२०८३ बैशाख १७ गते बिहीबार
२०८३ बैशाख १७ गते बिहीबार

रसुवा । चिनियाँ पक्षले उपकरणको प्रयोग गरी ल्हेन्दे खोलामा आएको बाढीले थुनिएको केरूङ खोलाको पानी खोल्न सुरु गरेको छ । ल्हेन्दे खोलाको बाढीले केरूङतर्फबाट आएको खोलाको बहाव रोकिदिएपछि सीमापारी तिब्बतर्फ जमेको पानी उपकरणका सहायताले खोल्न सुरु गरेको हो । स्थानीय सीमासुरक्षा अधिकारीका अनुसार ल्हेन्दे र कुरुङ खोलाको दोभानमा ठूलाठूला ढुङ्गा, रुख तथा काठका मुढा थुप्रिएपछि चीनतर्फको सडकमा पानी जम्न गई ३० भन्दा बढी कन्टेनर डुबेका छन् ।

यही असार २३ गते केरूङबाट सामान लिइ फर्केका ती कन्टेनर समय अभावका कारण नेपालतर्फ प्रवेश गर्न नपाएपछि तिब्बतर्फ नै थन्किएका ती कन्टेनर सोही दिन राति आएको बाढीका कारण डुकानमा परेका हुन् । स्थानीय केरुङ खोलामाथिको राजमार्गमा लामबद्ध राखिएका कन्टेनरसहित आसपासमा रहेका केही घर समेत डुबानमा परेको सीमासुरक्षा अधिकारीहरूले जनाएका छन् ।
नेपाततर्फ रसुवा भन्सार कार्यालय हाताभित्र जाँचपास भएका तर चालक अभावका कारण काठमाडौँ लैजान नसकिएका ७० वटा विद्युतीय कार, सिनो कम्पनीको छ वटा ठूला ट्रक र चालु अवस्थामा रहेका २४ वटा नेपाली कन्टेनर बगाएको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराइले जानकारी दिए । यसैगरी, क्षतिग्रस्त अवस्थामा रहेका केही सवारीसाधनलाई अहिले सुरक्षित स्थानमा सार्न लागेको उनले बताए ।

असार २४ गते एक्कासी आएको ल्हेन्दे खोलाको बाढीले छ जना चिनियाँ, तीन जना नेपाल प्रहरी र पाँच नेपाली कामदारलाई बगाएको रसुवागढीस्थित वरिष्ठ चिनियाँ प्राविधिक वाङले जानकारी दिए । यसैगरी, रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दु्रवप्रसाद अधिकारीका अनुसार एक चिनियाँ कम्पनीमा काम गर्नेसहित छ जना नेपाली सवारी चालकसमेत गरी जम्मा २० जनालाई बाढीले बगाएको छ । त्यस्तै, बाढीले रसुवागढीस्थित सुक्खा बन्दरगाह निर्माणमा संलग्न तिब्बत फुली कन्स्ट्रक्सको टिफर एक, सिमेन्ट घोल्ने मिक्स्चर एक, स्काभेटर एक, रोलार एक र हाइलक्स जिप एक समेत बगाएको छ । उनले भने, ‘खोलामा एक्कासी बाढी आए छ, नजिकै रहेका सुरक्षाकर्मीले सुरक्षित स्थानतर्फ जान भन्दै कराउन थाले, हामी अतालिएर भाग्यौँ, भाग्न नभ्याउने केही साथीलाई बाढीले बगायो, हामी भने उम्केर घट्टेखोलातर्फ पुगी ज्यान जोगाउन सफल भयौँ ।’

यसैगरी गोसाइँकुण्ड गापा–२ का अध्यक्ष कामी छिरिङ तामाङले भने, ‘बाढी आएको सूचना पाउनासाथ भन्सार यार्डका मानिसको याद आयो । डिलमा बसेर उनीहरूलाई भाग भन्दै सतर्क गरायौँ । त्यसपछि जोखिममा रहेका आफ्ना वडावासीलाई सजक रहन अनुरोध गर्‍यौँ, त्यै पनि अकल्पनीय बाढीका कारण ठूलो धनजनको क्षति हुनपुग्यो, यहाँ अहिले हामी दुःखको अवस्थमा छौँ ।’ अध्यक्ष तामाङले समग्र क्षतिको यकीन विवरण तयार गरी बाढीपीडितलाई राहत दिन तथा काम विशेषले हाल केरुङमा रहेका नेपाली दाजुभाइलाई सकुशल घर फर्काउने वातावरण तयार गर्न सरकारको ध्यानाकर्षण गरे ।

स्थानीय पुरूषोत्तम पौडेलले ‘मानसरोवर–कैलाश’ दर्शन गरी फर्केका यात्रुलाई रसुवागढीस्थित मितेरी पुल बगाएपछि तातोपानी नाका हुँदै नपालतर्फ आउने व्यवस्था मिलाइएको बताए । यसैगरी मानसरोवर कैलाश यात्रा सम्पन्न गरी नेपालतर्फ प्रवेश गरिसकेका यात्रुलाई भने यही असार २४ र २५ गते हेलिकप्टरमार्फत गन्तव्यस्थानतर्फ पुर्‍याइएको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए । उनका अनुसार अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बद्ध सुरक्षाकर्मी खोज तथा उद्धार कार्यमा जुटेका र अशक्त एवं असहायको सहयोगमा तैनाथ रहेका छन् ।
बाढीका कारण स्याफ्रुबेंसीदेखि रसुवागढीसम्मका अधिकांश सडकखण्ड ध्वस्त भएपछि पूर्णरुपमा सडक अवरुद्ध भई त्यसक्षेत्रको जनजीवन सुनसान रहेको छ । वडाअध्यक्ष तामाङका अनुसार अहिले रसुवागढी आसपासका क्षेत्रमा बाढीबाट पुगेको क्षतिको विवरण लिने काम सुरु भएको तथा स्थानीय बासिन्दा एवं कर्मचारी भयभित अवस्थामा रहेको अवस्था छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई बर्खास्त गर्ने तयारी गरेका छन् । कर्मचारी सरुवा रोक्न र नियुक्ति दिलाउन ७८ लाख घुसको ‘डिल’ गरेको घटना बाहिरिएपछि उनलाई एक्सनको तयारी गरिएको बालुवाटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले झापाको भद्रपुरबाट काठमाडौं फर्किए लगत्तै कुराकानी गर्ने भएका छन् । मन्त्री गुप्ताले मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख घुस लिएको दाबी गर्दै घुस रकम राखिएका दुई झोला, नोट नम्बर र नोटका बन्डलको फोटोसहित अख्तियारमा उजुरी परेको छ ।

