२०८२ कार्तिक ३० गते आईतवार
२०८२ कार्तिक ३० गते आईतवार

घरमा बालश्रमिक राखेकी लुम्बिनी प्रदेश सभाकी सांसद रेखाकुमारी शर्मालाई सरकारी वकिलले मुद्दा नचलाउने तयारी चलिरहँदा काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले यसबारे प्रतिक्रिया दिएका छन् ।

एमालेकी प्रदेश सांसद शर्मालाई मुद्दा चलाउन नपर्ने राय सहित जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँमा तयार भएको फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको छ ।

६ वर्षदेखि सांसद शर्माको घरमा रहेर काम गरिरहेकी एक नाबालिकाले आफूमाथि कुटपिट हुने गरेको बताएकी थिइन् ।

नाबालिकाको अवस्था दयनीय भेटिएपछि महानगरपालिकाको कार्यदलले तत्काल ती बालिकाको उद्धार गरी संरक्षण गृहमा राखेको थियो ।

बालिकाको उद्धारका क्रममा महानगरपालिकाको नगर प्रहरी, वडाका प्रतिनिधि र प्रहरी समेत घटनास्थलमा पुगेर मुचुल्का गराएका थिए ।

सोही घटनामा प्रतिक्रिया दिँदै मेयर शाहले लेखेका छन्, ‘सरी नानु, तिम्रा पिडककाविरूद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनु । समय आउनेछ ।’

उनले अघि भनेका छन्, ‘यस्तै विभेद, अपराध मास्न अनि ती कुकर्म गर्नेहरूलाई तह लगाउन तिमी र तिमी जस्तै धेरै नानीबाबुले पढ्न पर्छ । समाज बुझ्नपर्छ ।’

चर्चित गायिका रचना रिमालले गायिका एलिना चौहानलाई साथ दिएकी छिन्। सामाजिक सञ्जाल फेसबुकमार्फत रचनाले एलिनासँगको दिदीबहिनी सम्बन्ध, सहकार्य, र आपसी आत्मीयताको बारेमा खुलेर कुरा गरेकी छन्।

रचनाले एलिनासँगको सम्बन्धबारे लेख्दै भनेकी छिन्, हाम्रो चिनजान त हामी सांगीतिक क्षेत्रमा प्रवेश गरेपछि नै भएको हो। हामी थोरै समय मात्रै अगाडि–पछि यो क्षेत्रमा आएका हौं। उनले आफ्नो सहकार्यको क्रममा एलिनासँग गहिरो सम्बन्ध बनेको बताइन्।

एलिनाको वैवाहिक जीवन र त्यसपछिको अवस्थाबारे संकेतमै कुरा गर्दै रचनाले विवाहको दिनको भावुक क्षण स्मरण गरेकी छन्। उनले भनेकी छिन्, बिहेघरबाट अन्माउँदा किन हो म एकदम भावुक भएकी थिएँ। तपाईंलाई अँगालो हालेर बिदाइ गर्दा अनेकौँ कुरा मनमा खेल्दै थियो।

अस्ट्रेलिया बसाइपछि एलिनाले भोगेका कठिनाइबारे आफूले अनुभव गरेको बताउँदै रचनाले लेखेकी छन्, तपाईंको भित्री मनले भोगिरहेको पीडा थाहा पाउँदा म आफैंलाई पीडा महसुस हुन्थ्यो।

अन्ततः एलिनाले ठूलो आँट गरेर नयाँ निर्णय लिएको उल्लेख गर्दै रचनाले उनलाई खुलेर समर्थन जनाएकी छन्। उनले भनेकी छिन्, अब तपाईंलाई मनबाट नै हासेको हेर्न पाउने ठूलो आशा छ।

गायिका एलिना चौहान र उनका पति विष्णु सापकोटाको सम्बन्ध विच्छेद अदालतले टुंगो लगाएको छ।

