२०८२ आश्विन २८ गते मंगलवार
२०८२ आश्विन २८ गते मंगलवार

काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका-४ को बेरिङ खोल्साले बगाउँदा ४ जना मानिस बेपत्ता भएका छन् ।

भक्तपुरबाट लाङटाङ घुम्न गएका १६ जनाको टोलीमध्ये ४ जना खोल्साले बगाएर बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, वडा नम्बर ५ ब्याम्बोस्थित होटेलमा बास बसेर लाङटाङतर्फ जाने क्रममा बाढीले बगाएको हो ।

 

बेपत्ता हुनेहरूमा भक्तपुर ठिमी नगरपालिका बस्ने संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ, संगिता श्रेष्ठ र रवि श्रेष्ठ रहेका छन् ।

अहिले प्रहरीले खोजी कार्य जारी राखेको छ ।

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले विपद्को यस समयमा नागरिकलाई जोखिमबाट बचाउन राज्यको सबै स्रोत प्रयोग गरिने बताएकी छन् ।

देशवासीका नाममा आज एक भिडियो सन्देश जारी गर्दै उनले असोज १७ गते बेलुकीदेखि निरन्तर देशभर भारी वर्षा भइरहेकाले राज्यका सबै निकाय परिचालन गरिएको र आवश्यक सुरक्षा निर्देशन पालना गरी सुरक्षित रहनसमेत आग्रह गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले जल तथा मौसम विज्ञान विभागका अनुसार अझै दुई दिन निरन्तर वर्षा हुने भएकाले सुरक्षित र सावधानीपूर्वक रहन देशवासीलाई अपिल गरेकी छन् ।

‘हामी बाढीपहिरो र कटानको उच्च जोखिममा छौँ, धेरै स्थानमा पहिरोको जोखिम छ । सरकारी निकाय उद्धार र राहतका लागि उच्च मनोबलका साथ २४ सै घण्टा लागिपरेका छन् । राजमार्ग र अन्य पूर्वाधारको सक्रियतापूर्वक निगरानी भइरहेकाले जहाँ हुनुहुन्छ त्यही सुरक्षित बस्नुस्, अरुलाई पनि सुरक्षित रहन प्रेरित गर्नुस्, आवतजावत नगर्नुस्, सवारी नचलाउनुस्, जोखिमको पूर्वआकलन गरेर सुरक्षालाई उच्च प्राथमिकता दिएर मात्र काम गर्नुस्’, उनले भनिन् ।

प्रधानमन्त्री कार्कीले जोखिमकै कारण सरकारले आइतबार र सोमबार सरकारले देशभर सार्वजनिक बिदा दिएको पनि उल्लेख गर्दै प्रहरी र अन्य सरकारी निकायले जारी गरेका सूचनाअनुसार नै काम गर्न सबैलाई अनुरोध गरिन् ।

काठमाडौं- गृह मन्त्रालयले देशभरका राजमार्गमा रोकिएका सवारीसाधनलाई सडक र मौसमको अवस्थाअनुसार गन्तव्यसम्म पुर्‍याउने गरी सहजीकरण गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

मन्त्रालयले सबै प्रमुख जिल्ला अधिकारीलाई आज पत्राचार गरी आवश्यकताअनुसार यात्रुलाई स्थानीय तह तथा सङ्घ संस्थासँगको समन्वयमा खानपानको व्यवस्था मिलाउन पनि आग्रह गरेको छ । राजमार्गमा रोकिएका एम्बुलेन्सलाई अवस्था हेरी सुरक्षित गन्तव्यसम्म पुर्‍याउन, बाटोमा अलपत्र परेका गर्भवती महिलालाई नजिकको ‘बर्थिङ सेन्टर’सम्म पुर्‍याउन व्यवस्था मिलाउनका लागि पनि निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।

बाढी पहिरोको जोखिमपूर्ण स्थानमा बसोबास गरिरहेका व्यक्ति तथा परिवारलाई स्थानीय पालिकासँगको समन्वयमा नजिकको विद्यालय एवं खुला स्थानमा स्थानान्तरणको व्यवस्था मिलाउन पनि मन्त्रालयले निर्देशन दिएको छ । मौसमका कारण उडान स्थगित भई विमानस्थलबाट फर्केका यात्रुलाई यातायात व्यवसायीसँगको समन्वयमा आवश्यक परिवहनको व्यवस्था मिलाउन पनि निर्देशन दिएको मन्त्रालयका उपसचिव निशानराज गौतमले जानकारी दिए ।

बाढी पहिरोका कारण तत्काल हेलिकप्टरबाट उद्धार गर्नुपर्ने भएमा मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखामा सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देश गरिएको पनि उनले बताए ।

प्रतिकूल मौसमलाई मध्यनजर गर्दै वर्षातका कारण बाढीपहिरो तथा डुबानको जोखिममा रहेका जिल्लाको हकमा प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका प्रमुखलाई २४ सै घण्टा कार्यालयमा उपस्थित हुने व्यवस्थाका लागि परिपत्र गरिएको छ