त्यस्तै, मन्त्री गुप्ताले भूमि आयोग कास्कीको अध्यक्ष नियुक्त गरिदिन बिचौलियासँग २५ लाख घुस डिल गरेको छुट्टै अडियो पनि सार्वजनिक भएको छ । उनले भूमि व्यवस्थामन्त्री अधिकारीको पनि नाम लिएका छन् ।

 

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कर्मचारी सरुवा रोक्न र नियुक्ति दिलाउन गरेको ‘घुस डिल’ बारे प्रधानमन्त्रीको जवाफ मागेको छ । माओवादी केन्द्रकी सांसद दुर्गा राईले आज (आइतबार) प्रतिनिधिसभामा बोल्दै मन्त्रीले घुसको लिड गरेको अडियो सार्वजनिक भएकोबारे सञ्चारमाध्यममा समाचार आइरहेको बताइन् । ‘घुस डिलको विषयमा सार्वजनिक समाचार प्रशारण भइरहँदा चुप लागेर बस्ने हो ?,’ उनले भनिन्, ‘मन्त्रीजीको घुस डिल बाहिरिएपछि सरकारले एक्सन लिनुपर्छ कि पर्दैन् ? यस्तो प्रकारका मन्त्रीहरूले नैतिकता देखाउने विषय त टाढाको बन्दैछ ।’

प्रधानमन्त्रीले घुस आफूले पनि लिन्नँ र अरुलाई पनि लिन दिन्नँ भनेर नपुग्ने भन्दै सांसद राईले प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे संसद्लाई जवाफ दिनुपर्ने भन्दै रुलिङको माग गरिन् । ‘प्रधानमन्त्रीले म घुस पनि लिन्नँ, अरुलाई पनि लिन दिन्नँ टुक्काले पुग्छ कि पुग्दैन ?,’ उनको भनाइ छ, ‘सम्मानीय प्रधानमन्त्रीले यो विषयमा के हो भन्ने संसद्‍मा प्रष्ट राख्नका लागि सभामुखबाट रुलिङको माग गर्दछु ।’

‘अनियमितता ढाकछोप गर्नु सरकारको नियमित कार्य जस्तै’
नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले अनियमितताको ढाकछोप गर्नु सरकारको नियमित कार्य जस्तै भएको आरोप लगाएका छन् । प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले वर्तमान सरकार ठूलो हुंकारसहित गठन भएको भन्दै एक वर्ष समेत पूरा गरिसकेको अवस्थामा संविधान संशोधनको चर्चा त हुनै छोडिसकेको बताए ।

जनसरोकारका विषयहरूमा सरकार बेखबर बन्दै गएको आरोप लगाए । सरकार राज्यका सबै अंगहरूलाई आफ्नो प्रभावमा पारेर आफ्नो स्वेच्छाचारी कदमहरूलाई ढाकछोप र पुष्टि गर्ने कसरत गरिरहेको बताए । सांसद बस्नेतले सरकार विपद्को पूर्व तयारीप्रति बेखबर रहेको आरोप लगाए ।

काठमाडौं- काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याएको छ ।

राष्ट्रिय सभागृहमा भएको नगर सभाको १७ औँ अधिवेशनमा उपमेयर सुनिता डंगोलले २५ अर्ब ७६ करोड ७३ लाख ४१ हजार रुपैयाँको बराबरको अनुमानित बजेट ल्याएको बताएकी हुन् । ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुने गरी उक्त परिमाणको बजेट ल्याएको उनले बताइन् ।

उपप्रमुख सुनिता डंगोलज्यूको बजेट बक्तव्य

बैठकका सभाध्यक्ष काठमाडौँ महानगरपालिकाका प्रमुख श्री बालेन्द्र शाहज्यू, नगरसभाका सदस्यज्यूहरू, बैठकका सचिवज्यू, काठमाडौँ महानगरपालिकाका कर्मचारीमित्रहरू, विभिन्न क्षेत्रको प्रतिनिधित्व गरी नगरसभामा उपस्थित हुनु भएका विशिष्ट महानुभावहरू, सांकेतिक भाषाको माध्यमबाट र अन्य माध्यमबाट यस कार्यक्रमलाई सम्प्रेषण गर्नुहुने संचारकर्मी मित्रहरू, स्वदेश तथा विदेशबाट यस कार्यक्रमको प्रत्यक्ष प्रसारणमा जोडिनु हुने सम्पूर्ण महानुभावहरूमा हार्दिक स्वागत तथा अभिवादन व्यक्त गर्दछु ।

सवैप्रथम यस महत्वपूर्ण अवसरमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापनाको लागि आफ्नो अमूल्य जीवनको आहुती दिनुहुने अमर सहिदहरू प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु ।

आज हामी काठमाडौं महानगरपालिकाको नगर सभाको १७ औँ अधिवेशनको पहिलो बैठकमा उपस्थित भएका छौं । यस बैठकमा अगामी आर्थिक वर्ष २०८२।०८३ को लागि वार्षिक नीति तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयक पेश गरी छलफल गर्ने क्रममा छौं ।