एलिना र विष्णुबीच गत वैशाख ५ गते विवाह भएको थियो। उनीहरुको वैवाहिक सम्बन्ध एक वर्ष पनि टिक्न सकेन। एलिनाका दाइ प्रल्हाद चौहानले पनि फेसबुक मार्फत सम्बन्धविच्छेदको पुष्टि गरेका छन्। यसैगरी एलिनाले पनि यसलाई पुष्टि हुनेगरी एउटा भावुक सन्देश फेसबुकमा लेखेकी छन्।

चर्चित गायिका एलिना चौहानले आफ्नो वैवाहिक सम्बन्ध टुंगिएको सार्वजनिक रूपमा घोषणा गरेकी छिन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा एक मार्मिक स्टाटस लेख्दै पति विष्णुसँगको सम्बन्ध कानुनी रूपमा अन्त्य भएको जानकारी गराएकी हुन्।

उनले लेखेकी छिन्, प्रिय बिष्णु, अग्निलाई साक्षी राखेर ७ फेरा लगाउदा गलेका खुट्टाहरु अझै उस्तै छन्। तिम्रो हातले रंगिएको मेरो सिउदो अनि सिन्दुरका डोबहरु अझै उस्तै छन्। तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्। हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ। वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ। तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होईन रहेछ। भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ। जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायु मै पुर्णविराम लागेको छ। यो रहरले होईन। जुन बाध्यता तिमि, मलाई र भगवानलाई मात्र थाहा छ। आजदेखी स्वतन्त्र भएर कानुनी रुपमै आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ। पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु। तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना बिष्णु। (magh 29)

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.५४ अंकले बढेको छ । आज नेप्सेमा ७ अर्ब २४ करोड ६२ लाख २१ हजार २६० रुपैयाँ बराबरको शेयर कारोबार हुँदा नेप्से २६८३.८६ अंकमा पुगेको हो ।

मंगलबार नेप्सेमा भएको शेयर कारोबारमा १३४ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने ९८ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आयो । आज भएको कारोबारमा ११ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

नेप्सेमा आज भएको शेयर कारोबारमा विकास बैंक, जलविद्युत, लगानी, म्यानुफ्याक्चरिङ र म्यूचुल फन्ड बाहेकका उपसमूहका सूचक नकारात्मक रहे ।

आज नेप्से परिसूचक बढ्दा सिक्लेस हाइड्रोपावरका शेयर कारोबारीले सबैभन्दा धेरै आम्दानी गरे भने भूगोल इनर्जी डेभलपमेन्टका कारोबारीले सबैभन्दा धेरै गुमाए ।

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा भोटेले मंगलबार प्रतिनिधि सभामा गुहार मागेका छन् ।

शून्य समयमा उनले ‘गुहार, गुहार, गुहार’ भन्दै अभिव्यक्ति सुरु गरेका हुन् ।

गुहार माग्दै उनले भने, ‘कहिले समितिमा विचाराधीन विधेयक लुटेको छ । कहिले सार्वभौम संसदको अधिकार लुटेको छ ।’

सांसद भोटेले अगाडि भने, ‘कहिले १८ घण्टे लोडसेडिङ मुक्त गर्ने कुलमान घिसिङको अधिकार खोस्न न्वारनदेखिको बल लगाएको छ । कहिले आदिवासी जनजातिले मान्दै आएको मुकुमलुङमा पाथीभरा संरक्षक आम नागरिकको मर्म लुटिएको छ ।’

यति भनेर उनले फेरि सरकार गुहारे, ‘गुहार सरकार, जताततै गाउँ बस्ती जलिरहेछ । वन जंगल जलिरहेको छ । सिंहदरवार जलिरहेको छ ।’

गत असोज दोस्रो साता सिंहदरवार नजिकै रहेको नख्खु खोलामा नागरिक बाढीले बगिरहँदा पनि पनि सरकार नभेटिएको उनले बताए ।