बाढी, पहिरोका सन्दर्भमा गरिएका कामको प्रगति विवरण विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा पठाउन पनि मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई निर्देशित गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी भएको सूचनाअनुसार लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारीसाधनको आवतजावत आजदेखि असोज २० गते सोमबारसम्म बन्द गर्न÷गराउन पनि मन्त्रालयले पत्राचार गरेको छ । त्यसको अनुगमन र निगरानी गर्न निर्देशन दिइएको छ ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार आजदेखि असोज २० सम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले यस्तो निर्देशन गरिएको मन्त्रालयको परिपत्रमा उल्लेख छ । विभागको पूर्वानुमानअनुसार हाल देशभर वर्षा भइरहेकाले मनसुनजन्य विपद् जोखिमको अवस्थालाई मध्यनजर गरी आवश्यक व्यवस्था मिलाउन पनि मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई आह्वान गरेको जनाइएको छ ।

काठमाडौं– मुलुकका अधिकांश स्थानमा परिरहेको भारी वर्षासँगै आज बिहानैदेखि उपत्यकाबाट बाहिरिएका सवारीसाधन धमाधम उपत्यकामा नै फर्किन थालेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न राजमार्गमा पहिरो जान थालेपछि सुरक्षित रहन सवारीसाधन उपत्यकामा नै फर्किन थालेको जानकारी दिएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले बीपी, अरनिको, पृथ्वीलगायतका मुख्य राजमार्गमा पहिरो जान थालेपछि उपत्यकाबाट बाहिरिएका सवारीसाधन पनि फर्किन थालेको जानकारी दिए ।

‘अहिले पहिरोका कारण उपत्यकाबाट बाहिरिएका सवारीसाधन पनि काठमाडौँतिर नै फिर्ता भइरहेका छन्, यतिबेला उपत्यकाका चारै तिरका नाका बन्द छन्’ उनले भने, ‘सुरक्षित तरिकाले सवारीसाधनहरू होल्ड भएका छन्, भौतिक र मानवीय क्षति कम गर्न सडक यात्रा सुरक्षित छैन ।’

सडक विभागले बीपी राजमार्गमा अहिले बिहान १० बजेपछि सवारीसाधनको प्रवेश रोक लगाइएको जानकारी दिएको छ । जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म नै भारी वर्षा हुने भएकाले विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । 

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आगामी तीन दिन भारी वर्षाको सम्भावना रहेकोले लामो दूरीका यातायात सञ्चालन बन्द गर्ने निर्णय गरिएको प्राधिकरणले जनाएको हो । 

‘भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबान एवं त्यसबाट उत्पन्न हुने सक्ने सम्भावित विपद् जोखिम न्यूनीकरण गर्न कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारी साधन आवतजावत मिति २०८२ असोज १८, १९ र २० गतेका लागि बन्द गरिएको बेहोरा निर्देशानुसार जानकारी गराइन्छ’, प्राधिकरणले सूचना मार्फत भनेको छ । 

उक्त अवधिमा यातायात व्यवसायी लगायत कसैले पनि अत्यावश्यक बाहेकका लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारी साधन नचलाउन, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायले सवारीसाधन आवतजावत बन्द गर्न तथा गराउन एवं सोको निरन्तर अनुगमन तथा निगरानी गर्न समेत प्राधिकरणले आग्रह गरेको छ । 

काठमाडौं ।  देशभर हाल बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको असरस्वरूप देशभरको मौसममा उल्लेखनीय परिवर्तन आएको छ, जसले गर्दा जनजीवनमा प्रत्यक्ष प्रभाव पर्ने देखिएको छ । हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

 

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका धेरैजसो स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । यसैगरी, बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा पनि वर्षा हुनेछ । विशेषगरी, कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना औँल्याइएको छ ।

सबैभन्दा महत्त्वपूर्ण चेतावनीका रूपमा मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा धेरै भारी वर्षा को समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

 

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा अधिकांश बदली रहनेछ भने बाँकी प्रदेशमा सामान्यतया बदली रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका अधिकांश स्थानहरूमा, लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । यसका अतिरिक्त, कोशी, मधेस, बागमती र गण्डी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा तथा मधेस प्रदेश लगायत लुम्बिनी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा को सम्भावना रहेको छ ।

महाशाखाले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा तथा मधेस प्रदेश लगायत लुम्बिनी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा विशेष अनुरोध गरेको छ ।

यस विषम मौसमका कारण बाढी, पहिरो, भूक्षय, सडक अवरोध र डुबान जस्ता विपदको जोखिम बढ्न सक्ने भएकाले यात्रा गर्दा पछिल्लो मौसमी सूचनाको जानकारी लिएर मात्र गर्न महाशाखाले सुझाव दिएको छ । विशेषगरी नदीतटीय क्षेत्रमा बसोबास गर्ने र पहाडी भूभागमा यात्रा गर्नेहरूलाई थप सजग रहन अपिल गरिएको छ ।

