
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले लालवीर चौधरीलाई पार्टी अध्यक्ष चयन गरेको छ । रञ्जिता श्रेष्ठ विरोधी पक्षको राष्ट्रिय भेलाबाट श्रेष्ठलाई हटाउँदै रञ्जिताका पति समेत रहेका संरक्षक रेशमलाल चौधरीका बुबा लालवीरलाई अध्यक्ष बनाएको हो । यससँगै नाउपामा औपचारिक विभाजन आएको छ ।
‘हामीले धेरै मन्थन गरेर आठौं दिनमा अध्यक्ष परिवर्तन गर्ने निष्कर्ष निकालेका हौं,’ लालवीरले भने, ‘सम्पूर्ण संघ र प्रदेशका सांसदहरूलाई बन्दीको निकासका लागि धन्यवाद दिन चाहन्छु । मैले अध्यक्षको जिम्मेवारी पाइसकेपछि विधि र पद्धतीका आधारमा नाउपालाई अघि बढाउनेछु ।’
उनले भने, ‘उहाँलाई हामीले टाढा राखेका छैनौं । अहिले पनि भनेको थियौं यहाँ आएर आफ्नो कुरा राख्नुस् भनेर, उहाँलाई पार्टीले धेरै पर राखेका छैन । एउटा निकासको लागि मात्रै अघि बढेको छ।’ उनले रञ्जिता श्रेष्ठले डेढ वर्षसम्म बैठक नराखेको समेत आरोप लगाएका छन् । श्रेष्ठलाई अझै पनि सहमति र सहकार्यका लागि आउन उनले आग्रह गरे । गत निर्वाचनमा लालवीर बर्दियाबाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए । निर्वाचित भएको केही समयमै उनी नाउपामा प्रवेश गरेका थिए ।
यसअघि नाउपा अध्यक्ष संरक्षक समेत रहेका रेशमको पत्नी समेत रहेकी प्रतिनिधि सभा सदस्य रञ्जिता श्रेष्ठ थिइन् । पोखराको लिचीबारी घुसकाण्डको अडिओ प्रकरणमा अध्यक्ष श्रेष्ठ मुछिएकी थिइन्। उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बोलाएर स्पष्टीकरण समेत सोधेको थियो ।
विवादमा परेपछि अध्यक्ष रञ्जिताले वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष दिएकी थिइन् । श्रेष्ठले आफूलाई अवैध राष्ट्रिय भेलाले अध्यक्षबाट हटाउन नसक्ने दाबी गर्दै आएकी छन् । बर्खास्त भएकी अध्यक्ष श्रेष्ठले संसदीय दलका नेता गंगाराम चौधरीले विधान विपरीत काम गरेको भन्दै २४ घण्टे लिखित स्पष्टीकरण मागेकी छन् ।
पार्टीको केन्द्रीय कार्यालयको लेटरहेड प्रयोग गरी जारी तीन पृष्ठ लामो पत्रमार्फत श्रेष्ठले आफू अस्वस्थ्य भएका कारण पार्टी गतिविधिमा सक्रिय भएका बेला संसदीय दलका नेता चौधरीले विधान विपरीत गतिविधि गरेको आरोप लगाएकी छन् ।
आफूलाई जानकारी नगराई विधान विपरीत केन्द्रीय समिति बैठक आह्वान गरिएको, पार्टी महासचिवको रूपमा हस्ताक्षर गरी निर्वाचन आयोगमा पत्र पठाएको तथा पार्टी एकता र अनुशासनविपरीत व्यक्तिगत निर्णयहरू गरेको श्रेष्ठको आरोप छ ।
मोरङ जिल्ला, बेलबारी नगरपालिका वडा नं. १ का आर्थिक अबस्था नाजुक भएका २७ वर्षीय कैलाश तामाङ पछिल्लो पाँच महिनादेखि मिर्गौला फेल भएर जीवन र मृत्युबीच संघर्ष गरिरहेका छन्। जीवनरक्षक मिर्गौला प्रत्यारोपणका लागि आवश्यक सबै प्रक्रिया पूरा भइसके पनि प्रशासनिक ढिलाइका कारण उनको उपचार रोकिएको छ।
कैलाशकी आमाले उनलाई मिर्गौला दिने सहमति जनाइसकेकी छन्। चिकित्सकीय परीक्षणबाट पनि प्रत्यारोपणका लागि उपयुक्त रहेको पुष्टि भइसकेको छ। नेपाली कांग्रेसका लोकप्रिय युवा नेता तथा सांसद डा. सुनिल शर्माले आफ्नो स्वामित्वमा रहेको काठमाडौं मेडिकल कलेजमा निःशुल्क मिर्गौला प्रत्यारोपण गरिदिने जिम्मा लिइसकेका छन ।
