२०८३ बैशाख १६ गते बुधबार
२०८३ बैशाख १६ गते बुधबार

काठमाडौं । एक वर्षको अवधिमा २,३६९ प्रहरीले राजीनामा दिएका छन् । २०८१ साउनदेखि २०८२ असार मसान्तको अवधिमा जवानदेखि अधिकृत तहसम्मका २३ सय ६९ प्रहरीले राजीनामा दिएका हुन् । प्रहरीमा सरुवा, बढुवा, वृत्तिविकासलगायतमा देखिएको असन्तुष्टिको असर राजीनामामा देखिएको हो । कतिपय प्रहरी वैदेशिक रोजगारीमा आकर्षक तलब पाएर पनि सेवाबाट अलग हुने परिस्थिति देखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

आइतबार प्रहरी प्रधान कार्यालयले गरेको पत्रकार सम्मेलनमा कतिपय प्रहरी भने अपराध र आचरण विपरीतका गतिविधिमा मुछिएपछि विभागीय कारबाहीमा परेर पनि राजीनामा दिएर अलग हुने गरेको देखिएको जनाएको हो ।

यस्तै गत आर्थिक वर्षमा देशभरका प्रहरी कार्यलयमा अपराधका ५८ हजार ४ सय ७२ जाहेरी परेको छ । जसमा योजनबद्ध रूपमा व्यक्तिहत्या गरेको अभियोगमा मात्रै ५१० मुद्दा दर्ता भएका हुन् ।
अपहरणका १४२, मानव बेचबिखनका १५२ जबर्जस्ती करणीका २ हजार ३ सय ८७ छन् ।

प्रहरीमा दैनिक रूपमा मात्रै १ सय ६० मुद्दा दर्ता हुने गरेको आइतबार पत्रकार सम्मेलन आयोजना गरी प्रहरी प्रवक्ता विनोद घिमिरेले जानकारी गराए । गत आर्थिक वर्ष आत्महत्या गर्नेको संख्या मात्रै ६ हजार ८ सय ५२ रहेको छ । साइबर अपाधका मुद्दा ११२ मुद्दा दर्ता भएको छ । यस वर्ष रेड नोटिस जारी भएका ३४ जना र विभिन्न देशबाट पक्राउ गरी ल्याइएका २० जना रहका छन् ।

काठमाडौं । विपद संकटग्रस्त क्षेत्र मधेस प्रदेशका विभिन्न जिल्लामा चैत्रयता सिंचाईका लागि तीन सय वटा डिप बोरिङ खनिएको भए पनि प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको देखिएको छ ।विशेष गरेर सामुदायिक उपभोक्ता समितिमार्फत गरिएका काममा प्रभावकारिता र स्थायित्वको समस्या देखिएको हो ।

मधेस प्रदेशको स्थलगत अध्ययनमा रहेको अन्तर मन्त्रालयस्तरको अध्ययन कार्यदलले मुख्य सचिव एकनारायण अर्याललाई आइतबार प्रारम्भिक जानकारी गराउने क्रममा यस्तो बताएको हो । त्यस्तै विभिन्न स्थानमा सिंचाई प्रयोजनका बोरिङ सञ्चालनमा प्रयोग भएका ५० वटा ट्रान्सफर्मर चोरी भएको पनि प्रारम्भिक अध्ययनमा देखिएको छ । केही स्थानमा भोल्टेजको स्थायित्व नभएका कारण प्रयोग हुन नसकेर सिंचाई हुन नसकेको पनि टोलीले निष्कर्ष निकालेको छ ।

मुख्यसचिव अर्यालले आज आफ्नै कार्यालयमा मधेस प्रदेशमा परिचालन भएको टोलीसहित सबै मन्त्रालयका सचिवहरूसँग पछिल्लो अवस्था र अध्ययनको प्रारम्भिक जानकारीबारे छलफल गरेका छन् । छलफलपछि कुराकानी गर्दै उनले एकीकृत प्रतिवेदन प्राप्त भएपछि सरकार एक्सनमा जाने बताए ।

सरकारले मधेस प्रदेशमा खडेरीका कारण देखापरेको समस्याको स्थलगत अध्ययन मन्त्रालयस्तरको प्राविधि टोली खटाएको थियो । खानेपानी, उर्जा जलस्रोत तथा सिंचाई र कृषि तथा पशुपंक्षी मन्त्रालका सहसचिव सम्मिलित टोली समस्याग्रस्त प्रदेशमा गई अध्ययन गरेर फर्किएको छ । सो टोलीले आज मुख्य सचिवलाई स्थलगत अध्ययनको क्रममा देखिएका अवस्थाबारे मौखिक जानकारी गराएको छ । साथै मुख्यसचिवले सबै मन्त्रालयका सचिवहरूसँग पनि छलफल गरेका छन् ।