काठमाडौं । आश्विन शुक्ल द्वादशीको पावन अवसरमा पनि नवदुर्गा भवानीको प्रसाद स्वरूप टीका थाप्ने र मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने क्रम देशभर जारी रहेको छ । विजयादशमीका दिनदेखि सुरु भएको यो विशेष परम्परा कोजाग्रत पूर्णिमासम्म चल्ने भएकाले दशैँको माहोल अझै कायम छ ।

 

नवदुर्गाको नौ दिनसम्म विधिपूर्वक पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपश्चात् टीका, जमरा र आशीर्वाद लिने परम्परा नेपाली समाजमा छ । विशेषगरी आफन्तजन, अग्रज तथा मान्यजनको घरमा पुगेर निधारमा रातो टीका र कानमा जमरा सिउरँदै, सुख, शान्ति र समृद्धिको आशीर्वाद ग्रहण गर्ने चलनले पारिवारिक तथा सामाजिक बन्धनलाई अझै सुदृढ बनाएको छ ।

राजधानी काठमाडौँ उपत्यका लगायत देशका अधिकांश भागमा यो क्रम बाक्लो रूपमा चलिरहेको छ । मानिसहरू बिदाको सदुपयोग गर्दै टाढा टाढा रहेका आफन्तहरूसँग भेटघाट गर्न र उनीहरूको आशीर्वाद थाप्न पुगेका छन् । गाउँघरदेखि शहरबजारसम्म चहलपहल उत्तिकै छ ।

 

यद्यपि, पश्चिम नेपालका केही जिल्लाहरूमा भने विजयादशमीका दिन मात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको पाइन्छ । दशैँको यो विशेष समयमा टीका र जमरा मात्र होइन, आफन्तसँगको पुनर्मिलन र आत्मीयता साट्ने अवसर पनि हो ।

मेष : दिन राम्रो छ। यात्रा सफल बन्नेछ। शिक्षा र स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। ऋणको भार कम हुँदै जानेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट नाफा हुनेछ। बन्धुसँगको सहकार्यमा फाइदा हुनेछ। राजनीति र शिक्षामा महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ। विदेशी रमझमले मन आकर्षित गर्ने योग रहेको छ।

मिथुन : दिन सामान्य छ। श्रम शोषण हुनेछ। अरुको सेवा गर्ने बानीले स्वास्थ्यमा गम्भीर संकट आइपर्ने जोखिम छ। शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने छ।

कर्कट : दिन सामान्य छ। आफ्नो मूल्यांकन गर्न नसक्दा हरेक काममा अवरोध हुनेछ। सामाजिक काममा आंशिक फाइदा हुनेछ। संकटमा परिवारको साथ र सहयोग भने प्राप्त हुनेछ।

सिंह : दिन सामान्य छ। मनमा चिन्ता बढ्नेछ। सञ्चित धन खर्च हुनेछ। शिक्षा र स्वास्थ्यमा सुधारको योग छ। परिवारभित्र आफ्ना योजना नसुनाउनु फाइदा हुनेछ।

कन्या : दिन राम्रो छ। कृषिको व्यापारबाट नाफा हुनेछ। निजी क्षेत्रको शिक्षामा प्रगति हुनेछ। हरेक काममा प्रशंसा प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

तुला : दिन सामान्य छ। दाम्पत्य जीवनमा खटपटी बढ्नेछ। जागिरमा समस्या हुनेछ। परिवारसँग मनमुटाव बढ्ने दिन छ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ।

वृश्चिक : दिन राम्रो छ। सहकर्मीसँगको सहकार्यले उचाइ बढ्नेछ। शिक्षामा गरेको लगानीको उचित मूल्यांकन हुनेछ। विपक्षीको विवादको फाइदा तपाईंलाई हुनेछ।

धनु : दिन सामान्य छ। आज गरेको लगानी डुब्ने जोखिम छ। लगानी गर्नु अगाडि तीन पटक सोच्नु उचित हुन्छ। परिवारले शंका गर्ने भएकाले बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ।

मकर : दिन राम्रो छ। मन प्रशन्न बन्नेछ। निजी क्षेत्रमा भन्दा सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। परिवारको साथ प्राप्त हुनेछ। कार्यगत एकता गरेर गरेको कामबाट फाइदा हुने येग छ।

कुम्भ : दिन सामान्य छ। सोचेको काम बन्ने योग छ। सामाजिक र राजनीतिक क्षेत्रमा काम गर्ने हिम्मत गर्नुपर्ने देखिन्छ। रमाइलो गर्ने नाममा स्वास्थ्यमा ख्याल नगरे जोखिम बढ्ने खतरा छ।

मीन : दिन सामान्य छ। मध्य साढेसाती दशा भएकाले आफ्नो मूल्यांकन गर्न नसक्दा हरेक काममा अवरोध हुनेछ। सामाजिक काममा आंशिक फाइदा हुनेछ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।