तर, दुर्भाग्यवश, काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रशासन शाखा प्रशासकीय अधिकृत रामकुमार तिमल्सिनाले सम्बन्धित फाइल अगाडि नबढाउँदा प्रत्यारोपण प्रक्रिया अल्झिएको हो।
कैलाशकी आमा गीता तामाङको विगतमा दोस्रो विवाह भइसकेको हुँदा कानुनी प्रक्रिया अल्झिएको जनाइएको छ। यद्यपि उनी हाल पनि मोरङमै बसोबास गर्दै आइरहेकी छन् र स्थानीय तह तथा मोरङ जिल्ला प्रशासन कार्यालयबाट आवश्यक स्वीकृति र सिफारिस प्राप्त भइसकेको छ। । मोरङ प्रशासनको सिफारिस र प्रमाणपनि पुगिसकेको भए पनि कैलाशको जीवन एउटा दस्तखतको पर्खाइमा लट्किएको छ।
कैलाशकी आमाको विगतमा दोस्रो विवाह भएको कारण देखाउँदै कागजी अड्चन खडा गरिएको छ। तर गीता तामाङ आज पनि आफ्नै छोरा बचाउन मोरङमै बसेर प्रयासरत छिन्।
काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रशासन शाखा प्रशासकीय अधिकृत रामकुमार तिमल्सिनाले सम्बन्धित फाइल अगाडि नबढाउँदा प्रत्यारोपण प्रक्रिया अल्झिएको हो र यस बिषयमा काठमाडौँ जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी पनि बेवास्ता गर्दै आएका छन
“सबै प्रक्रिया पूरा भइसकेको अवस्थामा काठमाडौं प्रशासनबाट गरिएको ढिलाइले हामीलाई अप्ठ्यारोमा पारेको छ,” तामाङ परिवारको भनाइ छ।
बिरामीको स्वास्थ्य अवस्था दिनप्रतिदिन कमजोर बन्दै गइरहेको हुँदा तत्काल निर्णय नगरे बिरामीको ज्यान नै जोखिममा पर्न सक्ने अवस्था देखिएको छ। नागरिक जीवनसँग जोडिएको यस्तो संवेदनशील विषयमा प्रशासनले समयमै चासो नदिंदा आम नागरिक निराश भएको प्रतिक्रिया देखिएको छ।
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले विधान विपरीत बसेको पार्टीको राष्ट्रिय भेलाको निर्णय मान्य नहुने बताएकी छन् ।
बिहीबार सिंहदरवारमा कृषि समितिको बैठकमा सहभागी भई निस्कने क्रममा श्रेष्ठले राष्ट्रिय भेला बोलाउने अधिकार अध्यक्षलाई मात्रै रहेको भन्दै विधान विपरीत बसेको पार्टीको राष्ट्रिय भेलाको निर्णय मान्य नहुने प्रष्ट्याइन् ।
पार्टीको विधानअनुसार आफूले कुनै पनि बैठक नै आह्वान नगरेको भन्दै उनले अहिले पनि आफू पार्टीको अध्यक्षमा कायमै रहेको बताइन् ।
श्रेष्ठले आफू निरन्तर काममा हिँडिरहेको भन्दै पार्टीको विवादका बारेमा केही थाहा नभएको र कुनै भेला नबोलाएको जिकिर जिकिर गरिन् ।
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना रहेको संकेत गरेका छन् ।
लामो समयदेखि मन्त्रिपरिषद् हेरफेर नभएको भन्दै उनले सत्तारुढ दलहरूबीच सहमति जुटेमा पुनर्गठन हुन सक्ने बताएका हुन् ।
बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूको प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले भने, ‘सामान्यतया २-३ महिनामा मन्त्रिपरिषद् पुनर्गठन हुने देशमा हाम्रोमा १३ महिनादेखि भएको छैन। अब होला भनेर सर्वत्र चासो राखिएको छ, यो अस्वाभाविक पनि होइन।’
