२०८३ बैशाख १८ गते शुक्रबार
२०८३ बैशाख १८ गते शुक्रबार

काठमाडौं । गत वैशाखदेखि असारसम्मको तीन महिनामा दुई हजार ६५ वटा विपद्जन्य घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो वर्षको तीन महिनामा ती विपद्जन्य घटनामा परेर ९३ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता भएका छन् ।

प्राधिकरणका प्रवक्ता एवं उपसचिव सुरेश सुनारका अनुसार ती घटनामा परेर आजसम्म चार सय ४५ जना घाइते भएका छन् । उनले ती घटनामा परेर चार हजार १३६ परिवार प्रभावित भएका जानकारी दिए । प्राधिकरणले बिहीबार सार्वजनिक गरेको २०८२ को पछिल्लो तीन महिनाको विवरणअनुसार बाढीका मात्रै एक सय ३७ घटना भएकामा ती घटनाबाट १३ जनाको मृत्यु र २२ जना बेपत्ता भएका छन् ।

केही दिनअघि गत असार २४ गते रसुवा भोटेकोशीमा आएको बाढीले सबैभन्दा बढी मानवीय क्षति गराएको थियो । माथिल्लो क्षेत्रमा भएको हिमताल विष्फोटबाट उक्त घटना भएको थियो । यस्तै, पहिरोका एक सय ७५ घटनामा छ जनाको मृत्यु भएको छ । चट्याङ्बाट २६, आगलागीबाट १४, जनावरको आक्रमणबाट १२ र लेक लागेर ११ जनाको मृत्यु भएको प्रवक्ता सुनारले जानकारी दिए ।

अन्य हावाहुरी, सर्पदंश, भारी वर्षाबाट पनि मानवीय क्षति भएको प्राधिकरणले जनाएको छ । बाढीबाट मात्रै एक हजार २४६ तथा आगलागीबाट एक हजार ४८ परिवार प्रभावित भएका छन् । पहिरो, चट्याङ्, भारी वर्षा, सर्पदंश, हावाहुरी, वन डढेलो, सर्पदंशलगायत घटनाबाट सयौं परिवार प्रभावित भएका प्राधिकरणले जनाएको छ ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओली भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको अडियो प्रकरणबारे मौन रहेको आरोप लगाएको छ । सामाजिक सञ्जालमार्फत यादवको सचिवालयले बालुवाटारमा ओली रहुञ्ञ्जेल अधिकारीले राजीनामा दिनु नपर्ने भन्दै कटाक्ष गरेको छ ।

सचिवालयले लेखेको छ, ‘ढुक्क हुनुस्, भूमिमन्त्री बलराम अधिकारीले राजीनामा दिनु पर्दैन । बालुवाटार र च्यासलको शिरमा ‘बा’ को राज रहुञ्जेल उनका सगोत्री पार्टनरहरूलाई जो गर्न पनि छुट छ ।’ मन्त्री अधिकारीले पोखराको बाटुलेचौरस्थित १३४ रोपनी जग्गा ‘सेटिङ’ मिलाएर दर्ता गर्नका लागि ३२ लाख रुपैयाँ घस बुझेको दाबी गरिएको अर्को अडियो सार्वजनिक भएको छ ।

बुधबार सार्वजनिक भएको उक्त अडियोमा एमालेका स्थानीय नेता समेत रहेका बिचौलिया सुजन लामामार्फत अधिकारीले मन्त्री क्वार्टरमै घस रकम बुझेको दाबी गरिएको छ । अडियोमा घुस लेनदेन र ‘सेटिङ’ मा मन्त्री अधिकारीका छोरा मनोज, भूमि व्यवस्था मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेल समेत संलग्न रहेको भनिएको छ । यादवको सचिवालयले यसै विषयमा कटाक्ष गरेको हो ।

‘सामान्य प्रशासन मन्त्री पदबाट भर्खरै राजीनामा दिएका राजकुमार गुप्ता मधेश मूलका थिए र उनलाई राजीनामा दिन बाध्य पारियो । बिचौलिया, कमिसनखोर र भ्रष्टाचारीहरूका संरक्षक शिरोमणि ‘बा’ का उनी सगोत्री भएको भए अझै ठूलो काण्ड गरे नि ‘बा’ को शिरमा विराजमान भइरहन्थे,’ सचिवालयले भनेको छ । गुप्ताकै अडियो प्रकरणमा भूमिमन्त्री अधिकारी पनि मुछिएकै हुन् ।

