
आज (बिहीबार) देखि सुरु हुने त्रिकोणात्मक टी–२० श्रृङ्खलाको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग भिड्ने भएको छ । खेल अपराह्न १२ः१५ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
आजदेखि सुरु भएर माघ २५ गतेसम्म सञ्चालन हुने श्रृङ्खलाका सबै खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने छन् । यस शृङ्खलामा नेपाल, नेदरल्याण्ड्ससँगै थाइल्याण्ड पनि छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२० श्रृङ्खलाको पूर्व सन्ध्यामा बुधबार ट्रफी सार्वजनिक गरेको थियो । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा, नेदरल्याण्ड्सकी कप्तान बाबेट डे लिडे र थाइल्याण्डकी कप्तान नारुमोल चाइवाईले संयुक्त रूपमा ट्रफी सार्वजनिक गरेका थिए ।
कप्तान बर्माले यो शृङ्खला आफूहरूका लागि महत्वपूर्ण रहेको बताउँदै ट्रफी जित्ने विश्वास व्यक्त गरेकी छिन् । यस्तै, नेदरल्याण्ड्सकी कप्तान बाबेट डे लिडे र थाइल्याण्डकी कप्तान नारुमोल चाइवाईले पनि श्रृङ्खलाको उपाधि आफ्नो टिमले हात पार्ने दाबी गरेका छन् ।
श्रृङ्खलाका लागि नेपाली टोलीमा बर्माको कप्तानीमा रुविना क्षेत्री, सीता राना मगर, पूजा महतो, विन्दु रावल, रेवती धामी, कविता कुँवर, सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, कविता जोशी, एलिसाकुमारी यादव, रोमा थापा, मनिषा उपाध्याय र ईश्वरी विष्ट रहेका छन् ।
तामाङ समुदायले आज (बिहीबार) सोनाम ल्होसार पर्व मनाउँदै छन् । यो पर्वका अवसरमा सरकारले आज देशैभरि सार्वजनिक बिदा दिएको छ ।
तामाङ समुदायको महत्वपूर्ण पर्व सोनाम ल्होसारको अवसरमा आज देशैभरि विभिन्न कार्यक्रम हुँदैछन् ।
‘ल्हो’ अर्थात् वर्ष तथा ‘सार’ अर्थात् नयाँ भन्ने अर्थ बोकेको यस पर्वले नयाँ ऊर्जा, समृद्धि र सकारात्मक परिवर्तनको सन्देश दिने गर्छ । सोनाम ल्होसार तामाङ समुदायको मौलिक पर्व हो। डम्फु बाजाको धुन, तामाङ सेलोको लय, परम्परागत वेशभूषा तथा विशेष परिकार यो पर्वको विशेषता हुन् ।
यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्दै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गरेर मनाउँछन् । मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएका छन् ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ १७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३७ पैसा, स्विस फ्र्यांक एकको खरिदर १५२ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५३ रुपैयाँ १७ पैसा कायम गरिएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिदर चार रुपैयाँ १० पैसा र बिक्रीदर चार रुपैयाँ ११ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७८ पैसा, मलेसियन रिंगेट एकको खरिदर ३१ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५९ पैसा, साउथ कोरियन वन १०० को खरिदार नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, स्विडिस क्रोनर एकको खरिदर १२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १२ रुपैयाँ ६१ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ २७ पैसा र बिक्री दर १९ रुपैयाँ ३५ पैसा तोकिएको छ ।\
राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७ रुपैयाँ ८१ पैसा, कुवेती दिनार एकको खरिदर ४४७ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ८२ पैसा, बहराइन दिनार एकको खरिदर ३६६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६८ रुपैयाँ नौ पैसा, ओमनी रियाल एकको खरिदर ३५८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३६० रुपैयाँ ४४ पैसा तथा भारतीय रुपैयाँ १०० को खरिदर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाइएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुन सक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।