सभाध्यक्षज्यू तथा नगर सभा सदस्यज्यूहरू

अगामी आर्थिक वर्ष २०८२।०८३ को वार्षिक नीति, कार्यक्रम तथा बजेट पेश गर्ने सन्दर्भमा स्थानीय सरकार संचालन ऐनमा भएको समयसिमा भन्दा हामी केही ढिला भएका छौं । विगतका दिनहरूमा हामी विच केही अविश्वास, केही तिता मिठा अनुभव प्रस्तुत भए, आरोप प्रत्यारोप पनि भए सवैकुरा मन्थन भयो समस्यहरू समाधान पनि भए र आज हामी फेरी एक ढिक्का भएर यस गरिमामय सभामा उपस्थित भएकाछौं । समयमै अगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम सभामा पेश गर्न नसकेकोमा मेरो व्यक्तिगत तर्फवाट र सवै नगरसभा सदस्यहरूको तर्फवाट महानगरवासी र सरोकारवाला निकाय समक्ष क्षमा याचना व्यक्त गर्दछौं । ढिलै भए पनि अगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम ल्याउन हामी सवैले महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि यस गरिमामय सभामार्फत यहाँहरूलाई जानकारी गराउन चाहान्छु ।

सभाध्यक्षज्यू तथा नगरसभा सदस्यज्यूहरू,

हाम्रो सहयात्रा ३ वर्ष पुगिसकेको छ । जनताको अपेक्षाहरू धेरै छन, अवका दिनमा हामी महानगरवासीलाई आफ्नो सामथ्र्यले भ्याउनेसम्मको काम गर्ने प्रण यसै सभा मार्फत गर्न चाहान्छु । जसलाई पूरा गर्न आपसमा सहमति, समन्वय र सहअस्तित्वको भावना सहित सहकार्य गरेमा जनताको इच्छा पूरा गर्न सहज हुन्छ भन्ने मैले विश्वमस लिएकी छु ।

हामी काठमाडौंको विकास गर्न आएका निर्वाचित जनप्रतिनिधिहरू हौं, हामी काठमाडौंको मुहार परिवर्तन गर्न अन्य निकाय र सरोकारवाला निकायहरूबीच परस्पर सहकार्य र समन्वयमा कामहरू अगाडि बढाउन चाहन्छौं । यसका लागि हामीले संघ र प्रदेश सरकारसँग सधै सहकार्यको अपेक्षा राखेका छौं ।

सभाध्यक्षज्यू तथा नगर सभा सदस्यज्यूहरू,

काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा गर्दा नेपालको संबिधान, प्रचलित कानून, नगर सभामा प्रस्तुत भएको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम,संघ र प्रदेश सरकारले अबलम्बन गरेका नीति, कार्यक्रम तथा बजेट समेतलाई आधार मानी तयार गरिएको छ । बजेट तर्जुमाका सिलसिलामा प्रमुखज्यू, कार्यपालिका सदस्यज्यूहरू, नगरसभा सदस्यज्यूहरू, बजेट तर्जुमा समिति, स्थानीय राजस्व परामर्श समिति, अन्य बिषयगत समितिहरू, बिभिन्न संघसंस्था, विद्धत वर्ग, नागरिक समुदाय लगायत सबैबाट प्राप्त सुझाब समेतलाई आधार मानिएको छ ।

नेपालको संबिधान जारी भएपश्चात राज्यको शासकीय संरचना ३ तहको सरकारबाट सन्चालित छ । स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार हो । स्थानीय सरकारको रुपमा काठमाडौँ महानगरपालिकाले व्यवस्थापकीय, कार्यकारी र न्यायिक अधिकारको प्रयोग गर्दै आएको छ । यस सम्मानित नगरसभामा बजेट तथा कार्यक्रमको साथै आर्थिक र बिनियोजन विधेयक समेत पेश हुने भएकाले उक्त विधेयकहरूमा आम्दानी तथा खर्चको विषयहरू विस्तृतरुपमा प्रस्तावहरू पेश हुने व्यहोरा यस सभा समक्ष जानकारीको लागि अनुरोध गर्दछु ।

सभाध्यक्षज्यू तथा नगर सभा सदस्यज्यूहरू,

अब म यस गरिमामय सभामा अगामी आर्थिक वर्ष २०८२।०८३ को बजेट प्रस्तुत गर्नु पूर्व चालु आर्थिक वर्षको बजेट कार्यान्वयन सम्वन्धमा संक्षिप्तमा प्रकाश पार्न चाहान्छु ।

नगरसभाको १५ औँ अधिवेशनले संचित कोषमा जम्मा हुने रकमवाट आर्थिक वर्ष २०८१।०८२ का लागि रु. २४ अरब ९० करोड ६३ लाख २५ हजार रुपैयाँको बजेट पारित गरेको थियो । कुल बजेटमा परिवर्तन नहुने गरी २०८२ पुष १४ गते वसेको नगरसभाको १६ औँ अधिवेसनले केही योजनाहरूलाई शंसोधन समेत गरेको थियो । बजेट कार्यान्वयनका लागि आन्तरिक तथा अन्य निकायवाट प्राप्त हुने आम्दानीमा रु.१२ अरब ९० करोड ६३ लाख रुपैयाँ, र वैक मौज्दात १२ अरब रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको बजेट कार्यान्वयनतर्फ हेर्दा कुल बजेट रु.२४ अरब ९० करोड ६३ लाख २५ हजार रुपैयाँमा असार २५ गतेसम्मको कुल खर्च जम्मा रु.१३ अरब ३ करोड ७४ लाख ६० हजार रुपैयाँ रहेको छ । जुन कुल बजेटको ५२.१३ प्रतिशत हुन आँउछ । त्यसैगरी पूँजीगत तर्फ खर्च विश्लेषण गर्दा रु.१५ अरब ६ करोड ५६ लाख १ हजार रुपैयाँ विनियोजन भएकोमा जम्मा खर्च रु.६ अरब ७३ करोड ७४ लाख ८० हजार रुपैयाँ रहेको छ । जुन कुल बजेटको ४४.७२ प्रतिशत हुन आउँछ । चालू तर्फ रु.९ अरब ८२ करोड २० लाख ५० हजार रुपैयाँ विनियोजन भएकोमा रु.६ अरब २२ करोड ९९ लाख ८० हजार रुपैयाँ खर्च भएको छ । जुन कुल बजेटको ६३.४२ प्रतिशत हो ।

