
काठमाडौं । रुपन्देही–३ मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन लागि २६ दल दर्ता भएका छन् । निर्वाचन आयोगले आज (सोमबार) विज्ञप्ति जारी गर्दै २७ वटा दलले निवेदन दिएकामा २६ दल मात्रै दर्ता हुन योग्य रहेको बताएको छ ।
आयोगले दल दर्ताका लागि साउन २१ देखि २७ गतेसम्मको समय दिएको थियो । रुपन्देही–३ मा १७ गते उपचुनाव हुँदैछ ।
.jpg)
.jpg)
काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवविरुद्ध रौतहटको गौर हत्याकाण्ड प्रकरणमा अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको छ ।
न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार जिल्ला प्रहरी कार्यालय रौतहटलाई यादवविरुद्ध गौर हत्याकाण्डमा अनुसन्धान अघि बढाउन आदेश दिएको हो ।
सन् २००७ (वि.सं. २०६३) को चैत्र ७ गते, रौतहटको गौरस्थित राईसमिल चौरमा तत्कालीन मधेसी जनअधिकार फोरम र नेकपा माओवादीका कार्यकर्ताबीच भएको झडपमा २७ जना माओवादी कार्यकर्ताको ज्यान गएको थियो । उक्त घटनालाई लिएर २०८० साल जेठ २१ गते सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो ।
यसमा पीडित पक्षका तर्फबाट आम जनता पार्टीका नेता त्रिभुवन साहले जिल्ला प्रहरी कार्यालय रौतहट गौर र जिल्ला सरकारी वकिल कार्यालय रौतहट गौरलाई विपक्षी बनाएर मुद्दा दायर गरेका थिए ।
घटनाका बारेमा राष्ट्रिय मानवअधिकार आयोगले गरेको अनुसन्धानमा उक्त आक्रमण पूर्वनियोजित र संगठित भएको ठहर गरिएको थियो ।
आयोगले घटनामा संलग्नहरूलाई कानुनी कारबाही गर्न सिफारिस गरे पनि अहिलेसम्म राज्यले ठोस कदम नचालेको भन्दै पीडित पक्ष सर्वोच्च पुगेका थिए ।
सर्वोच्चको आदेशसँगै १९ वर्षअघि भएको उक्त घटनामा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका उपेन्द्र यादवमाथि कानुनी प्रक्रिया सुरु हुने बाटो खुलेको छ ।
काठमाडौं । भारतका परराष्ट्र सचिव विक्रम मिस्रीले काठमाडौंस्थित नेपाली सेनाको मुख्यालयमा आयोजित एक विशेष समारोहबीच नेपाली सेनालाई विभिन्न सामग्री हस्तान्तरण गरेका छन् ।
सो अवसरमा मिस्रीले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देललाई लाइट स्ट्राइक वाहन, क्रिटिकल केयर मेडिकल उपकरण तथा सैन्य प्रयोजनका जनावर औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् । उनले नेपाली सेनालाई ६ वटा स्ट्राइकिङ भेइकल उपहार दिएका छन् ।
नेपाली सेनाको मुख्यालय जंगीअड्डा पुगेर उनले ‘लाइट स्ट्राइकिङ भेइकल’ दिएका हुन् । जंगीअड्डाका एक उच्च सैनिक अधिकृतका अनुसार, सैन्य सामग्री हस्तान्तरण गर्ने केही अगाडिदेखि नै तयारी थियो । विदेशसचिव आएको सन्दर्भमा उनी आफैं जंगी अड्डामा पुगेर हस्तान्तरण गरेका हुन् ।