‘‘ २४ घण्टा भोटरले नदी बीचमा गुहार मागिरहेको छ । सरकार हेलिकप्टर चढिरहेको छ । रोम जलिरहेको छ, न्युरो बाँसुरी बजाइरहेको छ । तर, यहाँ सर्वसत्तावाद लादिरहेको छ’ उनले भने ।

बागलुङ । सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय परिचयपत्रको फारम भरेर अधिकांश व्यक्ति विदेशिएका कारण परिचयपत्र लिन नआएको कार्यालयका प्रशासन शाखा प्रमुख रामप्रसाद उपाध्यायले जानकारी दिए ।

उनले नयाँ परिचयपत्रका लागि दैनिक दुई सयसम्म सेवाग्राही आउने भए पनि तयारी अवस्थामा रहेका परिचयपत्र लिन भने न्यूनमात्र आउने गरेको जानकारी दिए । दैनिक २० देखि ५० जना सेवाग्राही मात्र परिचयपत्र लिन आउने गरेकाले थुप्रो लागेको हो ।

अहिले वडा तहमा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलनको काम भइरहेको छ । जिल्ला प्रशासनमा अहिलेसम्म २८ हजार आठ सय ८५ राष्ट्रिय परिचयपत्र तयार भएर आइसकेको शाखा अधिकृत उपाध्यायले बताए । तीमध्ये जम्मा १३ हजार ४७ परिचयपत्र मात्र सेवाग्राहीले लगेका छन्भने १५ हजार आठ सय ३८ परिचयपत्र प्रशासनमै रहेको उनले बताए ।

परिचयपत्र लिनका लागि स्वयं व्यक्ति नै आउनुपर्ने र पुनः बायोमेट्रिक गर्नुपर्ने भएकाले परिचयपत्र वितरणको संख्या न्यून भएको हो । परिचयपत्र वितरणका लागि गलकोट नगरपालिकामा शिविर गर्ने तयारी जिल्ला प्रशासन कार्यालय बागलुङको रहेको छ । परिचयपत्र चाङ लाग्दा भण्डारणमा समस्या भएको जनाइएको छ ।

राष्ट्रिय परिचयपत्रविरुद्धको सर्वोच्चको रिट खारेजीको निर्णयपछि सरकारले तोकेका हरेक कामका लागि अब राष्ट्रिय परिचयपत्र अनिवार्य भएको छ । नेपाली नागरिकता प्रमाणपत्रको कमीकमजोरी हटाउन तथा मुलुकको सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउन अन्तर्राष्ट्रिय मापदण्डको डिजिटल कार्डका रूपमा प्रयोग गर्न सकिने राष्ट्रिय परिचयपत्रमा बाहकको १० औठाछाप अङ्कित व्यक्तिको पहिचान समेटिन्छ ।

चिपसहितको कार्डमा प्रिन्ट हुने यसमा वैयक्तिक र जैविक विवरण समेटिने छ । एउटै डिजिटल कार्डमा नागरिकका सबैखाले विवरण समावेश गरिने भएकाले नागरिकता, लाइसेन्स, फोटोसहितको मतदाता परिचयपत्र र जग्गाधनी पुर्जा जस्ता सामग्री बोकेर हिँड्ने झन्झट हुँदैन । राष्ट्रिय परिचयपत्रमा व्यक्तिको जन्मदेखि मृत्युसम्म दर्ता हुने व्यक्तिगत घटनाको विवरण पनि समावेश हुन्छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार कुनै पनि व्यक्तिको जन्मदेखि नै राष्ट्रिय परिचयपत्रलाई अनलाइन सिष्टममा लगेर व्यवस्थित गरिने छ ।

झापा । किसानको बारीमा खेर गइरहेको सुपारीको पातबाट बनेका थाल, बटुकालगायतका सामान युरोपको बजारसम्म बिक्री हुन थालेको छ । बजारमा माग बढेपछि झापामा सुपारीको पातका सामान बनाउन आधा दर्जन उद्योग स्थापना भएका छन् । तीमध्ये मेचीनगर–१३ मा सञ्चालनमा रहेको लिफ प्लस प्रालिले सुपारीको पातबाट निर्मित थाल, बटुका, चम्चा, दुना, पालालगायतका सामग्री जर्मनी, फिनल्यान्ड र अमेरिकामा निर्यात भइरहेको जनाएको छ ।