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सबैभन्दा निकट र विश्वासिलो सम्बन्ध नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग रहेको बताएका छन् । वरिष्ठ पत्रकार विजय कुमारसँगको एक अन्तर्वार्तामा उनले पूर्व सहकर्मी तथा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भने ‘धोकेबाज’ का रुपमा चित्रण गरे ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने आफ्नो विरोधी नै नभएको जिकिर गर्दै ओलीले आफ्नो मुख्य राजनीतिक प्रतिस्पर्धी नेपाली कांग्रेस नै भएको उल्लेख गरेका छन् । ‘प्रतिस्पर्धा नेपाली कांग्रेस र हाम्रो बीचमा छ,’ ओलीले भने, ‘तर मेरो सबभन्दा निकट सम्बन्ध शेरबहादुर देउवाजीसँग छ, विश्वासको सम्बन्ध छ ।’ उनले आफ्नो तर्फबाट देउवासँगको सम्बन्ध सधैँका लागि रहने तर देउवाले अन्यथा गरेमा परिस्थिति फरक हुन सक्ने संकेत गरे । प्रचण्डगको सम्बन्धबारे सोधिएको प्रश्नमा उनले भने, ‘स्वर्ग जाने, नर्क जाने सम्बन्ध थियो । उहाँले पनि धेरैपल्ट भन्नु भएको हो, धेरैपल्ट धोका दिनु भएको हो ।’

उनले प्रचण्डसँग पटक–पटक लिखित सहमति भए पनि ती अर्थहीन भएको बताएका थिए । आफ्ना विपक्षीहरूप्रति निर्मम भएको भन्ने आरोपलाई अस्वीकार गर्दै ओलीले आफू प्रतिस्पर्धामा उत्रिने तर व्यक्तिगत रूपमा कसैप्रति त्यस्तो नभएको उल्लेख गरे । आफ्नो कमजोरीबारे सोधिएको अर्को प्रश्नमा उनले आफूले मानिसहरूलाई सजिलै विश्वास गर्ने र कहिलेकाहीँ धोका खाने गरेको बताएका छन् । उनले आफूलाई घेर्ने मानिसहरू (सर्कल) छनोट गर्न नआएको भन्ने कुरालाई भने अस्वीकार गरे । ‘सर्कल भनेको मैले विश्वास गरेको निकटवर्तीहरूको मात्रै कुरा गर्दिनँ,’ उनले भने, ‘अलिक परसम्मका सम्बन्धहरूमा पनि मैले विश्वास गर्छु।’

‘विद्या भण्डारी राजनीतिमा आउनु हुन्छ भनेर पार्टीले मानेको र ठानेको छैन’
अध्यक्ष ओलीले पूर्व राष्ट्रपति विद्या भण्डारीलाई एमालेमा भित्र्याउने विषयमा पार्टीले छलफल गर्नुपर्ने बताएका छन् । भण्डारीलाई नेतृत्व हस्तान्तरण गर्न नसक्ने उनले स्पष्ट शब्दमा बताएका छन् । ओलीले आफूसँग भण्डारीले अहिलेसम्म एमालेमा फर्किनेबारे कुनै सल्लाह नगरेको दाबी गरेका छन् । उनले भने, ‘उहाँले अरुसँग के गर्नुभयो मलाई थाहा छैन, तर मसित कुनै सरसल्लाह गर्नुभएन । पार्टीमा आधिकारिक ढंगले सरसल्लाह, मौखिक वा लिखित केही गर्नु भएको छैन ।’ ओलीले पार्टीको वैठक बसेर भण्डारीको विषयमा निर्णय लिइने बताए ।

उनी थप्छन्, ‘उहाँ आफ्नै हिसाबले राष्ट्रपतिमा जानु भएको होइन । हामीले पठाएको हो । उहाँ हाम्रो क्यान्डिडेट हो । राष्ट्रपति हुने भएपछि पार्टी छोड्नु भयो । पार्टी छोडेर जानुपर्छ । छोड्नुभन्दा अगाडि त उपाध्यक्ष नै हो ।’ भण्डारीको विषयमा एमालेले औपचारिक निर्णय गर्छ भन्ने प्रश्नमा ओली भन्छन्, ‘निर्णय त गर्नैपर्छ । उहाँले प्रश्न उठाएपछि र म आउँछु भनेपछि उहाँले आउनु हुन्छ कि हुँदैन, नैतिकरूपमा हुन्छ कि हुँदैन, गणतन्त्रमा, समाजमा, राजनीतिमा, व्यवस्थामा र स्वयं उहाँको जीवनमा यसले के असर पर्छ, यी सबै कुरा सोचेर उहाँलाई दिनुपर्ने सुझाव वा उहाँमाथि गर्नुपर्ने निर्णय पार्टीले गर्छ नै ।’

