
काठमाडौं। नेपालले आईसीसी टी–२० विश्वकप छनोटको उपाधि जितेको छ। शुक्रबार ओमान भएको सुपर सिक्सको अन्तिम खेलमा सामोआलाई एक सय २४ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले उपाधि जितेको हो। टी–२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपाल अपराजित रहँदै उपाधि जितेको हो।
नेपालले दिएको २१२ रनको विशाल लक्ष्य पछ्याएको सामोआले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८७ रन मात्रै बनाउन सक्यो। सामोआका सिन सोलियाले ४० तथा बेन माइलाटाले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन्। नेपालका ललित राजवंशीले ३ विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो। सामोआसँगको खेलमा नेपालका दुई खेलाडी आसिफ शेख र दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे। आसिफ शेखले ४१ बलमा ६९ र दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ५३ रनको योगदान दिए ।
कुशल भुर्तेल १७ र आरिफ शेख ९ रनमा आउट भए । कप्तान रोहित पौडेल १२ बलमा २१ र लोकेश बम १२ बलमा ३९ रनमा अविजित रहे।
काठमाडौं । गत भदौ २४ मा भएको लुटपाट र आगजनीका क्रममा हराएकामध्ये करिब ४ सय हतियार मात्रै भेटिन बाँकी रहेको छ । नेपाली सेनाले सार्वजनिक गरेको विवरण अनुसार, हराएकामध्ये करिब ९७८ वटा हतियारमध्ये ५८६ वटा भेटिएका छन् ।
गृह मन्त्रालय सम्बद्ध स्रोतका अनुसार, हराएकामध्ये करिब आधाजसो हतियारमा गोली मिल्ने खालका छैनन् । अर्थात् आधाजसो हतियारका गोली सुरक्षित रहेको लुटिएका करिब २ सयभन्दा बढी हतियार मात्रै चुनौतीयुक्त हुन् ।
तीमध्ये कतिपय हतियार लुकाएको ठाउँबारे सूचना संकलन गर्ने प्रयास भइरहेको भन्दै गृहप्रशासनले विशेष अपरेशन चलाएर भएपनि तिनलाई फिर्ता ल्याउने प्रयास गर्नेबारे गृहकार्य गरिरहेको हो ।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले देशमा जरो गाडेर फैलिएका भ्रष्टाचारमाथि अभियोग चलाउन फाइलहरू खोलेर काम थालिएको बताएकी छिन् ।
शुक्रबार विभिन्न कूटनीतिक निकायका प्रमुख र राजदूतहरूलाई ब्रिफिङ गर्ने क्रममा उनले यस्तो बताएकी हुन् ।
‘हामीले पारदर्शितालाई बढवा दिन र सार्वजनिक कोषको दुरुपयोगका बाटाहरू बन्द गर्न राष्ट्रिय बजेटलाई संशोधन गरेका छौँ र ज्यादै फैलिएका भ्रष्टाचार र भ्रष्टाचारीमाथि अभियोग चलाउन फाइलहरू खोलेका छौँ,’ उनले भने ।
वर्तमान सरकारले जवाफदेहीता सुनिश्चित गर्न तत्काल कदमहरू चालिरहेको उनले ब्रिफिङको क्रममा भनेकी छिन् ।
‘संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यहरूका लागि सबैभन्दा बढी फौज पठाउने देश हुनुमा हामीलाई गर्व छ,’ प्रधानमन्त्री कार्कीले भनेकी छिन्, ‘यो विश्व शान्तिमा हाम्रो सामान्य तर अर्थपूर्ण योगदान हो ।’
काठमाडौँ- जेनजी युवा मिरज ढुंगानाले नयाँ दल घोषणा गर्ने भएका छन् । ढुंगानाले भोलि (शनिबार) दिउँसो १ बजे काठमाडौँको एभरेष्ट होटेलमा पत्रकार सम्मेलन आयोजना गरिएको पनि जानकारी गराएका छन् ।
प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका नेपालीले मत हाल्न पाउनुपर्ने अधिकार सुनिश्चित हुनुपर्ने लगायतका एजेन्डामा रहेर दल दर्ता गर्ने उनले बताएका छन् ।
सामाजिक सञ्जालमार्फत एक भिडियो जारी गर्दै उनले पार्टी गठन वार्ता समिति गठन भएको जानकारी गराएका छन् ।
‘देश गम्भीर अवस्थामा छ । देशले निकास खोजिसकेको छ । यस्तो अवस्थामा हामी दल खोल्नुपर्ने निष्कर्षमा पुगेका छौँ,’ ढुंगानाले भनेका छन् ।
ढुंगाना जेनजी आन्दोलनपछि चर्चामा आएका अगुवामध्येका हुन् ।
काठमाडौं । स्थानिय बजारमा सुनको मूल्य बढ्ने क्रम आज पनि जारी गरेको छ । पछिल्लो समय निरन्तर रेकर्ड कायम राखिरहेको सुनको मूल्य शुक्रबार तोलामा ७ हजार १ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँमा भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
अघिल्लो दिन छापावाल सुन प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि ११० रुपैयाँले बढेर ३ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार २४० रुपैयाँ कायम भएको थियो ।