काठमाडौं । यही साउन २ गते शुक्रवारका दिन घरधन्दा सकेपछि सधैँ झैँ मेलापात जाने तरखर गर्दागर्दै पानी दर्किएपछि धादिङको बाङ्गेपीपल बसेरीकी पार्वती कार्कीले मोबाइल घरमै छाडिन् ।मेलापात जाँदा पनि कसले पो फोन गर्ने हो र ? विदेशमा मजदूरी गरिरहेका श्रीमान् र काठमाडौंमा ‘प्लस टु’ पढ्दै गरेको छोरासँग साँझ बिहान नियमित फोन भइहाल्थ्यो । त्यसैले कार्कीले मोबाइल साथमा राख्न जरुरी ठानिन् ।

जब उनी मेलापात सकेर घर फर्किइन्, मोबाइलमा नयाँ नम्बरबाट आएको ‘मिस्ड कल’ देखिन् । कार्की घर फर्केर काम गर्दैगर्दा फोनको घण्टी बज्यो । उनले फोन उठाइन् । फोन काठमाडौंमा रहेको एनसेलको केन्द्रीय कार्यालयबाट आएको रहेछ । फोनमा बोल्ने व्यक्तिले उनको परिचय खोतल्ने प्रयास शुरू गरे । नाम, ठेगाना र परिवारबारे केही प्रश्न तेस्र्याए । उनले सबै जवाफ दिइन् ।

एनसेलका प्रतिनिधिले उनलाई सोमवार एनसेल मुख्यालयमा आउन भने । कार्कीलाई कारण के हो भन्ने बुझ्न मन लाग्यो र किन भनेर सोधिन् । तपाईंलाई उपहार परेको छ तर अहिले भन्न मिल्दैन, तपाईं काठमाडौं आउनुस् भन्ने जवाफ पाइन् । कार्कीले पछि मिलाएर आउँछु भनिन् । त्यसपछि राम्रो पुरस्कार परेको र सोमवारकै दिन एनसेल कार्यालय काठमाडौंमा सम्पर्क गर्न भनियो ।

‘पुरस्कारको फोन कलपछि मैले यो कुरा सासुु–ससुरा, विदेशमा रहेका श्रीमान् र काठमाडौंमा पढ्ने छोरालाई सुनाएँ’, पार्वतीले भनिन्, ‘शुरूमा पुरस्कार पर्‍यो भन्नेमा कसैलाई पत्यार लागेन । फोन गरेर कसैले झुक्यानमा पारेको पनि हुनसक्छ भन्ने कुरा भयो ।’

तर जब काठमाडौंमा रहेका देवरले भनेपछि राम्रो उपहार परेको हो कि भन्ने भयो । देवरले एक पटक काठमाडौं आउनु हुन्छ त ? भनेपछि मात्र उनलाई साँच्चीकै पुरस्कार हो कि भन्ने भयो ।
उनी मेलापातको कामलाई थाँती राखेर परिचय खुल्ने कागजपत्र बोकेर आइतवारै काठमाडौका लागि गाडी चढिन् । भोलिपल्ट बिहान उनी छोरा, देवरलगायतका साथमा लैनचौरमा रहेको एनसेल कार्यालय पुगिन् ।

‘एनसेल कार्यालय आउँदासम्म मलाई कुन र कति उपहार परेको हो भन्ने थाहै थिएन’, शुक्रवार एनसेलको बम्पर उपहार प्राप्त गरेपछि उनले भनिन्, ‘अफिसमा सबै कागजपत्र जाँच भएपछि मलाई एक करोड रुपैयाँ परेको भनेर जानकारी दिनुभयो, शुरूमा त मलाई यो कसरी सम्भव भयो भनेर बुझ्नै सकिनँ ।’ कार्कीलाई उपहारमा एक करोड रुपैयाँ दिने एनसेलसँगको सम्बन्ध उनको झण्डै आठ वर्षअघिको हो । स्थानीय आरुघाट बजारमा सात-आठ वर्षअघि किनेको ‘सीम कार्ड’ हो, बेलाबेलामा एनसेलको ‘९९ को प्याक’ लिने गर्थे’, उनले भनिन्, ‘आज त्यही प्याकले एक करोड रुपैयाँ जितायो, निकै खुशी लागेको छ, अबका दिनमा पैसाको दुःख हट्ने भयो भन्ने मनमा लागेको छ ।’

उनको जीवन कैयौं दुःख र पीडाले गुज्रिएको छ । जीवन सहज बनाउन श्रीमान‍सँगै मिलेर आफूले कडा संघर्ष गरेका दिन उनको मनमा अझै ताजै छ । श्रीमान‍ले विदेशमा र आफूले घरधन्दा गर्दै महिला स्वयंसेविकाका रूपमा गाउँमा काम गर्न थालेको झण्डै डेढ दशक बितिसकेको छ । यद्यपि भने जस्तो अझै भएको छैन भन्ने लाग्छ कार्कीलाई ।

