
काठमाडौं । सरकारले गभर्नर सिफारिस समिति पुनर्गठन गरेको छ। आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिस समिति पुनर्गठन गरेको हो ।
यसअघि समितिमा रहेका दुई सदस्यले राजीनामा दिएका थिए। ती दुई सदस्यको स्थानमा डा. पोषराज पाण्डे र निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई सदस्य राखिएको सरकारका प्रवक्ता पृथ्बी सुब्बा गुरुङले जानकारी दिए। यसअघि पूर्वगभर्नर विजयनाथ भट्टराई र विश्व पौडेल सदस्य थिए । उनीहरु दुवै जनाले राजीनामा दिएका कारण दुई सदस्य थप गरिएको हो। विश्व पौडेलले समितिबाट राजीनामा दिएपछि एक स्थान रिक्त थियो।
गभर्नरका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गभर्नरका लागि पौडेलको नाम अघि सारेको चर्चा भएलगत्तै उनले सिफारिस समितिबाट राजीनामा दिएका थिए। राष्ट्र बैंकबाट महाप्रसाद अधिकारी बाहिरिएसँगै लामो समयदेखि गभर्नर नियुक्त हुन सकेको छैन।
– ताप्लेजुङमा रहेको प्रसिद्ध तिर्थस्थल पाथीभरामा केबलकार निर्माणको बाटो खुलेको छ ।
पाथीभरामा बनाउन लागिएको केबलकारले वातावरण विनास गर्ने र लिम्बु जातिहरुको मुन्धुमी सभ्यता संकटमा पर्ने भन्दै त्यसलाई रोक्न माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि निर्माणको बाटो खुलेको हो ।
याम बहादुर लिम्बु समेत ८ जनाले पाथीभरा देवी दर्शन केवलकार प्रा.लि लगायतलाई विपक्षी कायम गरी २०८१ चैत ७ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
रिटमा यसअघि सुनुवाइ गर्दै न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले केबलकार निर्माण तत्कालका लागि अघि नबढाउनू भनी विपक्षीहरूका नाममा अल्पकालीन आदेश जारी गरेको थियो ।
सोही मुद्दामा आज सुनुवाइ गर्दै न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले यसअघिको अल्पकालीन आदेशलाई निरन्तरता नदिने आदेश गरेसँगै केबलकार निर्माणको बाटो खुलेको हो ।
उक्त मुद्दामा रिट निवेदकको तर्फबाट अधिवक्ता प्रेमचन्द्र राई, लबन न्यौपाने, पदम बहादुर श्रेष्ठ र बिनोदमणि भट्टराईले बहस गरेका थिए । यसैगरी विपक्षी पाथीभरा देवी दर्शन केबलकार प्रा.लि.को तर्फबाट बरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ, सतिशकृष्ण खरेल लगायतले बहस गरेका थिए ।
पाथीभरामा केबलकार निर्माणले मुन्धुमी संस्कृती माथि प्रहार गरेको भन्दै स्थानीय लिम्बु समुदाय आन्दोलित बनेका थिए । आन्दोलनका क्रमका प्रहरीले बल प्रयोग गर्दा कैयन घाइते समेत भएका थिए ।
काठमाडौं । नेपाल सरकारले लिएको ऋण भार २४ खर्ब ३४ अर्ब १० करोड रहेको छ ।
महालेखा परीक्षकको कार्यालयले आज (बुधबार) राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ६२औं वार्षिक प्रतिवेदनमा २०८१ आषाढ मसान्तसम्म नेपाल सरकारको कुल तिर्न बाँकी ऋण २४ खर्ब ३४ अर्ब १० करोड रहेको उल्लेख गरेको छ ।
उक्त ऋणमध्ये बाह्य ऋण १२ खर्ब ५३ अर्ब ५० करोड (५१.४९ प्रतिशत) र आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड (४८.५१ प्रतिशत) रहेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट प्राप्त विवरणअनुसार आव २०८०.८१ मा आन्तरिक ऋणको ब्याज ७२ अर्ब ७७ करोड र वैदेशिक ऋणको ब्याज ९ अर्ब २६ करोड समेत ८२ अर्ब ३ करोड भुक्तानी भएको प्रतिवेदनमा उल्लेख छ ।
