२०८३ असार ९ गते मंगलवार
२०८३ असार ९ गते मंगलवार

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले चैत १५ गते काठमाडौं तीनकुनेमा भएको हिंसात्मक घटनाबारे मुख खोलेका छन्। नयाँ वर्ष २०८२ सालको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले चैत १५ गते तीनकुने क्षेत्रमा भएको प्रदर्शनमा हुन गएको मानवीय र भौतिक क्षतिबारे दुःख व्यक्त गरेका हुन् ।

‘केही दिनअघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो, मानवीय एवं भौतिक क्षति भयो, त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लाग्यो’, शाहले भिडियो सन्देश जारी गर्दै भनेका छन्, ‘नागरिक स्वतन्त्रता भन्दा ठूलो तन्त्र वा वाद हुँदैन ।’ देशलाई विद्यमान जटिलताबाट मुक्त गराएर शान्त, स्थिर र समृद्ध मुलुक बनाउने जागरूकता पैदा भएको दाबी गर्दै पूर्वराजा शाहले २०८२ सालमा त्यसको परिणाम हासिल हुने पनि विश्वास व्यक्त गरेका छन् ।

पूर्वराजामाथि पनि प्रश्न उठेका बेला उनले त्यस घटनाबारे धारणा सार्वजनिक गरेका हुन् । ‘वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ, जहाँ जनगुनासो, राम्रो–नराम्रो गुणगान सुन्ने संस्कार हुन्छ’, ज्ञानेन्द्रले भनेका छन् । तीनकुने घटनाबारे प्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक दलका नेताहरूले पूर्वराजा शाहको धारणा मागिरहेका थिए । केही सांसदहरूले तीनकुने घटनामा पूर्वराजा शाहलाई जबाफदेही बनाउनुपर्ने भन्दै संसदीय समितिमा बोलाएर प्रश्न सोधिनुपर्ने धारणा समेत राखेका थिए । तीनकुने घटनापछि पूर्वराजा शाहले अभिव्यक्ति दिएका थिएनन् ।

राजसंस्था पुनस्र्थापनाका लागि भन्दै ‘संयुक्त जनआन्दोलन समिति’ ले तोकेका ‘जनकमाण्डर’ दुर्गा प्रसाईको आह्वानमा चैत १५ गते तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो । प्रदर्शन हिंसात्मक हुँदा दुई जनाको मृत्यु भएको थियो भने केही घाइते भएका थिए । घटनाका संलग्न रहेको आरोपमा प्रहरीले दुर्गा प्रसाईंलाई पक्राउ गरी अनुसन्धान अघि बढाइसकेको छ । यस्तै राप्रपाका वरिष्ठ उपाध्यक्ष रबीन्द्र मिश्र, धवल शमसेर राणालगायत पक्राउ परेका छन् । उनीहरु अहिले काठमाडौं प्रहरीको हिरासतमा छन् ।

नेपाल शिक्षक महासंघले ११ दिनदेखि काठमाडौंको सडक तताइरहेका बेला निजामती कर्मचारीहरूको विभिन्न संगठनले संघीय निजामती सेवा ऐन जारी गर्ने प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेका छन् ।

निजामती कर्मचारीसम्वद्ध ट्रेड युनियनहरूले सरकार समक्ष १० बुँदे माग अघि सारेका छन् । यसअघि पेश गरिएका मागको समेत ध्यानाकर्षण गराउँदै ६ वटा संगठनले निजामती क्षेत्रका सवाल पूरा नगरे चरणवद्ध आन्दोलनको चेतावनी दिएका हुन् । आज (आइतबार) पत्रकार सम्मेलन गर्दै संयुक्त ट्रेड युनियन सञ्जालले विगतमा भएका सहमति र सर्वोच्च अदालतले दिएको आदेशअनुसार ऐन जारी गर्ने प्रक्रिया अघि बढाउन माग गरेका हुन् ।