‘कहिलेकाहीँ त जति गर्दा पनि कहिल्यै केही हुँदैन जस्तो लाग्थ्यो, मेहनतमा कमी थिएन तर अपेक्षा गरे जस्तो पनि भएन र पनि कर्म गर्दै गएँ’, उनले भनिन् । उनको जीवनमा ब्रजपात त तब पर्‍यो जब बारपाक केन्द्रविन्दु भएर भूकम्प गयो । २०७२ साल वैशाखमा गएको भूकम्पले धर्ती हल्लाउँदा निर्माण सकिएर सर्न ठिक्क परेको घर भत्कियो, त्यति मात्र होइन, एक महिना दुई दिनको कान्छो छोरा पनि गुमाउनु पर्‍यो ।

धादिङबेंसीबाट सल्यानटार हुँदै गङ्गाजमुना गाउँपालिका–६ बाङ्गेपीपल बसेरीमा अहिले उनको सानो घर छ । विदेशमा श्रीमान‍ले कमाउने बाहेकको आयस्रोत छैन । यद्यपि महिला स्वयंसेविकाका रूपमा थोरै भए पनि भत्ता आउँछ । त्यस बाहेक मकै, कोदो, धानखेती हुन्छ भने सिजनअनुसारको तरकारी पनि फलाउँछिन् । गाउँकै विद्यालयमा कक्षा ९ मा फेल भएपछि उनले स्कुल जान छोडेकी हुन् । त्यसको एक वर्षपछि २३ वर्षको उमेरमा विवाह भयो । त्यसको केही वर्षपछि छोरा जन्मियो । आर्थिक रूपमा कमजोर अवस्था भएकाले श्रीमान धन कमाउन विदेश लागेपछि घर सम्हालने जिम्मा उनको काँधमा आयो ।

खाडीको चर्को गर्मीमा श्रीमान‍ले ज्यानको बाजी राखेर काम गर्दै खर्च घर पठाउँथे । त्यही रकमले घरखर्च चलाउँथिन् उनी । तर विदेशमा पनि भने जस्तो कहाँ हुन्छ र ? कुवेतमा रहँदा एक दिन श्रीमान ‘बाथरूम’ मा अचेत भई लडे । धन्न साथीहरूले थाहा पाएर अस्पताल लगी ज्यान बचाइदिए । केही वर्ष विदेशमा दुःख गर्दा पनि अपेक्षा गरेअनुसारको प्रगति नभएपछि उनले श्रीमान‍लाई देशमै जागिर गर्न सुझाव दिइन् ।

‘विदेशमा उहाँले गरेको दुःख थाहा छ, रोगले च्याप्दा पनि उहाँले काम गरिरहनु हुन्थ्यो, त्यसैले नेपाल आएपछि पठाउन मन लागेन, ऋणधन गरेर काठमाडौमा पसल शुरू गर्‍यौँ’, उनले विगत सम्झिँदै सुनाइन् । तर भाग्यले त्यहाँ पनि ठग्यो । ऋण गरेर शुरू गरेको पसल केही महिनामै थप ऋणमा चुर्लुम्मै डुब्यो । लगानी निमेषभरमै खेर गयो ।

ठूलो लगानीमा खोलेको पसल नचलेपछि विदेश जानुको विकल्प रहेन । नौ लाखमा शुरू गरेको पसल बिक्री गर्दा ६० हजार रुपैयाँ पनि आएन । एकातिर चर्को ब्याजदरको ऋण र अर्कोतर्फ बिरामी शरीर बोकेर कार्कीका श्रीमान् झण्डै दुई वर्षअघि बहराइन पुगे । तर त्यहाँ पनि भने जस्तो काम पाएनन् । ऋणको बोझले जागिरै छाडेर घर आउन दिएन, त्यसैले उनी अहिले पनि बहराइनमै छन् । ‘दुई वर्षपछि आउने भन्नु हुन्थ्यो, अब भदौमा दुई वर्ष पुग्छ, त्यसपछि बिदा पाइन्छ भन्नु भएको छ’, उनले भनिन् ।

बहराइनमा श्रीमान‍को शरीरमा नयाँ रोग थपियो, ‘एलर्जी’ । कहिले शरीर सुन्निने त कहिले ‘एलर्जी’ ले गाह्रो बनाइरहन्छ । तैपनि काम गर्दै महिनामा १५-२० हजार रुपैयाँ पठाइरहनुहुन्छ । यसले जेनतेन ऋणको ब्याज तीर्न मात्रै पुगेको उनले बताइन् । एनसेलबाट प्राप्त एक करोड रुपैयाँमध्ये २५ लाख सरकारलाई कर बुझाएपछि बाँकी रकम अहिले उनको खातामा आइसकेको छ । यो रकम उनका लागि धेरै ठूलो हो । यो रकमले जीवन सहज बनाउँछ भन्ने उनको विश्वास छ ।

