२०८१ चैत्र ६ गते बुधबार
२०८१ चैत्र ६ गते बुधबार

चन्द्रागिरि नगरपालिका वडा नं. २ का अध्यक्षसमेत दुईजना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। मंगलबार विशेष अदालतले वडाध्यक्ष भाइकृष्ण तामाङ र घुसको तारतम्य मिलाउने धुर्वबहादुर कडायतलाई सजाय सुनाएको हो। 

ललितपुर उपमहानगरपालिका वडा नं. २२ बाट एक उद्योग चन्द्रागिरिमा सार्नका लागि घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अभियोग थियो। उर्मिला पाण्डेय तथा उनका साझेदारसँग वडाध्यक्ष तामाङले व्यवसाय स्थानान्तरणका लागि सिफारिस गरिदिन चार लाख रुपैयाँ घुस मागेको उजुरी परेको थियो। 

कडायत सेवाग्राहीसँग दुई लाख नगद लिइसकेको तथा बाँकी दुई लाखको चेक आफ्नो नाममा लिइसकेको अवस्थामा पक्राउ परेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दै जाँदा उक्त रकम वडाध्यक्ष तामाङले मागेको पुष्टि भएको थियो। 
गत २० असारमा मुद्दा दायर भएकोमा ठहरको फैसला भएको हो। यस मुद्दामा विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले फैसला गरेको हो। 

विशेषका अनुसार तामाङलाई ६ महिना कैद र ४ लाख रुपैयाँ जरिवाना तोकिएको छ। घुसको तारतम्य मिलाउने कडायतलाई पनि उति नै कैद र जरिवानाको सजाय सुनाइएको विशेषले जनाएको छ।

काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निमार्णको विषयमा भएको झडपका क्रममा घाइते भएकाहरूको उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ । आज (मंगलबार) सिंहदरबारमा गृहमन्त्री, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखसहितको बैठकले घाइतेको उपचार खर्च ब्यहोर्ने लगायतका निर्णय गरेको हो ।

त्यस्तै, घटनाबारे थप बुझेर समाधानका लागि वार्ता समिति गठन गर्ने निर्णय पनि भएको वार्तामा सहभागी ईलामका प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले जानकारी दिए । घटनाबारे भोलि (बुधबार) संस्कृति, पर्यटन तथा उड्डययनमन्त्री बद्रीप्रसाद पाण्डेसँग छलफल गर्ने बताइएको छ ।

मंगलबार भएको छलफलमा गृहमन्त्री रमेश लेखक, संखुवासभाका प्रतिनिधिसभा सदस्य तथा उर्जामन्त्री दिपक खड्का ताप्लेजुङका सांसद योगेश भट्टराई, लिलादेवि बोखिम र उर्मिला थेवे, इलाम क्षेत्र नम्बर २ का सांसद सुहाङ नेम्वाङ, नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही लगायत सहभागी थिए ।

प्रहरीसँगको झडपमा ‘नो केबलकार’ समूहका तीन जना तेह्रथुमको म्याङलुङ नगरपालिकाका यामबहादुर लिम्बू, पाँचथरको मिक्लाजुङ गाउँपालिकाका सगुन लावती र ताप्लेजुङको फुङलिङ नगरपालिका–८ का धर्म पालुङ्वाको काठमाडौस्थित टिचिङ अस्पतालमा उपचार भई रहेको छ । सोमबार केबुलकार निर्माणको विषयमा विवाद हुँदा प्रहरीले गोली चलाएको थियो । सो क्रममा दुई जना घाइते भएका थिए । त्यसैगरी भागदौडमा एक जना गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । मुक्कुमलुङ संरक्षण र केबुलकार खारेजी संघर्षरत संस्थाका प्रतिनिधिहरूले १५ माघदेखि अनिश्चितकालीन बन्द आह्वान गरेका छन् ।

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका–७ उकुमा रहेको ऐतिहासिक उकु महलको उत्खननसँगै अनुसन्धान सुरु गरिएको छ । पुरातत्व विभागको टोलीले उकु पुगेर उत्खनन र भग्नावशेषको अनुसन्धान सुरु गरेको हो । गाउँपालिका अध्यक्ष हिरासिंह धामीको अध्यक्षतामा कार्यक्रम गर्दै पुरातत्व विभागको टोलीले उत्खनन कार्य थालनी गरेको छ । लामो समयदेखि संरक्षण र पुनर्निर्माणको पर्खाइमा रहेको उकु महलको उत्खनन र अनुसन्धान थालिएसँगै संरक्षणमा समेत ध्यान पुग्ने स्थानीयको अपेक्षा छ ।