‘राष्ट्रियस्तरका ट्रेड युनियनबाट साझा मागको रूपमा विगतमा पेस गरिएका ८५ बुँदे मागहरू, २०७८ माघ १२ गते सर्वोच्च अदालतको निर्देशनात्मक आदेश जारी गरी संघीय निजामती सेवा ऐन जारी गर्न भएको फैसला र स्थानीय तहका कर्मचारीको आन्दोलन पश्चात नेपाल सरकार र राष्ट्रियस्तरका ट्रेड युनियन बीच २०८० असोज २७ गते भएको सम्झौतामा भएका मागहरूलाई सश्लेषण गरी तपसिलका विषयहरूलाई अनिवार्य रूपमा समावेश गरी संघीय निजामती सेवा ऐन जारी गर्न राष्ट्रियस्तरका ट्रेड युनियनहरूसँग वार्ता, संवाद र छलफल गरी सो ऐन जारी गर्ने प्रक्रियामा अगाडि बढाउन जोडदार माग गर्दछौं,’ कर्मचारीहरूनिकट संगठनहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सरकारले यस्ता विषयलाई समयमै सम्बोधन नगरेमा सार्वजनिक प्रशासनका तथा शैक्षिक क्षेत्रमा समेत गम्भीर समस्या उत्पन्न हुने र यसले प्रशासनिक तथा शैक्षिक क्षेत्रमा अराजकता निम्त्याउने कुरामा समेत सचेत रहन उनीहरूले आग्रह गरेका छन् । ‘हाम्रा मागहरूप्रति सरकार उदासिन भइ सुनुवाइ नगरेमा संयुक्त ट्रेड युनियन सञ्जालको तर्फबाट चरणबद्ध आन्दोलनको सुरूवात गर्न बाध्य हुने व्यहोरा जानकारी गराउँदै त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरोकारवाला स्वयं हुनुपर्ने ब्यहोरा समेत स्पष्ट पार्न चाहान्छौं,’ उनीहरूले भनेका छन् ।

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन माग गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले आज आइतबार प्रारम्भिक सुनुवाइ सकेपछि थुनामा पठाउने आदेशको निर्णय लिँदाको आधारसहितको कैफियत प्रतिवेदन मागेको हो ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले चैत २२ गते लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो। उक्त आदेशविरुद्ध सहकारी ठगीका अभियुक्त लामिछानेको तर्फबाट शुक्रबार सर्वोच्चमा निवेदन दर्ता भएको थियो।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणका अभियुक्त लामिछाने चैत २२ पक्राउ परेका थिए । उच्च अदालतको आदेश लगत्तै उनलाई प्रहरीले काठमाडौँको बूढानीलकण्ठस्थित घरबाटै पक्राउ गरेको थियो । उनलाई २३ गते विमानमार्फत बुटवल पुर्‍याइएको थियो । २५ गते उनलाई जिल्ला अदालतले थुनुवा पुर्जी दिएर कारागार चलान गरिएको थियो ।

यसअघि गत माघ १३ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले रविलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो । सोही मुद्दाका अभियुक्त छविलाल बन्जाडेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । सुप्रिम सहकारीमा रवि, छवि र जीबी राईसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ ।

उनीहरूले सहकारीको ५५ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको अभियोग छ। यसमध्ये रवि, छवि र जीबीले गोर्खा मिडिया प्रालि स्थापना गरी त्यस कम्पनीमार्फत गैरकानुनी रूपमा १० करोड ९९ लाख ३६ हजार रकम परिचालन गरेको अभियोगपत्रमा उल्लेख छ । जीबी राई भने फरार छन्।

काठमाडौँ । चारदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा नेपाल कुवेतसँग ३ रनले पराजित भएको छ। कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ३ बलमा १७१ रन बनाउँदा सबै विकेट गुमायो । नेपालका बसिर अहमदले ८०, नन्दन यादवले ३७ रन बनाए ।

नेपालले ९२ रन बनाउँदा ८ विकेट गुमाएको अवस्थामा नवौं विकेटका बसिर र नन्दनले ७२ रनको साझेदारी गरेका थिए। कुवेतका अनुदीप चेन्थामाराले ३ विकेट लिए । यसअघि हङकङको मिसन रोड मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनायो ।

