
काठमाडौ । सरकारले हवाई सेवा र नागरिक उड्डयन प्राधिकरणसम्बन्धी बेग्ला–बेग्लै विधेयक प्रतिनिधि सभामा दर्ता गरेको छ । नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक २०८१ र नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८१ संसद आइतबार दर्ता भएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले उक्त विधेयक दर्ता गराएका हुन् । सरकारले हवाई क्षेत्र सुरक्षित बनाउन नियामक निकाय र सेवा प्रदायक निकायलाई छुट्याउने गरी विधेयक बनाएको हो। सरकारले नागरिक उड्डयन प्राधिकरणलाई छुट्याउन यसअघि पनि विधेयक ल्याएको थियो ।
प्राधिकरणलाई नियामक र सेवा प्रदायक गरी दुइटा संस्था बनाउने तयारी गरिएको थियो । उक्त विधेयक राष्ट्रिय सभाबाट पारित समेत भई प्रतिनिधि सभामा आए पनि अघि बढेको थिएन । अहिले सरकारले पुनः प्राधिकरणलाई नियामक र सेवा प्रदायक गरी दुइटा संस्था बनाउने गरी विधेयक ल्याएको छ ।
लमजुङ दरबार बजेट अभावले पुननिर्माण अझै सम्पन्न हुन सकेको छैन । समुद्री सतहबाट एक हजार चार सय ४५ मिटर उचाइमा रहेको सो दरबार १६औं शताब्दीमा बनेको बताइएको छ । पुरातत्व विभागलले शाहवंशीय राजाको उद्गमस्थल मानिएको लमजुङ बेँसीसहर नगरपालिका–३ गाउँसहर स्थित सो दरबार तीन वर्षदेखि पुनर्निर्माण थालनी गरेको थियो ।
विभागका इञ्जिनियर गोविन्द अधिकारीका अनुसार निर्माण थालनी गरेको दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि आवश्यक बजेट सरकारले उपलब्ध नगराउँदा निर्माण सम्पन्न हुन नसकेको हो । दरबारको केही पर्खाल लगाउने, कालिका मन्दिरको पर्खाल लगाउने, छाना हाल्ने काम, छानामा हाल्ने काठ राख्न, गजुर राख्न, दरबारभित्र प्लाष्टर, झ्यालढोकाका खापा, रङरोगन, भुइँमा गर्नुपर्ने काम अझै बाँकी रहेको उनले जानकारी दिए।
आर्थिक वर्ष २०७९/८० मा रु एक करोड ३३ लाख बजेटबाट पुनर्निर्माण सुरू गरिएकामा गत आवमा सरकारले जम्मा रु ५० लाख बजेट छुट्याएको थियो । पुरानै शैली र स्वरूपमा दरबारको पुनर्निर्माण भइरहेको छ । दरबार बुइँगलसहित तीनतले र कालिका मन्दिर प्यागोडा (छाने शैली)को बन्नेछ । दरबार बनाउन चाहिने इँटा, काठ, सुर्कीलगायत निर्माण सामग्री भक्तपुरबाट ल्याएर प्रयोग गरिएको छ ।
गाउँसहर कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बोहराले भने, ‘दुई वर्षभित्र सक्नेगरी पुरातत्व विभागका कर्मचारीसँग मौखिक रूपमा सम्झौता भए पनि तेस्रो वर्षमा पनि काम सम्पन्न भएन । अझै काम अधुरै रहँदा स्थानीय चिन्तित छन्, यहाँ विभिन्न चाडपर्वमा आउने दर्शनार्थी तथा पर्यटकलाई अलपत्र रहेका ढुङ्गा काठले असहज बनाउने गरेको छ ।’
साथै स्थानीयले पित्तल वा तामाको छाना राख्न आग्रह गरेको उनको भनाइ छ । वडा नं ३ का अध्यक्ष चित्रबहादुर दनाइले भने, ‘यतिका वर्षमा पनि निर्माण सम्पन्न भएन, यस वर्ष सम्पन्न हुनुपर्ने हो तर भएन । हामीले सम्बन्धित निकायसमक्ष चाँडो निर्माण सम्पन्न गर्न पहल गर्दै आएका छौँ तर सुनुवाइ नहुँदा यस वर्ष पनि कम बजेटले गर्दा निर्माण पूरा भएन ।’
स्थानीय सुरेश श्रेष्ठले सरकारले यस्ता ऐतिहासिक दरबारको निर्माणका लागि एकैपटक आवश्यक बजेट उपलब्ध गराएर निर्माण गर्नुपर्ने थियो, पटक पटक थोरै बजेट आएकाले निर्माण बर्सेनि निर्माण अधुरै रहँदै आएको बताए । व्यवस्थापन समितिका अनुसार दरबार १६ रोपनी क्षेत्रफलमा फैलिएको छ ।