प्रालिका प्रबन्ध निर्देशक कोविदसिंह बानियाँले सुपारीको पातबाट बनेका सामान वातावरणमैत्री र रसायनमुक्त हुने भएकाले स्वदेशी सुपरमार्केटदेखि विदेशका पार्टी प्यालेस र रेस्टुरेन्टहरुमा लोकप्रिय बनेको बताए । आर्थिक वर्ष २०८०/८१ मा रु एक करोड ६० लाखको सुपारीका थाल बटुकालगायतका सामान बिक्री भएको जनाउँदै उनले ६० प्रतिशत अर्थात् रु एक करोडका सामग्री युरोप र अमेरिका निर्यात भएको बताए ।

सुपारीको राजधानी मानिएको झापामा २०७४ सालमा नयाँ सोचका साथ अघि बढ्न चाहने युवा व्यवसायीको एउटा समूहले मेचीनगर–९ मा सुपारीको पातबाट घरायसी सामान उत्पादन गर्ने उद्योग ‘लिफ प्लस प्रालि’ स्थापना गरेको थियो। मकवानपुरका कोविदसिंह बानियाँ, दाङका स्वाभिमान आचार्य, झापाका हरि दाहालको संयुक्त लगानीमा रु एक करोड ५० लाख लगानीमा स्थापना भएको उद्योगमा हालसम्म रु चार करोड लगानी भइसकेको छ ।

दुई वर्षअघि आगलागी भएर ठूलो क्षति भएपछि उद्योगलाई मेचीनगर–९ बाट १३ मा स्थानान्तरण गरिएको छ । आगलागीबाट पुरानो मेसिन काम नलाग्ने बनेपछि भारतबाट नयाँ मेसिन ल्याइएको बानियाँले बताए । ‘सालको पातबाट जस्तै सुपारीको पातबाट दुना टपरी बनाउन सकिन्छ भन्ने लागेर यसको व्यावसायिक उत्पादन गर्ने योजना बनायौँ,’ उद्योगका संस्थापकमध्येका बानियाँले भने, ‘सुरुमा स्थानीय बजारमा यसलाई चिनाउन केही समय लाग्यो । पछि विदेशमा बजार प्रवद्र्धन गर्दै युरोपर अमेरिकाको बजारसम्म यसलाई पुर्‍याउन सफल भएका छौँ ।’

माइक्रोवेभमा तताउन मिल्ने, रेफ्रिजेरेटरमा चिस्याउन मिल्ने, वातावरणमैत्री, नचुहिने र प्राकृतिक रुपमै विसर्जन गर्न सकिने विशेषताका कारण विदेशी बजारमा नेपालमा निर्मित सुपारीको थाल, बटुकालगायतका सामान छिट्टै लोकप्रिय बनेको उनको भनाइ छ । सुरिलो बोटको टुप्पामा झुप्प भएर सुपारीका पात हुर्किने गर्छन् । सुपारी खेतीको भुइँमा किसानहरुले अन्य बाली लगाउने गर्छन् । ठूलो आकारका पात खेतीमा झरेर बाली नोक्सान नहोस् भनेर विगतमा किसानहरु यसलाई खेताला लगाएर बारीबाट हटाउने गर्थे । तर अहिले बोटबाट आफैँ झरेका पात बिक्री भएपछि किसानहरुले अतिरिक्त आम्दानी पाउन थालेका छन् । एउटा पात रु चारका दरले बिक्री हुने गरेको छ ।