उकु महलको सम्भावनाबारे उत्खनन गर्न पुरातत्व विभागका पुरातत्व अधिकृत हरि भुसाल, लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमालकुमार उप्रेती र पुरातत्व विभागकै अधिकृत राकेश परिवारले कामको थालनी गरेका छन् । उकु महलले जिल्लामा धार्मिक तथा सांस्कृति पर्यटनको ठूलो सम्भावना बोकेको पुरात्व अधिकृत उप्रेती बताउँछन् । महलको भग्नावशेषमा अहिले पनि शिलालेखमा लेखिएका चट्टान स्पष्ट देख्न सकिन्छ । चट्टानमा शिलालेख लेखिएको र ढुङ्गा कोरेर आकर्षक मूर्ति बनाएका भेटिएका छन् ।

गत वर्ष पनि केही काम भएको थियो । यस वर्ष थप एक महिना काम गर्नेगरी पुरातत्व विभागको टोली आएको भुसालले जानकारी दिए । आगामी फागुन ११ गतेसम्म उत्खनन र अनुसन्धान गर्नेगरी विभागको टोली पुगेको छ । उकु भग्नावशेष वरिपरि, मन्दिर क्षेत्र, घर खेत सबैतिरका चट्टान समेत सङ्कलन गर्ने काम भइरहेको छ। अहिले पनि भग्नावशेष क्षेत्रका भेटिएका सबै शिलालेख सुरक्षित स्थानमा सार्ने काम भइरहेको भुसालले बताए।

उनले भने, ‘सबै प्रकारका अभिलेख सुरक्षित राख्ने काम भइरहेको छ, सुरक्षित तवरले अभिलेख राखेर अनुसन्धान गर्छौं।’ प्रारम्भिक रुपमा हेर्दा थुप्रै शिलालेखहरु भेटिँदै छन् । उकु महलको संरक्षण र अनुसन्धानका लागि पटक पटक ताकेता भएसँगै पुरातत्व विभागले काम थालनी गरेको हो । अहिले भइरहेको उत्खनन र अनुसन्धानबारे जिल्ला प्रशासन कार्यालय तथा सरोकारवालाई जानकारी गराउने तयारी भएको भुसालको भनाइ छ । यो अवधिमा उकु भग्नावशेष क्षेत्रमा फोटो खिच्न, भिडियोग्राफी र टिकटक बनाउन पुरातत्व विभागको अनुमति बिना नलिन भनिएको छ ।

‘यो ऐतिहासिक अनुसन्धान कार्य गर्दैछौँ’, भुसाल भन्छन्, ‘यो खोजबाट यहाँको वास्तविकता पत्ता लगाएर संरचना कस्तो बनाउने भन्ने विषयमा निर्णयमा पुगिन्छ, गत वर्ष उत्खननका क्रममा एउटा मन्दिर भेटिएको थियो, प्रारम्भमा हेर्दा यहाँ निकै धेरै शिलालेख भेटिने अवस्था छ, यसको पूरै उत्खनन भएपछि यहाँको सांस्कृति, धार्मिक पर्यटकीय महत्व झनै बढ्छ ।’

स्थानीय सरकारले चासो देखाएसँगै पुरातत्व विभागले काम थालनी गरेको गाउँपालिका अध्यक्ष धामीले बताए । उकुमा भएको भग्नावशेषको अभिलेखीकरण र व्यवस्थापनमा गाउँपालिकाले सहयोग गर्ने गरी टोली आएको छ । गत वर्ष सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्र रावलले समेत उकु महलका बारेमा चासो दिँदै ज्ञापन बुझाएका थिए । सबै क्षेत्रको सहयोगमा अहिले उकु महलको उत्खनन र अनुसन्धानसम्म पुगेको अध्यक्ष धामीको भनाइ छ । ‘हामीले यसको प्रचार–प्रसारमा ल्याउन तथा संरचना निर्माणका लागि पुरातत्व विभागलाई अनुरोध गरेका थियौं’, उनले भने, ‘यहाँको इतिहासलाई फेरि एक पटक बिताउने प्रयास गरिएको छ ।’

