२०८२ असार ११ गते बुधबार
२०८२ असार ११ गते बुधबार

काठमाडौँ । सरकार र शिक्षक महासङ्घबीच नौ बुँदे सहमति भएको छ । सरकारका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र शिक्षक महासङ्घका प्रतिनिधिबीच आज भएको वार्तापछि नौ बुँदे सहमति भएको हो ।

सरकारसँग ९ बुँदे सहमति भएसँगै गत चैत २० गतेदेखि काठमाडौंमा चलिरहेको शिक्षकहरूको हड्ताल र प्रदर्शन स्थगित भएको छ ।

बुधबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले सरकारले शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच भएको ९ बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

उक्त निर्णय अनुसार बिहीबार देखि शिक्षक महासङ्घले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएर विद्यालय सञ्चालनको गर्ने सहमति गरेको छ ।

 

यस्तो छ, शिक्षकहरूसँग भएका ९ बुँदे सहमति:

१. शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा; काठमाडौंमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई उपचार सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने ।

२. अस्थायी प्रकृतिका शिक्षक; राहत, अस्थायी (करार ) साविक उमावि, सिकाई अनुदान, प्राविधिकधार, विशेष शिक्षा र बालविकास सहजकर्ताको बिरामी बिदा सञ्चित हुने र सो बापतको रकम सेवाबाट अलग हुँदाका बखत एकमुष्ट रूपमा प्रदान गर्ने ।

३. प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकारबाट तोकिए बमोजिम व्यवस्था गर्ने ।

४. आगामी आर्थिक वर्ष २०८२/०८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय, प्राथमिक द्वितीय, निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम श्रेणीका शिक्षकका लागि निजामती सेवा ग्रेड संख्या र रकम कायम गर्ने ।

५. स्थायी तथा अस्थायी प्रकृतिका कोटा (राहत, अस्थायी, करार, साविक उमावि, प्राविधिक) सबै शिक्षकले प्रचलित कानुन बमोजिम दुर्गम भत्ता पाउने व्यवस्था गर्ने ।

६. सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षण तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने ।

७. नेपाल सरकारको मर्यादाक्रमको सूचीमा शिक्षकहरूलाई समावेश गर्ने ।

८. नेपाल शिक्षक महासंघको आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण शिक्षक सुरक्षाकर्मी पत्रकार तथा कर्मचारीहरूको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने ।

९. निम्न माध्यमिक तह प्राथमिक श्रेणीको प्राथमिक श्रेणीका शिक्षकको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणीका शिक्षक सरह हुनेगरी कायम गर्ने ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी रिहा भएका छन् । कारागार कार्यालय डिल्लीबजारका जेलर बाबुराम अर्यालले चौधरीलाई रिहा गरिएको  बताए । 

सर्वोच्च अदालतका कर्मचारीले कारागार कार्यालय डिल्लीबजारलाई पठाएको ‘फेक पत्र’का आधारमा उनी बुधबार दिउँसो राजधानीको प्रज्ञा भवन परिसरबाट पक्राउ परेका थिए । 

उक्त पत्र फेक भएको सर्वोच्च अदालतले नै विज्ञप्तिमार्फत जानकारी दिइसकेको छ । यस्तै सर्वोच्चले अर्को पत्र पठाएर चौधरीलाई रिहा गर्न भनेसँगै उनी साँझ रिहा भएका हुन् । यस्तै फेक पत्र पठाउने महिमान सिंह विष्ट पक्राउ परिसकेका छन् । 

बुधबार नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकता घोषणा हुने भएपछि रेशम प्रज्ञा भवन पुगेका थिए । तर, उनी एकाएक पक्राउ परेसँगै आजको एकता नै भाँडिएको छ । अब रेशम रिहा भएपछि फेरि छलफल गरेर फेरि एकताको नयाँ मिति घोषणाको अर्को मिति तय गरिने नेताहरुले बताएका छन् । 

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न सर्वोच्च अदालतबाट जारी भएको शंकास्पद पत्र प्रकरणमा नयाँ मोड आएको छ। उक्त पत्र जारी गर्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई सर्वोच्च अदालतको सुरक्षा इकाइले पक्राउ गरेको छ। उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाइएको छ।

सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाबाट जारी भएको भनिएको उक्त पत्रमा अस्वाभाविक विवरणहरू थिए। पत्रमा चौधरीलाई पक्राउ गरी कैदमा पठाउनुपर्ने उल्लेख थियो, तर सम्बन्धित मुद्दा अझै विचाराधीन रहेको र आममाफीविरुद्धको रिटमा फैसला नभइसकेको अवस्थामा यस्तो पत्र जारी हुनु कानुनी रूपमा असम्भव देखिएको छ। पत्रमा जिल्ला अदालत कैलालीलाई सम्बोधन गर्नुपर्नेमा सिधै कारागारलाई पत्राचार गरिएको, प्रहरी महानिरीक्षकलाई बोधार्थ राखिएको र रिगल ढकालको मुद्दाको नजिरलाई आधार बनाइएको जस्ता त्रुटिपूर्ण विवरणहरू फेला परेका थिए।

