
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको म्यादभित्र दर्ता नभए फेसबुकलगायतका सामाजिक सञ्जाल बन्द गरिने चेतावनी दिएका छन् । आज (शुक्रबार) काठमाडौंमा सञ्चारिका समूह नेपालको ९ औं महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपालमा सञ्चालन हुने सवै सामाजिक सञ्जाल प्ल्याट्फर्महरुले नेपालको नियम मान्नुपर्ने भन्दै सरकारले तोकेको म्यादभित्र दर्ता नभए प्रतिवन्ध लाग्ने स्पष्ट पारेका हुन् ।
सामाजिक सञ्जाल दर्ताका लागि सरकारले थप गरेको एकमहिनाको म्याद सकिन केही दिन बाँकी रहेको भन्दै उनले फेसबुक लगाएतका सामाजिक सञ्जाल दर्ता हुन नआएको उल्लेख गरे । ‘एक महिना पुग्न दुई–तीन दिन बाँकी छ । कोही आउँदैन,’ उनले भने, ‘सरकारलाई नै टेर्दैन ।’ सामाजिक सञ्जालसम्बन्धी कानुन कुनै सञ्चारमाध्यमलाई बन्द गर्नका लागि नभइ नियमन गर्नका लागि ल्याइएको स्पष्ट पारे । मन्त्री गुरुङले चैत्र १५ गते काठमाडौंमा राजावादीले गरेको आन्दोलन प्रतिगामी र संविधान विरोधी आन्दोलन भएको बताएका छन्।
शिक्षक महासंघका प्रतिनिधिले प्रधानमन्त्री केपी ओलीसँग भेट गर्ने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको महासंघको टोलीले प्रधानमन्त्री ओलाई आज साँझ भेट्न लागेको हो ।
‘प्रधानमन्त्रीले ७ बजेको समय दिनु भएको छ । हाम्रो माग मुद्दाबारे प्रधानमन्त्रीलाई जानकारी गराउँछौं,’ महासंघका महासचिव तुलाबहादुर थापाले भने । प्रधानमन्त्री ओलीलाई भेट्नु अघि महासंघ छलफलमा जुटेको छ ।
‘आन्दोलनको समीक्षा गर्न र प्रधानमन्त्रीसँग राख्ने कुराको छलफल गर्न बैठक बस्न लागेका हौं,’ उनले भनिन् । शिक्षक महासंघको नेतृत्वमा २० चैतदेखि शिक्षकहरूले काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।
शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच संवाद भइरहेपनि सहमति जुटेको छैन । मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णय गरेमा आन्दोलनको मोडालिटी परिर्वतन गर्न सक्ने संकेत महासंघले दिएको छ ।
शिक्षकहरुको माग अनुसार नै विद्यालय शिक्षा विधेयकलाई लक्षित गरेर सरकारले १२ वैशाखमा संसदको वर्षे अधिवेशन आह्वान गरेको छ । तर शिक्षकहरू आश्वस्त भएका छैनन् ।
काठमाडौं । वैशाख ११ गतेदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा शिक्षक आन्दोलनका कारण स्थगित भएको भन्दै सामाजिक सञ्जालमा एउटा सूचना प्रेषित भइरहेको छ । राष्ट्रिय परीक्षा बोर्डको लेटरहेडमा शुक्रबार जारी उक्त ‘सूचना’ मा अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित भएको भनिएको छ ।
तर, बोर्डले भने परीक्षा स्थगितबारे कुनै निर्णय नगरेको प्रतिक्रिया दिएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले यसबारेमा कुनै निर्णय नगरिएको प्रस्ट पारेका छन् । बोर्डले आधिकारिक सूचना समेत जारी गर्दै उक्त विषयमा ध्यानाकर्षण भएको जनाएको छ । अनधिकृत र भ्रामक सूचना सम्प्रेषण गर्ने माथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको जनाउँदै बोर्डले आधिकारिक वेबसाइटमार्फत् प्रवाह हुने सूचनामा मात्रै भर पर्न आग्रह गरेको छ ।
सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले माइतीघर–बानेश्वर सडक तत्काल सुचारु गनरे सडकमै गाडी तेर्स्याउने चेतावनी दिएका छन् ।
१७ दिनदेखि भइरहेको शिक्षक आन्दोलनका कारण सार्वजनिक यातायात अवरुद्ध भएको भन्दै महासंघले अबको केही दिनमै माइतीघर–बानेश्वर सडकमा गाडी चल्न नदिए सडकमै गाडी तेस्र्याउने चेतावनी दिएको हो ।
महासंघका महासचिव भरत नेपालले शिक्षक आन्दोलनका कारण १७ दिनदेखि यातायात मजदुर र यात्रु मर्कामा परेको बताउँदै आइतबारसम्म सडक खुला नभए सडकमा गाडी तेस्र्याउने चेतावनी दिए ।
महासंघले जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत अवरुद्ध सडक सुचारु गरिदिन बिहीबारै गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षण पत्र पठाएको छ ।