परापूर्वकालको पुरानो दरबारको भग्नावशेषका रुपमा रहेको ठाउँको अध्ययन तथा अन्वेषण र संरक्षणको काम सुरु भएपछि स्थानीय पनि खुसी भएका छन् । स्थानीय धनबहादुर पालले ओझेलमा परेको उकु महलको काम अघि बढेकामा खुसी व्यक्त गरे । उनले भने, ‘थोेरै भए पनि संरक्षणका लागि सरकारले ध्यान दिएको छ, यो निरन्तर हुनुपर्छ, महलको उत्खनन र संरक्षण नहुँदा थुप्रै मूर्ति तथा शिलालेख चोरी हुुनाका साथै टुटफुट भएका छन् ।’

उकु महलको भग्नावशेषस्थलमा विभिन्न शिलालेख लेखिएका चट्टान छरिएर रहेका अवस्थामा जीर्ण बन्दै गएका थिए । परापूर्वकालमा कत्युरी राजाको राजधानीका रुपमा यसलाई निर्माण सुरु गरिएको किंवदन्ती छ । कतुडी राजवंशको अन्त्यपश्चात् १२औँ शताब्दीमा पाल राजा भारतको अस्कोट क्षेत्रमा बसोबास गर्ने गरेको पाइन्छ । सर्वप्रथम रजबार भारती पाल सो क्षेत्रमा दरबार बनाएर बसेको हुनसक्ने इतिहासका जानकारको भनाइ छ ।

हालसम्म पनि उकु, लाली क्षेत्र र उकुसँग सीमा जोडिएको भारतको अस्कोटमा पनि पालको बसोबास रहँदै आएको छ। इतिहासबारे जानकार प्रकाशचन्द्र मिश्र उकु भग्नावशेष नाग पाल राजाले दरबारमा मन्दिर बनाउन उक्त क्षेत्रमा मूर्ति शिलालेख जम्मा गरेको बताउँछन् । उक्त क्षेत्रमा ऐतिहासिक किल्ला, ढुङ्गामा कुँदिएका विभिन्न भगवान्का मूर्ति देख्न सकिन्छ । अस्कोटको इतिहासअनुसार परापूर्वकालमा अभयपाल रणचुलाहाटस्थित कत्युरी राज्यको राजधानीबाट अस्कोट आएको इतिहास छ ।

मिश्रले भने, ‘यो ऐतिहासिक महत्वको स्थल हो, यहाँ भेटिने कोटघर, देवस्थल, दरबारका किल्ला र विभिन्न आकृतिका ढुङ्गाले इतिहास र संस्कृति दर्शाइरहेको देखिन्छ ।’ दार्चुला मध्यकालीन शक्तिशाली कत्युरी राज्य र सभ्यताको हिस्सा थियो भन्ने ऐतिहासिक दस्तावेजले पुष्टि गरेको बताइन्छ ।

काठमाडौँ । आफूलाई अभियन्ता बताउने आशिका तामाङ आउँदो शुक्रबारसम्म प्रहरी हिरासतमै रहने भएकी छिन् ।

प्रहरी वृत्त जगाते, भक्तपुरले उनीविरुद्ध आपराधिक उपद्रवको कसुरमा अनुसन्धान सकेर काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । मंगलबार उनीविरुद्धको बयान तथा थुनछेक बहस नसकिएपछि प्रहरीकै जिम्मा लगाइएको छ ।

प्रहरीले अनुसन्धान टुंग्याएर मंगलबार नै फाइल सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दर्ता गरेको थियो । यहीबीचमा सार्वजनिक बिदा परेकाले अदालतले प्रहरीको जिम्मा लगाएको हो ।

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतले गरेको ६५ लाख रुपैयाँ धरौटीको आदेशविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पुनरावेदनमा कैफियत प्रतिवेदन झिकाउने आदेश भएको छ ।

मंगलबार उच्च अदालत पोखराका न्यायाधीश मिलनकुमार राईको एकल इजलासले कैफियत प्रतिवेदन माग्ने आदेश गरेको हो ।