उनले नेकपा एमाले र नेपाली काँग्रेस सम्मिलित राजनीतिक संयन्त्रमा सहमति जुटेमा मन्त्रिपरिषद् पुनर्गठन हुने स्पष्ट पारे। ‘सरकारमा सहभागी मन्त्रीहरूको कार्यसम्पादनमा प्रश्न उठेको खण्डमा पार्टीभित्र छलफल गरेर हेरफेर गरिनेछ,’ उनले थपे।
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीचको छलफल सुरु भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघिबाट दुई दलका नेताहरुबीच छलफल सुरु भएको हो।
छलफलमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, सरकारमा रहेका मन्त्री हेरफेर, बागमती प्रदेश सरकारमा देखिएको किचलोलगायतका विषयमा छलफल हुने जनाइएको छ।
छलफलमा प्रधानमन्त्री केपी ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी छन्। भने कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी छन्।
काठमाडौं । निर्वाचन आयोगले अब राजनीतिक दलको व्यवहारका आधारमा नम्बर दिने भएको छ । आयोगबाट प्राप्त गरेको नम्बरका आधारमा राजनीतिक दलले सरकारबाट प्राप्त हुने सुविधा पाउने छन् । निर्वाचन आयोगले ‘राजनीतिक दल स्वमुल्यांकन कार्यविधि २०८२’ ल्याएको छ । यो कार्यविधिउपर राजनीतिक दलहरू, सरोकारवाला र विज्ञसँग सुझाव मागिएको छ ।
निर्वाचन आयोगले राजनीतिक दलहरूसँग ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२’ उपर सुझाव मागेको छ । आयोगका अनुसार उक्त कार्यविधिको मसौदा तयार गरी राजनीतिक दलहरूलाई पठाइएको छ । सोही कार्यविधिको मसौदामाथि सुझाव मागिएको हो । आयोगमा सुझाव पेस गर्नका निम्ति यही साउन २२ गते सम्मको समय दिइएको छ ।
राजनीतिक दलको आन्तरिक कार्यविधिलाई व्यवस्थित गर्दै काम कारबाहीलाई पारदर्शी र जिम्मेवार बनाउन स्वमूल्यांकन कार्यविधि २०८२ बनाइएको आयोगकी प्रवक्ता निता पोखरेल अर्यालले जानकारी दिइन् ।
यस निम्ति दल आफैंले आफ्नो मूल्यांकन गर्ने पद्धतिको विकास गर्न संस्थागत प्रबन्धको लागि निर्वाचन आयोगले तयार गरेको मस्यौदा उपर सुझाव प्राप्त भएपछि त्यसआधारमा आवश्यक हेरफेर समेत गर्न सकिने प्रवक्ता अर्यालले बताइन् । प्रवक्ता अर्यालका अनुसार राजनीतिक दलहरूका अलावा सरोकारवाला, विषय विज्ञ तथा सर्बसाधारणले समेत साउन २२ गतेसम्म कार्यविधिउपर आफ्नो राय सुझाव उपलब्ध गराउन सक्ने छन् ।
कार्यविधिमा राजनीतिक दलले स्वमूल्यांकन गेर निर्वाचन आयोगमा प्रतिवेदन पेस गर्नुपर्ने लगायतका विषय समावेश छ । के कस्ता विषयमा स्वमूल्यांक्न गर्ने भनेर पनि कार्यविधिमा खुलाइएको छ । कार्यविधिको मस्यौदामा उल्लेख भए अनुसार ९ वटा विषय वा बँदामा स्वमूल्यांकन गरेर आयोगमा प्रतिवेदन बुझाउनु पर्ने हुन्छ ।
(क) दलले कानून बमोजिम गर्नुपर्ने कामकारबाही सञ्चालन गर्न ।
(ख) दलले कानून बमोजिम पालना गर्नुपर्ने काम कारबाहीको स्वमूल्याङ्कन गरी दलहरुको आन्तरिक लोकतन्त्रलाई मजबुद बनाउन ।
(ग) दलले आफ्नो भावी रणनीति तयार गर्न सहयोग पुर्याउन ।
(घ) दलको मूल्याङ्कनको नतिजाका आधारमा राज्यबाट प्राप्त हुने सुविधा प्रदान गर्न सहज बनाउन ।