स्रोतका अनुसार, ब्रिडिङ प्रयोजनका लागि २ वटा सैनिक कुकुर समेत उनले हस्तान्तरण गरेका छन् । सोही अवसरमा विदेशसचिव मिश्रीले ६ वटा सैनिक घोडा पनि दिएको ती अधिकृतले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिन आइतबार विदेशसचिव मिस्री काठमाडौं आएका थिए । आइतबारै उनले प्रधानमन्त्री ओली, राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, विपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरिसकेका छन् । परराष्ट्रमन्त्री आरजु राणा देउवासँग पनि हिजै उनको भेट भयो ।
यस किसिमको सहयोगले दुई देशका सेनाबीचको घनिष्ठ सम्बन्ध र मजबुत रक्षा सहकार्यलाई प्रतिविम्बित गर्ने जनाइएको छ । परराष्ट्र सचिव मिस्रीका अनुसार, यो साझेदारीले दुवै सेनाबीचको विश्वास र दीर्घकालीन मित्रताको आत्मालाई प्रकट गर्ने कार्य गरेको छ । नेपाली सेनाले पनि यस सहयोगलाई स्वागत गर्दै भविष्यमा अझै प्रभावकारी सहकार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । सचिव मिश्री आइतबार नेपाल भ्रमणमा आइपुगेका हुन् ।
मोरङ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको संगठित सदस्य र कार्यकर्ता रहेको बताएकी छन् । आज (सोमबार) विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै भण्डारीले नेकपा (एमाले) को नीति र कार्यक्रम अनुसार नै अघि बढ्ने स्पष्ट पारेकी छन् ।
आफ्नो ४५ वर्ष लामो एमालेसँगको आबद्धता स्मरण गराउँदै भण्डारीले पार्टीको हितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले भनिन्, ‘म नेकपा एमाले नै हो । म नेकपा एमाले नै भएर राष्ट्रपतिमा निर्वाचित भएको हो ।’
राजतन्त्र र गणतन्त्र फरक रहेको भन्दै उनले पद सकिएपछि पुरानो काममा फर्कन सकिने जिकिर गरिन् । राष्ट्रपतिको पद आवधिक हुने र कार्यकाल सकिएपछि जुनसुकै नागरिक पनि आफ्नो सामाजिक वा राजनीतिक जीवनमा फर्कन सक्ने भन्दै उनले भनिन्, ‘राजतन्त्र र गणतन्त्र फरक हो । यो आवधिक हुन्छ । जोसुकै पनि जनताको सहभागिताले निर्वाचित भएर आउन सक्छ । कार्यकाल सकिएपछि आफ्नो पुरानै जीवनमा फर्कन सक्छन् ।’
गणतन्त्र र राजतन्त्रमा फरक–फरक संवैधानिक व्यवस्था हुने र राजा भनेको व्यक्ति भएको तर राष्ट्रपति भनेको पद भएकाले राजनीतिमा फर्कन कुनै बाधा नभएको उनको तर्क छ ।
सदस्यता नविकरण नगर्ने केन्द्रीय कमिटीको निर्णयबारे सोधिएको प्रश्नमा भण्डारीले आफूलाई औपचारिक जानकारी नभएको बताइन् । ‘पार्टीको औपचारिक कुरा के छ, मलाई त्यो थाहा छैन’ उनले भनिन्, ‘सबै सदस्यहरूलाई सबै कुरा थाहा हुँदैन नि । कमिटीमा बस्नेहरूलाई थाहा होला ।’ उनले आफू अहिले केन्द्रीय समितिमा नरहेको कारणले पार्टीको औपचारिक निर्णयबारे जानकारी नभएको स्पष्ट पारिन् ।
भण्डारीले गत साउन १४ गते एमालेको सक्रिय राजनीतिमा आउने घोषणा गरेकी थिइन् । उनले केपी ओलीबाट एमालेको नेतृत्व हुन नसक्ने भन्दै अब अध्यक्षको दाबेदारी गर्ने समेत बताएकी थिइन् । त्यसलगत्तै बसेको नेकपा एमालेको केन्द्रीय समिति बैठकले उनको नविकरण भइसकेको पार्टी सदस्यता नै खारेज गरेको थियो ।