झापामा दुई हजार ६०० हेक्टरभन्दा बढी क्षेत्रफलमा ३५ लाख वटा सुपारीका बोट रहेको छ । एउटा बोटबाट बर्सेनि पाँचदेखि आठवटा पात छिप्पिएर खस्ने गर्छन् । यस हिसाबबाट बर्सेनि दुई करोड ५० लाखभन्दा बढी पात खेर गइरहेको छ । उद्योगहरुले त्यही खेर जान लागेको पातलाई उपयोग गरेर सामान उत्पादन गर्दछन् । यसबाट सुपारी किसानले फलबाहेक पातको मूल्य पाउने अवस्था सिर्जना भएको छ ।

स्वदेशभित्र मठमन्दिरमा हुने पूजा, विवाह, व्रतबन्ध र सार्वजनिक समारोहको भोजभतेरमा सुपारीको पातबाट बनेका सामान प्रयोग हुने गरेको छ । भाटभटेनी, सेल्सबेरी, होटल सोल्टीलगायतका राजधानीका ठूला होटल र रेस्टुरेन्टमा यी सामग्री प्रयोग हुँदै आएको उद्योगका सञ्चालक बानियाँ बताउँछन् ।

झापाको बाहुनडाँगी, शान्तिनगर र बुधबारेबाट सुपारीका पात सङ्कलन हुँदै आएको उद्योगले जनाएको छ । ती क्षेत्रका अरू उद्योगबाट उत्पादित सामान उद्योगले किनिदिने गरेको छ । लिफ प्लस प्रालिमा १९ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । मेसिन सञ्चालन र पात सङ्कलनमा रोजगारी पाउने अधिकांश महिला श्रमिक छन् । उद्योगमा जडान गरिएको सातवटा मेसिनले दैनिक १२ हजार वटा थाल, बटुकालगायतका सामान उत्पादन गर्दै आएको छ । अर्जुनधारा नगरपालिका–२ मा इनर्जी क्रप्स नाम उद्योगले पनि सुपारीको पातबाट दुना टपरीलगायतका सामान उत्पादन गर्दै आएको छ । सञ्चालक दीपक ढुङ्गानाले रु एक करोडमा स्थापना गरिएको उद्योगमा १० जनाको संयुक्त लगानी रहेको बताए ।

सञ्चालकहरु आफै सुपारीको पात खोज्न किसानका बगानमा पुग्ने गर्छन् भने उत्पादित सामान बिक्रीका लागि आफैँ खटिने गर्छन् । सुपारीको सुकेका पातलाई सङ्कलन गरेर सजिलैसँग उद्योगको कच्चा पदार्थ बनाउने गरिएको छ । सुरुमा पातलाई सरसफाइ गरिन्छ र सफा पानीमा धुने काम हुन्छ । धोइसकेपछि चिसोपना हटाउन घाममा सुकाइन्छ । त्यसपछि मात्र कम्प्रेसर मेसिनमा राखेर दुना टपरीको आकार दिइन्छ । प्लास्टिकबाट बनेका थाल बटुकाको विकल्पका रुपमा सुपारीका पातबाट बनेका थाल, बटुकाहरु प्रयोग गर्न सकिने उल्लेख गर्दै उद्योगी ढुङ्गानाले ठूलो आकारको सुपारीको एउटा पातबाट पाँच वटासम्म थाल बनाउन सकिने बताए ।

मेचीनगर–४ बाहुनडाँगीका राजेन्द्र मिश्र सुपारीखेतीबाट धानखेतीको तुलनामा दशौँ गुणा बढी आम्दानी हुने बताउँछन्। अढाई बिगाहामा सुपारी खेती गरेका उनले सुपारीको फलबाट वार्षिक रु चार लाखभन्दा बढी आम्दानी भइरहेको बताए। सुपारीको बिरुवा रोपेको ६ वर्षपछि दाना फल्न थाल्छ । तर फल फल्नुभन्दा अघि नै यसको बोटले पातमार्फत आम्दानी दिन सुरु गर्छ । सुपारी बगानभित्र तोरी, फिलुङ्गे, आलस, पान, मरिच, कागती, निम्बु, बेसार, अदुवा आदिको खेती सँगसँगै गर्न सकिन्छ ।

