२०८२ कार्तिक २९ गते शनिबार
२०८२ कार्तिक २९ गते शनिबार

काठमाडौं। नेकपा एकीकृत समाजवादी लगायत आठ दलसँग एकताको निर्णयमा पुगेको नेकपा माओवादी केन्द्र विभाजित भएको छ।

पार्टीका पूर्वउपमहासचिव जनार्दन शर्मा, पूर्वसचिव राम कार्की, पूर्वस्थायी समिति सदस्य अञ्जना विशुंखे लगायतले पार्टी परित्याग गर्दै नयाँ अभियान सुरु गरेका छन्।

मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै शर्माले प्रगतिशील अभियान, नेपाल नामको राजनीतिक अभियान घोषणा गरे।

पार्टीको मूल नेतृत्वसँग लामो समयदेखि संघर्ष गर्दै आएका शर्माले माओवादीको नेतृत्वमा भएको दशवर्षे संघर्षदेखि पछिल्लो जेनजी आन्दोलनले उठाएका माग र भावना विपरीत पार्टी र नेतृत्व अघि बढेकाले एकता प्रक्रियाबाट बाहिरिएको बताए।

उनले विगतको नेतृत्वका खराब आचरण र क्रियाकलापमा आफूहरूले पनि सघाएको आत्मालोचना गर्दै अब सच्चिएर अघि बढ्न अभियान थालेको दाबी गरे।

‘विगतका हाम्रा कमजोरीलाई स्वीकार गर्दै नयाँ अभियानका साथ हामी अघि बढ्छौं’ पत्रकार सम्मेलनमा उनले भने, ‘विखण्डित वाम र प्रगतिशील शक्तिहरूलाई एकीकृत समाजवादी आन्दोलनको दिशामा अघि बढाउने वैचारिक र राजनीतिक प्रयास सुरु भएको छ।’

काठमाडौँ । डा. निकोलस भुसाल पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोरखाबाट पक्राउ गरेको हो । उनी गोरखा नगरपालिका-८ सरस्वती आश्रमबाट मंगलबार पक्राउ परेका हुन् ।

 

उनलाई अब काठमाडौँ ल्याउने तयारी गरेको प्रहरी स्रोतले बताएको छ । उनले यसअघि सामाजिक सञ्जालमार्फत विवादास्पद अभिव्यक्ति दिएका थिए । प्रहरीले उनलाई निगरानीमा राखेको थियो ।

काठमाडौं । नेपाल प्रहरीमा पछिल्लो तीन महिनामा साढे ४ सय प्रहरी कर्मचारीले राजीनामा दिएका छन् । प्रहरीका अनुसार २० वर्ष सेवा पूरा गरेका र कोही ५ वर्ष मात्रै सेवा गरेकाले राजीनामा दिएका छन् ।

 

केही दिनअघि मात्रै नेपाल प्रहरीका एसएसपी प्रकाश रानाभाटले प्रहरी सेवाबाट राजीनामा दिएका थिए । उनले ‘व्यक्तिगत’ कारण देखाउँदै राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत हुन बाँकी छ ।

नेपाल प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार राजीनामा दिनेहरूमा जवानदेखि वरिष्ठ नायब निरीक्षक तहसम्मका सबैभन्दा बढी छन् । घरायसी र व्यक्तिगत कारण देखाएर तल्लो तहका प्रहरी कर्मचारीबाट दिनहुँजसो राजीनामा आइरहेको उनले जानकारी दिए ।

 

भदौ २३ र २४ को जेनजी आन्दोलनपछि राजीनामा दिने क्रम बढ्न थालेको सुरक्षा निकायका अधिकारीहरू बताउँछन् । प्रहरीको अभिलेखअनुसार साउनयता उपदान सुविधा लिएर ९० र अरू साढे ३ सय प्रहरीले २० वर्ष सेवा पुगेपछि पेन्सन सुविधामा जागिर छाडेका हुन् ।

 

२३ भदौमा जेनजीले गरेको आन्दोलनमा प्रहरीले गोली चलाउँदा २२ जना युवाको ज्यान गएपछि भोलिपल्ट देशभर फैलिएको हिंसात्मक प्रदर्शनमा सुरक्षा निकायका कार्यालय तथा ब्यारेक निसानामा परेका थिए ।