१७ दिनदेखि शिक्षकहरूले माइतीघर–बानेश्वर सडकमा मध्याह्न १२ देखि दिउँसो ३ बजेसम्म प्रदर्शन गर्दै आएका छन् । उक्त समयमा माइतीघर– तिनकुने सडकमा सवारीसाधन चल्न नपाउँदा यातायात मजदुर तथा यात्रुले सास्ती खेप्नुपरेको छ ।
शिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ ।
बडीकेदार गाउँपालिका–२ बर्छैनका २४ वर्षीय नरेश सार्कीको मृत्यु भएको हो । खड्यौलीस्थित प्रहरी चौकीका प्रमुख विरादत्त पन्तका अनुसार बिहीबार दिउँसो बडीकेदार गाउँपालिका–१ बेडुपाटा खोलाकिनारमा सिकार खेल्न गएका बडीकेदार गाउँपालिका–१ रजेडका कमलसिंह खड्काले बोकेको भरुवा बन्दुक पड्किँदा सार्कीको दायाँ छातीमा गोली लागेको थियो ।
निजको घटनास्थलमै मृत्यु भएको हो । अनुसन्धानको सिलसिलामा बन्दुक बोक्ने खड्का, रजेडका खेम खड्का, तारासिंह खड्का, सोही गाउँपालिका– २ तेजेन्द्र भाट, अम्मर शाह, चक्र भाट, सुनिल बम, गणेश घर्तीमगर, मानबहादुर शाह र गर्भुजाका जुलेश नामजाली मगरलाई पक्राउ गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले आज वीरगन्ज महानगर क्षेत्रमा लगाएको निषेधाज्ञा हटाएको छ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगञ्जको शान्ति सुरक्षाको स्थिति सामान्य भएकाले आज बिहान ७ः०० बजेदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।
‘स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (३) (क) बमोजिम वीरगन्ज महानगरका केही क्षेत्रमा वैशाख १ गतेदेखि निषेधाज्ञा आज बिहान ७ः०० बजेदेखि लागू हुने गरी हटाउने निर्णय भएको छ,’ जिल्ला सुरक्षा समितिको निर्णयमा भनिएको छ । गत शनिबार हनुमान जयन्तीका अवसरमा आयोजित शोभायात्रामा दुईपक्षबीच झडप भएपछि महानगरका विभिन्न भागमा निषेधाज्ञा जारी गरिएको थियो ।
कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी माथि गोली प्रहार भएको छ।
गएराति मायादेवी गाउँपालिका–१ पकडी स्थित उनको निवासमा नै गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए।
घर कमाउण्ड बाहिरबाट आफूलाई पेस्तोलबाट गोली प्रहार गरेर भागेको अध्यक्ष चौधरीले प्रहरीलाई बताएका छन् । गोलीबाट छलिएर आफूलाई कुनै चोटपटक नलागेको उनले बताएका छन् ।
घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको नायब उपरीक्षक अधिकारीले जनाए । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी अधिकारीले बताए ।
हाल देशमा स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज अपराह्न कोशी, मधेस, बागमती प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने बताएको छ ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षाका साथै हिमपातको पनि सम्भावना छ ।
महाशाखाका अनुसार आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । यी प्रदेशका केही भेगमा हल्कादेखि मध्यम वर्षा पनि हुनसक्ने छ ।
मेषः दिन राम्रो छ। खर्च गर्ने समयमा सचेत बन्नुपर्नेछ। बोल्दा विवेक पुर्याएर बोल्नु राम्रो हुन्छ। शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा सुधार हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।
वृषः स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने दिन छ। रोगविरुद्ध बच्न खानपानमा ध्यान दिनुपर्नेछ। व्यापारमा गरेको लगानीबाट सफलता मिल्नेछ। वैदेशिक लगानीबाट राम्रो उन्नति हुनेछ। आज तपाईंले सचेत भएर कारोबार गर्नु राम्रो हुनेछ।
मिथुनः दिन राम्रो छ। सोचेको काम बन्नेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। शिक्षामा गरेका प्रयास सफल देखिन्छन्। धार्मिक र बौद्धिक मानिसँग भेट हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।
कर्कटः दिन सामान्य छ। टोल, छिमेक वा परिवारभित्र झुटो आरोप सुन्नुपर्ने हुनसक्छ। शिक्षाको क्षेत्रमा गरेको लगानी डुब्ने खतरा छ। वैदेशिक क्षेत्रको लगानीबाट भने फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुरमा भने सुधार हुनेछ।
