
काठमाडौं । नेकपा एमाले निकट युवा संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध जाहेरी दिएको छ ।
बिहीवार दिउँसो युवा संघका नेताहरू साइबर ब्युरो पुगेर मेयर साहविरुद्ध जाहेरी दिएका हुन् । मयर साहले सामाजिक सञ्जाल फेसबुकमा केही दिन पहिला विभिन्न देश र नेपालका राजनीतिक दलहरूको नाम लिँदै आपत्तिजनक शब्दसहित स्टाटस लेखेका थिए ।
केही समयपछि स्टाटस सामाजिक सञ्जालबाट हटाएसँगै मेयर साहको विरोध हुँदै आएको छ । जसले राजनीतिक दल र मित्र राष्ट्रहरुको मानमर्दन गरेको भन्दै युवा संघले उजुरी दिएको छ ।
जाहेरीमा नेपालका लोकतान्त्रिक आन्दोलनमा अग्रणी भुमिका खेलेका राजनीतिक दलहरुलाई सार्वजनिक पदमा बसेको व्यक्तिले गालीगलौज गरी सार्वजनिक शान्ति खलल हुनेगरी स्ट्याटस लेखेको भन्दै युवासंघले जाहेरी दिएको छ ।
मित्र राष्ट्रसँगको सम्बन्धमा आँच आउने गरी स्ट्याटस लेखिएको उनीहरुको आरोप छ ।
जाहेरीमा प्रचलित कानूअनुसार कडा भन्दा कडा कारबाही गर्न माग गर्दै तत्काल पक्राउ गरी विदेश भाग्नबाट रोक्न र राहदानी रोक्का गर्न माग गरिएको छ ।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी आगामी निर्वाचन सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताएकी छिन् ।
द एसियन नेटवर्क फर फ्री इलेक्सन्स (आन्फ्रेल) का प्रतिनिधिमण्डलसँग बिहीबार भएको भेटमा प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण, भयरहित, स्वच्छ र निष्पक्ष निर्वाचन गराउने तयारी तीव्र पारिएको जानकारी दिइन् ।
आन्फ्रेल थाइल्यान्डको बैंककमा सचिवालय रहेको अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षक सञ्जाल हो। सो सञ्जालका कार्यकारी निर्देशक ब्रिजा रोसालेसको नेतृत्वमा आएको टोली अहिले नेपालको निर्वाचन वातावरणको मूल्यांकनका लागि काठमाडौँमा छ।
प्रतिनिधिमण्डलका सदस्यहरूले लामो समय न्यायाधीश र प्रधानन्यायाधीशका रूपमा काम गर्नुभएका व्यक्तिको नेतृत्वमा रहेको सरकारले स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गराउनेमा आफूहरू विश्वस्त रहेको बताएका छन्।
“तपाईँको न्यायिक अनुभवले स्वतन्त्र र निष्पक्ष निर्वाचनमार्फत राजनीतिक पुनर्संरचना सम्भव देखाएका छौँ, जसले लोकतान्त्रिक संस्थाहरू सुदृढ हुनेछ,” उनीहरूले भने।
प्रधानमन्त्री कार्कीले अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको चासोलाई स्वागत गर्दै भनिन्, “हाम्रो मुख्य उद्देश्य नै चुनाव गराउनु हो, र हामी त्यसैमा केन्द्रित छौँ। स्वस्थ निर्वाचन वातावरण बनाउन नागरिक समाज र पर्यवेक्षकहरूको भूमिकासमेत महत्त्वपूर्ण छ। तपाईँहरूको उपस्थितिले निर्वाचन सुरु भइसकेको अनुभूति गराएको छ।”