त्यो दिन प्रदर्शनकारीको कुटपिटबाट ३ प्रहरीको ज्यान गएको थियो भने नेपाल प्रहरीको मात्रै १२ सयभन्दा बढी हतियार लुटिएका थिए । करिब १ लाख राउन्ड गोली अभिलेखमा भेटिएको छैन ।

बानेश्वर वृत्त तिनकुनेमा कार्यरत प्रहरीलाई प्रदर्शनकारीले पोसाक नै फुकाल्न लगाएर नाङ्गै लखेटेका थिए । सो क्रममा प्रहरीहरु ज्यान बचाउन बागमती नदीमा पसेका थिए ।

काठमाडौं । डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका रुपन्देहीमा सञ्चालित चार उद्योगले सोमबार प्रिमियम महसुलको बक्यौता तिरेका छन् । नेपाल विद्युत् प्राधिकरणलाई ती उद्योगले पहिलो किस्तावापतको रकम तिरेका हुन् ।

 

भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टिल इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र प्लास्टिकले बक्यौताको पहिलो किस्तावापतको रकम तिरेका प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए । उनका अनुसार पहिलो किस्त तिरेपछि उद्योगको विच्छेद गरिएको विद्युत् लाइन जडान गरिएको छ ।

ती उद्योगले विसं २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोगवापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका कार्यकारी निर्देशक सिलवालले बताए ।

 

प्राधिकरणका अनुसार पञ्चकन्या प्लाष्टिकको रु २४ लाख ६३ हजार, पञ्चकन्या स्टिलको रु ५२ लाख १९ हजार, सिद्धार्थ पेटप्लान्टको रु एक करोड ८३ लाख र श्याम प्लास्टिकको रु ४९ लाख १० हजार बक्यौता रहेको छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरी उद्योगले पहिलो किस्ता तिरेका छन् ।

 
 
 
 
 
 

म्याग्दी । कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या बढेको छ । नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनअनुुसार १६ वर्षअघिको तुलनामा यस वर्ष चिरकालिजको सङ्ख्या बढेको हो । सङ्घले हालै मुस्ताङको थासाङ गाउँपालिकाको घाँसा, लेते, कुञ्जो, टिटीताल, खन्ती, झिप्रा देउरालीमा चिरकालिजको अध्ययन गरेको थियो ।

 

मुस्ताङमा गरेको अध्ययनको प्रतिवेदन तयार पारेको टोली चिरकालिजको अवस्था अध्ययनका लागि म्याग्दीको धवलागिरि गाउँपालिका र ढोरपाटन सिकार आरक्षमा आएको छ । अध्ययन टोलीमा सहभागी अनुुसन्धानकर्ता विराट रजकले सन् २००९ मा छ जोडी चिरकालिज रहेको उक्त सात ठाउँमा यसपालि १८ जोडी भेटिएका जानकारी दिए । “सन् २००४ मा १७ र २००६ मा ११ जोडी कालिज भेटिएका थिए”, उनले भने, “सन् २००९ पछि अध्ययन भएको थिएन । सोह्र वर्षपछि यसपालि भएको अध्ययनका क्रममा कालीगण्डकीको माथिल्लो क्षेत्रमा चिरकालिजको सङ्ख्या बढेको पाइएको छ ।”

समुदायमा संरक्षण शिक्षा, चेतनाको विकास, चोरी सिकारी नियन्त्रण, बासस्थान वरपर मानवीय र घरपालुवा जनावरको गतिविधि बढ्दा चिरकालिजको सङ्ख्या वृद्धिमा सहयोग पुगेको अनुसन्धानकर्ता रजकले बताए । खरबारी, पाखोबारीमा मानिसले घाँस काट्ने, पशुुचौपायाको चरन क्षेत्र हुँदा झाडी हटेर आहारा खोज्न सजिलो हुने भएकाले चिरकालिजको बसोबासका लागि अनुकूल वातावरण बनेको उनको भनाइ छ ।

 

चिरकालिजले फुल कोरल्नेबाहेकका समयमा डढेलो लाग्दा झाडी नष्ट हुुने र प्रशस्त आहारा पाउँदा उसका लागि अनुकूल मानिन्छ । चैत, वैशाख र जेठ चिरकालिजले फुल पार्ने, कोरल्ने र चल्ला निकाल्ने समय हो ।

