
राज्यले अर्बौँ लगानी गरेर निर्माण गरेका विमानस्थलको वार्षिक आम्दानी ४७४ रुपैयाँ भन्ने सुन्दा अचम्म लाग्न सक्छ तर खोटाङको लामिडाँडा विमानस्थलले सन् २०२४ मा गरेको आम्दानी यति नै हो।
स्थानीय बासिन्दाले कुटो तथा कोदालो प्रयोग गरेर निर्माण थालेका यो विमानस्थलमा नेपाल नागरिक उड्डयन प्राधिकरणले ६ करोड ७६ लाख ९३ हजार रुपैयाँ लागतमा धावनमार्ग कालोपत्र गरेको थियो।
विमानस्थलमा २०७६ असार ३ गते परीक्षण उडानसमेत गरिएको थियो। कच्ची अवस्थामै करिब ४८ वर्ष सञ्चालनमा रहेर कुनै बेला वार्षिक लाखौँ रकम आम्दानी गरेको योविमानस्थलमा अहिले पनि नियमित कर्मचारीले काम गर्छन् तर पछिल्लो एक वर्षमा ४७४ रुपैयाँ मात्रै आम्दानी भएको हो।
लामिडाँडा मात्रै होइन, अहिले देशभर कालोपत्र धावनमार्ग भएका सुविधायुक्त नौ विमानस्थलको अवस्था त्यस्तै छ। यी विमानस्थलको धावनमार्ग कच्ची हुँदा सञ्चालन हुने गरेका थिए। तर धावनमार्ग कालोपत्रे भएपछि उडान ठप्प छन्।
बागलुङ विमानस्थल, बैतडी, रुकुमको चौरजहारी, डोटी, खोटाङको लामिडाँडा, मनाङ, डोल्पाको मसिनेचौर, रुम्जाटार र कालीकोटको सुनथराली विमानस्थलका धावनमार्ग कालोपत्रे छन्, प्राविधिक र कर्मचारी गरेर कम्तीमा पाँचजनाले दैनिक कामगर्दै आएका छन्। तर ती विमानस्थलमा जहाज अवतरण नहुने भएपछि विमानस्थलमा राज्यले गरेको आम्दानी लाभ लिन सकिएको छैन।
‘सहज हवाई यात्राका लागि मुलुकका अधिकांश जिल्लामा हवाई सञ्जाल विस्तारका लागि निर्माण गरिएका उड्डयन पूर्वाधारको प्रभावकारी उपयोग नहुँदा राज्यले लगानीको प्रतिफल प्राप्त गर्न सकिरहेको छैन’, प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, ‘राज्यसँग साना जहाजको कमी भएकै कारण अहिले नियमित उडान हुन सक्ने ठाउँमा समेत उडान हुन नसक्दा आम्दानी गुमिरहेको छ।’ जहाजको अभाव, महँगो हवाई भाडा, दुर्गममा उडानमा प्रतिस्पर्धा नभएकै कारण तयारी अवस्थाका विमानस्थलबाट समेत आम्दानी हुन नसकेको उनको भनाइ छ। गोरखापत्र दैनिकमा समाचार छ
काठमाडौं । पाँच महिनापछि संघीय संसद्को हिउँदे अधिवेशन आज (शुक्रबार) बाट सुरू हुँदैछ । संघीय संसदको दुवै सदनको बैठक माघ १८ गते शुक्रबार अपराह्न १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बस्दैछ । संघीय संसद सचिवालयले दुबै सदनका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।
सचिवालयका अनुसार आज बस्ने प्रतिनिधिसभा बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान, प्रधानमन्त्रीको कार्यभार तोकिएको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने कार्यसूची रहेको छ ।
आजको बैठकमा गत पुस २६ गते बसेको मन्त्रीपरिषदको बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका अध्यादेश प्रस्तुत हुनेछ भने सरकारले जारी गरेको अध्यादेशहरू सदनका दुबै बैठकमा प्रस्तुत हुनेछन् । अधिवशेन सुरु भएको दिन प्रधानमन्त्री केपी शर्मा ओलीलगायत यसअघि जस्तै दलीय आधारमा शीर्ष नेताहरूले आ–आफ्नो मन्तव्य राख्नुहने कार्यसूची रहेको छ ।
पाँच महिनापछि खुलेको संसद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन पूर्व प्रधानमन्त्रीले सम्बोधन गर्ने भएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बोल्ने कार्यसूची छ । यस्तै संसद्मा रहेका अन्यदलका शीर्ष नेताले पनि धारणा राख्ने तय भएको छ । सरकारले ल्याएका ६ वटा अध्यादेशहरू शुक्रबारकै बैठकमा पेस हुनेछ । दलीय आधारमा नेताहरूले धाराणा राखेपछि अध्यादेश पेस गर्न सभामुख देवराज घिमिरेले अनुमति दिनेछन् ।