क्षेत्रगतरुपमा बजेट विश्लेषण गर्दा आर्थिक विकास क्षेत्रतर्फ कुल रु.७४ करोड ३९ लाख ८१ हजार विनियोजन भएकोमा त्यसको ३७.६९ प्रतिशत खर्च भएको छ । त्यसैगरी, सामाजिक क्षेत्रतर्फ कुल विनियोजन रकम रु.५ अरव ४२ करोड ३० लाख ४८ हजार रुपैयाँमा ४७.९२ प्रतिशत खर्च भएको देखिएको छ । पूर्वाधार क्षेत्रमा कुल विनियोजन रकम रु.११ अरव ३९ करोड ३९ लाख १७ हजार रुपैयाँमा ५२.५२ प्रतिशत रकम खर्च भएको देखिएको छ । त्यसैगरी सुशासन तथा अन्तर सम्वन्धित क्षेत्रमा कुल विनियोजन भएको रकम रु.३ अरव २४ करोड ५२ लाख ५१ हजार रुपैयाँमा त्यसको २८.८ प्रतिशत रकम खर्च भएको छ भने कार्यालय सन्चालन तथा प्रशासनिक क्षेत्र तर्फ कुल विनियोजन भएको रकम रु.४ अरव २० करोड २४ लाख ५२ हजार रुपैयाँमा त्यसको ७७.०२ प्रतिशत रकम खर्च भएको छ ।

राजश्व आम्दानीतर्फ चालू आर्थिक वर्षमा रु.१२ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँको लक्ष्य निर्धारण गरिएको थियो । त्यसमध्ये आन्तरिक राजस्व असुलीको लक्ष्य रु.८ अरब ३ करोड ५७ लाख रुपैयाँ रहेको छ । मिति २०८२ असार २५ गतेसम्म कुल रु.१० अरब ९ करोड ८५ लाख १५ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

जसमध्ये आन्तरिक आय अन्तर्गत रु.५ अरब ४९ करोड ८८ लाख १९ हजार रुपैयाँँ रहेको छ । समग्र प्रतिशतमा हेर्ने हो भने कुल आम्दानीको लक्ष्य अनुसार प्रगति ७८.२४ प्रतिशत हुन आउँछ । आन्तरिकतर्फ कुल लक्ष्यको ६८.४३ प्रतिशत प्रगति भएको देखिन्छ । चालू आर्थिक वर्षमा संघ, प्रदेशवाट राजश्व वाँडफाँडवाट लक्ष्यको ९०.६४ प्रतिशत राजश्व प्राप्त भएको छ भने, आन्तरिक अनुदान (समानिकरण र शसर्त) मा लक्ष्यको ९८.४६ प्रतिशत रकम अनुदान मार्फत प्राप्त भएको छ ।

सभाध्यक्षज्यू तथा नगर सभा सदस्यज्यूहरू,

अब म काठमाडौं महानगरपालिकाको अगामी आर्थिक वर्ष २०८२।०८३ को लागि बजेट पेश गर्न चाहन्छु । आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तर्जुमा गर्दा बजेटका परिलक्ष्ति उद्देश्य हासिल गर्न मैले देहाय अनुसारका क्षेत्रगत र कार्यक्रमगत प्राथमिकता निर्धारण गरेकी छु :

१. उपलब्ध श्रोत,सूचना र मानब संसाधनको उच्चतम परिचालन गर्दै विकासको गतिलाई तिब्रता दिने बिषयहरू,

२. स्थानीय स्रोत र साधनलाई सन्तुलित र समन्यायिक ढंगले परिचालन गरी आर्थिक असमानता र गरिवी न्यूनिकरण गर्ने विषयहरू,

३. सामाजिक, आर्थिक, भौतिक पूर्वाधार विकासमार्फत समुन्नत र समाजबाद उन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माणमा महानगरको आर्थिक गतिविधिहरू मार्फत योगदान गर्ने विषयहरू,

४. लैङ्गिक समानता र सामाजिक समावेशीकरणलाई टेवा पुग्ने कार्यक्रम मार्फत समतामूलक समाज निर्माण गर्ने विषयहरू,

५. स्थानीय भाषा, संस्कृति तथा सस्पदाहरूको जगेर्ना र सामाजिक सद्भाव तथा एकता अभिवृद्धिमा सघाउ पु–याउने बिषयहरू र

६. बढ्दो बेरोजगार दरलाई न्यूनिकरण गर्न स्वदेशमै सिप तथा तालिम दिई स्वरोजगार वनाई विदेशिने दर घटाउने विषयहरू,

७. खाद्य गुणस्तरलाई प्राथमिकता दिई गुणस्तरीय वस्तु तथा सेवा जनतालाई उपलब्ध गराउने विषयहरू ।

अगामी आर्थिक वर्षको वार्षिक नीति तथा बजेट कार्यक्रम तर्जुमाका क्रममा विभिन्न दस्तावेजहरूको आधार लिइएको छ । जस्मा नेपालको संविधान, नेपालको सोहै योजना, संघ तथा प्रदेश सरकारवाट प्राप्त नीतिगत विषयवस्तुलाई मार्ग दर्शनका रुपमा लिइएको छ । साथै दिगो विकासका लक्ष्यहरू,अन्तरराष्ट्रिय सन्धी सम्झौताहरूलाई समेत आधार वनाइएको छ । प्रस्तुत नीति तथा कार्यक्रमवाट काठमाडौँ महानगरवासीहरूको समग्र हितमा टेवा पुग्ने विश्वास मैले लिएको छु ।

सभाध्यक्षज्यू एवं नगरसभा सदस्यज्यूहरू,

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रमलाई साकार पार्न आगामी आर्थिक वर्ष २०८२/८३ को लागि रु २५ अरब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचितकोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँँ अन्य बाह्य व्ययभार हुने गरी कुल रु.२५ अरव ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट पेश गर्न चाहान्छु ।