कुवेतका रविजा सान्दरुवानले ६३ रन बनाए । नेपालका सोमपाल कामी र नन्दन यादवले २-२ विकेट लिए। प्रतियोगितामा नेपाल शीर्ष र कुवेत दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका थिए । यस्तै आजै तेस्रो स्थानका लागि भएको खेलमा हङकङले कतारलाई १ रनले हरायो । हङकङले दिएको १८९ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा ५ विकेट गुमाएर १८७ रन मात्रै बनाउन सक्यो ।

काठमाडौं । प्रहरीले पेप्सीकोलास्थित टाउन प्लानिङबाट ६० लाख लुटपाट गरेको आरोपमा २० जनालाई पक्राउ गरेको छ। लुटपाटको आरोपमा प्रहरीले अहिलेसम्म २० जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

बुधबार राति करिब ९ बजेतिर एक व्यक्तिको दुई वटा झोलामा रहेको उक्त रकम लुटपाट भएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बौद्ध बस्ने रितेश लामाको ६० लाख लुटपाट भएको थियो । जग्गाको बैना गर्न लगेको उक्त रकम लुटिएपछि बुधबार राति नै उनी काँडाघारीस्थित प्रहरी प्रभागमा गएर घटनाबारे जानकारी गराएका थिए ।

जग्गाको टाउन प्लानिङमा पुगेपछि जग्गाबारे एक जनासँग कुराकानी भइरहेका बेला ८–९ जनाको समूह आएको र गाडीमा रहेको दुई वटा झोलोको रकम लुटेको उनले प्रहरीलाई बताएका छन् । त्यसपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सीसीटिभी फुटेजमा समेत लुटेर लगेको देखिएको थियो । लुटेरा समूह भने मोटरसाइकल र स्कुटरमा चढेर फरार भएको थियो ।

पक्राउ परेका २० जनाबाट प्रहरीले ३० लाख रुपैयाँ बरामद समेत गरिसकेको छ । एउटा झोलामा रहेको २८ लाख ५० हजार एकमुस्ट भेटिएको छ । बाँकी रकम भने साँखु लगेर बाँडफाँड गरेको पक्राउ परेकाहरूले बयान दिएका छन् । पक्राउ परेकाहरूलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेर अनुसन्धान अघि बढाइएको छ । उक्त रकमबारे समेत प्रहरीले अनुसन्धान अघि बढाएको छ । यति ठूलो रकम किन उनले नगदै बोकेर हिँडे र रकमको स्रोत के हो भन्नेबार अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

काठमाडौं । गएको एक वर्षमा विपदजन्य घटनामा ७४५ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षमा आठ हजार ८६१ वटा विपद्का घटना घटेको र ती घटनामा परी ७४५ जनाको मृत्यु भएको हो ।

ती घटनामा परी ६९ जना बेपत्ता भएका र एक हजार ७०२ जना घाइते भएका प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिए । उनका अनुसार एक वर्षमा विपद्बाट १८ हजार ९९१ घरपरिवार प्रभावित हुन पुगेका छन् । कुल तीन अर्ब १३ करोड बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ ।

कुन घटनामा कति मानवीय क्षति ?
सबैभन्दा बढी पहिरोका कारण ३५१ जनाको ज्यान गएको छ । त्यसपछि बाढीबाट ९७, चट्याङबाट ७८ र आलागीबाट ७७ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । भारी वर्षाका कारण आठ, जनावरको आक्रमणबाट ४३, लेक लागेर २४, हवाई दुर्घटनामा २३, सर्पदंशबाट १९ जनाको मृत्यु भएको छ । त्यसैगरी, डढेलोबाट १०, हुरीबतासका कारण सात, डुङ्गा पल्टेर एक र अन्य विविध कारणबाट सात जनाको मृत्यु भएको छ । पहिरोबाट ४८, बाढीबाट १८ र हिउँ पहिरोमा परेर तीन जना बेपत्ता भएका छन् ।

