२०८३ जेष्ठ १६ गते शनिबार
२०८३ जेष्ठ १६ गते शनिबार

गोरखा । मनास्लु क्षेत्रमा ढुङ्गाले लागेर एक पर्यटक घाइते भएका छन् । घाइते भएका पर्यटक दुई दिनदेखि उद्धारको पर्खाइमा छन् ।

चुमनुब्री गाउँपालिका-१ सामागाउँबाट फर्कँदा ढुङ्गाले टाउकोमा लागेर काठमाडौँको टोखा-६ का ४४ वर्षीय मिनुइन्द्र लम्साल घाइते भएका थिए । प्रतिकूलमौसमका कारण हेलिकोप्टर उड्न नसकेपछि उद्धारमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए। 

“टाउकोमा गम्भीर चोट छ, झन् जोखिम हुनसक्ने भएकाले बोकेर ल्याउन सकिएको छैन”, उनले भने। प्राथमिक उपचार गरिरहेका स्वास्थ्यकर्मी छिरिङ खाम्डो लामाका अनुसार लम्साल उद्धारको पर्खाइमा छन् । बिहीबार सामागाउँबाट फर्कने क्रममा चुमनुब्री–४ बुरनजिकैको भीरबाट खसेको ढुङ्गाले टाउकोमा लागेर लम्साल घाइते भएका थिए ।

काठमाडौँ। राष्ट्रपति कार्यालय शीतल निवासमा तोडफोड र लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बैतडीको मेलौली नगरपालिका-७ का १८ वर्षीय विशाल सिंह कार्की, बैतडीकै सुर्नया गाउँपालिका-८ का १९ वर्षीय दीपक बोहरा र बझाङको बित्थडचिर गाउँपालिका–१ का १९ वर्षीय हेमन्त बोहरा छन् ।

उनीहरुविरुद्ध चोरी तथा आपराधिक उपद्रवको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।

उनीहरूले जेनजी आन्दोलनको बेला राष्ट्रपति कार्यालय शीतल निवास तोडफोड र आगजनी हुनुका साथै त्यहाँबाट सरसामान चोरेको आरोप छ ।

उनीहरूको साथबाट राष्ट्रपति कार्यालयका प्रिन्टर, वाईफाई राउटर लगायतका सामग्री बरामद भएको प्रहरीले बताएको छ ।

जियुक्वान । चीनले बिहीबार सन् २०३० सम्ममा आफ्ना अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमाको सतहमा अवतरण गराउने योजनालाई तीव्र रूपमा अघि बढाइरहेको घोषणा गरेको छ । यो लक्ष्य चीनको दीर्घकालीन उद्देश्य- अन्तरिक्ष अन्वेषणमा विश्व नेतृत्व हासिल गर्नेको महत्त्वपूर्ण हिस्सा हो ।

चाइना म्यान्ड स्पेस प्रोग्रामका प्रवक्ता झाङ जिङबोका अनुसार हाल चन्द्रमामा मानव अवतरणसम्बन्धी अनुसन्धान तथा विकासका सबै परियोजनाहरू सुचारु रूपमा अघि बढिरहेका छन् । उनले लङ मार्च-१० रकेट, चन्द्र अवतरण पोसाक र अन्वेषण सवारी निर्माणलाई यस दिशामा ‘फलदायी उपलब्धि’ का रूपमा वर्णन गरे । झाङले भने-  ‘सन् २०३० सम्ममा चन्द्रमामा व्यक्ति पठाउने हाम्रो लक्ष्य अटल र स्पष्ट छ ।’

यो घोषणासँगै चीनले आफ्नो तियाङ्गोङ अन्तरिक्ष स्टेसनमा पठाउन लागेको नयाँ अन्तरिक्ष यात्री टोलीको परिचय पनि गराएको छ । यो मिसन चीनको बढ्दो अन्तरिक्ष क्षमताको अर्को महत्त्वपूर्ण चरण हो । नयाँ चालक दलमा झाङ लु, वु फेइ र झाङ होङझाङ रहेका छन् । उनीहरू आगामी शुक्रबार राति ११: ४४ बजे जियुक्वान प्रक्षेपण केन्द्रबाट प्रस्थान गर्नेछन् ।

 

झाङ लुले यसअघि सेन्झाउ-१५ मिसनमा सहभागिता जनाइसकेका थिए भने वु फेइ र झाङ होङझाङका लागि यो पहिलो अन्तरिक्ष यात्रा हुनेछ । उनीहरूले तियाङ्गोङ अन्तरिक्ष स्टेसनमा पुगेर करिब ६ महिनासम्म अनुसन्धान गर्ने योजना छ ।