काठमाडौँ । ट्राफिक प्रहरीका इन्स्पेक्टरबाट जनपद प्रहरीका एक सहायक हवल्दार कुटिएका छन् ।
काठमाडौँको नागढुंगामा ट्राफिकका एक इन्स्पेक्टरले सहायक हवल्दारलाई गालामा चड्कन हानेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
भिडियो सार्वजनिक भएपछि प्रहरीले आन्तरिक रूपमा छानबिन अघि बढाएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले घटनाबारे बुझ्ने काम भइरहेको बताएका छन्।
गिरीका अनुसार भिडियो आजको नै भएको पुष्टि भएको छ । कुट्ने र कुटाइ खाने दुवै प्रहरी अहिले पनि नागढुंगामै रहेकाले उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेशकुमार बर्तौलाले साउदी अरबमा रोजगारदाता कम्पनी बन्द भएर अलपत्र परेका नेपाली कामदारको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। आकस्मिक समयमा उनले साउदी अरबको जुवेल सहरमा सेन्ड्रन इन्टरनेसनल कम्पनी लिमिटेड बन्द भएपछि त्यहाँ कार्यरत ४६९ नेपाली कामदार अलपत्र परेको बताए। उनले तत्काल उद्धार र सहयोग गर्न सरकारसँग माग गरे।
‘रोजगारदाता कम्पनी बन्द हुँदा कामविहीन भएका ४६९ मध्ये २२६ जनाले नेपाल फर्कन चाहेका छन्। त्यहाँको दूतावासमा सम्पर्क गरेर उनीहरू नेपाल फर्कन चाहेको बताएका छन्,’ सांसद बर्तौलाले भने, ‘कामविहीन भएकामध्ये २४३ जनाले साउदी अरबमै अन्य कम्पनीमा काम गर्ने वातावरण मिलाउन आग्रह गरेका छन् ।’ कम्पनी बन्द भएपछि दुईदेखि नौ महिनासम्मको तलब नेपाली कामदारले नपाएको उनले बताए । तलबका लागि कम्पनी व्यवस्थापनलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएको उनले सदनलाई जानकारी गराए ।
‘कामविहीन भए पनि ती नेपाली अहिले शिविरमा बसिरहेका छन् । त्यहाँ खानाको समस्या छ, बिरामी परेका छन्, स्वास्थ्य उपचार पाएका छैनन्,’ सांसद बर्तौलाले भने, ‘नेपाल फर्कन चाहनेले भिसा बन्द भएकाले स्वदेश आउन पाएका छैनन् । छिटो उद्धार गरी आवश्यक सहयोग र सहजीकरण गर्न म सरकारसँग आग्रह गर्छु ।’
जीवनभर मेहनत गरेर गुजारा गर्दै आएका मोरङ जिल्लाको कानेपोखरी गाउँपालिका–४ निवासी ६२ वर्षीय धन बहादुर डाँगी पछिल्ला केही महिनादेखि हाइड्रोसिल रोगले पीडित थिए। तर अत्यन्तै कमजोर आर्थिक अवस्थाका कारण उनी उपचार गर्न असमर्थ थिए र पीडामा मृत्यु कुरेर बस्न बाध्य थिए।
यस दुखद अवस्थाको जानकारी पाएपछि स्थानीय समाजसेवी कोपिला कार्की ले मानवीय सम्वेदना प्रकट गर्दै यो विषय नेपाली कांग्रेसका युवा नेता तथा संघीय सांसद डा. सुनिल शर्मा समक्ष पुर्याइन्।
खबर प्राप्त गर्दैमा डा. शर्माले तुरुन्तै नोबेल मेडिकल कलेजमा सम्पर्क गरी आवश्यक निर्देशन दिए। उनको पहलमा तुरुन्तै स्वास्थ्यकर्मी टोलीसहितको एम्बुलेन्स कानेपोखरी पठाइयो, जहाँबाट बिरामी डाँगीलाई अस्पताल पुर्याइयो।
हाल धन बहादुर डाँगीको नोबेल मेडिकल कलेजमा निःशुल्क उपचार भैरहेको छ। चिकित्सकहरूका अनुसार उनको अवस्था सुधारोन्मुख छ र छिट्टै स्वास्थ्यलाभ हुने अपेक्षा गरिएको छ।