अगामी आर्थिक वर्षको लागि सन्चित कोषमा २५ अरब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ जम्मा हुने देखिएको छ । जसमध्ये काठमाडौँ महानगरपालिकाको आन्तरिक आय र वैक मौज्दात गरी कुल २० अरव १२ करोड ६४ लाख रुपैयाँको स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ भने नेपाल सरकार तथा प्रदेश सरकारवाट शसर्त, समानिकरण, राजश्व वाँडफाँडवाट प्राप्त हुने अनुदान ४ अर्ब ९८ करोड ७९ लाख ४१ हजार रुपैयाँको स्रोत सुनिश्चित भएको छ ।

क्षेत्रगत रुपमा हेर्दा प्रस्तुत बजेट तथा कार्यक्रम अन्तर्गत आर्थिक विकासमा कुल बजेटको ३ प्रतिशत अर्थात ७५ करोड ३४ लाख ३० हजार रुपैयाँ प्रस्ताव गरिएको छ । त्यसैगरी सामाजिक विकासमा २० प्रतिशत अर्थात ५ अरव २ करोड २८ लाख ६८ हजार रुपैयाँ प्रस्ताव गरिएको छ । त्यसैगरी पूर्वाधार विकास तर्फ ५१ प्रतिशत अर्थात १२ अरव ८० करोड ८३ लाख १४ हजार रुपैयाँँ रहेको छ भने सुशासन तथा अन्तरसम्वन्धित क्षेत्र तर्फ १२ प्रतिशत अर्थात ३ अरव १ करोड ३७ लाख २१ हजार प्रस्ताव गरिएको छ भने कार्यालय संन्चालन तथा प्रशासनिक क्षेत्र तर्फ १४ प्रतिशत अर्थात ३ अरव ५१ करोड ६० लाख ८ हजार रुपैयाँ प्रस्ताव गरिएको छ ।

अगामी आर्थिक वर्षमा काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका पूर्वाधार योजनाहरूलाई उच्च प्रथामिकतामा राखिएको छ, भने फोहोरमैला व्यवस्थापन, विद्यालय शिक्षा प्रणालीमा सुधार,सुशासन प्रवद्र्धन, शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको क्षमतावृद्धि,एक वडा एक उद्यम कार्यक्रमलाई प्रवद्र्धन गरी रोजगारी र आयवृद्धीगर्ने कार्यक्रमहरूलाई समेत उच्च प्राथामिकतामा राखिएको छ । त्यसैगरी काठमाडौ महानगरपालिका क्षेत्रभित्रको ध्वनी प्रदुषण कम गर्ने, सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने, महानगरक्षेत्रभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक,महत्व वोकेका मठ, मन्दिर,बहाल, पोखरी, हिटी,वहाः वही, ननी लगायतका सम्पदास्थलहरूको संरक्षण र प्रवद्र्धनमा समेत येथेस्ट बजेट व्यवस्थापन गरिएको छ ।

सभाध्यक्षज्यू एवं नगरसभा सदस्यज्यूहरू,

अगामी आर्थिक वर्षमा आन्तरिक आयतर्फ काठमाडौँ महानगरपालिकाले लक्ष्य अनुसारको प्रगति हासिल गर्न देहायका नीतिहरू अवलम्वन गरेको छ :

अगामी आर्थिक वर्षका लागि राजश्व असुलीलाई प्रभावकारी वनाउन व्यवसाय करमा नयाँ करदाता पहिचान गर्ने, करदाताहरूलाई व्यवसाय। कारोवारस्थलमा नै गई समन्वय तथा सहजिकरण गर्ने कार्यलाई प्राथमिकतामा राखिनेछ ।

त्यसैगरी अगामी आर्थिक वर्ष २०८२।०८३ मा करको दायरामा नआएका करदाताहरूलाई करको दायरामा ल्याउन पौष मसान्तसम्म कर वुझाउने करदातालाई १० प्रतिशत छुट दिइएको छ । वहाल करलाई एकद्धार प्रणाली मार्फत संकलन गर्न संधीय सरकारसंग समन्वय र सहकार्य गर्ने व्यवस्था मिलाइनेछ । साथै कर प्रतिको अपनत्व र विश्वास अभिवृद्धि गर्न केही करका शिर्षकमा सिफारिस दस्तुर निशुल्क गरिएको छ । कर विश्लेषण र करको दायरा वृद्धि गर्न विज्ञ सहितको सरोकारवाला निकायसंग सहकार्य गर्ने कार्यक्रमहरू प्रस्ताव गरिएको छ । कारदातालाई वस्तुगत संघहरूसंग आवद्ध गरी दायरा फराकिलो वनाउने सोच अधि सारिएको छ ।

सभाध्यक्षज्यू र नगरसभाका सदस्यज्यूहरू,

अन्त्यमा,

काठमाडौं महानगरपालिकाको अगामी आर्थिक वर्ष २०८२।०८३ को लागि यस गरिमामय सभामा प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रमहरू समग्र महानगरक्षेत्रको विकासका लागि भएकाले यसको कार्यान्वयन गर्न सवै वर्ग, समुदाय, नगरसभाका सदस्य, कार्यापालिका सदस्य, कर्मचारी, पत्रकार सवै एक जुट भएर सक्रिय हुनुपर्ने देखिएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमहरू शतप्रतिशत प्रगतिको अपेक्षा सहित उपस्थित सभाध्यक्षज्यू, नगरसभाका सदस्यज्यूहरू कार्यापालिका सदस्यज्यूहरू, नीति तथा कार्यक्रम वनाउन अहोरात्र खटिनुहुन स्रोत अनुमान समितिका पदाधिकार तथा विषयविज्ञ सदस्यहरू, बजेट तर्जुमा समितिका सम्पूर्ण सदस्यज्यूहरू, राजश्व परामर्श समितिका सदस्यज्यूहरू तथा कर्मचारीमित्र र पत्रकारमित्रहरूलाई पून एकपटक धन्यवाद दिन चाहन्छु ।