समुद्री सतहबाट एक हजार चार सय मिटरदेखि तीन हजार छ सय मिटरसम्मको उचाइमा चिरकालिज पाइने गर्छ । सामान्य कालिजजस्तै यो तल्लो तटीय क्षेत्रमा पाइँदैन । यो चरा झट्ट हेर्दा कालिजको पोथीजस्तै देखिए पनि धेरै भिन्नता रहने अनुसन्धानकर्ता केशव चोखालले जानकारी दिए ।

“चिरकालिजको भालेको पुच्छर लामो, आँखाको रङ पनि रातो हुने, शरीरमा सेतो थोप्लामा कालो बुट्टा हुन्छ भने आकारमा पोथी भालेभन्दा सानो र पुच्छर पनि छोटो हुन्छ”, उनले भने, “बिहान सूर्योदय हुनुभन्दा अगाडि र साँझमा सूर्यास्त भएपछि दिनको दुईपटक मात्र चिरचिर गरेर कराउने भएकाले यसलाई चिरकालिज भनिएको हो ।”

‘क्याट्रस वालिची’ वैज्ञानिक नाम रहेको यस पन्छीलाई अङ्ग्रेजीमा चिरफेजेन अर्थात् नेपालीमा चिरकालिज र सुदूरपश्चिममा चेडु चराको नामले चिनिने गरिएको छ । भिरमा नै बासस्थान बनाउने यो पन्छीले एकपटकमा सातदेखि १५ वटासम्म फुल पार्ने जनाइएको छ ।

चिरकालिज नेपालमा मुख्यगरी अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन सिकार आरक्ष र रारा राष्ट्रिय निकुञ्जका साथै संरक्षित क्षेत्रभन्दा बाहिर पर्वतसँगै म्याग्दी र बागलुङ तथा कर्णाली तथा सुदूरपश्चिम क्षेत्रमा पाइन्छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मै यसलाई लोपोन्मुख प्रजातिका रूपमा सूचीकृत गरेको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख विष्णु अधिकारीले बताए । कालीगण्डकीका साथै म्याग्दी र रघुगङ्गाको तटीय क्षेत्रमा देखिएकाले अनुसन्धान थालिएको हो । चिरकालिजको अध्ययनका लागि दातृ निकाय टोलेडोजुले सहयोग गरेको नेपाल पन्छीविद् सङ्घले जनाएको छ ।

धवलागिरि गाउँपालिकाको म्याग्दी नदी आसपास र ढोरपाटन सिकार आरक्ष क्षेत्रमा अध्ययनपछि प्राप्त हुुने प्रतिवेदनका आधारमा चिरकालिज संरक्षण कार्यक्रम गरिने जैविक बिविधता संरक्षण समाज नेपालका कार्यक्रम अधिकृत पवन राईले बताए । दुर्लभ पन्छी हेर्नका लागि विदेशी पर्यटक आउँदा स्थानीयस्तरमा रोजगारी सृजना र आयआर्जन वृद्धिमा सघाउ पुग्ने उनको भनाइ छ ।

 

 

 
 
 
 
 
 
 
 

काठमाडौं । ‘हामी नेपाल’ संस्थाका संयोजक तथा ‘जेनजी आन्दोलन’का नेतृत्वकर्ता सुदन गुरुङले चार दिनपछि आफ्नो मौनता तोड्ने घोषणा गरेका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले ‘4 more days before I break my silence’ भन्दै यो जानकारी दिएका हुन् ।

 

उनले कुन विषयमा बोल्न लागेका हुन् वा उनको मौनता तोड्नुको पछाडि के उद्देश्य छ भन्नेबारे भने केही खुलाएका छैनन् । युवा पुस्तामाझ उनको प्रभाव र जेनजी आन्दोलनले उठाएका विषयहरूका कारण उनको आगामी कदमलाई चासोका साथ हेरिएको छ ।

 

‘हामी नेपाल’ संस्थाले विभिन्न सामाजिक मुद्दाहरूमा आवाज उठाउँदै आएको छ भने सुदन गुरुङ युवाहरूमाझ परिचित नाम हो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।