डा. सुनिल शर्मा प्रतिनिधिसभाका ती विरलै भेटिने सांसदमध्ये पर्छन् जसले अहिलेसम्म तलबभत्ता नलिने निर्णय गर्दै आएका छन्। उनले सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन्। यस्ता शिविरबाट उपचार सम्भव नभएका बिरामीहरूलाई उनी काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा निःशुल्क उपचार गराउने व्यवस्था मिलाउने गर्छन्।
उनको पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका नागरिकका लागि ५० शय्याको निःशुल्क क्याबिन समेत स्थापना गरिएको छ। पार्टीको पहिचान नहेरी सबै नेपालीलाई समान सेवा दिने उहाँको प्रतिबद्धता आज पनि उदाहरणीय छ।
हालै उनले बेलबारीमा एम्बुलेन्स हस्तान्तरण गरेका छन् भने निजी लगानीमा देशका विभिन्न सात स्थानमा एम्बुलेन्स प्रदान गरिसकेका छन्।
डा. शर्माले देखाएको मानवीयताको यो अनुकरणीय उदाहरणले “नेता भनेको जनताको साँचो अभिभावक हो” भन्ने सन्देश दिएको छ। यस कार्यले समाजमा सकारात्मक ऊर्जा फैलाएको छ र कठिन अवस्थामा रहेका एक वृद्ध नागरिकको जीवनमा नयाँ आशाको किरण बाँचेको छ।
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) सँगको सम्झौता तोडेका छन्। आज (बुधबार) सामाजिक सञ्जालमार्फत आफू सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने निर्णय गरेको बताएका छन्। ‘धेरै सोच विचार पछि, मैले यस पटकको लागि नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौताअन्तर्गत निरन्तरता नदिने निर्णय गरेको छु । मेरो यो कदम क्रिकेट वा मेरो राष्ट्रबाट एक कदम टाढा जान खोजेको होइन–यो व्यक्तिगत र व्यावसायिक रूपमा विकास गर्ने दिशामा एक कदम हो,’ सन्दीपले लेखेका छन्।
आफूलाई निरन्तर सहयोग गरेको भन्दै उनले क्यानप्रति आभार व्यक्त गरेका छन् । नेपाल क्रिकेर र आफ्नो क्रिकेट विकासमा क्यानको महत्वपूर्ण भूमिका रहेको पनि सन्दीपले बताएका छन्। ‘जीवन भनेको विकासशील बाटो र जिम्मेवारीहरुले भरिएको यात्रा हो । अझै धेरै कुराहरु सिक्न बाँकी छ । धेरै समय बाँकी छ। धेरै गर्न बाँकी छ । म क्रिकेट र त्यसपछिको यात्राका लागि उत्साहित छु’, सन्दीपले लेखेका छन् । सन्दीपले भनेका छन्, ‘कहिलेकहिँ छनोटहरु उद्देश्य र विकासको ठाउँबाट गरिन् ।’
नयाँ उर्जा र खुला हृदयका साथ आफ्नो यात्रा जारी रहेको भन्दै सन्दीपले आफूलाई विश्वास गरेकोमा धन्यवाद दिएका छन्। नेपाल क्रिकेट संघले पछिल्लो समय स्कटल्यान्डमा हुने लिग २ का लागि टोली घोषणा गरेको छ। र उक्त टोलीमा लामिछाने पनि परेका छन्। क्यानले सन्दीपसहित ३३ पुरुष र १९ महिला क्रिकेटरलाई केन्द्रीय सम्झौतामा राखेको थियो । सम्झौताअनुसार सन्दीप ‘ए’ ग्रेडमा थिए । उनले मासिक एक लाख पाउँथे। उनले निर्णय सम्झौता जुन महिनामा सकिनेछ।
मोरङ । गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षा मुलुकको पहिलो आवश्यकता भएकाले शान्ति सुरक्षा कायम गर्ने विषयमा कुनै पनि सम्झौता मान्य नहुने बताएका छन्। बुधबार विराटनगरमा कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री लेखकले सामान्य जनजीवन, विकास निर्माण र आर्थिक गतिविधि शान्ति सुरक्षाविना सम्भव नहुने उल्लेख गर्दै सबै सुरक्षा निकायहरूलाई जिम्मेवारीपूर्वक र अनुशासित रूपमा कार्य गर्न निर्देशन दिए।