आन्फ्रेलका प्रतिनिधिहरूसँगै नेपालका निर्वाचन पर्यवेक्षकहरूको सञ्जाल ‘नियोक’ का पदाधिकारी र सदस्यहरू पनि उपस्थित थिए। उनीहरूले पहिलो पटक मतदान गर्न पाउने युवा मतदातामा देखिएको उत्साहलाई सुदृढ बनाउन मतदाता शिक्षामा विशेष जोड दिन सुझाव दिएका छन्।
सरकारले तोकिएको मितिअनुसार आगामी फागुन २१ गते हुने निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन तयारी तीव्र पारेको छ।
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका नेताहरूको मुख समेत हेर्न नचाहने प्रधानमन्त्रीले तोकिएको समयमा निर्वाचन गर्नेमा आशंका रहेको बताएका छन् ।
अदालतमा आगो लगाउनेहरूबाट बनेको सरकारले निरन्तर रूपमा असंवैधानिक कार्य गरिरहेको ओलीको आरोप छ ।
बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा ओलीले वर्तमान सरकार असंवैधानिक भएको बताउँदै देशलाई छाडा ढंगले चलाउनका लागि संसद् भंग गरिएको आरोप लगाए ।
उनले विघटित प्रतिनिधिसभाको पुनर्स्थापनाको माग गरे । उनले देशव्यापी आन्दोलन गर्न लागेको बताए । ओलीले पहिले नै फैसला सुनाइसकेको मान्छेलाई जेन जेड आन्दोलन जाँचबुझ आयोगको अध्यक्ष बनाएर सरकारले ‘ड्रामा’ गरेको भन्दै आयोगको निर्णय मान्य नहुने बताए ।
निर्वाचनको म्याण्डेड पाएको सरकारले गरेको राजदूत फिर्ता गर्ने काम उचित नभएको उल्लेख गर्दै ओलीले राजदूत फिर्ताका विषयमा अदालतले गरेको आदेशसमेत प्रधानमन्त्रीले उलंघन गरेको बताए । ओलीले कम्युनिष्ट पार्टीबीच भएको एकताको कुनै अर्थ नरहेको समेत बताए । झलनाथ खनाल आफूसँग कुरा गर्न आएको भन्दै उनले पदमा कुरा नमिलेपछि माओवादीसँग मिल्न गएको बताए ।
काठमाडौँ। स्थायी लेखा नम्बर प्रमाणपत्र (प्यान कार्ड)अब स्थानीय तहबाटै प्रदान गरिने भएको छ ।
आन्तरिक राजस्व विभागले एक विज्ञप्ति जारी गर्दै प्यान कार्डसहित कर सम्बन्धी सेवाहरू सम्बन्धित स्थानीय तहबाटै उपलब्ध गराइने व्यवस्था मिलाइएको जनाएको छ ।
यसअघि करदाता सेवा कार्यालयहरूबाट मात्र प्यान कार्ड वितरण हुँदै आएको थियो । तर, हाल ती कार्यालयहरू खारेज गरिएका छन् ।
स्थानीय तहबाट सेवा सुचारु हुन केही समय लाग्न सक्ने भएकाले सो अवधिमा ती सेवा सम्बन्धित जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत प्रवाह गरिने व्यवस्था मिलाइएको विभागले जनाएको छ ।
त्यस्तै, कर भुक्तानी र कर चुक्ता प्रमाणपत्रलगायतका सेवा अनलाइन प्रणालीमार्फत नै प्राप्त गर्न सकिने व्यवस्था रहेको विभागले स्पष्ट पारेको छ । विभागले करदातासँग नजिक भएर प्रविधिमैत्री ढङ्गले सेवा प्रवाह गर्ने नीतिलाई अगाडि बढाएको जनाएको छ ।

जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले गृहमन्त्री अर्याललाई ‘अलोकप्रिय र जनविश्वास गुमाएको व्यक्ति’ भन्दै पद त्याग्न आग्रह गरेका हुन् ।
गुरुङले जेनजी आन्दोलनका क्रममा गरिएको दमनका जिम्मेवारहरूलाई कारबाही नगरेको भन्दै सरकारप्रति आक्रोश पोखेका छन् ।