सर्वोच्च अदालतबाटै जारी भएको देखिए पनि यसको वैधानिकतामाथि गम्भीर प्रश्न उठेको थियो । सर्वोच्च अदालतले आन्तरिक छानबिन शुरू गरेको थियो र छानबिनकै क्रममा शाखा अधिकृत विष्टको संलग्नता पुष्टि भएको बताइएको छ। विष्टले आफूखुसी वा कसैको उक्साहटमा उक्त पत्र जारी गरेको आशंका गरिएको छ, तर उनले हस्ताक्षर गरेका हुन् वा हस्ताक्षर दुरुपयोग भएको हो भन्ने स्पष्ट भइसकेको छैन।

सर्वोच्च अदालतको सुरक्षा इकाइले विष्टलाई पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौंमा हस्तान्तरण गरेपछि प्रहरीले थप अनुसन्धान शुरू गरेको एक प्रहरी अधिकारीले बताएका छन् । यो प्रकरणले सर्वोच्च अदालतको पत्राचार प्रक्रिया र आन्तरिक प्रशासनमाथि गम्भीर प्रश्न उठाएको छ।

काठमाडौं । कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीले राष्ट्रपतिबाट आममाफी पाए पनि अन्ततः जेल पुगेका छन् । जनमत पार्टीसँग नागरिक उन्मुक्तिको एकता घोषणाको तयारी भइरहेका बेला रेशमलाई प्रहरीले पक्राउ गरेपछि रेशमको पुनः जेल यात्रा तय भएको हो । चौधरी प्रज्ञाभवन कमलादीबाट पक्राउ परेका हुन् । उनी पार्टी एकता घोषणा सभास्थलबाटै पक्राउ परेका हुन् । प्रहरीले उनलाई डिल्लीबजार कारागार लगेको छ ।

उनी पक्राउ परेपछि कार्यकर्ताहरुले सरकारविरुद्ध नाराबाजी गरेका छन् । काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराका अनुसार उनलाई फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको हो। ‘हामीले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गरेका हौं,’ बोहराले भने, ‘उहाँलाई नियन्त्रणमा लिएर डिल्लीबजार कारागार लगेका हौं ।’ २०७२ भदौमा टीकापुर काण्डका प्रमुख आरोपी चौधरीलाई अदालतले जन्मकैदको सजायँ सुनाएको थियो । तर राष्ट्रपतिबाट कैद मिनाहा पाएर उनी २०८० जेठ १५ गते जेलमुक्त भएका थिए ।

विसं. २०७२ साल भदौ ७ मा भएको टीकापुर घटनामा एक नावालक र सात प्रहरीको ज्यान गएको थियो । उक्त घटनाका मुख्य योजनाकारका रूपमा मुद्दा दायर भएका रेशमलाई कैलाली जिल्ला अदालत र उच्च अदालत धनगढीले दोषी ठहर गरी जेलमा थिए । जेलमा रहेकै बेला उनले राष्ट्रिय जनता पार्टीका तर्फबाट वारेशमार्फत उमेदवारी दर्ता गरी ०७४को संसदीय निर्वाचन कैलाली–१ बाट जितेको थिए । उनलाई जेलबाट लगि शपथ गराएर पुनः जेलमै राखिएको थियो । ०८० जेठ १४ को मन्त्रिपरिषद्को निर्णयबाट भएको सिफारिसका आधारमा जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिले आम माफी दिएका थिए ।

आम माफी दिने निर्णयविरुद्ध ०८० जेठ १६ गते नै टीकापुर घटनामा मारिएका प्रहरी अधिकृतकी पत्नी शारदा कडायत बोहोराले रिट दायर गरेकी थिइन् । उनले रिटमा आम माफीको निर्णय बदर गरी चौधरीलाई थुनामै राख्न माग गरेकी थिइन् । सरकारले जन्मकैद भएको मुद्दामा ५० प्रतिशत कैद भूक्तान गरेपछि मात्र माफी दिन सकिने कानुनी प्रावधानलाई उल्लंघन गर्दे आममाफी सिफारिस गरेको थियो । त्यसमा रिट समेत परेपछि सर्वोच्चकै आदेशअनुसार रेशम पुनः पक्राउ परेका हुन् । उनको पक्राउसँगै नागरिक उन्मुक्ति र जनमत पार्टीको एकता घोषणा स्थगित भएको छ ।

 जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको घोषणसभा स्थलबाट नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेपछि एकता घोषणा कार्यक्रम स्थगित भएको छ । 

जनमत पार्टीका अध्यक्ष सिके राउतले एकता घोषणा कार्यक्रम स्थगित भएको बताएका हुन् । 

उनले सामाजिक संजाल एक्समा लेखेका छन् ।
पार्टी एकीकरण प्रज्ञा प्रतिष्ठानमा घोषणा हुन लाग्दै श्री रेशमलाल चौधरीलाई नेपाल प्रहरीले कार्यक्रमस्थलमा नै पक्राऊ गरेर पुरानो फैसला कार्यान्वय गर्नका लागि डिल्ली बजार जेल पठाएको खबर प्राप्त भएको छ।  यसको हामी घोर भर्त्सना गर्दछौं।  यस कारणले आजको एकीकरण कार्यक्रम स्थगित गरिएको छ

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् ।

सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणाको तयारी भइरहेका बेला चौधरीलाई कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाट पक्राउ गरिएको हो ।

उनलाई पक्राउ गर्न सादा पोशाकका प्रहरी प्रज्ञा भवनमा पुगेका थिए । पक्राउ गरिएको खबर आए पनि कारण पत्ता लगाउने क्रम जारी रहेको छ ।

काठमाडौं । अब सवारी लाइसेन्सको अवधि १० वर्ष हुने भएको छ । सवारी लाइसेन्सको अवधि १० वर्ष हुने गरी प्रतिनिधि सभाले केही नेपाल ऐन संशोधन विधेयक पारित गरेको छ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा लाइसेन्सको अवधि पाँच वर्ष छ । यसलाई बदलेर केही नेपाल ऐन संशोधन विधेयकमार्फत १० वर्ष बनाइएको हो । प्रचलित ऐनको दफा ५४ मा चालक अनुमतिपत्रको वैधता सम्बन्धी व्यवस्था छ । दफा ५४ को उपदफा ३ मा भनिएको छ, ‘चालक अनुमतिपत्र दिइएको मितिले पाँच वर्षसम्म बहाल रहनेछ ।’

प्रचलित व्यवस्थामा संशोधन गर्दै विधेयकमा भनिएको छ, ‘ दफा ५४ को उपदफा ३ मा रहेका ‘पाँच वर्षसम्म’ भन्ने शब्दहरूको सट्टा ‘दश वर्षसम्म’ भन्ने शब्दहरू राखिएका छन् ।’ यो प्रस्तावसहितको विधेयक प्रतिनिधि सभाबाट पारित भएको हो । पारित विधेयक अनुसार नविकरण गर्दा पनि दश वर्षका लागि निवकरण हुनेछ। यो विधेयक अघिल्लो सरकारको पालामा तत्कालीन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ल्याएका थिए ।

२६ वैशाख २०८० मा यो विधेयक प्रतिनिधि सभामा दर्ता भएको थियो । दफाबार छलफलका लागि प्रतिनिधि सभाले विषयगत समितिमा २९ भदौ २०८० मा पठाइएको थियो । समितिबाट पास भएर सभामा १४ वैशाख २०८१ मा पुगेको थियो । मंगलबार प्रतिनिधि सभाले पारित गरेको छ। अब यो विधेयक राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभाले पारित गरेपछि पुनः प्रतिनिधि सभामा आउँछ । सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनको रुपमा लागू हुनेछ ।

काठमाडौं । काठमाडौंमा २८ दिनदेखि आन्दोलनरत शिक्षक महासंघ र सरकारबीचको वार्ता बिना निष्कर्ष सकिएको छ। मंगलबार अबेर रातिसम्म सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको वार्ता सहमति बिनै टुंगिएको हो ।

शिक्षक महासंघले सरकार समक्ष ९ बुँदे प्रस्ताव पेश गरेको छ । उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट पास भएमा शिक्षक महासंघले आन्दोलनको शैली फेर्ने बताएको छ । ‘हामी सहमतिको नजिक पुगेका छौ । भोलि बिहान महासंघको बैठक बसेर आन्दोलनको मोडालिटीबारे निर्णय गर्छौं,’ महासंघ महासचिव तुलाबहादुर थापाले भने, ‘हाम्रो मागहरू ९ बुँदामा पेश गरेका छौं । वार्ता भोलि टुंगो लाग्छ ।’