शाहवंशीय राज्यकालको उद्गम थलो लमजुङ हो भने त्यसैको विरासत हो लमजुङ दरबार । कास्कीकोटका राजा कुलमण्डलका माइला छोरा कालु शाहलाई विसं १५४० मा लमजुङका खजेदुरा, सुकराम क्याउसा, माघे दुरा, कुश्माखर घिमिरे र लक्ष्मण दुराले लमजुङको पहिलो चौबिसे राज्यका राजा बनाएका थिए ।
त्यसको केही समयमै लमजुङमा शासनको बागडोर सम्हालेका तत्कालीन घले राजाका सेनाले कालु शाहको हत्या गरिदिएको इतिहासमा उल्लेख छ । सो घटनापछि उनीहरूले नै कुलमण्डलका कान्छा छोरा यशोबह्म शाहलाई पुनः कास्कीकोटबाट ल्याएर राजकाज अघि बढाएका थिए । यशोबह्मलाई १५ असार रविबारका दिन १५ घडीको सिंह लग्नमा विसंं १५५० मा राजगद्दीमा बसाइएको शिलालेखमा उल्लेख छ ।
सङ्घीय र प्रदेश सरकारले वडाध्यक्षको क्षमता विकास गराउन नसक्दा स्थानीय तहका छ हजार ७४३ वटै निकाय अहिले हतियारबिना नै युद्धमा गएको जस्तो अवस्थामा पुगेका छन् ।
क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन यती एयरलाइन्स प्रालि र पूर्वाञ्चल क्यान्सर अस्पतालबीच सम्झौता भएको छ ।
एयरलाइन्सको प्रमुख व्यापार अधिकृत युवराज विष्ट र पूर्वाञ्चल क्यान्सर अस्पतालका अध्यक्ष दुर्गा प्रसाईँले शनिबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सो अवसरमा सामाजिक उत्तरदायित्व वहन गर्दै क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउने सहमति भएको यती एयरलाइन्सका उपप्रबन्धक विमल विष्टले जानकारी दिए।
यहाँको विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल विसं २०७६ फागुन १८ गतेदेखि सञ्चालन भइरहेको छ । एक सय शय्याको सो अस्पतालले क्यान्सरका बिरामीको उपचारका लागि पेटसिटी, रेडियो थेरापी, केमो थेरापी, सर्जरीलगायत उपचार प्रविधि र उपलब्ध गराइरहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा वीरेन्द्र यादवले बताए।
उनले भने,“निःशुल्क हवाई टिकटको सुविधाले क्यान्सरका बिरामीलाई सहयोग मिल्नेछ । देशभरका बिरामीलाई पेटसिटीलगायत उपचार प्रविधिका लागि महँगो खर्च तिरेर भारत जानुपर्ने बाध्यता हट्ने छ । ”
पूर्वाञ्चल क्यान्सर अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले निःशुल्क हवाई टिकट प्राप्त गर्न क्यान्सर सङ्क्रमण प्रमाणित भएर अस्पतालमा उपचार सेवा लिइरहेको सुनिश्चित हुनुपर्ने सम्झौतामा उल्लेख रहेको जानकारी दिए।
“देशको जुनसुकै भागबाट उपचार लिन आउने बिरामीले यो सुविधा एकपटक लिन सक्नुहुन्छ”, उनले भने, “तर सुविधा पाउन क्यान्सर प्रमाणित भएको र अस्पतालमा सेवा लिएको सुनिश्चितताचाहिँ हुनुपर्दछ ।”
बिरामीले अस्पताल जाने र घर फर्किने दोहोरो टिकट पाउने उनले बताए।
ताप्लेजुङ । समुन्द्री सतहबाट पाँच हजार १०० मिटर उचाइमा रहेको ताप्लेजुङको टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा गरिएको छ । गत बुधबार चन्द्र माबोले पहिलो पटक टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा गरेका हुन् । राष्ट्रिय गौरवको आयोजना तमोर करिडोरले नेपाललाई भारत र चीनसँग जोडेको छ ।
भारतको जोगबनीबाट सुरु हुने यो करिडोर चीनको तिब्बतसँग जोडिन्छ । हालै चीनको सीमावर्ती क्षेत्र ओलाङचुङगोला पुग्ने बोलेरो गाडी सञ्चालनमा आएपछि थप २४ किलोमिटर कठिन हिमाली सडक पार गर्दै टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल पुगेको हो । फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका स्थानीय तथा कार्यपालिका सदस्य टासी शेर्पाले टिप्तालासम्म गाडी पहिल्यै पुगे पनि मोटरसाइकलले पहिलो पटक यात्रा पूरा गरेको बताए । उनले भने, ‘ओलाङचुङगोलासम्म मोटरसाइकल आइपुगेका थिए, तर टिप्ताला भञ्ज्याङ पुग्न सकेका थिएनन् ।’