उनले लोकतन्त्र भनेको अनुशासनमा आधारित व्यवस्था भएको बताउँदै अराजकता कुनै पनि हालतमा स्वीकार्य नहुने बताए । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान परिमार्जन र परिष्करण गर्न सकिने भए पनि संविधान र प्रणालीविरोधी गतिविधि सह्य नहुने उनले बताए।
गृहमन्त्री लेखकले शान्ति सुरक्षा कायम गर्ने सवालमा कसैसँग सम्झौता नगर्ने स्पष्ट गर्दै अपराधिक गतिविधिमा संलग्न जोसुकै भए पनि तिनलाई कानुनी दायरामा ल्याई दण्डित गर्न सुरक्षा निकायलाई निर्देशन दिए । मुलुकको संविधान र शासन व्यवस्था विरोधी गतिविधि सैह्य नहुने उल्लेख गर्दै उनले तोकिएको कानुनी व्यवस्था कार्यान्वयन गर्नेक्रममा सेवाग्राही जनताको काममा ढिलाइ गर्ने छुट राष्ट्रसेवक कर्मचारीलाई नभएको बताए।
त्यस्तै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पछिल्लो समय विभिन्न नाममा देखिएको सुरक्षा चुनौतीको सामना सामूहिक रूपमा गर्नुपर्ने आवश्यकता रहेको बताए। लागुऔषध दुव्र्यसन,सवारी दुर्घटना, साइबर अपराध र सीमा तस्करी नियन्त्रणमा सुरक्षा निकायहरू अझ सक्रिय बन्नुपर्ने उनले बताए। कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले कोशी प्रदेशको शान्ति सुरक्षा थप सुदृढ बनाउन गोष्ठी आयोजना गरिएको जानकारी दिए।
काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि ब्याजदरमा खासै फेरबदल गरेका छैनन्। कर्जायोग्य रकम तरलता पर्याप्त भएको हुँदा बैंकहरुले पुरानै ब्याज दरलाई जेठमा पनि निरन्तरता दिएका हुन्। जेठ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन्। जेठ १ गतेदेखि लागू हुनेगरी बुधबार बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन्।
बैशाखकै ब्याजदरलाई निरन्तरता दिनेमा १५ वटा बाणिज्य बैंक छन् भने ५ वटा वाणिज्य बैंकले ब्याजदरमा सामान्य हेरफेर गरेका छन् । जसमा नेपाल इन्भेस्टमेन्ट मेघा बैंकले व्यक्तिगत निक्षेपतर्फ १ प्रतिशतले ब्याज घटाउँदा कुमारी बैंक र सानिमा बैंकले ०.२५ र ०.०१ प्रतिशतले ब्याज घटाएका छन्।
यता एभरेष्ट बैंक र सानिमा बैंकले भने वैशाखको तुलनामा जेठमा न्युन प्रतिशतले ब्याजदर बढाएका छन्। जेठका लागि एभरेष्ट बैंकले वैशाखको तुलनामा ०.०३ प्रतिशत र नेपाल बैंकले ०.३ अंकले ब्याज बढाएका छन्। वाणिज्य बैंकहरुले औसतमा जेठका लागि निक्षेपतर्फको ब्याजदर ५.९ प्रतिशतमा राखेका छन् भने संस्थागत तर्फ ४.३९ प्रतिशतमा राखेका छन्।

काठमाडौं महानगरपालिका–२४ मखन गल्लीका दुुई घरमा लागेको आगो नियन्त्रणमा आएको छ ।
ग्यास चुहिएर भएको आगलागी भर्खरै नियन्त्रणमा आएको हो । आगलागीमा परेर एक महिलाको मृत्यु भएको छ भने लाखौँको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। ग्यास चुहिएर भएको आगलागी करिब तीन घण्टापछि नियन्त्रणमा आएको हो ।
आगलागीमा भएको क्षतिको विवरण संकलन भइरहेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराका अनुसार दयाराम श्रेष्ठको चारतले घरमा ग्यास चुहिएर आगलागी हुँदा एक वृद्ध महिलाको मृत्यु भएको छ । शव परीक्षणका लागि वीर अस्पताल लगिएको र सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। ६ वटा बारुणयन्त्रसँगै नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको सक्रियतामा आगलागी नियन्त्रणमा आएको हो।