सूर्यदर्शन सहकारीका बचतकर्ताको रकम अनधिकृत रूपमा गोर्खा मिडिया प्रालिमा ल्याएर अपचलन गरेको भन्दै लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण, संगठित अपराध र सहकारी ठगीमा मुद्दा चलाइएको छ । उक्त मुद्दामा लामिछानेमाथि झन्डै २८ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको अभियोग छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा छाड्ने आदेश गरेको थियो । उक्त आदेशमा प्रश्न उठाउँदै उच्च सरकारी वकिल कार्यालय कास्कीले पनि उच्च अदालतमा पुनरावेदन गरिसकेको छ । लामिछानेले पनि पुनरावेदन गरेकामा कैफियत प्रतिवेदन झिकाउने आदेश भएको हो । कैफियत प्रतिवेदनमा जिल्ला अदालतले गरेको फैसलाका अतिरिक्त उक्त निर्णय लिनुपर्नाका आधार समेत लेखेर पठाउने अभ्यास छ ।

सरकारी वकिलको कार्यालयको निवेदनमा उच्चले कारण देखाउ आदेश गरेपछि रवि पनि जिल्लाको आदेशमा चित्त नबुझेपछि फौजदारी कार्यविधि संहिताको ७३ नम्बरअनुसार उच्चमा निवेदन लिएर पुगेका हुन्। रविले ६५ लाख धरौटी माग्ने जिल्लाको आदेश नै त्रुटीपूर्ण रहेको भन्दै सो आदेश बदर गरेर आफूलाई सामान्य तारेखमा मुद्दाको पुर्पक्षको अवसर दिन ७ पेजको निवेदन दर्ता गराएका थिए । कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याइएका रविलाई सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अभियोजन पत्र दर्ता गराइएको थियो ।

काठमाडौँ । मंगलबार सेयर बजारका सबै सूचक बढेका छन् । परिसूचक नेप्से २४.५० अंक बढेको छ । सो अंकको वृद्धिपछि २६५७ मा कायम भएको छ ।

कारोबार रकममा पनि सुधार देखिएको छ । अघिल्लो दिन ८ अर्ब ९२ करोडको कारोबार भएकोमा आज ९ अर्ब ४० करोडको भयो । १७७ कम्पनीको मूल्य बढ्दा ६० को घट्यो भने ६ को स्थिर रहेको छ ।

काठमाडौँ । सगरमाथा क्षेत्र प्रवेश गर्ने सडकमा खुम्बु पासाङल्हामु गाउँपालिकाले चर्को सेवा शुल्क तोकेको छ ।

गाउँपालिकाले सूचना जारी गर्दै सडक मर्मत सम्भार शुल्कबापत प्रतिसिट प्रतिपटक ५० रुपैयाँ शुल्क स्थानीय तहलाई बुझाउनुपर्ने भएको छ ।

४० सिटे गाडी उक्त गाउँपालिका प्रवेश गर्न खोज्यो भने हरेक पटक २ हजार रुपैयाँ सेवा शुल्क स्थानीय तहमा बुझाउनुपर्ने भएको छ ।

उता, सडक मर्मत सम्भार शुल्क (ढुवानी साधन) का हकमा प्रतिक्विन्टल प्रतिपटक १० रुपैयाँ सेवा शुल्क राखिएको छ । गाउँपालिकाले वडा नम्बर १ खरिखोलास्थित नगर प्रहरी पोस्टमा यो शुल्क बुझाउन समेत भनेको छ ।

काठमाडौं । सरकारले भव्य रुपमा शहीद दिवस मनाउने भएको छ ।

सोमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

उनकाअनुसार शहीद सप्ताहको बुधवार अन्तिम दिन भएकाले सरकारको तर्फबाट शहीदगेटमा शहीदप्रति श्रद्धाञ्जली अर्पण हुने र माल्यार्पण गरिने बताए ।