साथै, काठमाडौंलाई स्वच्छ, सफा, हरियाली, सुरक्षित साँस्कृतिक र जीवन्त सहरको रुपमा विकास गर्ने हाम्रो मूल उद्धेश्य साकार पार्नका लागि सम्पूर्ण महानगरबासी, जनप्रतिनिधि, कर्मचारी, करदाता महानुभावहरू, विकास साझेदार संघसंस्थाहरू,सरकारी,गैर–सरकारी तथा सामुदायिक संघसंस्थाहरू, संचार जगतप्रति हार्दिक अपील गर्दछु । यस बजेटको सफल कार्यान्वयनमा सबै पक्षहरूको साथ र सहयोगको समेत अपेक्षागरेको छु ।

धन्यवाद !
सुनिता डंगोल
उपप्रमुख, काठमाडौं महानगरपालिका ।

काठमाडौं । क्यान्सर उपचारका अत्यावश्यक औषधिहरू हस्तान्तरण गरिएको छ । आइतवार बिहान स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा सात करोड मल्य पर्ने क्यासरको औषधि हस्तान्तरण गरिएको हो । अमेरिकास्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘डाइरेक्ट रिलिफ’ को सहयोग तथा ‘वान हार्ट वल्र्डवाइड’ को समन्वयमा क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीहरू नेपाल ल्याइएको थियो ।

ती औषधि तथा स्वास्थ्य सामग्रीहरु असार २७ गते शुक्रबार नेपाल आईपुगेका थिए । अन्तर्राष्ट्रिय च्यारिटी डाइरेक्ट रिलिफले ३७ प्रकारका औषूधि सहयोग गर्ने प्रतिबद्धता जनाएअनुसार पहिलो खेपको औषधि नेपाल आइपुगेको छ । डाइरेक्ट रिलिफले स्तन, छाला तथा विभिन्न खालका क्यान्सर उपचारमा आवश्यक पर्ने दुर्लभ र महँगा ती औषधी नेपालको आवश्यकताअनुसार ५ वर्षसम्म सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाले सोही दिन उक्त औषधि भण्डारण गरेको थियो । औपचारिक रुपमा आज मन्त्रालयलाई हस्तान्तरण गरिएका ती औषधि र स्वास्थ्य सामग्रीहरु आजै क्यान्सर उपचारमा संलग्न चार अस्पतालहरु विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर, शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल बाँके र वीर अस्पताल काठमाडौंलाई हस्तान्तरण गरिएको छ ।

स्तन क्यान्सर, प्लाक सोरियासिस, अल्जाइमर आदि स्वास्थ्य समस्यामा प्रयोग हुने यी औषधि र स्वास्थ्य सामग्रीहरू यी चार अस्पतालहरूमा क्यान्सरका बिरामीहरूलाई निःशुल्क रुपमा उपलब्ध गराइनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित निकायहरुसँगको सहयोग र समन्वयमा यी औषधि तथा स्वास्थ्य सामग्रीहरु भविष्यमा पनि निरन्तर रुपमा उपलब्ध गराउने गरी पहल गरिरहेको स्वास्थ्य मन्त्री प्रदीप पौडेलले बताए ।

उनका अनुसार आवश्यक औषधिको सची तयार गरी सम्बन्धित संस्थालाई पठाइएको थियो । सोहि आधारमा पाँच वर्षको लागि औषधि दिने प्रतिवद्वता समेत गरिएको छ । ‘क्यान्सरको उपचार निकै महँगो छ, विरामीले औषधि किन्न नसक्ने अवस्था छ, हामीले पहल गरेपछि प्राप्त भएको यो औषधिले विरामीलाइ राहत हुनेछ’ स्वास्थ्यमन्त्री पौडेलले भने, ‘यसमा सहयोग गर्नु हुने सबैमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हार्दिक धन्यवाद व्यक्त गर्दछ ।’

काठमाडौं । विधानविपरीत पार्टीका नेताहरूलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले कारबाही गरेको भन्दै असन्तुष्टहरू निर्वाचन आयोग पुगेका छन्।

पार्टीका पूर्वअध्यक्ष एवं निर्देशन समिति अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, वर्तमान महामन्त्री धवलशम्शेर राणा, अनुशासन समितिबाट हटाइएका राजावादी आन्दोलनका संयोजक नवराज सुवेदीलगायतका नेता अहिले आयोगसँग छलफलमा छन्।

शनिबार भएको छुट्टै भेलाको निर्णय अनुसार संस्थापनइतर समूह निर्वाचन आयोग पुगेको हो। शनिबारको भेलाले अध्यक्ष लिङ्देनका पछिल्ला काम–कारबाही प्रक्रिया संगत नभएको आरोप लगाउँदै जिम्मेवारीबाट पदमुक्त गर्ने निर्णयविरुद्ध आयोग जाने निर्णय गरेको थियो। उनीहरूले अध्यक्ष लिङ्देनले विधान विपरीतका कार्य गरेको, मनोमानी रूपमा संगठन चलाएको आरोप लगाएका छन् ।

केही दिन अघिमात्रै लिङ्देनले सगुन सुन्दर लावतीलाई प्रवक्ताबाट बर्खास्त गरेका थिए । यसका साथै नवराज सुवेदीलाई अनुशासन समिति संयोजकबाट हटाएर उनको स्थानमा रोशन कार्कीलाई जिम्मेवारी दिएका थिए ।

कञ्चनपुर । कञ्चनपुरमा छाउपडी गोठमा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउगोठमा सुत्न लागेकी २८ वर्षीया कमला दमाईको हिजो राति सर्पदंशबाट ज्यान गएको हो।

राति करिब ८ बजेको समयमा करेत जातको विषालु सर्पले डसेपछि कमलालाई उपचारका लागि कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको थियो । उपचारकै क्रममा कमलाको मृत्यु भएको हो ।

स्थानीय सुचित्र सिंहकाअनुसार कमला छिमेकीको घरछेउको छाउगोठमा सुत्न गएकी थिइन् । उनी दुई महिनाअघि मात्रै भारतबाट घर फर्किएकी थिइन् । परिवारको पक्की घर भए पनि अन्धविश्वास र गलत सामाजिक परम्पराका कारण छाउ गोठमा बस्न बाध्य भएको बताइएको छ ।