प्राप्त रकमले पहिलो काम ऋणको भारी बिसाउने योजना छ । लामो समयदेखि बोझ बनेको ऋण अब बोक्नु नपर्ने भयो भन्ने सोच्दा उनी खुशी छिन् । ‘यो ऋण कहिले सकिएला र सुख पाइएला भन्ने हुन्थ्यो, अब उपहारमा पाएको यो पैसाले सबैभन्दा पहिले ऋण तिर्छु, अब ऋण तिर्नका लागि रोगी शरीर घोटिनु परेन’, उनले भनिन् । ऋण चुक्ता गरेपछि बचेको पैसाले नेपालमै श्रीमान–श्रीमती मिलेर केही उद्यम गर्ने सोच छ, कार्कीको । ‘यो पैसालाई राम्रो ठाउँमा सदुपयोग गर्न सकियो भने भोलिका दिन सहज हुन्छ भन्ने थाहा छ, त्यसैले अब श्रीमान‍्लाई नेपालमै राखेर दुवै जना काम गर्छाैँ’, उनी भन्छिन् । साथमा छोराले ‘प्लस टु’ पढिरहेको छ । उसको पढाइमा पनि ठूलो खर्च हुन्छ । बाँकी पैसा छोरालाई पढाउनमा खर्च गर्ने कार्कीको योजना छ ।

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चितवनमा लोडसेडिङ सुरु भएको भन्ने कुरामा सत्यता नरहेको बताएका छन् । आज (आइतबार) काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै शाक्यले मर्मत कार्यका लागि विद्युत आपूर्ति रोकिएको तर लोडसेडिङ भनेर गलत तरिकाले व्याख्या गरिएको बताए ।

चितवनमा रहेको सबस्टेशन अपग्रेड गर्नका लागि पुरानो कन्डक्टर फेर्ने काम भएकाले आइतबार र सोमबार विद्युत आपूर्ति बन्द गर्न लागिएको उनले जानकारी दिए । पुरानो कन्डक्टरका कारण लोड धान्न नसक्ने अवस्था आएपछि नयाँ कन्डक्टर परिवर्तन गर्न खोजिएको शाक्यको भनाइ छ । उनले विद्युत क्षमता वृद्धि गर्दा पुरानो नेटवर्क धान्न नसकेका कारण बत्ती जाने समस्या देखिएको बताए ।

नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । तर अहिले अत्यधिक गर्मी र रोपाइँको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढेको हुँदा नारायणी–माडी, मेघौली–विजयनगर–शुक्रनगर र जगतपुर–रामपुर फिडरहरूबाट आपूर्ति हुने स्थानमा लोडसेडिङ हुने सूचना जारी गरेको थियो ।

वितरण केन्द्रले जनाए अनुसार, भरतपुर १३२/३३ केभी सब स्टेशनबाट आउने ३३ केभी डग कन्डक्टर तारमा ३०० एम्पिएरभन्दा बढी विद्युत् प्रवाह गर्न नमिल्ने (क्षमताले नधान्ने) अवस्था छ । तर, अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढेकोले लोडसेडिङ गर्नु परेको जनाइएको छ ।

अहिले विद्युत् माग बढेर सो तारमा ४५० एम्पिएरसम्म विद्युत् प्रवाह हुँदा लोड धान्न नसकेको वितरण केन्द्रले सूचनामार्फत जनाएको छ । उक्त समस्या समाधानका लागि अघिल्लो आर्थिक वर्षमा नै बसेनी सब स्टेशनबाट विद्युत् आपूर्ति गर्नेगरी अर्को ३३ केभी प्रसारण लाइन निर्माणको क्रममा रहेको बताइएको छ ।

यता नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विवाद समाधानका लागि गठित प्रशासकीय पुनरावलोकन समितिको म्याद ३५ दिनका लागि थप गरिएको जानकारी समेत दिएका छन् । समितिले निर्णय गरेपछि बक्यौता उठाइने भन्दै शाक्यले बक्यौता उठ्न नसके लाइन काटिने बताए ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा को कतिबेला जेल पर्छ भन्न नसकिने बताएका छन् । आज (आइतबार) बालुवाटारमा बिपी कोईराला राष्ट्रिय पुरस्कार २०८१ बारे आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिमा को कतिबेला जेल पर्छ भन्न नसकिने भन्दै पूर्वाग्रह, प्रतिशोधले पनि जेलमा राख्ने गरिएको बताए।