‘जनताले ‘हत्यारालाई कारबाही गर’, ‘भ्रष्टाचारीलाई कारबाही गर’ भनेका छन्, तर तपाईँ ‘जेनजीलाई कारबाही गर’ भन्नेहरूसँग हातेमालो गर्दै कुर्सीमा टाँसिनु राष्ट्रप्रतिको अपमान हो,’ उनले भनेका छन् ।
उनले गृहमन्त्री अर्यालसँग अब कुनै अपेक्षा बाँकी नरहेको पनि उल्लेख गरेका छन्। ‘शहीदको रगत र जनताको आँसु सम्झन सक्नुभएन भने तपाईँ कुर्सीमा बस्नु न्यायको अपमान हो,’ गुरुङको भनाइ छ।
गुरुङका अनुसार जेनजी आन्दोलन २०८४ सालको निर्वाचनलाई २०८२ मा सार्नका लागि होइन जनताको वास्तविक माग पूरा गर्नका लागि थियो। ‘चुनावको नाटक नचलोस्,’ उनले चेतावनी दिँदै भने, ‘नेपाली जनताको माग सम्बोधन भएन भने यो चुनाव हुन दिइने छैन।’
प्रधानमन्त्री सुशीला कार्कीको प्रिय पात्र बनेर पदमा टिकिरहन खोजेको आरोप लगाउँदै गुरुङले गृहमन्त्री अर्याललाई कडा चेतावनी दिएका छन्।
‘यदि अझै पनि कुर्सीमा टाँसिएर बस्नुहुन्छ भने दुई दिनपछि हुने प्रेस कन्फरेन्सले तपाईँको राजनीतिक भविष्य निर्धारण गर्नेछ,’ उनले चेतावनी दिएका छन् ।

काठमाडौँ । जेन जेड आन्दोलनका नेता सुदन गुरुङले निकोलस भुसाललाई पक्राउ गरिए पछिको घटनालाई लिएर गृहमन्त्रीको भूमिका र सरकारको निष्पक्षतामाथि प्रश्न उठाएका छन्।
गुरुङले सामाजिक सञ्जालमा लेखेका छन् – “निकोलस भुसाल र महेश बस्नेतको अभिव्यक्तिमा आखिर फरक के देख्नुभयो, गृहमन्त्रीज्यू ? अनि किन निकोलस मात्रै पक्राउ परे ? कि शक्तिशालीलाई नछुने ओली सरकारकै पारामा ढल्किनु भएको हो ?”
उनले थप लेखेका छन्, “बन्द कोठामा प्रश्न गर्दा गर्दा थाकेर आएको अभिव्यक्ति हो यो। लाग्छ, आन्दोलन हार्दैछ।”
निकोलस भुसाल पक्राउ परेपछि गुरुङको यस्तो अभिव्यक्तिले सरकारको निर्णयप्रति असन्तोष झल्काएको छ। सामाजिक सञ्जालमा उनको पोस्टले व्यापक प्रतिक्रिया पाएको छ, कतिपयले गुरुङको प्रश्नलाई उचित भनेका छन् भने केहीले त्यसलाई राजनीतिक आक्रोशको रूपमा लिएका छन्।
काठमाडौं– नेपाली राजनीतिमा नयाँ शक्तिको उदय भएको छ । विभिन्न १० वाम दल र समूहको एकताबाट बनेको ‘नेपाली कम्युनिस्ट पार्टी’ ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको हो ।
एकता घोषणाको भोलिपल्टै, बिहीबार आयोगमा निवेदन दर्ता गरेर नयाँ पार्टीले चुनावी मैदानमा होमिन आफू तयार रहेको संकेत दिएको छ । साविकका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका प्रमुख वाम घटकहरू एक भएर ‘नेपाली कम्युनिस्ट पार्टी’ गठन गरेका हुन् ।
नवगठित पार्टीको चुनाव चिह्न ‘पाँचकुने तारा’ निर्धारण गरिएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले ‘नेपाली कम्युनिस्ट पार्टी’ को दल दर्ता निवेदन प्राप्त भएको पुष्टि गरेका छन् । आगामी फागुन २१ मा हुने निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले कात्तिक ३० भित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने प्रावधान छ ।