यो यात्रामा अन्तरिक्ष यात्रीहरूले दुई नर र दुई पोथीसहित चार वटा मुसा पनि साथ लैजानेछन् । यी जनावरहरूमा भारहीनता र सीमित वातावरणको प्रभाव अध्ययन गरिनेछ, जसले भविष्यको दीर्घकालीन अन्तरिक्ष यात्रामा जैविक अनुसन्धानका लागि मूल्यवान् जानकारी प्रदान गर्नेछ ।

चीनले सन् २०११ मा अमेरिकी प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस) बाट अलग भएपछि आफ्नै तियाङ्गोङ, अर्थात् ‘हेभनली प्यालेस’, नामक अन्तरिक्ष स्टेसन निर्माणको काम सुरु गरेको थियो । उक्त कार्यक्रम पिपुल्स लिबरेसन आर्मीको प्रत्यक्ष प्राविधिक समन्वयमा सञ्चालन भइरहेको छ, जसले अमेरिकामा राष्ट्रिय सुरक्षासम्बन्धी चिन्ता पैदा गरेको छ ।

तियाङ्गोङ अहिले पूर्ण रूपमा सञ्चालनमा छ र चीनले यसलाई पृथ्वीको कक्षामा दीर्घकालीन वैज्ञानिक प्रयोगशाला बनाउने लक्ष्य लिएको छ । प्रत्येक नयाँ टोलीले त्यहाँ सूक्ष्म गुरुत्वाकर्षण, जैविक अनुकूलन र प्राविधिक परीक्षणमा अनुसन्धान गर्छ ।

विश्लेषकहरूका अनुसार चीनको सन् २०३० लक्ष्य विश्वका अन्य अन्तरिक्ष शक्तिहरू-अमेरिका र रुस-सँगको प्रतिस्पर्धामा निर्णायक कदम हुनेछ । यदि सबै योजना सफल भए चीन सो समयसम्म चन्द्रमामा मानव अवतरण गराउने दोस्रो देशका रूपमा स्थापित हुनेछ ।

बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएकामा आज साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

हाल देशका अधिकांश प्रदेशहरूमा वर्षा र हिमपातको सम्भावना रहेको कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहनेछ भने बाँकी प्रदेशहरूमा साधारणतया बदली रहने महाशाखाको पूर्वानुमान छ ।

महाशाखाका अनुसार आज दिउँसो कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुनेछ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ । कोशी, मधेस र वाग्मती प्रदेशका केही तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

यसैगरी, कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा मध्यम हिमपात हुन सक्नेछ । यस्तै, ती प्रदेशका केही स्थानमा भारी हिमपात हुने सम्भावना पनि छ ।

भारी वर्षा र हिमपातको पूर्वानुमान गरिएका स्थानका सर्वसाधारण एवं किसानका साथै यात्रामा निस्किएका तथा सवारीचालकलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

लगातारको वर्षाले बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा पहिरो र लेदोको कारण सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ ।

बीपी राजमार्ग अन्तरगत चौकीडाँडा, चारसयबेसीको नाङसाल क्रसर, बोक्सीकुना र माम्तीमा पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । यसैगरी नार्के, पिन्थलीबेसी, विरुवाडाँडा लगायतका स्थानमा लेदोका कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

राजमार्गको अवरोध हटाएर सडक सञ्चालन गर्न समय लाग्ने भएकाले पूर्व जाने गाडीहरु काभ्रेपलाञ्चोकको भकुन्डेमा रोकिएका छन् ।
पानी परिरहेकाले जोखिम बढेको भन्दै हाल पहिरो पन्छाउन रोकिएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले बीपी राजमार्ग अन्तर्गत काभ्रे जिल्ला भित्रको अवरोध हटाएर सडक सञ्चालन गर्न समय लाग्ने भएकाले सुरक्षित यात्राका लागि सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरेको छ ।

सडक भासिँदा मेची राजमार्ग अवरुद्ध
यता, बिहीबारदेखि भइरहेको निरन्तरको वर्षाका कारण मेची राजमार्ग अन्तर्गत इलामको राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ।

सडक विभिन्न स्थानमा दबिँदै, भासिँदै र चिरिँदै गएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ।

त्यसैगरी, तिल्केनी, सिमलगोला, शिल्पुर सडकखण्ड समेत पहिरोका कारण पूर्णरूपमा अवरुद्ध बनेको छ।

यी दुबै सडकखण्डमा सवारी साधन सञ्चालन पूर्ण रूपमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ।

खोटाङमा समेत एक ठाउँमा सडक अबरुद्ध भएको जानकारी आएको प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी ध्रुबकुमार श्रेष्ठले जानकारी दिए।

अविरल वर्षाका कारण बिपी राजमार्गको काभ्रे जिल्लाअन्तर्गत चौकीडाँडा, चारसयबेशी, डालाबेशी, नार्केलगायतको विभिन्न स्थानमा लेदोसहितको पहिरो खसेपछि कोसी प्रदेशबाट गएका सवारीसाधनलाई सचेत गराइएको समेत उनले जानकारी दिए।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।