उनले शहीद दिवसको स्मरणमा काठमाडौंमा कार्यक्रमको आयोजना गरिने पनि बताए ।

उनले भने– ‘भोलि सहिद सप्ताहको अन्तिम दिन हो । त्यसकारण भोलि सरकारको तर्फबाट शहीद दिवस मनाउने काम हुन्छ । भोलि प्रधानमन्त्रीसहित हामी सबै जना शहीदगेट जान्छौं । त्यहाँ शहीदहरुप्रति श्रद्धाञ्जली र माल्यार्पण हुन्छ । त्यसपछि हामी लैनचौर गएर श्रद्धाञ्जली अर्पण गर्छौं । त्यसपछि जहाँ ठाउँ खालि हुन्छ त्यहाँ हाम्रो कार्यक्रम हुन्छ । हिउँदे अधिवेशन माघ १८ गते शुरु हुँदैछ । यो हिउँदे अधिवेशनबाट हामीले राष्ट्रपतिबाट पारित भएका अध्यादेशहरुलाई संसदमा फास्ट ट्र्याकबाट संसदबाट पास गर्ने काम हुन्छ । ति अध्यादेशहरु कार्यान्वयनको लागि नियमावलीहरु तदारुकताका साथ बनाउने निर्णय गरेका छौं । अध्यादेश कार्यान्वयनमा जान्छ ।’

सरकारले ल्याएको अध्यादेशहरु संसदबाट फास्ट ट्रयाकमा पारित गर्दै छिटो कार्यान्वयनमा लैजाने निर्णय समेत भएको उनले बताए ।

अध्यादेशहरु कार्यान्वयनका लागि आवश्यक नियमावली बनाउने निर्णय भएको बताए ।

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा दर्ता गराएको हो । विधेयकले फेसबुक, एक्सलगायत सामाजिक सञ्जालले नेपालमा सञ्चालन अनुमति लिनुपर्ने व्यवस्था गरेको छ ।

यो विधेयक संसदबाट पारित भएर ऐनको रूप लिएको ६ महिनाभित्र फेसबुकलगायत सामाजिक सञ्जालले सरकारको सामाजिक सञ्जाल विभागमा सञ्चालनका लागि अनुमति र सूचीकरण गर्नुपर्नेछ । यस्तै फेसबुकलगायत सामाजिक सञ्जालले नेपालमा सम्पर्कविन्दु स्थापना गर्नुपर्ने नभए सञ्चालनमा रोक लगाउनेजस्ता व्यवस्थासमेत विधेयकमा समावेश छ । कुनै पनि सामाजिक सञ्जाल नेपालमा सञ्चालनमा आउनुअघि नै नेपालसँग अनुमति लिनुपर्ने व्यवस्था विधेयकले गरेको छ ।

विधेयकमा ट्रोल गर्नेलाई पाँच लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था ल्याइएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले केही शर्तहरू पालना गर्नुपर्ने उक्त विधेयकमा उल्लेख गरेको छ । यस्तै मिथ्या तथा भ्रामक सूचनाको दुष्प्रचार, सूचनाको तोडमरोड गरी प्रसार गर्न नहुने, निषेध गरेका वस्तुको विज्ञापन तथा कारोबार गर्न नहुने लगायत पनि यस विधेयकमा उल्लेख छ । सामाजिक सञ्जाल प्रयोगकर्तालाई जरिवाना गर्नुअघि सफाईको मौका दिइने पनि उल्लेख गरेको छ ।

कुनै पनि सामाजिक सञ्जालले नेपाल सरकारसँग अनुमति नलिए वा सरकारले सञ्चालन अनुमति नदिएका खण्डमा त्यस्ता सामाजिक सञ्जाल नेपालमा सञ्चालनमा रोक लगाउने व्यवस्था पनि छ । नेपाल बाहिरबाट नेपाल वा नेपाली नागरिकविरूद्ध चरित्र हत्या हुने प्रकृतिका पोस्टहरू गरेमा कारबाही गर्ने व्यवस्थासमेत विधेयकमा समावेश छ ।

जनकपुरधाम । काठमाडौँबाट धनुषाको जटही जान लागेको बसमा एक जना यात्रु मृत फेला परेका छन् ।

मृत फेला पर्नेमा भारतको बिहार मधुबन्नी सिमरीका ५५ वर्षीय जगदीश यादव रहेको धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक बरुण बहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार काठमाडौँबाट धनुषाको जटही चल्ने मधेश प्र.००४९००१ ख ०१५७ नम्बरको बसमा उनी ढल्केबर पुग्दा बसको सिटमै मृत फेला परेका हुन् ।

अहिले बसलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको सिंहले बताए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।