत छ,’ सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनमा भनिएको छ ।

टिकटकले अमेरिकामा आफ्नो सेवा बन्द गरेको छ । अमेरिकी सरकारले जनवरी १९ देखि प्रतिबन्ध लगाउनु केहि घण्टा अघि नै टिकटकले अमेरिकामा आफ्नो सेवा बन्द गरेको जानकारी दिएको हो ।

अमेरिकाले टिकटकमा चिनियाँ लगानी रहेको र अमेरिकी प्रयोगकर्ताको सुचनामा चीनले पहुँच बनाएको भन्दै टिकटकलाई अमेरिकी लगानी कर्तालाई बेच्न वा प्रतिबन्ध लगाउन कानुन बनाएको थियो । यो कानुन गत बर्षनै अमेरिकी संसदले पारित गरेको थियो । यसका लागि अमेरिकाले टिकटकलाई जनवरी १९, २०२५ सम्मको समय दिएको थियो ।

अहिलेसम्म टिकटकले आफ्नो अमेरिकाको स्वामित्व अमेरिकी लगानीकर्तालाई दिने विषयमा कुनै कदम नचालेपछि कानुन अनुसार टिकटक प्रतिबन्धमा पर्ने भएको थियो ।

यसैबीच अमेरिकामा नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ लिन लागेकाले उनको शपथपछि यो विषयको समाधान हुने विश्वास व्यक्त गरिएको छ । यद्यपी ट्रम्पले टिकटकलाई केहि दिन थप समय दिनसक्ने अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् । वर्तमान राष्ट्रपति जो बाइडेनले भने यस विषयमा अब नयाँ राष्ट्रपतिले नै निर्णय लिने भन्दै टिकटकको विषयमा कुनै ठोस निर्णय नलिएर विदा हुने भएका छन् ।

अमेरिकामा टिकटकका सबैभन्दा बढी १७० मिलियन भन्दा बढी प्रयोगकर्ता रहेका छन् ।

नेपाली क्रिकेटर सन्दीप लामिछानेले सन्यास लिने संकेत गरेका छन् । नेपाली क्रिकेट टिमका लेग स्पिनर समेत रहेका लामिछानेले सामाजिक सञ्जालमा राखेको एक भावुक पोस्टपछि फ्यानहरू त्यस्तो अड्कल गरिरहेका छन्।

शनिबार राति सबैलाई धन्यवाद दिँदै उनले लेखेको पोस्टमार्फत ‘यो देश र यस सुन्दर राष्ट्रका अविश्वसनीय मानिसहरू सधैं मेरो साथमा उभिएका छन्, मेरो यात्राको हरेक पाइलामा अटल समर्थन प्रदान गर्दै। तपाईंको माया र प्रोत्साहन मेरो लागि संसारको अर्थ हो र सधैंभरि मेरो हृदयमा विशेष स्थान राख्नेछ’, भनेर लेखेका छन् ।

यसअघि एक किशोरीसँग नाम जोडिएपछि सन्दीप केही समय खेल क्षेत्रबाट टाढा रहनु परेको थियो । तर पछि पाटन उच्च अदालतले सफाइ दिएसँगै उनी पुनः नेपाली क्रिकेटमा फर्केका हुन् । भर्खरै सकिएको एनपीएल कपमा सन्दीपले उत्कृष्ट प्रदर्शन गर्न असफल भए । जय ट्रफीमा भने उनको प्रदर्शन औसल रहयो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।