(ङ) दलको मूल्याङ्कनको नतिजासंग अन्य विषयलाई आवद्ध गर्न ।
(च) दलको सवल तथा कमजोर पक्षको पहिचान गरी कार्य सम्पादनमा सुधार गर्न ।
(छ) दलको समावेशी संगठनात्मक संरचना निर्माण गर्न ।
(ज) दलको वित्तीय अवस्थालाई पारदर्शी बनाउन ।
(झ) राजनीतिक दलका अन्य आवश्यक कार्य गर्न सहज बनाउन ।
काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ ।
साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो परम्परा बसेको जानकारहरू बताउँछन् ।
संस्कृत भाषामा ‘पायस’ भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतम बताउँछन् ।
‘साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । धेरै घाँस पाइने बेलामा गाई–भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र र चेलबेटीलाई घरमा बोलाएर खिर खाने चलन चलेको हो । यो स्वास्थ्यका हिसाबले पनि उत्तम मानिएको छ’, उनले भने ।
साउन भगवान शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खिरलगायत मिठाई विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खिर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् गौतमको भनाइ छ ।
यसको कुनै शास्त्रीय वचन भने नरहेको उनले बताए । ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएकालाई पायस अर्थात् खिर खुवाउने गरिएको थियो । वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रूपमा गाईको दूधमा पायस अर्थात् खिर बनाएर खुवाउने चलन अझै कायमै छ ।
चामल, सावधाना, सेवई, मकै, गाजरलगायतको खिर बनाउने गरिन्छ । सावधानलाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी, साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खिर पनि बनाएर खाने चलन छ ।
नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ट खाद्यपदार्थ, पायस, तस्मै’ भनी खीरलाई परिभाषित गरिएको छ ।
नेपाली समाजमा असार १५ गते दही च्यूरा, साउन १५ गते खिर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घीउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर इष्टमित्र एवं छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ लाई खिर खाने दिन अर्थात् खिर दिवसका रूपमा मनाउने गरेको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सेवाग्राही र वरिष्ठ कर्मचारी खुशी हुनेछन् । स्थिर प्रयोजनमा धन लगानी गर्न सक्नुहुन्छ । पुराना सहकर्मीसँगको भेटघाटले मनलाई ताजा बनाउनेछ । सकारात्मक बन्ने प्रयास गर्नुहोला किनभने आपसी समन्वय त्यस्तो उज्यालो बन्नसक्छ, जसले निराशा र छटपटीको अन्धकारलाई हटाउनेछ र मनका तुस हटेर जानेछन् । परिश्रम र प्रयास गर्ने दिन हो, दृढ इच्छाशक्ति राख्नुपर्छ, नयाँ जिम्मेबारी वा दायित्व वहन गर्न पाइने छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यवस्थापन पक्ष र सहयोगी कामदारसँगको तालमेल कायम राख्न सफल भइने छ, नयाँ प्रविधिको प्रयोग गरेमा उत्पादनमा बृद्धि हुनसक्छ । कामधन्दामा मज्जाले