पार्टीका नेता शिव खकुरेलका अनुसार, दलहरूबीचको एकताको प्रतिबद्धतापत्र र घोषणापत्रसहित निवेदन बुझाइएको छ ।
मेष : दिन राम्रो छ । भाग्यको उदय हुनेछ । शिक्षामा प्रगति हुनेछ । स्वास्थ्यमा सुधार होला । व्यापार व्यवसायमा फाइदा हुने योग छ । सामाजिक क्षेत्रमा मानप्रतिष्ठा बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
वृष : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। ठुलो लगानी नगर्नु राम्रो हुन्छ। स्वास्थ्यले साथ दिनेछ। वैदेशिक रोजगारीमा गरेको लगानीबाट नाफा हुनेछ। गुरुको सम्मान गर्दा फाइदा हुने देखिन्छ।
मिथुन : दिन राम्रो छ । बोलीका कारण काम बन्नेछन् । शुभ कार्यमा सहभागी हुने अवसर मिल्नेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ ।
कर्कट : दिन समान्य राम्रो छ । डुब्न लागेको धन उठ्ने योग छ । सामाजिक र राजनीतिक क्षेत्रमा तपाईंको पहुँच विस्तार हुनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या आउन सक्छ ।
सिंह : दिन राम्रो छ । तपाईंको प्रतिभाको प्रदर्शन गर्ने दिन छ । व्यापारमा फाइदा हुनेछ । पठनपाठनमा रुची बढ्नेछ । गोप्य तरिकाले गरेको कामबाट लाभ मिल्नेछ । योजना सार्वजनिक नगरी काम गरेमा फाइदा हुनेछ ।
कन्या : दिन राम्रो छ । गुम्न लागेको सम्पत्ति हात लाग्ने छ । पठनपाठनमा मन जानेछ । स्वास्थ्यमा सुधार हुनेछ । पूर्वको लामो यात्रामा नजानु राम्रो हुनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहने छ ।
तुला : दिन राम्रो छ । धर्मकर्ममा मन जानेछ । साथीभाइसँग भेट हुनेछ । मान प्रतिष्ठा बढ्नेछ । सामाजिक क्षेत्रमा तपाईंको सम्मान बढ्नेछ । राजनीतिक क्षेत्रमा प्रगति हुनेछ ।
वृश्चिक : तपाईंका लागि आजको दिन सामान्य छ । अरुसँग विश्वास गर्नुभन्दा आफ्नो काममा जिम्मेवार बन्नुपर्ने समय छ । परिवारमा कामको बोझ थपिनेछ । अनावश्यक खर्च बढ्नेछ । आफ्नै साथीबाट आलोचनाको सामना गर्नुपर्ने दिन छ ।
धनु : दिन सामान्य छ । तपाईंले गरेको कामको जस अरुले लिनेछन् । राजनीतिमा वितृष्णा बढ्नेछ । परिवारको साथ मिल्नेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ ।
मकर : दिन सामान्य छ । अनावश्यक यात्रामा नजानु राम्रो हुन्छ । अनावश्यक क्षेत्रमा सम्पत्ति र समय खर्च हुनेछ । धार्मिक क्षेत्रमा मन जानेछ । नयाँ मान्छेसँग व्यावसायीक कारोबार नगर्नु राम्रो हुन्छ ।
कुम्भ : दिन सामान्य छ । अनावश्यक यात्रामा नजानु राम्रो हुन्छ । घाटाको व्यापारमा सम्पत्ति र समय खर्च हुनेछ । धार्मिक क्षेत्रमा मन जानेछ । नयाँ मान्छेसँगको कारोबार डुब्ने जोखिम छ ।
मीन : दिन राम्रो छ । सोचेको काम बन्दा मन प्रशन्न हुनेछ। राजनीति र सामाजिक क्षेत्रमा मन जानेछ । रमाइलो घुमघामको योजना बन्ने छ । घुम्न पाउँदा मन प्रशन्न बन्नेछ ।