उनलाई सक्रिय राजनीतिमा आउन रोक लगाउने निर्णय एमालेले गरेको भएपनि भण्डारीले आफ्नो अभियान नरोकिने बताउँदै आएकी छन् । भण्डारीले आफ्नो सदस्यता पार्टीको बिधान र प्रक्रिया अनुसार नविकरण भइसकेकको जिकिर गरेकी छन् । राष्ट्रपतिमा निर्वाचित हुँदा पनि पार्टीले विशेष निर्णय गरेर पठाएको र कार्यकाल सकिएपछि आफूले विधिवत रूपमा सदस्यता नवीकरण गरेको उनको भनाइ छ ।
आफू आलोचनाभन्दा मुक्त नरहेको भन्दै उनले गुट चलाएको आरोपको प्रतिवाद गरेकी छन् । ‘मलाई गुट चलाउन आउँदै आउँदैन’ उनले भनिन्, ‘मदन भण्डारी फाउन्डेसनमाथि लगाएको आरोपबारे पार्टीका नेताहरूलाई नै सोध्नु होला ।’
कांग्रेस नेता डा. शेखर कोइरालासँग भएको भेटलाई लिएर सोधिएको प्रश्नमा भण्डारीले त्यसलाई सामान्य रूपमा लिनुपर्ने बताइन् । ‘शेखर कोइरालासँग मेरो भेट भएको हो । उहाँ पनि मोरङ विराटनगरकै हो । हामी पनि त्यहीँ जन्मिएर हुर्केको हो’ उनले भनिन्, ‘त्यो भेटेको कुरालाई यस्तो एकदमै ठूलो हाउगुजीको रूपमा लिनुपर्ने म ठान्दिनँ ।’
वाम एकताको सम्भावनाबारे सोधिएको प्रश्नमा भण्डारीले वामपन्थी पार्टीहरू धेरै भएकाले सम्भावना नरहेको भन्न नमिल्ने बताएकी छन् । तर, त्यसलाई बलियो रूपमा नदेखेको उनको भनाइ छ । ‘सम्भावनै छैन भनेर मैले भन्न पनि मिलेन । तर, सम्भावना म त्यति बलियो देख्दा पनि देख्दिनँ’ उनले भनिन् ।
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनमाथि भारतबाट गाडी चोरेर जिविकोपार्जन गरेको आरोप लगाएका छन् ।
आइतबार पत्रकार सम्मेलनमार्फत प्रसाईंले लिङ्देनमाथि यस्तो आरोप लगाएका हुन् । गत चैत १५ गते तीनकुनेमा भएको आन्दोलनमा राप्रपाले मिलेर छुरा हानेको समेत आरोप लगाए ।
‘राप्रपाका राजेन्द्र लिङ्देन दाइलाई म के भन्छु भने–यो त बैंक ठग हो हजुर बैंक ठग हो भन्थे । उसलाई भन्दिनु १५ गते जुन धोका दियौँ । अब जीवनमा तिमीले धोका दिन सक्दैनौँ । तिमी जस्तो भारतबाट गाडी चोरेर ल्याएर बिर्तामोडमा काटेर बेच्नेको सन्तान म होइन । जुन हिसाबकिताबले मलाई बैंक ठग भनेका थियौँ । मलाई १५ गते राप्रपा मिलेर छुरी हानेको छ । म बाँच्न सफल भएको मान्छे’, उनले भने ।
काठमाडौं । दुई साताअघि डिल्लीबजार कारागारबाट छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ०८१ साल चैत १५ गते काठमाडौंको तीनकुने घटनाबारे पहिलोपटक बोलेका छन् ।
उनले सोमबार एक पत्रकार सम्मेलन आयोजना गर्दै उक्त दिनको घटनाबारे बताएका हुन् ।
उनले करिब १० वर्षपछि आफूले पहिलोपटक सोही दिन गाडी चलाएको र आफूलाई मार्ने योजना बुनेको थाहा पाएपछि प्रहरीकै अगाडि पुगेको बताएका छन् ।
‘म गाडी लिएर प्रहरीकोमा गएँ । मार्ने योजना भए पनि एक दुई जनालाई भनेको हुन्छ भन्ने लागेर मैले पुलिसकै गुँडभित्र छिर्नुपर्छ भनेर छिरेँ,’ प्रसाईंले भनेका छन्, ‘त्यसपछि मलाई एकजना डीएसपी साबले आएर, तपाईंले जे गर्नुभयो ठिक गर्नुभयो, अब तपाईं गएर कार्यक्रम सकेर निस्कनुस् भन्नुभयो ।’