दरबार हत्यकाण्डपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन कब्जा गरेपछि दलहरूमाथि प्रतिबन्ध नभए पनि नेताहरूलाई जेल हालेको स्मरण उनले गरे । सरकारी राज्यका निकायहरू छोडेर आफ्ना खुशीले अह्राएका मान्छेले मुद्दा लगाउने, फसाउने काम भएको उनले बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘राजनीतिमा कतिबेला को जेल पर्छ, पर्दैन भन्न सकिँदैन । पूर्वाग्रह, प्रतिशोध । अस्ती मात्रै दरबार हत्यकाण्डपछि ज्ञानेन्द्र शाहले शासन कब्जा गरेपछि दलहरूमाथि प्रतिबन्ध नभए पनि प्रतिबन्ध त लागेकै थियो, नेताहरूलाई सबैलाई घर–घरमा, जेलमा लगेर थुन्ने, सरकारी राज्यका निकायहरू छोडेर आफ्ना खुशीले अह्राएका मान्छेले मुद्दा लगाउने, फसाउने ती काम त मान्छेलाई, नेताहरूलाई मुद्दा लगाउनका लागि एउटा शाही छानबिन आयोग कि के भनेर ज्ञानेन्द्र शाह भ्रष्टाचार विरोधी देखिएर शेरबहादुर देउवाका विरूद्ध एउटा शाही आयोगले मुद्दा चलायो । योभन्दा ड्रामा अर्को के हुन्छ, यो ड्रामालाई अर्को के नाम दिने । यस्ता ड्रामाविरुद्ध अस्तीसम्म पनि लड्न परेकै हो ।’ प्रधानमन्त्री ओलीले बिपी कोइरालाका धेरै आयामहरू रहेको बताए ।

चितवन । पश्चिम चितवन र माडी क्षेत्रमा आजदेखि ६ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले शनिबार सूचना जारी गर्दै गर्मीमा माग बढेको भन्दै छ घण्टा विद्युत् अनियमित हुने तालिका सार्वजनिक गरेको हो ।

चनौली वितरण केन्द्रका प्रमुख राजकुमार श्रेष्ठका अनुसार बिहान तीन घण्टा र दिउँसोदेखि साँझसम्म तीन घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुनेछ । अत्यधिक गर्मी र रोपाइँको समयमा अकासे पानी नपरेकाले सिँचाइ ग्राहकको भार बढ्न गएको भन्दै विद्युत् आपूर्ति अवरुद्धको तालिका सार्वजनिक गरिएको हो ।

उनका अनुसार १३२/ ३३ केभी सबस्टेशनबाट आउने ३३ केभी डगकन्डक्टर तारमा तीन सय एम्पिएरभन्दा बढी विद्युत् प्रवाह गर्न नमिल्ने तर लोड चार सय ५० एम्पियरभन्दा बढी भएकाले वितरणमा व्यवस्थापन मिलाउनुपर्ने भन्दै आज एक दिनका लागि तालिका सार्वजनिक गरिएको हो । उनले एक हप्ताभित्र विद्युत् लोड व्यवस्थापनमा आएको समस्या समाधन गरिने बताए ।

वितरण केन्द्र चनौलीअन्तर्गत नारायणी–माडी, मेघौली–विजयनगर–शुक्रनगर र जगतपुर–रामपुर फिडरमा विद्युत् आपूर्ति अवरुद्ध हुनेछ । विद्युत् माग बढेर ३३ केभी डगकन्डक्टर तारमा चार सय ५० एम्पिएरसम्म विद्युत् प्रवाह हुँदा लोड धान्न नसकेको नेपाल विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयका प्रमुख जितेन्द्र कुमार झाले जानकारी दिए ।

दीर्घकालीन समस्या समाधानका लागि अघिल्लो आर्थिक वर्षमा नै बसेनी सबस्टेशनबाट विद्युत् आपूर्ति गर्नेगरी अर्को ३३ केभी प्रसारण लाइन निर्माणको क्रममा रहेको उनले जानकारी दिए । तालिकाअनुसार नारायणी–माडी फिडरहरूमा बिहान ६ः०० देखि ९ः०० र दिउँसो ३ः०० देखि ६ः०० बजेसम्म, मेघौली–विजयनगर–शुक्रनगर फिडरहरूमा बिहान ९ः०० देखि १२ः०० र बेलुका ६ः०० देखि ९ः०० बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुनेछ ।

यस्तै जगतपुर–रामपुर फिडरहरूमा दिउँसो १२ः०० देखि ३ः०० र बेलुका ९ः०० देखि १२ः०० बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने कार्यालयले जनाएको छ ।

पर्सा । जिल्ला विपद् व्यवस्थापन समितिले यहाँको खानेपानी र सिँचाइमा देखिएको सुक्खाग्रस्त संकट समाधानका लागि अल्पकालीन र दीर्घकालीन कार्ययोजना (एक्सन प्लान) तयार पारेको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा शनिबार बसेको समितिको बैठकले जिल्लामा देखिएको सुक्खाग्रस्त संकट सम्बोधन गर्न १४ बुँदे कार्यान्वयन कार्ययोजना समेत स्वीकृत गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी बाबुलाल रेग्मीले पर्सामा देखिएको सुक्खाग्रस्त संकटलाई सम्बोधन गर्नका लागि एक्सन प्लानसहित अघि बढ्न लागेको जानकारी दिए ।