मोटरसाइकल यात्री माबोका अनुसार सुकेपानीबाट ओलाङचुङगोला खण्डसम्म मोटरसाइकल चलाउन निकै कठिन छ। अझ ओलाङचुङगोलाबाट माथि थप जटिलता रहन्छ । उच्च हिमाली क्षेत्र भएकाले अक्सिजन कम हुने, चिसो अत्यधिक हुने र मोटरसाइकलको शक्ति घट्ने हुँदा चुनौतीपूर्ण यात्रा हुने उनले बताए ।
उनले भने, ‘अहिलेसम्म टिप्ताला भञ्ज्याङमा सर्वसाधरणले मोटरसाइकलमार्फत यात्रा गरेको छैन भन्ने सुनेको छु, यदि हो भने म नै पहिलो पटक पाँच हजार एक सय मिटर उचाइमा रहेको टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा गर्ने व्यक्तिमा पर्छु ।’ पाँच हजार उचाइमा रहेको टिप्ताला भञ्ज्याङमा मोटरसाइकाल यात्रा सफल भएसँगै यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा विकास हुने फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताए । उनका अनुसार टिप्ताला क्षेत्र एक व्यापारिक केन्द्रसँगै पर्यटकीय गन्तव्य हो । यस क्षेत्रमा पहिलो पटक मोटरसाइकल पुग्नुलाई साहसिक पर्यटकको समेत नयाँ गन्तव्य बन्ने लिम्बूको भनाइ छ ।
टिप्ताला भञ्याङ जाने क्रममा मोवाटार (चार हजार दुई सय मिटर) हुँदै उकालो यात्रा गर्नुपर्छ। सो क्षेत्रको सडक अप्ठ्यारो भएकाले गाडी तथा मोटरसाइकल चलाउन कठिन हुने चालक आइतराज थेबेले बताए। सडकमा हिउँ जमेकाले गाडी चिप्लिने जोखिम हुने गरेकाले सावधानीपूर्वक यात्रा गर्नुपर्ने थेबेले बताए। नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने टिप्तालासम्म नेपाली गाडी र मोटरसाइकल पुगेपछि स्थानीय हर्षित भएका छन्। उत्तर–दक्षिण लोकमार्गअन्तर्गत ट्रयाक निर्माणपछि पहिलो पटक अघिल्लो बुधबार नेपाली मोटरसाइकल टिप्ताला भञ्ज्याङ पुगेको स्थानीय तथा पूर्व वडाध्यक्ष छेतेन शेर्पाले बताए ।
टिप्तालासम्म मोटरसाइकल तथा गाडी पुगेपछि जिल्लावासी उत्साहित भएका छन् । विशेषगरी ओलाङचुङगोला, याङ्मा र घुन्साका स्थानीयले सडक विस्तारले यातायात सहज बनाउने आशा राखेका छन् । यस सडकको विस्तारले भारत, नेपाल र चीनलाई जोड्ने सम्भावना बढाएको छ। विराटनगर रानीबाट तमोर करिडोर हुँदै उत्तर–दक्षिण लोकमार्गमार्फत तिब्बतसँगको सीमाना टिप्ताला जोडिएको छ । दुई सय ९२ किलोमिटर लामो यो सडक भारत, नेपाल र चीन जोड्ने छोटो मार्गका रूपमा लिइन्छ ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। समय दिन नसक्दा बन्न लागेको कामसमेत बिग्रन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। अवसरका लागि निकै दौडधुप गर्नुपर्ला। यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। सञ्चित धनको उपयोगबाट मनग्य फाइदा उठाउन सकिनेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
परिस्थितिवश फाइदा नहुने काममा अलमलिनुपर्ला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउलान्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। अस्वस्थताका बीच कामको बोझ बढ्नेछ। आफ्नो क्षेत्रमा समेत कमजोर साबित भइनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। परिबन्धले चुनौती निम्त्याउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला आइलाग्न सक्छ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। केही उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