त्यसपछि आफू मञ्चमा पुगेर प्रहरी र आफ्ना समर्थकलाई संयमित हुन आग्रह गरेको प्रसाईंले सुनाए ।
‘मैले मञ्चमा गएर प्रहरीसँग धक्कामुक्का नगर्नुस्, प्रहरीले पनि अश्रुग्यास नहान्नुस् भनेँ,’ प्रसाईंले भनेका छन् ।
त्यतिबेलै एक जना सिभिलका प्रहरीले आफूलाई मार्ने योजना रहेको रहेको जानकारी गराएको र लगत्तै उपत्यका छाडेको प्रसाईंले बताएका छन् ।
साथै, उनले उपत्यकामा कर्फ्यु लाग्दा काठमाडौं उपत्यका छाडिसकेको पनि बताएका छन् ।
‘मलाई त्यतिबेलै प्रहरीका एक जना सिभिलका मान्छे आएर तपाईंलाई मार्ने योजना छ भनेपछि म त्यहाँबाट निस्किएँ । म कर्फ्यु लाग्दा काठमाडौं उपत्यका छाडिसकेको थिएँ,’ प्रसाईंले सो दिनको घटनाबारे भने, ‘मलाई इन्काउन्टर गर्ने आदेश रहेछ । किनभने, यो देशमा मदन भण्डारी बाँचेको थियो भने अरुको चान्स आउँदैन थियो । त्यही भएर मदन भण्डारीलाई मारियो ।’
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले औपचारिक रूपमा राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन् ।
सोमबार पत्रकार सम्मेलन गरेर प्रसाईले अब नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका हुन् ।
प्रसाईले वर्तमान राजनीतिक नेतृत्वप्रति असन्तुष्टि जनाउँदै अब देशमा नयाँ सोच, विचार र नेतृत्व आवश्यक रहेको उल्लेख गरे । ‘अब देशलाई परिवर्तन गर्न दल बनाएर अघि बढ्छु,’ प्रसाईंले भने ।
प्रसाईले गठन गर्ने भनिएको दलको नाम, संरचना र नीति भने आगामी केही दिनमै सार्वजनिक गरिने जनाइएको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदी आयातमा भुक्तानीको सीमा वृद्धि गरेको छ । केन्द्रीय बैंकले सीमा वृद्धि गरी पाँच लाख अमेरिकी डलर बराबर पुर्याएको जनाएको हो ।
सुनचाँदी व्यवसाय गर्ने उद्योगले चाँदीका गरगहना कलात्मक वस्तु, भाँडाकुँडा आदि बनाउन औद्योगिक कच्चा पदार्थको रुपमा आफ्नै प्रयोजनका लागि आयात गर्दा प्रतिपटक तीन लाख अमेरिकी डलर बराबरको सुविधा प्राप्त हुँदै आएको थियो ।
राष्ट्र बैंकले चाँदी आयात गर्दा प्रतिपटक अब पाँच लाख अमेरिकी डलर बराबरको वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्ने भएको हो ।
यसैगरी अन्य सुनचाँदी व्यवसायीले चाँदी आयात गर्दा प्रति पटक अमेरिकी डलर एक लाख वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्मको सुविधा प्रदान गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।
केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालका अनुसार, निकासी आदेश पुष्टि हुने अग्रिम भुक्तानी वा प्रतितपत्र वा विदेशबाट खरिद आदेश बराबरको कागजात पेस गर्नुपर्नेछ ।
सटही सुविधा दिने वाणिज्य बैंकले प्रत्येक पटक सटही सुविधा प्रदान गर्दा सो पूर्व सटही सुविधा प्रदान भएको भए सो अन्तर्गत चाँदी आयात भई तोकिए बमोजिम निर्यात भए नभएको यकिन भने गर्नुपर्नेछ ।
