अमेरिका बस्ने नेपालीमूलकी ममता काफ्लेको हत्या प्रकरणमा उनका पति नरेश भट्ट दोषी ठहर भएका छन् । अमेरिकाको भर्जिनियास्थित अदालतले उनलाई मंगलबार दोषी ठहर गरेको हो ।

प्रिन्स विलियम काउन्टीको अदालतमा सुनुवाइपछि जुरीले नरेशलाई प्रथम श्रेणीको हत्या, शव लुकाउने तथा नष्ट गर्ने र मृत शरीरलाई विकृत बनाउने अभियोगमा दोषी ठहर गरेको हो ।
उनको सजाय निर्धारण सन् २०२७ को मार्चमा हुने तय भएको छ । त्यति बेलासम्म भट्ट हिरासतमै रहनेछन् ।

कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–२ घर भएका नरेश करिब १० वर्षअघि धनगढीमा मेडिकल प्रतिनिधि (एमआर) का रूपमा काम गर्थे । सेती प्रादेशिक अस्पताल आसपासका दुई मेडिकलमा उनको लगानीसमेत थियो । व्यवसाय राम्रै चलिरहेका बेला उनी २०७३ साउन १४ गते अमेरिका गएका थिए ।
अमेरिकी सेनामा भर्ती हुने उद्देश्यले पुगेका उनी एक वर्षपछि २०७४ असारमा अमेरिकी सेनामा भर्ती भएका थिए । पक्राउ पर्नुअघि उनी अमेरिकी सेनाको सूचना प्रविधि विभागमा कार्यरत थिए ।
सामाजिक सञ्जालमार्फत ममतासँग चिनजान भएपछि उनीहरू प्रेम सम्बन्धमा बाँधिएका थिए । २०७७ मंसिर २५ गते विवाह गरेका उनीहरूको आठ महिनापछि ममता पनि अमेरिका पुगेकी थिइन् । करिब एक वर्षअघि उनीहरूले छोरीलाई जन्म दिएका थिए ।
ममतालाई अन्तिमपटक सन् २०२४ जुलाई २७ मा कार्यस्थलमा देखिएको थियो । जुलाई २९ मा नेपालमा रहेकी आमासँग भिडियो कल गरेपछि उनको फोन र सामाजिक सञ्जालमा कुनै गतिविधि देखिएको थिएन ।
सहकर्मीहरूको आग्रहमा अगस्ट २ मा प्रहरी उनीहरूको घर पुगेको थियो । त्यसबेला नरेशले आफूहरू अलग हुन लागेको र ममता न्युयोर्क वा टेक्ससमा परिवारका सदस्यलाई भेट्न गएको हुन सक्ने बताएका थिए । तर, प्रहरीले अमेरिकामा ममताका परिवारका सदस्य नरहेको पत्ता लगाएको थियो । त्यसपछि प्रहरीले घरमा खानतलासी गरी नरेशलाई पक्राउ गरेको थियो ।