माहोल रमाइलो रहनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार पाइनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। तर, विवादास्पद क्षेत्रमा लाग्नाले केही समस्या पनि आउन सक्छन्।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काममा जुट्नाले मनग्य फाइदा हुनेछ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। व्याहारिक समस्याले याेजना रोकिन सक्छ। कामकाे चाप बढ्नेछ भने स्वास्थ्यले त्यति साथ नदिन सक्छ। मिहिनेत परे पनि नतिजा चित्तबुझ्दाे नआउन सक्छ। तापनि पछिका लागि विशेष काम गर्ने समय छ। अध्ययनमा गुरुजनको सहयाेग लिँदा फाइदा हुनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताइरहनेछ। रुखो व्यवहार गर्नाले शुभचिन्तकहरू टाढिनेछन्। बेसुरमा वचन दिनाले अप्ठ्यारोमा परिएला। हडबडीले काम बिग्रन सक्छ। मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ। आफ्नाले समेत झुक्याएर फाइदा उठाउन सक्छन्।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। नयाँ कामतर्फ उत्साहित भइनेछ। मिहिनेतको फल प्राप्त हुनेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा पनि मनग्गे धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। विशेष उपहार प्राप्त हुनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले काममा हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर समेत प्राप्त हुनेछ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ २८ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८८ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७१ रुपैयाँ ६० पैसा र बिक्रीदर १७२ रुपैयाँ ३४ पैसा, स्वीस फ्र्यांक एकको खरिददर १५१ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८ पैसा कायम गरिएको छ ।
जापानी येन १० को खरिददर आठ रुपैयाँ ९४ पैसा र बिक्रीदर आठ रुपैयाँ ९८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १९ रुपैयाँ १५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०९ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ११ पैसा र बिक्रीदर चार रुपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८१ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३१ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३१ रुपैयाँ १७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ५३ पैसा र बिक्रीदर नौ रुपैयाँ ५७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५० पैसा र बिक्रीदर १२ रुपैयाँ ५५ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ २३ पैसा र बिक्री दर १९ रुपैयाँ ३१ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७ रुपैयाँ ८२ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रुपैयाँ १९ पैसा र बिक्रीदर ४५० रुपैयाँ १३ पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ४० पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रूयैयाँ १७ पैसा र बिक्रीदर ३६० रुपैयाँ ७३ पैसा निर्धारण भएको छ । यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
बुलेटिनका अनुसार तराईका धेरै स्थानमा कुहिरो लाग्ने छभने कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।
आगामी २४ घण्टामा देशका तराई तथा उपत्यकाका केही स्थानमा बिहानको समयमा कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।