कहिलेसम्ममा निर्णय गर्छ भन्ने प्रश्नमा ओलीले ठोस जवाफ दिएनन् । ‘त्यो हेर्नुपर्छ । सल्लाह गर्नुपर्छ । उहाँले आफैंले विचार गर्नुपर्छ । खोइ के बोलिराख्नु भएको छ । मैले त… हामीले पनि जानकारी प्राप्त गरेका छौं । सार्वजनिकरूपमा बोलेका कुराहरूमा हामीले उहाँसँग सोध्नुपर्छ । धेरै ढिला गर्दैनौं’, ओलीले भने ।

विजयकुमारले प्रश्न राखे– यो कतै तपाईंले विद्या भण्डारीलाई नेतृत्व हस्तान्तरण गर्नका लागि सुविचारितरूपमा लिएको रणनीति त होइन ?
एक छिन हाँसेपछि उनले भने, ‘अहिले उहाँलाई नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन । किनभने एक त राजनीतिमा आउनु हुन्छ भनेर पार्टीले ठानेको, मानेको अवस्था छैन । दोस्रो, पार्टी काम छोडेर धेरै वर्ष बाहिर बस्नु भएको र पहिले पनि लिडरसिपमा बसेर काम गरेको संगठनात्मक अनुभव उहाँसित छैन ।’

 बीपी राजमार्गअन्तर्गत काभ्रे–खण्डमा आज (बिहीबार) देखि रातमा १२ घण्टा गाडी चलाउन रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय धुलिखेलमा बसेको सुरक्षा समिति बैठकले काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सीमाना नेपालथोकसम्म एक महिनाका लागि रातमा गाडी चलाउन रोक लगाउने निर्णय गरेको हो ।मनसुनको यो बेला सम्भावित जोखिम न्यूनीकरणका लागि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म एक महिना रातमा गाडी चलाउन नदिने निर्णय भएको काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए ।

गएको वर्ष असोजको बाढी–पहिरोले बीपी राजमार्गअन्तर्गत काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको आठ किलोमिटर सडकखण्डमा क्षति भएको थियो । पूर्वी नेपाल जोड्ने बीपी राजमार्गबाट दैनिक सयौं गाडी चल्छन् ।

बाढी–पहिरोले राजमार्गको कूल १६० किलोमिटरमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किलोमिटर गरी ८४ किलोमिटर सडकको विभिन्न स्थानमा क्षति पुर्‍याएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रिया समेत अघि बढाइरहेको जनाएको छ ।

काठमाडौं- व्यक्तिको नाममा जग्गा दर्ता गर्ने चलखेलमा भूमि व्यवस्था मन्त्री बलराम अधिकारीले ३२ लाख घुस रकम लिएको दाबीसहित नयाँ अडियो क्लिप बाहिरिएको छ ।

पोखरामा १ सय ३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउने लागि परेका व्यक्तिहरूको समूहसँग घुस डिल गरेको अडियो सार्वजनिक भएपछि सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मंगलबारमात्रै राजीनामा दिएका थिए ।

सार्वजनिक नयाँ अडियोमा पोखराको जग्गाका लागि घुस रकम लिनेमा गुप्तासँगै भूमि व्यवस्थामन्त्री बलराम अधिकारी, सामान्य प्रशासन मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेल, मन्त्री अधिकारीका छोरा मनोज अधिकारीको नाम समेत उच्चारण गरिएको सुनिन्छ ।

अडियोमा जग्गा मिलाउन मन्त्री अधिकारीले छोरामार्फत ३२ लाख लिएको दाबी गरिएको सुनिन्छ भने सामान्य प्रशासन मन्त्री गुप्ताले ३५ लाख र सचिव पोखरेलले ५ लाख लिएको दाबी गरिएको छ । अडियो संवादमा जग्गाका लागि डेढ करोड खर्च भैसकेको सुनिन्छ ।