‘अहिले पर्सासहित तराई–मधेसका अधिकांश जिल्लामा खानेपानी र सिँचाइको चर्काे समस्या देखिएको छ । सोलाई अल्पकालीन र दीर्घकालीन रूपमा समाधान गर्न कार्ययोजनासहित अघि बढ्ने काम भइरहेको छ’, उनले भने, ‘कार्ययोजनाले विपद्को घडीमा हुनसक्ने सम्भावित बेथितिलाई रोक्दै जनतालाई चुस्तदुरुस्त सेवा प्रवाह गर्ने विश्वास लिएका छौँ ।’

समितिले तयार पारेको कार्यान्वय कार्ययोजनामा जिल्लाको खानेपानीको स्थानगत (निड एनालाइसिस) गर्ने उल्लेख गरिएको छ । सो कार्यको कार्यान्वयन जिल्ला समन्वय समितिको अध्यक्षतामा गठित समन्वय समितिले तीन दिनभित्र संघ-प्रदेशका खानेपानीसँग सम्बन्धित कार्यालय तथा संस्थानसँग आवश्यकताको पहिचानसहितको विस्तृत प्राविधिक प्रतिवेदन बनाउने रहेको छ ।

सहायक प्रजिअ रेग्मीले कार्ययोजनामा आवश्यकता पहिचान आधारित क्षेत्रगत अल्पकालीन खानेपानी योजना तर्जुमा गरी यथाशीघ्र कार्यान्वयन गर्ने रहेको पनि जानकारी दिए । त्यसैगरी, खानेपानी चुहावट नियन्त्रण कार्यक्रम पनि सञ्चालन गरिने भएको छ । सोको कार्यान्वयन नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जको अगुवाइमा वीरगञ्ज महानगरभित्रका वडा कार्यालयको सहयोगमा तीन दिनभित्र खानेपानी चुहावट नियन्त्रणका कार्यक्रम अघि बढाइने भएको छ ।

समितिले तयार पारेको कार्ययोजनामा अनधिकृत विद्युतीय मोटर नियन्त्रण अभियान सञ्चालन पनि गरिने भएको छ । सो कार्य कार्यान्वयनसम्बन्धी वडा कार्यालय र आवश्यक समन्वय जिल्ला प्रशासन र सुरक्षा निकायले दुई दिनभित्र गर्ने उल्लेख गरिएको छ ।

सहायक प्रजिअ रेग्मीले गण्डक नहरको मर्मतसम्भार तथा सुदृढीकरणको काम भने नारायणी सिँचाइ व्यवस्थापन कार्यालयमार्फत कार्यान्वयन गर्ने जानकारी दिए । सो कार्यका लागि आवश्यक समन्वय भने स्थानीय तहसँग समन्वय गरेर गरिने छ ।

वीरगञ्ज महानगरसहित पर्साका पालिकाहरूमा वडा तथा टोलस्तरमा खानेपानीको किफायती प्रयोगसम्बन्धी सचेतना कार्यक्रम अघि बढाइने भएको छ । सो कार्यको अगुवाइ सम्बन्धित स्थानीय तह र खानेपानीसँग सम्बन्धित संघ र प्रदेशका कार्यालयले पाँच दिनभित्र गर्ने योजना छ ।

सहायक प्रजिअ रेग्मीले कार्ययोजनामा कृषि ज्ञान केन्द्रमार्फत पर्सालाई माछाको पकेट जोनका रूपमा विकास गरी कार्यक्रम सञ्चालनका लागि सम्बन्धित निकायमा तीन महिनाभित्र सिफारिस गर्न योजना पनि समेटिएको जानकारी लिए । सो कार्यालयले माछाको पकेट जोनको पहिचान तथा सम्बन्धित निकायमा सिफारिस गर्नुपर्नेछ ।

त्यसैगरी, कृषि ज्ञान केन्द्रले पाँच दिनभित्र सिँचाइ अभावमा धानबाली रोपाइँ हुन नसकी क्षति व्यहोरेका किसानको लगत र क्षतिको विवरण संकलन गरी क्षतिपूर्तिका लागि आवश्यकतानुसार जिल्ला विपद् व्यवस्थापन समितिलाई सिफारिस गर्नुपर्ने एक्सन प्लानमा उल्लेख छ ।

काठमाडौं । नेपाल प्रहरीका तीन सहायक हवल्दारसहित २२ जना प्रहरी कर्मचारी आफूखुसी गैरहाजिर भएका छन् ।

आइतबार प्रहरी प्रधान कार्यालयले वैशाख, जेठ र असार महिनादेखि आफूखुशी गैरहाजिर भएकाहरूलाई सम्पर्क आउन भनेर सूचना जारी गरेको छ ।