मेचीनगर–६ मा याम निरौलाले मल्टी प्रोडक्सन कम्पनी प्रालि स्थापना गरेर बाहुनडाँगी क्षेत्रका सुपारीको पात सङ्कलन गरेर थाल, बटुका, चम्चा आदि सामान उत्पादन गर्दै आएका छन्। स्थानीय क्षेत्रमै आफ्ना सामान बिक्री हुने गरेको जनाउँदै उनले वातावरणीय स्वच्छताका लागि प्लास्टिकका थाल बटुका निषेध गरेर सुपारीका पातको सामान प्रयोग बढाउन स्थानीय तहका सरकारहरुको भूमिका हुनुपर्ने बताए ।

यही माघमा विर्तामोडमा सञ्चालित अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा विक्री कक्ष राख्दा मुलुक बाहिरका अवलोकनकर्ताले समेत सुपारीका पातको सामानबारे निकै चासो राखेको उनले जानकारी दिए । ‘बिक्री भएन भने घाटा व्यहोर्नुपर्ने हुन्छ भनेर उद्योगहरुले थोरै मात्रामा सामान उत्पादन गर्छन्,’ उनी भन्छन्, ‘बजार प्रवद्र्धनमा सरकारले सघाइदिने हो भने झापामा सुपारीको पातबाट चल्ने उद्योगबाटै हजारौँले रोजगारी र जीविकोपार्जन गर्नसक्ने सम्भावना छ ।’

मेचीनगर, बुद्धशान्ति र अर्जुनधारामा सुपारीको पातबाट उत्पादन हुने दुना–टपरी उद्योग सञ्चालनमा रहेकाले उद्योगले किसानको घरमा पुगेर सुपारीको पात किनेर लैजाने गरेको सुपारी जोनका पूर्वअध्यक्ष नीलकण्ठ तिवारीले बताए । जङ्गली हात्तीको उपद्रो बढी भएको बाहुनडाँगी क्षेत्रका किसानले हात्तीले नखाने बालीका रूपमा सुपारीखेती गर्दै आएको उनी बताउँछन् । ‘सुपारीखेती र यसको पातबाट बनेका सामानको बजारीकणमा सरकारले सघाउनु पर्छ,’ तिवारी भन्छन्, ‘तेस्रो मुलुकबाट आयातित सुपारीका कारण स्थानीय उत्पादनले बजार नपाइरहेको अवस्था छ । सुपारीको खेती गर्ने किसान, दाना प्रशोधन गर्ने र पातबाट सामान बनाउने उद्योगीहरुलाई प्रोत्साहित गर्नसके मुलुककै अर्थतन्त्रमा ठूलो टेवा पुग्ने निश्चित छ ।’

सुपारीको पातबाट बनेका सामानको विश्व बजारमा भारतीयले ९० प्रतिशत प्रभुत्व जमाएको र सुपारीको पातबाट बनेका सामान निर्यात हुँदा भारतको सरकारले त्यहाँका उद्योगीलाई नौ प्रतिशत प्रोत्साहन अनुदान प्रदान गर्दै आएको लिफ प्लस प्रालिका सञ्चालक बानियाँले बताए ।

सुपारीको पातबाट बनेका सामान विदेश निर्यात गर्ने मुलुककै पहिलो उद्योग भए तापनि राज्यबाट प्रोत्साहन नपाएको उनको गुनासो छ । उत्पादित सामान मानव उपभोगयोग्य रहेको भनेर भारतीय प्रयोगशालामा प्रमाणीकरण गर्नुपर्ने बाध्यता रहेको बानियाँले बताए । ‘स्वदेश र विदेशको बजारमा माग भए जति आपूर्ति गर्न सकिरहेका छैनौँ,’ उनले भने, ‘बजारको कुनै चिन्ता छैन । बरु, वातावरणमैत्री सामान उत्पादन गरेर विदेश निर्यात गरिरहँदा राज्यबाट कुनै प्रोत्साहन पाएका छैनौँ भन्नु पर्दा दुःख लाग्छ ।’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने भएको छ । आज (मंगलबार) सिंहदरबारमा बसेको संसदीय दलको बैठकले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको संसदीय दलको प्रमुख सचेतक रेखा यादवले जानकारी दिइन् ।