अघिल्लो अडियोमा पनि मन्त्री अधिकारीको नाम गुप्ता र बिचौलियाले लिएको सुनिएकोमा मन्त्री अधिकारीले प्रतिनिधि सभा बैठकमा त्यसको प्रतिवाद गरेका थिए ।

उनले जुन औँलामा विष लागेको हो त्यही झर्ने दाबी गर्दै सो घटनामा आफ्नो संलग्नता नभएको दलिल गरेका थिए । पछिल्लो अडियोमा पनि गुप्तासँगको अडियोमा जस्तै खेम पुन, दीपा लगायतको नाम पनि लिइएको सुन्न सकिन्छ ।

काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) संक्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ ।

सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ ।

अधिकांश नेपाली असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यस क्रममा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउँछन् । एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गर्ने गर्छन् । परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर ‘कण्डारक’ नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।

लुतो फाल्दा आआफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । साउन महिनालाई विशेष रूपमा भगवान् शिवको पूजा गरेर मनाउने महिनाका रूपमा पनि लिइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गर्छन् । साउन महिनामा विशेषगरी हरियो कपडा, चुरा बढी बिक्री हुने गरेको छ । यो महिनामा धेरै महिलाले हरियो र रातो पहिरन लगाउने गर्छन् ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

खर्च बढ्नुका साथै कामको मेसो नमिल्दा केही अलमल हुनेछ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। मालमत्ता जुटाउन अधिक खर्च लागे पनि दिगो काम प्रारम्भ हुनेछ। चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने वैदेशिक क्षेत्रबाट लाभ मिल्नेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। थोरै लगानीबाट प्रशस्त नाफा उठाउन सकिनेछ। भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

मिहिनेतले नयाँ जिम्मेवारी दिलाउनेछ। तारिफयोग्य कामको चर्चा हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ होला। सहयोगीहरूले हिम्मत दिलाउनेछन्।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

चुनौतीभित्र अवसर खोज्ने समय छ। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। अस्वस्थताका बाबजुद कामको जिम्मेवारी बढ्नेछ। तापनि प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ। अरूका लागि बुद्धि खर्चनुपर्ला। आफ्ना विषयमा अरूले दाबी गर्न सक्छन्। लगनशीलताले मात्र संकल्प पूरा हुनेछ। सेवामूलक काम सम्पादन गर्न सकिनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

परिस्थिति केही असहज रहने समय छ। अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने हुन सक्छ। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। कमजाेर नतिजा सच्याउन केही काम दोहोर्याउनुपर्ला। चिताएको मूल्य प्राप्त नभए पनि पछि फाइदा हुने काम गर्न सकिनेछ। वादविवादमा अघि नसर्नुहाेला। सावधानीले नै सम्भावित समस्या टर्न सक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू पनि बढ्नेछन्। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्य आम्दानी दिलाउनेछ। विभिन्न सहयोग र उपहार हातलागी हुने समय छ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। मिहिनेतले प्रतिद्वन्द्वी परास्त हुनेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

धेरै फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। अवसर आए पनि खर्चिलाे काम थाल्न राम्ररी विचार पुर्याउनुहोला। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि कामले आशा भने जगाउनेछ। समयको मागअनुसार चल्ने प्रयास गर्नुहोला। बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। अध्ययनमा पछि परिनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

साझेदारीका समस्या सुल्झनाले दिगो योजनामा अघि बढ्न सकिनेछ। अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। आर्जित द्रव्य अरूलाई दिने नभई भित्र्याउने समय छ। दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ। पुरानो सम्झौता नवीकरण हुनाले पछिसम्म फाइदा हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहार हातलागी हुनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

प्राथमिकताका आधारमा काम गर्न नसक्दा केही पछि परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। बुद्धिले काम लिँदा योजना अघि बढ्नेछ र पछिलाई फाइदा हुनेछ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। अध्ययनले ज्ञानलाई निखार्ने समय छ। नीति–नियमलाई समयमै ध्यान दिनुहाेला। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। तर काममा प्रतिस्पर्धी बढ्नेछन् भने पहिलेका सहयोगीहरू टाढिन सक्छन्। अरूको विषयमा चासो राख्दा व्यर्थैमा दु:ख पाइनेछ। तापनि रमाइलो जमघटका बीच खानपानको आनन्द प्राप्त हुने समय छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।