तीन जना प्रहरी सहायक हवल्दार, एक जना प्राविधिक प्रहरी सहायक हवल्दार, १३ जना प्रहरी जवान, तीन जना प्राविधिक प्रहरी जवान र एक जना प्रहरी कार्यालय सहयोगी गैरहाजिर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सम्पर्कविहीन भएका सहायक हवलदारहरूमा विवेक साउद, देवकी थापा र प्रकाश थारू छन् । उनीहरू जेठको विभिन्न मितिदेखि गैरहाजिर छन् । उनीहरूको खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावलीबमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावालीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

कर्तव्यप्रति सचेत हुने तथा जिम्मेबारी बोध हुने राम्रो दिन छ, सरकारी कामका माध्यमबाट लाभ लिन सकिने छ, अझ समाजसेवा वा राजनीति नै कार्यक्षेत्र हो भने मानसम्मान पाउन सक्नुहुन्छ । हाकिमको सद्भाव र सहानुभूति प्राप्त हुनाले महत्त्वाकाङ्क्षी काम सुरु गर्न सकिन्छ । कार्य सम्पादनमा निखार आउनाले थप अवसर मिल्नसक्छ । व्यक्तित्व विकासका लागि प्रयास गर्ने समय हो, पार्टनरका तर्फबाट पनि कुनै खुसी हुने कुरा सुन्न पाइने छ र प्रसन्नता बढ्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

व्यक्तित्व विकास हुने वा सफलता र सम्मान प्राप्त गर्ने समय हो, मान्यजन वा सिनियर्सको सद्भाव लिन सकेमा भविष्य सुन्दर बन्ने सङ्केत छ । धार्मिक÷सामाजिक काममा समय दिनुपर्दा बाहिर अलमलिने दिन हो, तर पनि आफ्नो कामप्रतिको लगनशीलताका कारण कारोबारमा कुनै प्रभाव पर्नेछैन । फूर्तिका साथ जिम्मेबारी र दायित्व पूरा गर्ने दिन हो, सहयोगी र मिलनसार स्वभावको विकास हुनेछ । मान्यजनबाट प्रशंसा र सहानुभूति बटुल्न सक्नुहुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

किताब, प्राक्टीकल र ल्यापटपमा मात्र घोरिएर दिमाग भारी हुने समय छ, एकाग्रताका लागि ध्यान, मेडिटेशन र योग गर्नु राम्रो हुन्छ । मित्र र परिवारसँग सम्बन्धित भावनाले तपाईलाई चिन्तित बनाउन सक्छ, त्यस्तै अप्ठ्यारो र झञ्झटिलो मार्गमा अघि बढ्ने समय हो, तर जोखिम र सङ्कट मोल लिएर गरेको कामको परिणाम लाभदायी हुनसक्छ । सहकर्मीहरूसँग समन्वय गरी अघि बढ्ने समय हो, याद राख्नुपर्छ, आज दबाब वा करकापमा गरेको कामले भविष्यमा धोका हुनसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

प्रेमभाव प्रकट गर्न अनुकूल समय छ, पार्टनरको इच्छानुसार चल्नुपर्दा कार्यक्षेत्रमा समस्या आउने भएकाले महत्त्वपूर्ण काम बेलैमा गरिहाल्नु ठीक हुनेछ । निरङ्कुश बानी र कडापन तपाईंका कमजोरी बन्न सक्छन् । खानपान र आहारविहारको अनुशासन पालना गरेको जाती हुन्छ । भौतिक उपकरण वा सुखसुविधाको वस्तु खरिद गर्ने समय हो, नयाँ लगानी गर्नु छ भने जीवनसाथीको नाममा सुरु गर्नुहोस्, फाइदा हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

घमण्ड र क्रोधमा बृद्धि हुनसक्छ, तर पनि व्यक्तिगत कार्य र पारिवारिक जिम्मेबारीका बीच तालमेल मिलाउन सकेमा विवाद एवं अपजसबाट बच्न सकिन्छ । आइपरेका चुनौती र परीक्षाहरूमा खरो उत्रेर अघि बढ्ने समय हो, आजको दिनअध्ययनप्रति मात्र होइन, स्वास्थ्यस्थिति एवं आहार÷विहारप्रति पनि ध्यान दिनु ठीक हुन्छ । आफूलाई अरुभन्दा फरक साबित गर्न प्रयास गर्ने दिन हो, मनोद्वेग र रिसराग बढ्ने समय भएकाले घरव्यवहारमा आफूलाई संयमित ढंगले प्रस्तुत गनुपर्छ, तर्क वा बहसमा विजय प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

आन्तरिक प्रतिभाको प्रस्फूटन हुने राम्रो दिन छ, कला र साहित्यप्रति झुकाव छ भने फुरेको विषयवस्तु टिपोट गर्नुहोला, भविष्यमा काम लाग्नेछ । भावुक र संवेदनशील बन्न सकिन्छ तर पनि बौद्धिक क्षमता वा सीप बढाउने प्रयत्न गर्नुपर्छ, जस्तै चुनौतीपूर्ण काम भए पनि सफलता मिल्नेछ, परीक्षा र प्रतिस्पद्र्धामा विजय प्राप्त हुने दिन हो । गोपनीयता कायम राखी काम गर्न सके कार्यक्षेत्रमा प्रशंसा बटुल्न सकिने छ, तर आज घरपरिवार र छोराछोरीलाई समय दिनुपर्ने हुन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