उनका अनुसार कक्षा १२ को परीक्षा तोकिएकै समयमा हुनेछ । लामो समय सार्वजनिक शिक्षा प्रभावित भएपछि सरकारले माग सम्बोधनका लागि केही तदारुकता देखाए पनि शिक्षकको अडानका कारण सहमति हुन सकेको छैन । यसअघि निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले यिनै विषय समावेश गरेर ७ बुँदे तयार गरेकी थिइन् । जसको लागि सरकारको ८ अर्ब रुपैयाँ खर्च हुने थियो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासंघसँग जारी वार्ता सकारात्मक दिशामा अघि बढेको बताएका छन् । शिक्षकसँगको वार्ता सम्भव भएसम्म छिटो टुङ्गो लगाउन लागिएको पनि उनले मङ्गलबार रातिको वार्तापछि मन्त्रालयमै सञ्चारकर्मीलाई जानकारी दिएका हुन् ।

वार्तामा शिक्षक पनि सकारात्मक रुपमा प्रस्तुत भएको जनइएको छ । शिक्षामन्त्री रघुजी पन्त र महासंघका पदाधिकारीबीचको वार्ता मंगलबार राति ८ बजेदेखि साढे १० बजेसम्म चलेको थियो । वार्तामा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी भएका थिए ।

साथै महासंघका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वमा शिक्षकहरूको टोली वार्तामा सहभागी भएको जनाइएको छ । सरकार र आन्दोलनरत शिक्षक महासंघबीच सोमबार भएको वार्ता सकारात्मक रुपमा अघि बढेकामा आज पुनः वार्ता भएको हो ।

शिक्षक संघ संगठनहरूले विभिन्न माग राखी गत चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् । जसका कारण देशभरका सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८२ को सुरुदेखि नै पठनपाठन प्रभावित भएको छ ।

यी हुन् ९ बुँदेमा रहेका विषय

–विद्यालय कर्मचारी र ईसीडीका शिक्षकको तलब
–सामाजिक सुरक्षा कोष
–दुर्गम भत्ता
–ग्रेड समायोजन
–मर्यादा क्रम
–अस्पतालमा शिक्षकको उपचारमा छुटको व्यवस्था
–निमावि प्रथम र मावि द्वितीयबीच तलबमा समानता बनाउने ।
–राहत शिक्षक लगायत ।

काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीबीच आज (बुधबार) एकता घोषणा हुँदैछ। दुवै पार्टी एकताका लागि करिब दुई वर्षदेखि प्रयासरत थिए। दुई दलको यसअघिको सहमति अनुसार आज दिउँसो ११ बजे एकीकरण भएको घोषणा गर्न लागिएको हो ।

पार्टी एकीकरण कार्यक्रम कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा आयोजना गरिएको छ। कार्यक्रममा पार्टीका सबै तह र संघ–संगठनलाई उपस्थितिका लागि अनुरोध गरिएको छ। यसअघि दुई पार्टीबीचमा कार्यगत एकताका लागि मोर्चा समेत बनेको थियो । अन्ततः दुवै पार्टीबीच एकता हुने निश्चित भएको हो।

नयाँ बन्ने पार्टीको कार्यकारी अध्यक्षमा राउत रहने छन् भने संरक्षकमा रेशम चौधरी र सहअध्यक्षमा रञ्जिता श्रेष्ठ रहने सहमति भएको छ । संरक्षक रेशम चौधरी नयाँ पार्टीमा पनि संरक्षककै भूमिकामा रहने सहमति भएको छ वरीयतामा भने उनी पहिलो स्थानमा हुनेछन् । त्यसपछि सीके र श्रेष्ठ रहने सहमति भएको छ ।

पार्टीको नाम नागरिक जनमत रहनेछ । केन्द्रीय सदस्यहरू आधा–आधा राख्ने सहमति भएको बताइएको छ । पार्टी एकता भएपछि संघीय संसदमा नागरिक जनमत पार्टीको १० सिट हुनेछ । हाल जनमत पार्टीको ६ र नागरिक उन्मुक्ति पार्टीको ४ सिट रहेको छ ।

नेपाल राष्ट्र बैङ्कले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ १३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७३ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १५४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८२ रुपैयाँ २५ पैसा र बिक्रीदर १८३ रुपैयाँ ०५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६४ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ १२ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिदर ९८ रुपैयाँ ३० पैसा र बिक्रीदर ९८ रुपैयाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ९२ पैसा र बिक्रीदर १०४ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ ५५ पैसा र बिक्रीदर नौ रुपैयाँ ५९ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८ रुपैयाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ २९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५१ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०७ पैसा र बिक्रीदर चार रुपैयाँ ०९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३७ रुपैयाँ २२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ४८ पैसा र बिक्रीदर नौ रुपैयाँ ५२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ १२ पैसा र बिक्रीदर १४ रुपैयाँ १८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ७६ पैसा र बिक्रीदर २० रुपैयाँ ८५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७ रुपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ५१ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ७१ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रुयैयाँ ५९ पैसा र बिक्रीदर ३५५ रुपैयाँ १५ पैसा रहेको छ ।

भारतीय मुद्रा एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।