वासिङ्टन डीसी । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदाले धनी देश भएकाले नेपाल भ्रमणको लागि विश्व समुदायलाई आग्रह गरेका छन् ।
बिहीबार विश्व बैंक समूहले यहाँ आयोजना गरेको ‘दिगो पर्यटनः रोजगारी, जीवनयापन आर्थिक वृद्धिको लागि विषयक’ छलफल कार्यक्रममा भाग लिँदै मन्त्री खनालले उक्त धारणा राखेका हुन् ।
कार्यक्रममा भाग लिँदै मन्त्री खनालले पर्यटकहरूलाई सदैव न्यानो आथित्यता प्रदान गर्न र विश्वस्तरको उत्कृष्ट सेवा प्रदान गर्ने बताए । कार्यक्रममा विभिन्न देशका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
काठमाडौं । सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभागअन्तर्गत हुलाकी सडक निर्देशनालय, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं र इटहरी मातहतका सडक डिभिजन कार्यालयले रुग्ण अवस्थामा रहेका १७ वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका छन् ।
सडक डिभिजन कार्यालय विराटनगर, चन्द्रनिगाहपुर तथा निर्देशनालयले पाँच/पाँच र नुवाकोटले २ वटा गरी १७ वटा ठेक्का किन नतोड्ने ? भन्दै शुक्रबार सार्वजनिक सूचना जारी गरेका छन् । ठेका तोड्न प्रक्रिया बढाइएका अधिकांश पुल निर्माणका रहेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिनुभएको थियो । सडकअन्तर्गत २५८ ठेक्का रुग्ण छन् ।
ठेक्का सम्झौता टोड्न लागिएकोमा सबैभन्दा ठूलो झापाको कन्काई पुलको रहेको छ । हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका-२ र गौरीगञ्ज गाउँपालिका-१ जोड्ने करिब ७२३ मिटर लम्बाइ कन्काई पुलको ठेक्का तोड्ने प्रक्रिया अगाडि बढेको छ ।
पक्की पुल डिजाइन एण्ड विल्ड ढाँचामा निर्माणका लागि आर्थिक वर्ष २०६७/६८मा पप्पु महादेवखिम्ती संयुक्त उपक्रम (जेभी)सँग ठेक्का सम्झौता भएको थियो । १४ वर्षमा पुल निर्माणको भौतिक र वित्तीय प्रगति करिब ५५ प्रतिशत मात्र छ । मन्त्री घिसिङले २६ असोजमा उक्त पुल निर्माणबाट छिट्टै निर्णय गरिने स्थानीय बासिन्दालाई बताउनुभएको थियो ।
ठेक्का तोड्न लागिएका सबै परियोजनामा ठेक्का तथा योजनाको पटकपटक म्याद थप भई तोकिएको अवधिमासमेत निर्माण कार्य सम्पन्न गर्नेतर्फ चासो नदेखाई निर्माण कार्य अधुरो तथा अलपत्र परी निर्माण व्यवसायी लामो समयदेखि कार्यस्थलमा भौतिक रुपमा उपस्थित नभएको उल्लेख गरिएको छ । विभिन्न मितिमा लिखित तथा मौखि रुपमा कार्य सम्पन्न गर्न अनुरोध तथा जानकारी गराउँदा समेत निर्माण व्यवसायीबाट निर्माण कार्य सम्पन्नतर्फ कुनै चासो नदेखाइको ठेक्का समझौता उल्लंघन गरिएको जनाइएको छ ।
सूचना प्रकाशित भएको १५ दिनभित्र का सम्पन्न गर्न सक्ने संसोधित कार्यतालिका, स्रोत साधन परिचालनको भरपर्दो योजना, कार्य सम्पन्न गर्ने प्रतिबद्धता र ठेक्का नतोड्ने कुनै मनासिब कारण भए सत्यतथ्य प्रमाण राखी स्पष्टीकरणसहित आधिकारिक व्यक्ति कार्यालयमा उपस्थित हुन सार्वजनिक आह्वान गरिएको छ ।
उक्त अवधमिा काम सुरु गर्ने तदारुकता नदेखाएमा सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राख्ने तथा कार्यसम्पादन जमानत, धरौती बापतको रकम, पेश्की जमानत जफत र पेश्की रकमको १० प्रतिशत ब्याज असुल गर्नुको साथै बाँकी काम गर्न लाग्ने खर्च सरकारी बाँकी सरह असुलउपर गर्नेतर्फ कारबाही अगाडि बढाइने उल्लेख गरिएको छ ।
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यसै वर्ष सञ्चालित कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । जेठ १३ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको यस परीक्षामा सहभागी भएकामध्ये ९ हजार ४५६ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
बोर्डले आज सार्वजनिक गरेको नतिजाअनुसार कूल १४ हजार ९ सय १० परीक्षार्थी सहभागी भएका थिए । यसमध्ये ९ हजार ४५६ जनाले सफलता हासिल गरेका छन् । परीक्षामा दुई जना परीक्षार्थीको नतिजा भने रद्द गरिएको बोर्डले जनाएको छ ।
विद्यार्थीहरूले राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक वेबसाइटमा गएर वा नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशनअनुसार आफ्नो नतिजा हेर्न सक्नेछन् ।