यादवले भनिन्, ‘सरकारले ल्याएको ६ वटा अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय भएको छ । अन्य पाँच वटा अध्यादेशलाई समर्थन गर्ने सहमति भएको छ ।’ सरकारले संसद् अधिवेशन नरहेका बेला विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो । यस्तो निर्णय गर्नु अगाडि जसपा नेपालले उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा कार्यदल नै बनाएर अध्ययन गरेको थियो ।

अध्ययन प्रतिवेदन समेतका आधारमा यस्तो निर्णयमा पुगिएको जसपा नेपाल सांसद प्रकाश अधिकारीले जानकारी दिए। ‘भूमि सम्बन्धी अध्यादेशमा वन क्षेत्रको जग्गा नोक्सान गर्ने, सार्वजनिक जग्गाको नोक्सान गर्ने प्रावधान छ । भूमाफियाको प्रभाव बढ्न नदिन र जनताको पक्षका लागि यस्तो निर्णयमा पुगिएको हो,’ अधिकारीले भने ।

काठमाडौं । भ्रष्टाचार सूचकाङ्कमा नेपालको एक स्थान खस्किएको छ । नेपाल १०० मा ३४ अंक पाएर १०७ औं स्थानमा रहेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आज (मंगलबार) सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकाङ्ग (सीपीआई)–२०२४ मा नेपालले झिनो सुधार गरेको हो ।

गत वर्ष नेपाल ३५ अंक पाएर १०८औँ स्थानमा थियो । सार्वजनिक कार्यक्रममा ट्रान्सपरेन्सी नेपालका महासचिव डा. सागरराज शर्माका अनुसार, नेपालमा भ्रष्टाचार प्रमुख समस्या भएको र मुलुकको शासन व्यवस्थाको चुनौती नै रहेको बताए । विश्वभर एकै पटक सार्वजनिक गरिएको प्रतिवेदनमा दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा भुटान परेको छ । भुटान ७२ अंकका साथ रहेको छ भने सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा अफगानिस्तान छ ।

ट्रान्सपरेन्सी नेपालले विश्वका १८० देशहरूलाई समेटेर तयार गरेको प्रतिवेदनअनुसार ९० अंकसहित डेनमार्क कम भ्रष्टाचार हुने देशमा परेको छ । डेनमार्क ७ वर्षदेखि लगातार ९० अंक प्राप्त गरी विश्वको सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक रूपमा रहेको छ । भने साउथ सुडान ८अंकसहित सबैभन्दा धेरै भ्रष्टाचार हुने देशमा परेको छ ।

दक्षिण एसियाली राष्ट्रमध्ये भुटानले ७२ अंक प्राप्त गर्दा भारतले ३८ अंक, मालदिभ्सले ३८ अंक, श्रीलंकाले३२ अंक,पाकिस्तानले २७ अंक, बंगलादेशले २३र अफगानिस्तानले १७ अंक प्राप्त गरेको छ । यस्तै चीनले४३ अंक प्राप्त गरेको छ । सूचकाङ्कमा १०० अंकले अति स्वच्छ र ० अंकले अति भ्रष्टाचार जनाउने गरेको छ । विगत५ वर्षमा ७ वटा मुलुकहरूले भ्रष्टाचार अवधारणा सूचकाङ्कमा उल्लेख प्रगति हासिल गरेको प्रतिवेदनले जनाएको छ । राजनीतिक नियुक्तिको कारणले भ्रष्टाचार बढेकोमा दुई मत नरहेको टीआई नेपालका अध्यक्ष मदन कृष्णा शर्माले बताए । अंक एक दुई स्थान घट्दैमा नेपालमा भ्रष्टाचारको अवस्था सुधार भएको मान्न नसकिने उनले बताए ।