सिंहः दिन राम्रो छ। तपाईंले आज सुरु गरेको काम बन्नेछ। आफन्त र अग्रजको सहयोग लिनु राम्रो हुन्छ। काम गर्नु अगाडि विषय विज्ञसँग सुझाव लिनुपर्नेछ। व्यापारमा फाइदा हुने योग छ।
कन्याः आज तपाईंका लागि संघर्षपूर्ण दिन छ। लगानी डुब्ने खतरा छ। व्यापारमा घाटा हुनेछ। ठुलो योजना नबनाउनु राम्रो हुन्छ। यात्रामा सचेत बन्नुपर्ने दिन छ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।
तुलाः आज तपाईंको दैनिकी राम्रो छ। चन्द्रमा दाहिना भएकाले राम्रो कामको सुरुवात गर्नु राम्रो हुन्छ। व्यापारमा फाइदा हुनेछ। परिवारको साथमा रमाइलो घुमघामको अवसर मिल्नेछ।
वृश्चिकः धन लाभ हुने दिन छ। शिक्षामा सफलता मिल्नेछ। वैदेशिक लगानी भए राम्रो आम्दानी हुनेछ। लामो यात्रा नगर्नु राम्रो हुन्छ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ।
धनुः दिन राम्रो छ। श्रमको नतिजा राम्रो प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीले मनमा उत्साह थप्नेछ। प्रेम सम्बन्धले परिवारमा उल्लास बढ्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा प्रगति हुनेछ।
मकरः दिन सामान्य छ। खर्च बढ्नेछ। ठुलो काममा भुलेर पनि सुरुवात नगर्नु उचित हुन्छ। थोरै बोल्नुपर्ने दिन छ। आफन्तले खुट्टा तान्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ।
कुम्भः अनावश्यक खर्च बढ्नेछ। अपेक्षा गरेका मान्छेबाट सहयोग प्राप्त नहुने देखिन्छ। जुनसुकै काम गर्दा पनि आफू अगाडि नलाग्नु राम्रो हुन्छ। उद्योग र व्यापारमा हात नलगाउनु राम्रो हुन्छ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।
मीनः दिन राम्रो छ। बोल्दा भने सचेत बन्नुपर्नेछ। महत्त्वपूर्ण निर्णय लिनु अघि तीन पटक सोच्नु आवश्यक हुन्छ। घमण्डले आफूलाई समस्यामा पार्ने योग छ। धार्मिक क्षेत्रमा मन जानेछ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६१ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८० रुपैयाँ ४० पैसा र बिक्रीदर १८१ रुपैयाँ १९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६६ रुपैयाँ ८२ पैसा र बिक्रीदर १६७ रुपैयाँ ५५ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ८७ रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ १५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ५८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १०४ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ ।
यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६१ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८ रुपैयाँ ७५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५६ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०९ पैसा र बिक्रीदर चार रुपैयाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७ रुपैयाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ९२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०६ पैसा निर्धारण भएको छ ।
त्यसैगरी, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६२ पैसा र बिक्रीदर नौ रुपैयाँ ६६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १४ रुपैयाँ ११ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ७५ पैसा र बिक्रीदर २० रुपैयाँ ८४ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १७ रुपैयाँ ६३ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ५४ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ६० पैसा र बिक्रीदर ३६३ रुपैयाँ १९ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ५९ पैसा रहेको छ । यस्तै, केन्द्रीय बैंकले भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।