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा लय हालेर पाठ गरिन्छ ।

पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गर्नुभएको हो । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए

‘वधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फूटकर रचनालगायत कृति छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेख्नुभएको थियो– ‘भोलिभोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’ ।

नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ ।

भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उनको सम्मान गर्नुपर्ने र उनका विचारका बारेमा उठेका विवादमाथि छलफल एवं समीक्षात्मक कार्यक्रम गर्नु आजको प्रमुख आवश्यकता भएको समालोचकहरूको धारणा छ।

त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नात्तकोत्तरमा थुप्रै शोधग्रन्थ लेखिएका छन् । यस उपलक्ष्यमा आज बिहान काठमाडौँको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण र नगर प्रभातफेरी गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

घरघरमा आदिकवि आचार्यले नेपाली भाषामा भावानुवाद गर्नुभएको रामायण पाठ गरी भानु जयन्ती मनाउँछन् । यस अवसरमा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले आज विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउँदै छन् ।

आदिकवि आचार्यभन्दा अघि नै नेपाली भाषामा कविता लेख्ने कवि भएकाले उनलाई आदिकवि भन्न नमिल्ने तर्क पनि उठ्ने गरेका छन् । भानुभक्तका विषयमा अध्ययन, अनुसन्धान गरिरहनुभएका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली रामायणजस्तो ग्रन्थलाई नेपाली लोकलयमा भावानुवाद गरी भाषिक एकताको महत्त्वपूर्ण योगदान गर्नुभएकाले भानुभक्तलाई आदिकवि भनिनु न्यायोचित रहेको बताउँछन् । रामायण ग्रन्थले भाषिक क्षेत्रमा नयाँ युगनिर्माण गरेको मानिन्छ ।

आदिकवि आचार्यको निधन विसं १९२५ असोजमा भएको थियो । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी धेरै रहेका देश एवं स्थानमा पनि मनाइन्छ ।

काठमाडौँमा आइतबार बिहान सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम हुँदैछ । भानु प्रतिष्ठानका महासचिव डा. रमेश शुभेच्छुका अनुसार बिहान ७ बजे प्रभातफेरीसहित सुरु हुने कार्यक्रम प्रज्ञा प्रतिष्ठानमा गएर सम्पन्न हुनेछ । कार्यक्रमलाई सभामुख देवराज घिमिरेले प्रमुख अतिथिका रुपमा सम्बोधन गर्नुहुनेछ । कार्यक्रममा नेपाली साहित्यमा विशिष्ट योगदान दिने साहित्यकारलाई सम्मान गरिनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

नयाँ समझौता वा करारका माध्यमबाट धन बढाउन सकिने छ, जग्गाजमीन, पेट्रोलियम पदार्थ, प्लास्टिकका वस्तुहरू र सञ्चारका सामाग्रीमा लाभ हुनेछ । मज्जाले खट्नुपर्ने दिन हो, व्यस्त रहनाले दाम्पत्य र प्रेम जीवनसमेत प्रभावित बन्नसक्छ । आज शारीरिक तन्दुरुस्ती र आरामका बारेमा पनि विचार गर्नुहोला । कुनै नयाँ विषयवस्तु वा प्राविधिक ज्ञानले आकर्षण गरेको समय छ, परिश्रम गर्ने छात्रछात्राले उत्कृष्ट परिणाम प्राप्त गर्नेछन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 

कानुनी वा लगानी सम्बन्धी जटिलता देखा पर्नेछ । काम गर्ने तौरतरिका र व्यवस्थापन पक्षमा पनि सुधार ल्याउनु आवश्यक छ । झैझगडा वा विवादबाट टाढा बसेको जाति हुन्छ, अर्काको काम वा विषयवस्तुमा ध्यान दिएमा अवगाल वा अपजस खेप्नुपर्ने समय छ । ओभर कन्फिडेन्समा नरहनु होला, परीक्षा वा प्रतिस्पद्र्धा नजिकै आएको छ भने खेलवाड र मनोरञ्जनलाई पूर्णतया त्यागेर थप मिहिनेत गर्नु समुचित हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 

आज तीव्र इच्छाशक्ति र आन्तरिक ऊर्जाको उदय हुने महत्त्वपूर्ण दिन हो । ज्ञान, आत्मबल र सामथ्र्य प्रदर्शन गरी अरुलाई प्रभावित बनाउन सकिने छ, जसबाट महत्त्वपूर्ण उपलब्धिको बाटोसमेत खुल्नेछ । व्यक्तित्व निर्माणको समय हो, प्रतिस्पद्र्धा बढ्दै गएको विचार गरी कुनै ज्ञानमूलक क्रियाकलापमा दिलचस्पी राख्नु र अझ धेरै मिहिनेत गर्नु राम्रो हुन्छ । व्यक्तिगत खुसी, आनन्द र मौजमस्तीका निम्ति समय निस्कनेछ । आफ्नो अनुकूलता हेरी सबै कार्य सहज ढंगले गरिँदै जानेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

आत्मविश्वासमा बृद्धि हुनाले हाँकेताकेको काममा सफलता प्राप्त हुनेछ । प्रेमप्रसङ्ग र भावनात्मक क्रियाकलापमा समेत भुलिन सक्नुहुन्छ । घरजग्गा, स्थिर सम्पत्ति र वाहनसुखको व्यवस्थापन गर्ने मनसाय बन्नसक्छ । दौडधूप गर्नुपर्ने काम वा भ्रमणमूलक कामबाट आर्थिक सन्तुलन कायम हुनेछ । घरभित्रका झिनामसिना काममा व्यस्त रहँदा समय बितेको पत्तो पाइँदैन, तर सानातिना र बेकामे कुरामा मन अल्झियो भने निराशा व्यहोर्नुपर्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 