भ्रष्टाचार अवधारणा सूचकाङ्क–२०२४ मा नेपालको नतिजाले भ्रष्टाचार विरुद्व प्रभावकारी रुपले काम–कारबाही अगाडि बढाउन अत्यन्त जरुरी भएको औंल्याएको अध्यक्ष शर्माले बताए । ‘नेपालको यो नतिजा जस्ताको त्यस्तै अवस्थामा रहेको देखिन्छ । खुसी हुनुपर्ने हालमा छैनौ, उनले भने, ‘भ्रष्टाचारको अवस्था सुधार छैन ।’ ट्रान्सपरेन्सी इन्टरनेशनलले राजनीति, वित्त, न्यायलगायत ६ वटा मापदण्डको आधारमा देशहरूलाई वर्गीकरण गरी ३० वर्षदेखि भ्रष्टाचारको सूचकाङ्क सार्वजनिक गर्दै आएको छ ।

 नेपाली श्रमिकका लागि १४९ वटा देश खुला गरिएको छ तर श्रम सम्झौता भने १० वटा देशसँग मात्रै भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चार देशसँग श्रम सम्झौताको मसौदालाई टुङ्गो लगाएको छ । 

पाँच देशसँगको मसौदा आदानप्रदान गरिएको छ । श्रम मन्त्रालयले साउदी अरब, मलेसिया, कतार र ओमानको मसौदा आदानप्रदानको काम टुङ्गो लागेको जनाएको छ । मन्त्रालयका अनुसार चार वटै देशका सरकारलाई मसौदा पठाइसकेको र हस्ताक्षर हुन बाँकी रहेको जनाएको छ । साउदी अरबसँग श्रम सम्झौता टुङ्गो भर्खर लागेको छ ।

गत साता साउदी अरबको भ्रमण फर्किएलगत्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले साउदी अरबसँगको श्रम सम्झौताका लागि नेपाल र साउदीका अधिकारीले बनाएको मसौदामा सहमति भएको जानकारी दिनुभयो । उहाँका अनुसार साउदीमा नेपाली श्रमिकले भोग्नु परेका समस्याको समाधानका लागि पनि छिट्टै श्रम सम्झौता गर्नु पर्छ भनेका छौँ । यस विषयमा साउदी सरकार सकारात्मक छ ।

साउदीले घरेलु महिला श्रमिकसँगै २९ क्षेत्रमा नेपाली श्रमिक लैजाने प्रस्ताव गरेको छ । दुवै देशले कानुनी प्रक्रिया पूरा गरेपछि सम्झौतामा हस्ताक्षर गर्ने मिति टुङ्गो लगाउने मन्त्रालयले जनाएको छ । 

त्यसो त गत माघ अन्तिम साता संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजित आबुधाबी डाइलगको साइड लाइन बैठकमा श्रममन्त्री भण्डारी र साउदी समकक्षीबिचको वार्तामा श्रम सम्झौतालाई एक महिनाभित्र टुङ्ग्याउने गरी दुवै पक्षले सिधै समन्वय गर्न ‘फोकल पर्सन’ तोकेको थियो । 

साउदीले नेपालबाट घरेलु श्रमिक लैजानेमा बढी केन्द्रित भएको र नेपालले साउदीमा घरेलु श्रमिक पठाउन प्रतिबन्ध फुकुवा नगरेका कारण श्रम सम्झौता कार्य अगाडि बढ्न सकेको थिए । वैदेशिक रोजगार विभागका अनुसार साउदीमा करिब साढे तीन लाख नेपाली श्रमिक रहेका छन् । श्रम मन्त्रालयका अनुसार अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) र आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) को ऐन अनुसार श्रम सम्झौता गर्ने तयारी भइरहेको छ । गोरखापत्र दैनिकमा समाचार छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।