अरुको भरमा पर्दा काममा बाधा र धोका हुने समय छ । विगतका कमजोरी सुधार गरी कुनै काम दोहोर्याउने परिस्थितिसमेत बन्नसक्छ । व्यवहारिक कारणले कारोबारमा बाधा हुनसक्छ, तर सागपात, फलफूल, रत्नमाणिक्य, फोटोग्राफी वा भिडियोमिक्सिङ आदिको कारोबारमा मनग्ये लाभ पाउने समय हो । आराम गर्ने फुर्सद पाइँदैन, शरीर अस्वस्थ भए पनि घरायसी बन्दोबस्तीका लागि खट्नैपर्ने परिस्थिति छ, तर घरपरिवारका सदस्यको सहयोग जुटाउन सकिने छ ।

 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

धार्मिक र सामाजिक प्रयोजनका काममा चासो बढ्ने समय छ, रमाइला गतिविधिमा आजको दिन व्यतीत हुनेछ, प्रतिभा र सीपको कदर हुनेछ । महत्वपूर्ण कार्य सम्पन्न हुनाले आत्मविश्वास बढ्नेछ । सामाजिक क्षेत्र वा फाल्तु विषयमा केन्द्रित हुँदा कार्यक्षेत्र प्रभावित बन्नसक्छ, तथापि कूटनीतिक बुद्धिको उपयोग गर्दा हाँके÷ताकेका काममा सफल भइने छ । सामूहिक काम वा सामाजिक क्रियाकलापमा संलग्न हुँदा फुर्सद पाइँदैन र लवमेटलाई छुट्टै समय दिन नपाउनाले वैचारिक मतभेद हुनसक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

गरेको कामको सर्वत्र प्रशंसा हुनेछ, सिनियर स्टाफ र सेवाग्राही दुवै पक्षलाई सन्तुष्ट तुल्याउन सकिने छ । कुनै उपहार वा सम्मान प्राप्त गर्ने सम्भावना छ । मनले चाहेको व्यक्तिबाट कुनै नौलो कुरा सुन्न पाउँदा अझ हर्षित हुने वा कुनै उपहार प्राप्त गरेर दङ्गपर्ने समय हो । घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्धलाई सुदृढ बनाउन सम्बन्ध÷सम्पर्क राख्ने दिन हो, कार्यक्षेत्रमा खटेबमोजिम लाभ पाउन सकिने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

कार्यस्थल र घरपरिवारमा खुसी र उमङ्गको वातारवरण रहेको छ । आर्थिक मन्दी चल्दैछ भने नयाँ रणनीति कार्यान्वयन गर्नुहोस्, सफलता पाउन सक्नुहुन्छ । जीवनसाथी र परिवारका सदस्यहरूको पूर्ण सहयोग रहने दिन छ । तर तपाईंको हठ र जिद गर्ने बानी छ भने समस्या निम्तिनसक्ने समय हो । आफ्नो रुचिको विषयमा अगाडि बढ्ने थुप्रै अवसरहरू देखा पर्नेछन् । प्रयास गरेमा खूबी र क्षमताको पहिचान हुने समय छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

लगानी गर्दा जोखिम र सङ्कटका बारेमा चिन्तन गर्नुहोला, व्यवसाय तर्फ मार्केटिङ, यातायात व्यवसायी र ढुवानीको क्षेत्रमा लाभ लिन सक्नुहुन्छ । तालमेलमा केही कमी रहने दिन हो । सकेसम्म हरेक व्यवहारमा ठूलाबडाको मर्यादा र सम्मानप्रति सचेतता अपनाउनु आवश्यक देखिन्छ । मनको हठ र कुण्ठामा भुलिने समय छ, तर पढाइ छाडेर अन्त भुलिनु भविष्य बिगार्ने कुरा हो भन्ने हेक्का राख्नुपर्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

पदोन्नति हुने वा विशेष जिम्मेवारी पाउन सकिने समय हो, कामविशेषले कतै काजमा जाने वा देश÷विदेशको यात्रामा निस्कने संयोग जुरेको छ । सबै कार्य योजनानुसार सम्पन्न हुँदै जानेछन्, आपसी समन्वय र आन्तरिक सुख बढ्ने समय छ, पार्टनरसँग सानोतिनो यात्राको कार्यक्रम बन्नसक्छ । खर्चमा अचानक बृद्धि हुने समय छ, जोखिम मोलेर कुनै पनि काम नगर्नु होला, धैर्य र संयमता आजका मित्र हुन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।