नजानेको वा नसुल्झिएको विषयवस्तुमा सहपाठीको सहयोग लिनुहोला, किनकि जब तपाईंको उद्देश्य सुदृढ हुन्छ, कडा परिश्रम विकल्प होइन आवश्यकता बन्ने गर्दछ । बन्धुवान्धव र छरछिमेकका काममा सघाउनुपर्ने परिस्थिति छ, त्यस्तै खाँचो परेमा उनीहरूबाट सहयोग लिन पनि सकिने छ । आध्यात्मिक मनोभावको विकास हुनेछ, साथै मन्दिर वा स्मारकको भ्रमणबाट शान्तिको अनुभूति हुनेछ । आन्तरिक समस्याका कारण वा फाँटको कामविशेषले सहकर्मी वा जुनियर स्टाफसँग विचार÷विमर्श हुने वा कुनै कार्यक्रममा सहभागी भई रामरमाइलो गर्ने दिन हो ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 

धनप्राप्तिको योग बनेको छ, स्थिर प्रयोजनको लगानीका लागि अनुकूल समय छ, पछिसम्म फाइदा हुने कुनै काम सम्पन्न हुनेछ, बहुमूल्य वस्तु र पुराना चिजबीज सङ्कलन गर्न मन लाग्छ । व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन सकिने छ, नचिताएको वा बिर्सिएर बाँकी रहेको धन अचानक हातमा आइपुग्न सक्छ । सकेसम्म समुचित कार्यका लागि कम बोलेको ठीक हुन्छ, तर बोल्न नपाए पनि हाउभाउ र सङ्केतका आधारमा काम निकाल्न सकिने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 

परिवारमा सुखसुविधाको जोहो गर्ने समय हो, फुटकर सामाग्रीका विक्रेता र खाद्यसामाग्रीको कारोबार छ भने अझ राम्रो गर्न सकिने छ । प्रायः सबै काममा तपाईंकै संयोजकत्व र भूमिका रहने देखिन्छ, तर पनि केही समय व्यक्तिगत खुसी र आन्तरिक आवश्यकताका लागि छुट्याउनु पर्ने हुन्छ । लगनशील भई परिश्रम गरेमा उत्कृष्ट परिणाम प्राप्त हुनेछ, आजको सानो प्रयासमा भाग्यको समेत साथ पाउनाले राम्रो रिजल्ट आउने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

कुनै काम गर्दै जाँदा कुनै त्रुटि वा कमजोरी पनि हुनसक्छ, अनाहकमा नगरेको कामको अवगालसमेत खेप्नुपर्ने परिस्थिति देखिन्छ । जिम्मेबारी बढ्नाले व्यवहारिक काममा खट्नुपर्ने परिस्थिति छ, त्यसैले रामरौस र रोमान्टिक जीवनमा बाधा पुग्नेछ, सकेसम्म आपसी भेटघाट र भलाकुसारीलाई निरन्तरता दिनुहोला । श्रेष्ठ र शुभ कर्ममा आकर्षण बढ्नेछ, कुनै यज्ञयागादि वा माङ्गलिक कार्य गर्ने योजना बनाउने वा पारिवारिक सल्लाह हुने समय छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 

एकअर्काका भावना बुझेर चल्नुपर्ने दिन हो, सहकर्मी वा सहपाठीका बीचमा प्रेम सम्बन्ध रहेको छ भने आजको दिन विशेष दिन बन्नसक्छ । आध्यात्मिक र दार्शनिक क्रियाकलापमा मन आकर्षित बन्नाले काममा निष्ठाको कमी हुनेछ । सिनियर्स वा आफन्तले निराशा र वैमनस्यता प्रकट गर्नेछन् । सरकारी कामका माध्यमबाट धनार्जन गर्न सकिने छ, कुनै प्रतिष्ठान वा कार्यालयको बाँकीबक्यौता उठाउनु छ भने प्रयास गर्नुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 

दौडधूप र धपेडी गर्ने समय छ । काममा कसैको साथसहयोग मिल्दैन, तर व्यक्तित्व विकास र प्रतिष्ठा प्राप्तिको प्रयासमा उपलब्धि लिन सकिने छ । करियर र भविष्यको सोच सलबलाउनेछ, कोसिस गरेमा कला, वाणिज्य, व्यवस्थापन र शिक्षाशास्त्रका उच्च तहका विद्यार्थीले कुनै अवसरसमेत पाउन सक्नुहुन्छ । काम र कर्तव्यप्रति दिलचस्पी जाग्नेछ, नाम र व्यक्तित्वको सुगन्ध फैलने समय हो । व्यक्तित्व निर्माण वा प्रतिष्ठा बृद्धिको कुनै अवसर प्राप्त भएमा त्यसमा लागी पर्नु राम्रो हुन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 

पतिपत्नीका बीचमा कुनै विवाद छ भने भलाकुसारीका माध्यमबाट त्यसलाई हल गर्न एकसाथ कतै घुमघाममा वा किनमेलमा जाने अनुकूलता मिलाउनु ठीक हुन्छ । सपनालाई साकार तुल्याइने छ, लक्ष्य पहिल्याउन सजिलो हुनेछ तर लक्ष्य पूरा गर्न अलि धेरै मिहिनेत गर्नुपर्छ अनि मात्र सफल भइने छ । कार्यक्षेत्रबाट कुनै राम्रो समाचार आउनसक्छ । अभिभावक र बुजुर्ग व्यक्तिको सल्लाह मानेमा लक्ष्यप्राप्तिको मार्गमा सफल भइनेछ । याद गर्नुहोला, आजको दिन राम्रो बनाउन स्वयं आफ्ना लागि समय निकाल्न सक्नुपर्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 

परिवार र साथीहरूप्रतिको तपाईंको भावनाले चिन्ता बढाउन सक्छ, त्यस्तै स्वभावमा चिडचिडेपन र तनाव बढ्नाले आपसी भेटघाटमा नोकझोक र किचलोसमेत हुनसक्छ । सम्मान प्राप्त हुने समय छ । मनलाई एकाग्र बनाउन, समाधि र योगको अभ्यास गर्नसमेत आजको दिन राम्रो देखिन्छ । चुनौतीका बीचमा सम्भावनाका बाटाहरू फेला पर्नेछन् । नयाँ काम गर्नु छ भने कानूनी पाटो ख्याल गरी सुरु गर्नु उचित हुनेछ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।