खट्नुपर्ने हुन्छ, जीवनसाथीले आफ्नो विवशता नबुझिदिंदा झन दिक्क लाग्नसक्छ, तर बृद्धबृद्धाको सद्भाव र सहानुभूति बटुल्न पाइने छ । भाग्य भरोसामा रहने होइन, स्वयं आफूलाई विश्वास गर्ने समय हो, परीक्षाको तैयारी गर्दै हुनुहुन्छ भने उत्तम परिणाम प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सफलता चाहनेले समस्या पहिल्याउनमा होइन, समाधान खोज्नमा ध्यान केन्द्रित गर्नुपर्छ, भविष्य सुध्रनुका साथै ठोस आम्दानीसमेत हासिल हुनसक्छ । तपाईंले केवल प्रयास गर्ने हो, भाग्यले नचिताएको उपलब्धि प्रदान गर्नेछ । आम्दानीको मार्गमा बढोत्तरी हुनाले जीवनमा नयाँ आयाम थपिने दिन हो । विदेशी परियोजनामा काम गरेमा सुसुप्त चाहनालाई जीवन्त तुल्याउन सकिने छ । नयाँ ठाउँको छोटो यात्राले आपसी सम्बन्धमा प्रगाढता छाउनेछ, सँगै बसेर छलफल गर्ने र मनका इच्छालाई सेयर गर्ने दिन हो ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पद प्रतिष्ठामा बृद्धि हुनेछ, धनवैभव जुटाउने अनुकूलता मिल्नेछ, आफ्नो कुलघरान र खानदानको इज्जत बढाउने कुनै कार्यक्रममा सहयोग गर्न मन लाग्नेछ । सहयोगीको अनुपस्थितिले दैनिक कारोबारमा मन्दी छाउने समय छ, तर पुरानो बाँकी बक्यौता उठाउने प्रयास गर्नुहोला, डुबेको वा गुमेको धन हातपार्न सक्नुहुन्छ । चिन्ता÷शङ्का र डरले जरो गाड्नेछ, दिक्क लागेको छ भने बरु एकान्तमा बस्नु वा आध्यात्मिक गतिविधिमा सहभागिता जनाउनु राम्रो हुन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सुख-सुविधाप्रतिको मोह बढ्नेछ, मन कल्पना र भावनामा रुमल्लिन सक्छ । अल्छी नगरी पढाइमा ध्यान दिएमा राम्रो उपलब्धि पाइने छ । आनन्द र रमणीयताका लागि समय छुट्याइने छ, घुमघाम, भ्रमण र पर्यटनको मनसाय पनि बन्नसक्छ र जीवनसाथी वा प्रेयसीको भावनाको कदर गर्दै केही धनरकम मौजमज्जामा खर्च गर्ने परिस्थिति छ । नयाँ कामतर्फ अग्रसर भइने छ, आफ्नो पुरुषार्थ बढ्नाले प्रतिद्वन्द्वीको मनोबल कमजोर बन्नेछ, आजको केही समय आफन्त वा घरपरिवारका लागि छुट्याउनुपर्ने हुन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रतिष्ठा प्राप्त गर्न प्रतिस्पर्द्धा गर्ने दिन हो । चिन्तनमननमा निर्लिप्त हुने परिस्थिति पनि बन्नेछ, कुनैकुनै विषयमा बेकारको तर्क वा बहस हुनसक्ने दिन हो, त्यसैले मुखमा लगाम लगाएकै जाती हुन्छ । कार्यालयमा सहयोगी साथीहरू र घरमा परिवारका सदस्यहरूले तपाईंका कुरा नबुझिदिंदा दिक्क मान्न सक्नुहुन्छ, तर आज रिस र आवेगमा नियन्त्रण गरेको असल हुन्छ । दोधारेपन, अलमल र चिडचिडेपन हाबी हुने दिन हो, अझ पार्टनरका क्रियाकलाप वा कुनै कुराप्रति शङ्का उब्जनाले दिक्क लाग्ने समय छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ कारोबारप्रतिको आकर्षण बढ्नेछ । परिस्थिति आफ्नो पक्षमा नरहे पनि बुद्धि र ट्रिकको प्रयोग गरी लक्ष्यमा पुग्न सकिने दिन हो । प्रेमभाव, शान्त वातावरण, खुसी र सद्भाव कायम रहने राम्रो दिन छ । कनिष्ठ नातेदार वा छोराछोरीका तर्फबाट थप प्रसन्नता