वाणिज्य बैंक बाहेक बैंकबाट चाँदी आयातको सटही सुविधा लिई निर्यातको भुक्तानी लिन बक्यौता नरहेको सम्बन्धी स्वःघोषणा चाँदी व्यवसायीसँग लिनुपर्ने व्यवस्था गरिएको छ ।
काठमाडौं । अष्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिज क्रिकेट प्रतियोगितामा नेपाली टोलीले लगातार तेस्रो हार व्यहोरेको छ । नेपाली टोली सोमबार सम्पन्न आफ्नो तेस्रो खेलमा मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भयो ।
टस जितेर पहिले ब्याटिङको निर्णय लिएको मेलबर्न स्टार्स एकेडेमीले निर्धारित ओभरमा सात विकेट गुमाएर १७५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपाली टोलीले निर्धारित ओभरमा सात विकेट गुमाएर १४४ रनमात्र बनाउन सक्यो ।
जारी प्रतियोगितामा नेपाली टोलीले भोगेको यो लगातार तेस्रो हार हो । यसअघि, आफ्नो पहिलो खेलमा नेपाली टोली एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा पनि नेपाली टोली बंगलादेशको ‘ए’ टोलीसँग ३२ रनले पराजित भएको थियो ।
नेपाली टोलीका लागि ओपनर ब्याट्सम्यान आसिफ शेखले अर्धशतकीय पारी खेले । उनले ४९ बलमा ५३ रन बनाए । यस क्रममा उनले एक छक्का र तीन चौका प्रहार गरे । उनी दूर्भाग्यपूर्ण तरिकाले रन आउट भएका थिए ।
कप्तान रोहित कुमार पौडेलले पनि ३३ रन बनाए । उनले ३१ बलमा तीन चौका हिर्काए । ओपनर कुशल भुर्तेलले पनि टोलीको खातामा २५ रन थपे । उनले १३ बलमा चार चौका प्रहार गरे । कुशल मल्लले ११ रन बटुले ।
त्यसअघि, मेलबर्न स्टार्स एकेडेमीका लागि दुई ब्याट्सम्यानले उत्कृष्ट अर्धशकीय पारी खेलेका थिए । ओपनर टम रोजर्सले ६५ रन बनाए । उनले केवल ४६ बलको सामना गरी एक छक्का र सात चौका हिर्काएका थिए ।
तेस्रो नम्बरमा क्रिज समाल्न आएका ब्लेक म्याकडोनल्डले पनि टोलीका लगि ७४ रनको योगदान गरे । आक्रामक रूपमा प्रस्तुत भएका उनले केवल ४७ बलको सामना गरी दुई छक्का र सात चौका पनि हिर्काएका थिए ।
विकेटकिपर ब्याट्सम्यान साम हार्परले ११ रन बनाए । मेलबर्न स्टार्स एकेडेमीका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपाली टोलीका बलर सन्दीप लामिछानेले तीन विकेट लिए ।
प्रभावशाली लेग–स्पिनर सन्दीपले चार ओभरमा २६ रन खर्चिएका थिए । जारी शृंखलामा उनले लिएको विकेट संख्या सात पुगेको छ । सोमपाल कामी र साहब आलमले पनि एक–एक विकेट हात पारे ।
टप इन्ड सिरिज अगस्ट २४ तारिखसम्म सञ्चालन हुनेछ । शृंखलामा नेपालले आफ्नो चौथो खेल मंगलबार हरिकन्ससँग खेल्नेछ । नेपालले २० तारिखमा रेनगेड्ससँग पाँचौं र २२ तारिखमा पाकिस्तान ‘ए’सँग छैटौं खेल खेल्नेछ ।
यो शृंखला सकिएलगत्तै नेपाली टोली अस्ट्रेलियामै अर्को शृंखलामा सहभागी हुनेछ । दोस्रो शृंखलामा पनि नेपाली टोलीले कूल पाँच खेल खेल्नेछ । दोस्रो शृंखलामा नेपाली टोलीले क्रिकेट एसीटीसँग अगस्त २६ तारिखमा पहिलो खेल खेल्नेछ ।