सबैभन्दा बढी आगलागीका घटना
विपद्जन्य घटनाका संख्या अध्ययन गर्दा सबैभन्दा बढी आगलागीका घटना यस वर्ष भएका छन् । विसं २०८१ वैशाख १ देखि चैत २९ गतेसम्मको तथ्याङ्कानुसार आगलागीका मात्र चार हजार १४५ वटा घटना भएका छन् । त्यसपछि डढेलोका एक हजार १९५ वटा र पहिरोका एक हजार पाँच घटना भएको छ ।

त्यस्तै बाढी ४१८, भारीका वर्षाका ५६८, चट्याङका ४१८, जनावर आक्रमणका ४७७, लेक लागेका १११ वटा घटना भएका छन् । हवाई दुर्घटनाका दुई, सर्पदंशका ८४, हावाहुरीका ३४९, डुङ्गा पल्टेका एक, हिउँ पहिरोका छ, भूकम्पका ७४, असिनापानी एक र अन्य सातवटा विपद्जन्य घटना भएको प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

पर्साको वीरगञ्जमा शनिबार अपराह्न हनुमान जन्मोत्सवको अवसरमा निकालिएको शोभायात्राका क्रममा दुई समुदायबीच भएको झडपले शहर तनावग्रस्त बनेको छ । झडपमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका अधिकारीहरू र सर्वसाधारण गरी ४३ भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

घटनाको सुरुआत वीरगञ्ज महानगरपालिका-२ स्थित श्रीराम हल नजिकै रहेको जामा मस्जिद अगाडि अपराह्न करिब ४:५० बजे भएको हो । प्रहरीका अनुसार शोभायात्रा मस्जिद नजिक पुग्दा एकाएक ढुंगामुढा सुरु भयो, जसले दुवै समूहबीच भिडन्तको अवस्था सिर्जना गरायो । घटनापछि अवस्था थप जटिल नहोस् भनेर पर्सा जिल्ला प्रशासन कार्यालयले शनिबार बेलुकादेखि कर्फ्यु लगाएको थियो ।

यसअघि आज मध्यान्न १२ बजेसम्म मात्र कर्फ्यु लगाइएको भए पनि स्थिति गम्भीर बनेपछि कर्फ्यु १२ घण्टा लम्ब्याइएको छ । अब राति १२ बजेसम्मका लागि वीरगञ्ज क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ ।

प्रशासनले नागरिकहरूलाई संयमित रहन, अफवाहमा नफस्न र सुरक्षाकर्मीको निर्देशन पालना गर्न आग्रह गरेको छ। स्थानीय प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त रूपमा सुरक्षालाई कडाइ गरेका छन्। तनावग्रस्त क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ। झडपको कारणको अनुसन्धान भइरहेको बताइएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्षको आगमनसँगै मुलुकमा नयाँ सरकार गठनको सम्भावना रहेको संकेत गरेका छन् । चितवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पछिल्ला घटनाक्रम र अनुभवका आधारमा यस्तो संकेत दिएका हुन् ।

उनका अनुसार वर्तमान राजनीतिक अवस्था दीर्घकालीन रुपमा स्थिर रहन सक्ने देखिँदैन । ‘परिस्थिति यति सहज छैन कि अहिलेको सरकार धेरै टाढा जान सकोस् भन्ने देखिन्छ,’ अध्यक्ष प्रचण्डले भने, ‘नयाँ वर्षले केही समाधान ल्याउनेछ भन्ने आशा छ ।’

उनले सरकारप्रति जनताको असन्तोष बढ्दै गएको दाबी गर्दै भने, ‘सरकारमा रहेका दलहरू स्वयं पनि लगभग सडकमा उत्रिने अवस्थामा पुगेका छन् ।’

यसअघि एक टेलिभिजन अन्तर्वार्तामा प्रचण्डले नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना रहेको संकेत गरेका थिए । उनले ठूलो दलको नेतृत्वमा बनेको सरकार नै राष्ट्रको हितमा हुने विश्वास व्यक्त गरे ।

 

आजसम्म दर्ता नभए नेपालमा फेसबुक बन्द हुने भएको छ ।

सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले चैत मसान्तसम्म सामाजिक सञ्जालहरू दर्ता नभए बन्‍द गर्ने चेतावनी दिएका छन् ।