पाउन सक्नुहुन्छ । अलि धेरै मिहिनेत गर्नुपर्ने समय हो, किनभने आजको प्रयासले भविष्यका लागि स्कलरसीप, सहुलियत वा विशेष अवसर प्राप्त हुनसक्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिस्थिति अनुकूल देखिए पनि भौतिक सुविधा बढाउन थप व्ययभार थपिने दिन हो, त्यस्तै मनोरञ्जनात्मक क्रियाकलापमा अलमलिंदा गर्नैपर्ने काममा बिलम्ब हुनेछ । परिबन्द र बाध्यतामा खुम्चनु पर्दा मन निरस बन्नसक्छ, चाहँदाचाहँदै पनि पार्टनरको इच्छानुसार समय दिन नपाउँदा झन नरमाइलो लाग्नसक्छ । लगनशील भएर काम गर्नसके पदप्रतिष्ठा, स्वाभिमान र सम्पत्ति फिर्ता आउनसक्छ, कुनै प्रशासनिक समस्या छ भने प्रयास गरेमा हल हुने दिन हो ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ एवं पुराना मित्रसित भुलिनाले पार्टनरलाई समय प्रदान गर्न सकिंदैन, तर कुनै व्यक्तिगत कार्य सम्पन्न हुने दिन छ । तपाईंको आन्तरिक सामर्थ्य र तीक्ष्ण बुद्धिको प्रयोगले कुनै महत्त्वपूर्ण काम बन्ने समय छ । सन्तान वा भाइबहिनीको उन्नतिप्रगतिका लागि केही धनराशि खर्च गर्नुपर्ने हुन्छ । कारोबारमा मन्दी देखिएको छ भने थप मिहिनेत गर्नुहोस्, लगनशील बन्नसके विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिक आम्दानीमा परिवर्तन आउनसक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सुख सुविधा बृद्धिका लागि विभिन्न सामाग्रीको किनमेल गरिने र खर्च बढ्ने दिन हो, तर खर्च बढे पनि मानसिकतामा यसको कुनै प्रभाव पर्नेछैन । अभिव्यक्ति कौशलमा निखार आउने छ, अध्ययनप्रतिको लगावले व्यक्तित्व विकासको सुअवसर मिल्नेछ, आजको मिहिनेतले प्रतिस्पर्द्धाको दौडमा अग्रणी हुन सकिने छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने दिन हो, सेयरमा रुचि छ भने अनुभवीको राय लिएर लगानी गर्न सक्नुहुन्छ, साथै स्थिर प्रयोजनको धनमा समेत लगानी बढाउने दिन हो ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आत्मबल र जोसजाँगर बढ्नेछ, घरायसी काम समयमैं टुङ्ग्याइने छ, भावना साटासाट गर्दै पतिपत्नी एकान्तमा रमाउन पाउने र घुमफिरमा निस्कने समय हो । अरुले के गर्दैछन् र के सोच्दैछन् भन्ने चिन्ता गर्ने होइन, बरु आफ्नो कहाँ कमजोरी छ पत्ता लगाएर अघि बढ्ने समय हो । निर्णयात्मक शक्ति र व्यवस्थापकीय कौशलताको प्रदर्शन गरी आफ्नो सर्कलमा छुट्टै पहिचान स्थापना गर्न सकिने छ । दूरगामी भविष्यका योजनाहरूको मूल्याङ्कन गर्दै दृढ इच्छाशक्तिका साथमा काममा जुट्नुहोस्, सफलता मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आनन्दप्राप्तिका लागि एकअर्काको कमजोरी खोतल्ने काम गर्नु हुँदैन, एकआपसमा समर्पित भएमा मात्र प्रेम सफल हुन्छ भन्ने कुरामा विश्वास गर्नुहोला । मुख छुचो हुने दिन छ, देखेको कुरामा प्याच्च बोल्नु हुँदैन, नत्र बेकारको लफडा र तनावमा पर्न सक्नुहुन्छ । तरल पदार्थको कारोवार, खाद्य पदार्थ, सौन्दर्य प्रसाधनका वस्तुहरू र फलफूल÷तरकारीको व्यवसायमा विशेष लाभ हुने दिन हो ।