सोही दिन नेपाली टोलीले आफ्नो दोस्रो खेल पनि क्रिकेट एसीटीसँगै खेल्नेछ । अगस्ट २८ तारिखमा नेपाली टोलीले साउथ अस्ट्रेलियासँग तेस्रो खेल खेल्नेछ । सोही दिन नेपालले आफ्नो चौथो खेल पनि साउथ अस्ट्रेलियासँगै खेल्नेछ । नेपालले आफ्नो पाँचौं खेल ३० तारिखमा साउथ अस्ट्रेलियासँगै खेल्नेछ ।
नेपाली टोलीले यी दुवै शृंखला आगामी टी–२० विश्वकपको छनोट प्रतियोगिताको तयारीका क्रममा खेल्न लागेको हो । एसिया तथा प्रशान्त क्षेत्रको अन्तिम चरणको विश्वकप छनोट प्रतियोगिता आगामी अक्टोबर ८ देखि १७ तारिखसम्म ओमानमा आयोजना हुँदैछ ।
छनोट प्रतियोगितामा नेपालसहित नौ टोली सहभागी हुनेछन् । नेपाल, जापान र कुवेत प्रतियोगिताको समूह ‘बी’ मा छन् । मलेसिया, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) समूह ‘ए’ मा छन् । समूह ‘सी’ मा भने आयोजक ओमान, पपुवा न्यू गिनी र समाओ रहेका छन् ।
अन्तिम चरणको उक्त छनोट प्रतियोगिताबाट तीनवटा टोली आगामी आईसीसी टी–२० विश्वकपमा पुग्नेछन् । आगामी टी–२० विश्वकप सन् २०२६ को फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ ।
काठमाडौं । हमासले बेपत्ता बनाइएका बिपिन जोशीका आमा र बहिनीले इजरायली राष्ट्रपतिलाई भेटेका छन्।बिपिनको रिहाइका लागि पहल गरिदिन मागसहित उनीहरूले जेरुसेलममा राष्ट्रपति आइज्याक हर्जोगसँग भेटेका हुन् ।
भेटमा आमा पदमा जोशी र बहिनी पुष्पासँगै नेपालका इजरायलस्थित राजदूत धनप्रसाद पण्डित पनि सहभागी थिए । भेटका क्रममा आमा पदमाले आफ्ना छोरा विपिनको शीघ्र रिहाइका लागि अनुरोध गरेकी थिइन् । उनले छोरा निर्दोष विद्यार्थी भएको उल्लेख गर्दै मानवीय दृष्टिले पहल गर्न आग्रह गरेकी थिइन् ।
त्यस्तै बहिनी पुष्पाले पनि राष्ट्रपति समक्ष विपिनको रिहाइका लागि व्यक्तिगत अपिल गर्दै अन्तर्राष्ट्रिय प्रयासलाई अझ बलियो बनाउन आग्रह गरिन् । राजदूत पण्डितले पनि राष्ट्रपति समक्ष विपिनको अवस्थाबारे निरन्तर पहल गर्न विशेष अनुरोध गरे ।
जवाफमा राष्ट्रपति हर्जोगले गत ७ अक्टोबर २०२३ मा हमासले बन्धक बनाएको स्मरण गर्दै विपिनलाई इजरायलले आफ्नै नागरिकझै अनुभव गरिरहेको बताए । उनले बिपिनसहित सबै बन्धकहरूको रिहाइका लागि इजरायली सरकार निरन्तर प्रयासरत रहेको बताए । यस विषयमा नेपाल सरकार पनि सम्बन्धित अरब मुलुकहरूसँग पुनः संवादमा सक्रिय हुन सके थप प्रगति सम्भव हुने विश्वास व्यक्त गरे ।
त्यस्तै उनीहरूले इजरायली संसदका अध्यक्ष अमिर ओहानासँग पनि भेटवार्ता गरेका थिए । नेपाल–इजरायलबीचको न्यानो मित्रवत् सम्बन्धलाई स्मरण गर्दै विपिनप्रति गहिरो चासो रहेको उनले बताएका थिए ।
उनले इजरायल सरकार बिपिनसहित सबै बन्धकहरूको मुक्तिका लागि भरमग्दुर प्रयासरत रहेको र हालै नेपालका समकक्षीसँग जेनेभामा भएको छलफलमा पनि विपिनको प्रसंग उठाइएको बताए ।