रुपन्देहीमा आयोजित फोनिजको ८औं महाधिवेशनलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालले नेपालमा दर्ता नगरे बन्द गर्ने चेतावनी दिएका थिए।

उनले भने, ‘हामीले मेटालाई दर्ताको सूचना दिएको २ महिना भैसक्यो । तर, कुनै जवाफ आएको छैन । चैत मसान्तसम्म दर्ता नभए बन्‍द गर्छौं ।’

सञ्चारमन्त्री गुरूङले सामाजिक सञ्जालमा जथाभावी स्क्यामहरू आइरहेकोले यसलाई नियन्त्रण गर्न दर्ताका लागि अनुरोध गर्नुपरेको बताए । उनले सामाजिक सञ्जाल अरु देशमा दर्ता भएर चल्‍ने गरेको र राजश्व पनि तिर्दै आएकाले नेपाल सरकारलाई पनि त्यो आवश्यक रहेको उनको भनाइ थियो ।

‘छिमेकी मुलुक भारतलगायतका विभिन्न देशहरूमा फेसबुकलगायतका सामाजिक सञ्जालले दर्ता भएर राजश्व तिरिरहेको छ। तर, नेपालमा बिनादर्ता नै चलिरहेको छ। अब फेसबुक, एक्स र युटुबलगायतकाले राजश्व तिर्नुपर्छ।’उनले भने

पर्सा । हनुमान जन्मोत्सवका अवसरमा शनिबार दुई समुदायबीच झडप हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रहरी घाइते भएका छन् । दुवै समूहबीच ढुङ्गा हानाहान हुँदा पर्साका प्रहरी प्रमुख गौतम मिश्रसहित १७ जना घाइते भएका हुन्। त्यस्तै सशस्त्र प्रहरी बल नेपाल पर्साका प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहसहित आठ जना सशस्त्र प्रहरी घाइते भएका छन् ।

पर्साका प्रहरी प्रमुख गौतमले आफूसहित १७ जना नेपाल प्रहरी घाइते भएको जानकारी दिए । ‘मेरो त दाहिने हातमा चोट लागेको छ’, उनले भने, ‘मेरो त त्यति धेरै ठूलो चोटपटक भएको छैन । अन्य प्रहरी कर्मचारीको भने धेरै चोट देखिएको छ ।’ वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाई समेत घाइते भएका छन् ।

पर्सा प्रहरी प्रमुख मिश्रले ढुङ्गा हानाहानका क्रममा सर्वसाधारणतर्फ १२ घाइते भएको जानकारी दिए । नारायणी अस्पताल वीरगञ्जका प्रवक्ता डा. उदयनारायण सिंहले नारायणी अस्पतालमा नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित सर्वसाधारण गरेर ४३ सर्वसाधारणको उपचार भइरहेको जानकारी दिए । ‘शनिबारको तनावपछि यहाँ ४३ भन्दा धेरैको उपचार भइरहेको छ’, उनले भने, ‘कतिपय सामान्य उपचारपछि घर पनि फर्किसक्नु भएको छ । केही घाइतेको भने यहाँ उपचार भइरहेको छ ।’

प्रवक्ता सिंहले घाइते भएकाहरूको उपचारमा कमजोरी हुन नदिएको जानकारी दिए । ‘अधिकांशको टाउको र छातीमा ढुङ्गा वा इँटाले लागेर घाइते हुनुभएको छ’, उनले भने । सूर्या हस्पिटल प्रालिका प्रमुख सरोज सिंहले आफ्नो अस्पतालमा प्रहरी नायब उपरीक्षक सिंहसहित उपचार भएको जानकारी दिए । ‘एक जना घाइतेको खुट्टा भाचिँएको छ । उहाँको उपचार जारी छ’, उनले भने, ‘अन्य घाइते भने सामान्य उपचारपछि डिस्चार्ज भएका छन् ।’ जिल्ला प्रशासन कार्यालय पर्साले तनावको अवस्थालाई मध्यनजर गर्दै शनिबार बेलुकादेखि आइतबार बिहान १२ः०० बजेसम्मको अवधिमा कर्फ्यु आदेश जारी गरेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।